~निश्चल क्षेत्री~
मुट्ठी उज्याउ सबै सुतेर मात्र हुन्न
आवाज एकजुट पार फुटेर मात्र हुन्न
विधिको विधान कसले फेरेको छ र यहाँ ?
विधान लेख्न सभासद जुटेर मात्र हुन्न
हिसाब राख्छन् जनता जनता हिसाब राख्छन्
बुझाउनु पर्छ ब्याजे, धुतेर मात्र हुन्न
दास बन्ने कहिलेसम्म मुक्ति पर्खदैछ
दिमाग चलाउ बुद्धि भुटेर मात्र हुन्न
मुक्तिका हामी भोका अरू केही माग छैन
रगतको बदला रगत खुटेर मात्र हुन्न
फल्नलाई मात्रै किन फुल्न पनि त फुल
पानी चढाउनु पर्छ चुटेर मात्र हुन्न
मूर्ति बनेको हेर चोटको सङ्ख्या कति छ
कला चाहिन्छ ढुङ्गा कुँदेर मात्र हुन्न
भेट्नु पनि त पर्छ भविष्य कुनै दिनमा
फेरि भेटौँला भन छुटेर मात्र हुन्न
मुट्ठी उज्याउ सबै सुतेर मात्र हुन्न
आवाज एकजुट पार फुटेर मात्र हुन्न
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ७ – Dec. 31, 2014 – २०७१ पौष १६ गते, बुधबार )