~नेत्र बहादुर शाही मौशम~
उ– त्यहाँ बसेको त्यो मान्छे
त्यसले परिवर्तनको नाममा धेरै पार्टी बदली सक्यो
अवसरवादका सिद्धान्तले सारा समकक्षी धकेली सक्यो
हत्या र मित्थ्या भाषण गरेर ठूलै नेता बनिसक्यो
अब यो राष्ट्र नै समर्पण गरौं पनि भनिसक्यो
तर यो मोरो, मेरो छोरो–
न यसले धन कमाउन सक्यो
न दल बदल्न सक्यो ।
अनाहक न अरूलाई ढाल्नसक्यो
न आफु ढल्नसक्यो ।
न यो भष्ट्राचार तस्करीमा रम्नसक्यो
न देश बेची खानसक्यो ।
उल्टै राष्ट्रिय झन्डा बोकेर
कालापानी पस्यो
उ त्यो कुर्चीमाथि बसेको मान्छे–
त्यसलाई रातो पासपोर्ट र पँजेरो चाहिने रे
घुम्ने कुर्सीमा बसेर जे गर्ननी पाइने रे
उसलाई शीर झुकाएर प्रणामको आदरभाव चाहिने रे
अनि भाषणमा रवाफ र ज्युनारमा कबाव चाहिने रे
तर–यो मोरो मेरो छोरो,
बलभद्र अमरसिंहको इतिहास चाहियो भन्छ
सुन्दर सगरमाथाको गौरव चाहियो भन्छ
मेची–काली सिमाको स्वाधीनता चाहियो भन्छ
मौलिक हक मानव अधिकार चाहियो भन्छ
कस्तो, यो मोरो मेरो छोरो ?
दौरा सुरूवालमा चिटिक्क परेर
महलमा बसेको त्यो मोटो मान्छे
अझै पनि मोटाउने अभियानमै लिप्त छ तर,
यो झुम्रे थाड्डनाले सजिएर
झुप्रोमा बसेको मरनच्याँसे मोरो मेरो छोरो
अझै पनि प्रजातन्त्रको परिभाषा खोजिरहेछ
समानताको अधिकार खोजिरहेछ
किन कराउँछस बाबु भन्दा
उल्टै, यो वाक स्वतन्त्रता हो भनेर
ट्वाक्क जवाफ दिन्छ
भन्छ उसको वर्तमान अस्थायी हो,
अन्तिम जीत हाम्रै हुन्छ ¤
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ३८ – Aug. 8, 2012 – २०६९ श्रावण २४ गते, बुधबा)