~विक्रम सुब्बा~
कवि: एक प्रतिपक्षी
१। विभिन्न विषय र विधाहरूका आफ्नै प्राविधिक शब्दावली हुन्छन् । कविता साहित्य, सभ्यताको सबैभन्दा पुरानो विधा[1]हरू मध्ये एक हो । गध्य कविता (Free verse[2]), कविता लेखनको एकपछिल्लो स्वरूप (Format[3]) हो । कविता शास्त्रीय छन्दवद्ध हुनु पर्ने संभ्रान्ति(Elite)कृत धारणाका विरुध्द कविता सरल र सर्वसाधारण मानिसहरूतिर पुगेको आधारभूत छलाङ्ग (Paradigm shift)हो गध्य कविता लेखन अभियान । कविताका पनि आफ्नै प्राविधिक शब्दावली हुन्छन् । जुनछुट्याउँन नसके कविताले आफ्नो सुन्दर स्वाभाव गुमाउँछ । भाषा ‘दूध’ हो भने कविता ‘तर’ जस्तो हुनु पर्छ भनि ठान्छु । जुन थोरै र सुस्वादु हुन्छ ।
२। कवितामा ‘विषय’ ढुकढुकीका रूपमा आउँछ । विषयका पनि आफ्नै प्राविधिक शब्दावली हुन्छन् । कविले विषय अनुसारका प्राविधिक शब्दावली पनि छानेर प्रयोग गर्नुपर्छ । कविता र विषयका प्राविधिक शब्दावलीहरूको सन्तुलित छनौट तथा संयोजन गर्न सके कविताको अनुहार उज्यालोहुन्छ ।
३। कविता कुनै एक शब्दबाट सुरु भएर कुनै एक शब्दमा पुगेर तुरिन्छ । श्रीदेखि शुभम् सम्मको यही फैलावटमा कविता रोप्ने, स्याहार्ने, फुलाउँने र सुगन्ध छर्ने काम तमाम गर्नु पर्छ । कवितालाईकुन शब्दले उठाउँने? कुन कुन शब्दहरूले फैलाउँने? कुन शब्दले बैठान गर्ने? यसको संगतीपूर्ण तर्जुमा गर्ने कविकै निजी मामला हो । सामान्यतया थालनी, बीचको भावनागत आरोह-अवरोहपूर्ण उडान, छुन खोजेको उचाई (Climax) र अन्त्य गर्ने सृंखला अरु कविले भन्दा भिन्न किसिमले संयोजन गरे कविताले छुट्टै शैलीगत पहिचान-पँखेटा हाल्छ । विषय र सुहाउँदो शब्दहरूकाअन्तरसम्बन्धित सहज तादात्म्यता (Meaningful sequence) स्थापित गर्न सके कविताले बग्दो नदीझैँ लयात्मक-ध्वनी (Rhythm[4]) सृजना गरेर पाठकको हृदयलाई दंग तुल्याउँछ । नदी कविता हो भने सोची विचारी ढलान गरिएका (Casted) शब्द, शब्दभित्रका विचार-गुदीहरू समेतका वाक्य गठनहरू छाँगा, रह-दह, दोभान र कुईनेटाहरू मन्द्र सप्तकीय, मध्य सप्तकीय र तार सप्तकीय जिउँदो संगीत उत्पादन गर्ने सूक्ष्म तर कारक उपकरण(Instruments) हुन् ।
गध्य कविता[5] — छन्द[6] कविताको संहिताले नै कति अक्षरी शब्दहरूको कति लामो हरफ हुनुपर्छ भन्ने निर्धारण गरिदिन्छ । गध्य कवितामा त्यो सुबिधा हुँदैन । कविताको कुन हरफ कति लामो-छोटो निर्माण (Construct) गर्ने? यो ईन्जिनियरिङ कविको विशेषाधिकार (Prerogatives) हो । कविले व्याकरणका पुराना नियमका बंगारा समेत हल्लाईदिएका छन् । आफ्नै व्याकरणसहित कविले आफ्नोपनको कमाल देखाउँने अखाडा समेत हो कविता । होसियारसाथ शब्दहरू छान्दै वाक्य गठन (Right words in right sequence) उचित र नयाँ किसिमले गर्नु नै शिल्पगत कुशलता हो ।सुन्दर तर बलिया शब्दका तटबन्धहरूले छेक-बाँध गरेर कवितालाई चाहेको बाटोमा सुरक्षासहित हिनाउँने र दुर्घटना हुन बाट बचाउँने काम पनि गर्नु पर्छ कविले ।
४। शब्द र वाक्यहरूको हार्मोनाइजेशन[7] कवितामा संगीत उत्पादन गर्ने शैलीगत प्रविधी हो । यो गुण हरेक मानिसको अभिव्यक्तीमा हुन्छ । कविको अभिव्यक्तीमा यो गुणलाई विशेष रुपले सचेतनतापूर्वक सकृया गराउँनु पर्छ । कुन शब्द अघि, कुन शब्द पछि राख्दै वाक्यहरूलाई संगठित गरे कवितामा सूर, ताल र लयको सरगम-सिम्फनी लर्केला र पाठकको हृदय तान्ने शक्ति हासिल गर्ला? भन्ने सोचेर हार्मोनियमका पर्दाहरू एकपछि अर्को छानिछानि थिच्ने संगीतज्ञले जस्तै शाव्दिक हार्मोनिक पर्दाहरू खेलाउँन पनि कवि पारखी हुनुपर्छ । कविता लेखिसकेपछि हरेक हरफका २-४ बैकल्पिक हरफहरूको रचना गरेर हेरी सबैभन्दा चित्तले खाएको हरफलाई छानेर कायम गर्ने गर्नुपर्छ । संगीतकार अम्बर गुरूङले नेपालको राष्ट्रिय गानमा धेरै फरक-फरक (सुने अनुसार १२-१३) किसिमको बैकल्पिक संगीत रचना (Composition) तैयार गरेर अन्तमा हालको धूनलाई छानेका हुन् । राष्ट्रिय शोक र राष्ट्रिय पर्व दुबै अवस्थामा सुहाउँने किसिमले राष्ट्रिय गानको धून रचना गर्नु पर्छ भन्ने सैध्दान्तिक आधार लिएको कुरा संगीतकार गुरुङले उल्लेखै गरेका हुन् । सोफोक्लेज[8], उमर खैयाम[9], जलाल-अद-दीन-मुहम्मद रूमी[10], खलील गिब्रान[11], रवीन्द्रनाथ टेगोर[12], पाब्लो नेरुदा[13], हरिबंश राय वच्चन[14], माधव घिमिरे (गौरी) आदि सबै स्रष्टाले आफ्ना रुवायतहरू, कविता, सुफी, गजल, काव्य र गीतका कतिपय हरफहरूका अनेक विकल्प(मनमनै खेलाउँदै वा लेखेरै) सबैभन्दा चित्तबुझ्दो बैकल्पिक हरफलाई छानेर राख्ने गरेको बुझ्न सकिन्छ ।
५। ‘मिथ[15]’को प्रयोगलाई पनि कविता लेखनको शक्तिसाली प्रविधी (Technique) मध्ये एक मानिन्छ । मिथ र कविताको मिस्रित शिल्पगत सौन्दर्यका रंग-रोगनले नै रामायणजस्तो ‘सामन्ती राजा’को गाथा गाउँने काव्य प्रभावशाली सृजनाका रूपमा टिकीरहेको छ । गोपालप्रसाद रिमालले दन्त्य कथा कहने शैलीमा क्रान्तिको विषय अन्तरघुलित गरेकोले ‘आमाको सपना’को जादु चल्यो । मिथ, सन्देश र कविताको लयदार संगितिक पक्षको सम्यक सन्तुलन नभए मिथले किचिदिने र कुनै लोककथाको एक आख्यान-विवरण जस्तो मात्र हुन्छ, कविता बन्दैन ।
६। फुटकर कविताको लम्बाई कति लामो वा छोटो हुने भन्ने कुरा विषय र शैलीमा भर पर्दछ । स्थूल विषय लिए कविता लामो हुने नै भयो । छोटो-सानो र तिक्खर किसिमले छोटो कविता (छोक) लेखे जीरे-चखिलो हुन्छ । यो कविकै निर्णय कौशलताको कुरा हो । कोही स्थूल विषय छान्छन् र लामो कविता रच्छन्, कोही सानो विषय लिएर चोटिल-सृजना गर्छन् । तथापि, छोटोमा धेरै कुरा समेट्नु कविताको प्रमुख गुण हो । लम्बेतान विश्लेषण गर्न थाले निबन्ध, प्रबन्ध, कथा या समालोचना, विवेचना त बन्ला, कविता बन्दैन ।
७। कविता सुत्रात्मक (One liner[16] जस्तै) तथा बिम्बात्मक (Image[17]को भाषामा) हुनु पर्छ। स्रोता र पाठकको दिमागले बिम्ब (Image)मा मात्र कविता बुझ्ने गर्छ भन्ने कुरा स्नायु विज्ञान(Neuroscience) बाट पत्ता लागिसकेको कुरा हो[18] । त्यसैले दिमागमा बिम्ब (Image) सृजना गर्ने शब्दहरू प्रयोग गर्नु पर्छ । यही स्नायु वैज्ञानिक (Neurological) आधारमा अहिले भारतका महात्मा गान्धीका ‘बुरा मत देखो’, ‘बुरा मत सुनो’, ‘बुरा मत बोलो’ भन्ने प्रख्यात उक्तीहरूको विश्लेषण गर्दा घातक सिध्द भएको पत्ता लाग्यो भनिँदैछ । जस्तै: ‘बुरा’ शब्द सुन्दा वा पढ्दा पाठकको दिमागमा एउटा बिम्ब (Image) उत्रँदो रहेछ । ‘देखो’ भन्ने शब्द सुन्दा वा पढ्दा पनि एउटा बिम्ब (Image) दिमागमा उत्रने रहेछ । तर वीचको ‘मत’ भन्ने शब्द सुन्दा वा पढदा दिमागमा बिम्ब (Image) सुन्यताको अवस्था हुने रहेछ । परिणाम स्वरुप (‘मत’ हटाएपछि) पाठकको दिमागमा ‘बुरा देखो’, ‘बुरा सुनो’, ‘बुरा बोलो’ भन्ने बिम्बात्मक (Images) अर्थहरू हाजिर हुने रहेछन् । तेसैले गान्धीले – ‘अच्छा देखो’, ‘अच्छा सुनो’, ‘अच्छा बोलो’ भनेर लेखेको भए पाठकको दिमागमा प्रष्ट बुझिने बिम्ब (Images) हरू हाजिर हुने थिए भनेर डिस्कोर्स चलिरहेछ । यसरी कुन कुन शब्द प्रयोग गर्दा अर्थको अनर्थ हुने जोखिम रहन्छ भन्ने समेत विचार गरी शब्दहरुको छनौट तथा प्रयोग गरेर कवितालाई दुर्घटनाबाट बचाए मात्र कविताको अभिभावक हुनेछ कवि । हाम्रा रैथाने ‘उखान’हरू नेपाली कविताका मौलिक गुरुकापी र महान सम्पदा, उत्तम उदाहरण हुन् । यिनलाई कविता लेख्न सिकाउने स्रोत-सामग्री (Training materials) का रुपमा पनि लिन-पढ्न-सुन्न सकिन्छ । नेपालका ख्याली, हाक्पारे, मारुनी, बालन, सोरठी, देउडा, आदि अनेक लोक परम्परामा नहित प्रगीतात्मक अभिव्यक्ती शैलीहरू पनि छरिता वाक्य गठनका कवितात्मक नमुना हुन् ।
८। कविताको स्रोत प्रमुख रुपमा जीवनचक्र (Life cycle[19]) नै हो । कविले धर्तीमा जन्मनुभन्दा पहिले र जन्मेदेखि नै देखेका, भोगेको दु:ख-सुख, माया-मोह, मीलन-विछोड, घृणा-प्रेम, रिस-राग,आलोचना र संश्लेषण आदिको कुरुप पक्ष र सौन्दर्य तथा सुवासहरूबाटै कविता टिप्ने हो । यो जैविक तथा मानव जीवन चक्रको कुरा भयो । यो जीवन चक्रमा जीवनका विभिन्न पाटाहरू जिउँने क्रममा जीवनको सबैभन्दा महत्वपूर्ण जग घर-रपिवारको, कमाउँने कार्यस्थलको र समाजको समेत जिम्मेवारीहरू लिने र सम्पादन गर्ने गर्नुपर्छ । साथी-भाइसँग हाँसो र ख्याल-ठट्ठा देखि लडाइँ-झगडा र तनावपछि निस्कने आँशु र फेरि सम्झौताबाट उजागर हुने मुस्कानहरूबाट पनि गुज्रिनुपर्दछ । कहिले मलामी, कहिले जन्ति, कहिले असार पन्ध्र, कहिले पर्यटक, कहिले अनुसन्धाता त कहिले विद्यार्थी, कहिले पाठक त कहिले बक्ता भएर अनेक कुरा अनुभूत गर्ने, ग्रहण गर्ने र सिक्ने कामलाई निरन्तर कायम राख्नुपर्छ । अनुभवी मानिसका सुनजस्ता कुरा सुन्नु-पढनुपर्छ । नयाँ ठाउँहरूमा घुम्ने र नयाँनयाँ मानिस तथा विषय विज्ञसँग सम्बाद गरेर आफ्नो बुझाई (Perception)लाई नित्य अर्जाप्ने र धारिलो पार्ने काम गरि रहनु पर्छ । ‘मैले सबै जाने-बुझेको छु’ भन्ने धारणागत सिकाई अपांगता (Learning disability)ले मानिसलाई भुत्ते-थोत्रो र केही काम नलाग्ने (Good for nothing) बनाईदिन्छ । सधैँ आफ्ना प्राविधिक शीप (Technical skill) र समाजिक शीप (Social skill) चलाएर अनेक गतिबिधीहरूमा सामेल हुने र निरन्तर सिकिरहने भोकलाई कायम राख्नुपर्छ ।
मानव जीवन चक्र बाहेक हरेक किसिमका जीवन चक्रहरूका बारेमा पनि अध्ययन अनुसन्धान गर्नु पर्छ कविले । जस्तै: एउटा फूलको सिँगै विरुवाको छुट्टै जीवन चक्र हुन्छ । तर त्यही विरुवमा पलाउँने मुनाको, पातको, कोपिलाको, फूलको र फलको जीवन चक्रहरू फरकफरक हुन्छन् होला । मकैको विरुवाको जीवन चक्र एकपटक मकै फलिसकेपछि नष्ट हुन थाल्छ । तर सुन्तलाको बोटको जीवन चक्रमा १०-१५ वर्ष सम्म हरेक वर्ष मुना पलाउँने, कोपिला लाग्ने र फल्ने उप-जीवन-चक्रहरू चल्दै गएर १५-२० वर्षपछि सिंगै सुन्तलाको रुखको जीवन चक्रको अन्त्य हुन्छ र माटोमा बिलिन हुन्छ । यस किसिमका अनेक जीवन चक्रहरूमा चल्ने उप-चक्रहरूको समेत गहिरो अध्ययन गर्नु पर्छ । यसै प्रकृयामा थरिथरिका सूचना वा बिम्बहरू मन-मानसमा तथ्यांक बनेर संग्रहित हुनेछन् । ती मानसमा संग्रहित तथ्यांक तथा बिम्बहरूलाई नै कुनै बाह्य प्रेरक-घटना-दृश्य (Stimulus) ले क्लिक-पञ्च हानेपछि झिलिक्क-झल्यास्स बिजुली चम्केजस्तै कविता देखिने-भेटिने हो । ‘कविताहरू’मध्ये पनि छानेर चित्तले खाएको ‘कविता’लाई अक्षरहरूले छेक्ने-समेट्ने हो । दैनिक दिमागमा आउँने ६० हजार सोचहरू सबै कविता हुँदैनन् । कविताजस्ता लाग्ने कुराहरु दिमागमा थुप्रै हाजिर होलान् तर ती सबै कन्चन कविता होइनन् । सबैभन्दा गतिलो कवितालाई मात्र आफ्नो रोज्जा कविता भनी छान्ने हो । हरेक कविको भोगाईबाट सिकाई नितान्त फरक हुने भएकोले उसको मानसमा संग्रहित बिम्बहरू फरक हुन्छन्, उसलाई क्लिक-पञ्च हान्ने प्रेरक घटना-दृश्य (Stimuli)पनि फरक हुन्छन् । त्यसैले हरेक कविको कविता पनि अरुको भन्दा फरक हुनैपर्छ । यही हो मौलिकताको मुहान पनि ।
९। कविताशक्ती – सन्सारका सबै सभ्यतामा अनेक किसिमका खाना-परिकारहरूमा नहालि हुँदै नहुने तत्व ‘नुन’ जस्तो हो कविता । नुन बिनाको कवाफ, नुन बिनाको तरकारी, नुन बिनाको अचार कस्तो झूर खल्लो हुन्छ ! ठीक तेस्तै कवितात्मक हरफहरू नभएको निबन्ध कस्तो निरस होला? देवकोटाको कुनै निबन्धको कवितात्मक हरफहरू हटाए कति झूर लाग्दो हो? कुनै नाटकका पात्रहरूले कवितात्मक शैलीमा संवाद हान्दा कस्तो गजबले दर्शकहरुलाई जुरुक्कै उठाउँछ । उपन्यास र कथाका पात्रहरूले कवितात्मक किसिमले भावना पोख्दा पाठकको मनमा दमदार छाप लाग्छ । आत्म कथाहरूमा पनि ठाउँ ठाउँमा कवितात्मक किसिमले विषयलाई प्रस्तुत गरेको पढ्न पाउँदा पाठकलाई गज्जब लाग्छ । कवितात्मक अभिव्यक्ती सहित रचिएका र गाइएका गीतहरू (जस्तै: नारायण गोपालले गाएका अधिकांश गीतहरू) बाट कवितात्मक पक्ष हटाए कस्तो भ्वाङ पर्ला? बक्ताले आफ्नो भाषणमा कविताका दुइचार हरफ समेत राखे स्रोताहरूको ताली नै पाउँछ । अचेल त कवितात्मक संवाद लेख्ने विशेष मानिस समेत राखेर सिनेमामा ‘डाइलग’ लेखाएको सुनिन्छ । कतिपय लेखकले आफ्नो पुस्तकको ड्राफ्ट सकेपछि सम्पादन गर्न भाषा र शैली राम्रो (कवितात्मक) भएको ‘घोष्ट राइटर’ खोजेर महंगो शुल्क तिरेर काम लगाएको सुनिन्छ । यसरी साहित्यका धेरै विधालाई चम्काउँन समेत नभइ नहुने ‘तत्व’ पनि हो कविता ।
१०। जीवनका तमाम कामहरूको प्राथमिकता तोक्ने र सोही अनुसार स्रोतको बाँड-फाँड गर्ने गरिन्छ । स्रोत बाँडफाँड भन्नाले समय, चिन्तन-मनन् र आर्थिक स्रोतसमेतको लगानी हो । जसले कवितालाई पहिलो प्राथमिकतामा राखेर धेरै लगानी गर्छ उसले नै राम्रो कविता दिन्छ । कुरा तीतोछ तर सत्य छ । जसरी ध्यान गर्नेले आँखा बन्द गरेर बसे पनि शरीरका हरेक तन्तुहरू के कसरीचलिरहेछन्, स्वास-प्रस्वास कसरी चलिरहेछ, बाहिर सन्सारमा के भइरहेछ भन्ने सबै कुरा थाहा पाईरहेको हुन्छ, ठीक त्यसरी नै प्रतिवध्द कविले पनि अरु सरह नर्मल गतिविधीहरूमा संलग्न हुँदाहुँदै सजग र सचेत छैठौँ ज्ञानेन्द्रले कविता खोजिरहनु पर्छ । कविताको निम्ती तपस्या गर्नु भनेको यही हो । सृजनशील तनाव (Creative tension) मा कहिले घनिभूत, कहिले सहजकिसिमले कविले आफुलाई होम्नु पर्छ भनेको पनि यही हो ।
सृजनाउत्प्रेरक घटना (Creative incidence) – जापानको सोनी कम्पनीक हाकिम कुनै देशमा हवाईजहाजबाट ओर्लेर ईमिग्रेशन काउन्टरमा पासपोर्ट चेकजाँच गराउँन लाम लागे । कर्मचारीहरूले ढिलो काम गरेकाले लाम ढिलो सर्दै थियो । लाम बसेका यात्रुहरु दिक्क र वाक्क मान्दै हाई! हाई !! काड्दै उभिएको देखेपछि सोनी कम्पनीका हाकिमको मनमा ‘यसरी दिक्क मान्दै, हाई काड्दै उभिएको बेला ‘हेडफोन’ राखेर संगीत सुन्ने एउटा सानो (Boredom killing) डिभाइस भए मानिसहरुको लागी अलि रमाईलो हुन्थ्यो । हाम्रो कम्पनीले त्यस्तो ‘म्यूजिकल वाकमेन’ बनाए अवस्य चल्छ’ भन्ने विचार दिमागमा फुर्यो । जापान फर्केपछि उनको त्यो विचार अनुसार ‘म्यूजिकल वाकमेन’ बनाउँन आफ्नो टीमसँग जुटे, उत्पादन गरे । पहिलो वर्षमै लाखौँ ‘म्युजिकल वाकमेन’ बिक्यो । ईमिग्रेसशन काउण्टरमा दिक्क मान्दै, हाइ काड्दै उभिएका यात्रुहरू देखेपछि ‘म्यूजिकल वाकमेन’ बनाउँने कुरा मनमा फुरेजस्तै अर्के केही गरिरहँदा वा देखिरहँदा कविता पनि फुर्ने हो । सोचले छलाङ (Leap) हान्ने भनेको पनि यही हो ।
११। कति कविले ‘यो आजै विहान लेखेको…’ भनेर कविता वाचन गर्छन् । आजै लेखेर आजै सुनाउँने हतारो सभ्य व्यबहार होइन । यो कविता प्रतिको अनादर पनि हो । सभ्य मानव समाजमा त नौ महिनाको विशेष प्रकृयापछि जन्मेको बच्चाको पनि रगत, राल, सिँगान, फोहरहरू धोई-पखाली गरेर, केही सुहाउँदिलो वस्त्रले केही अंग छोपेर, केही अंग खुला राखेर मात्र सार्वजनिक उत्सवसहित वच्चाको मुख देखाउँने-हेर्ने काम गरिन्छ । अपवाद बाहेक, कवितालाई पनि जन्मिसकेपछि केही पालिस गरेर, सजाएर समाजको सामु देखाउँनु सभ्य सँस्कार हो भनि ठान्छु । लेखिसक्ने बित्तिकै हरेक कविलाई आफ्नो कविता सान्दार, बिछट्टै गजबको कविता लेखेँ भनेर दंग लाग्छ । लाग्नु पनि पर्छ । यही दंगदास पार्ने विन्दासेपन नै कविता र कविको नातालाई निरन्तर बलियो बनाउँने भिटामीन-ऊर्जा हो । तथापि, यो वेहोसी-उमंगको क्षण हो । भर्खर बच्चा जन्मेको बेला आमाले बच्चा मात्र देख्छिन् । बच्चाको जीउभरिका फोहर, साल, नाल, रगत लत्पतिएको देख्दिनन् । उमंगको पहिलो जोडदार आँधी गुज्रेर गएपछि, आमाको मनस्थिती नर्मल अवस्थामा आएपछि आमाले बच्चाको जिउको फोहोर देख्न थाल्छिन् । त्यसैगरी, कविले पनि लेखिसक्ने बित्तिकै कवितामा कुराहरू दोहोरिएको, बिम्ब र प्रतीकहरूको तालमेल नमिलेको, मिथकको प्रयोग अति भएको, शब्द छनौट र वाक्य गठन नमिलेको, आदि केही देख्दैन ।
कवि पनि कविता लेखिसकेर ‘उमंग’को मनोगत बाढी-आँधीबाट गुज्रँदै केही समयपछि नर्मल जीवनमा फर्कन्छ । एक-डेड दिन, एक हप्ता वा एक महिना या अझ धेरै समय पनि लाग्न सक्छ । केही समयको अन्तरालपछि कविता फेरि निकालेर हेर्दा कवि अब एक पाठक, विश्लेषक रअविभावक पनि हुन्छ । उ आफ्ना सन्तानलाई हर किसिमले सही ठान्ने ‘धृतराष्ट्रिय तथा गान्धारीसिण्ड्रम[20]’बाट मुक्त भएर वुद्धि विवेक लगाएर सोच्ने हुन्छ । भावनामा बहकिने मात्र नभएर तर्कसंगत सान्सारिक हुन्छ । अब कवितामा के ‘बढी’ भयो र के ‘कम’ भयो भनी सोच्न सक्छ र कवितामा शब्द छनौट, विम्ब विधान, प्रतीक चयन, मिथको प्रयोग, रूपक प्रयोग, वाक्य गठन, आदि मिले-नमिलेको केलाउँने हुन्छ । नमिलेको मिलाउँछ । यसरी पालिस गरेर जब कविता आफुलाई ताजा-नौतुन लाग्छ तब मन मिल्ने साथीहरूलाई सुनाएर सुझाव लिने र अझ फेरि खिप्ने-चिल्याउँने, खाक्सी लगाउँने काम (Fine tune) गर्नुपर्छ । आफ्नो कविताका शब्द र हरफहरू काटेर फाल्नुजस्तो कठीन कविलाई केही हुँदैन । तर सुनलाई गहना बनाउँन आगोमा हालेजस्तै कवितालाई खार्नको निम्ती निर्ममतापूर्वक क्रुर काम गर्नु पर्ने हुन्छ । यतिबेला विचार गर्ने आधार – मेरो कविताले अहिलेसम्म कसैले नहेरेको कोणबाट जीवनलाई हेर्न सघाउ पुर्याउँछ? कसैसँग नमिल्नै शैलीगत भिन्नता मेरो कवितामा छ? आफ्नै पुराना कविताका कुरा पो दोहोरिए कि? भनी मिहिन जाँच गर्नुपर्छ । नयाँपन नभए च्यातेर फालिदिने हिम्मत पनि गर्नु पर्ने हुन सक्छ । नयाँ र तरो-ताजा किसिमको भए मात्र कविता ‘ठीक’ बन्यो भन्नुपर्छ । त्यसपछि बल्ल गोष्ठीमा सुनाउँने वा प्रकाशन गर्न सकिन्छ ।
कवि साथी — हरेक ‘साथी’ भित्र एक सशक्त ‘प्रतिस्पर्धी’ पनि बसेको हुन्छ । आफ्नै कवि साथी कविताको अखाडामा एक बलियो ‘प्रतिस्पर्धी’ पनि हो । तर दुश्मन होइन । व्यवसायिक ईर्श्या (Professional jealousy) कविहरूका वीच पनि हुन्छ । हुनु पनि पर्छ । एक कविले अर्को कविको ईर्श्या गर्यो भने अब्बल कविता सृजना भएको बलियो सूचक हो । राम्रो कविताले अरुलाई पनि अझ राम्रो कविता लेख्ने ईर्श्यालु ऊर्जा दिन्छ । अर्को कविलाई समेत राम्रो कविता सृजनागर्नै पर्ने बाध्यकारी मानक-उदाहरण खडा गरिदिन्छ र त्यो मानकभन्दा कमसल कविता नलेख्ने वातावरण बन्छ । हरेक कविताले बजारमा प्रतिस्पर्धा गर्नै पर्ने हुन्छ । बजार असाध्यै क्रुर हुन्छ ।कुनै अमुक कविको कवितालाई विशेष प्रतिशत छुट दिएर बजारले हेर्दैन । जुन कविता खरो उत्रन्छ त्यही चल्छ । खरो उत्रिनको लागि कविता नै ईर्श्या लाग्दो हुनुपर्छ ।
दुई स्मरणीय घटना (Incidences) हेरौँ –
(अ) अर्नेष्ट हेमिङवेले[21] The Old Man and The Sea पहिलो पटक (१९३६) लेखे तर थन्किएर बस्यो । तर १९५१ मा (करीव १५ वर्ष पछि) पुन: लेख्दा वीचमा उनले अनुभवका आधारमा सिकेका कैयौँ परिपक्व कुराहरू समावेश भए । १९५२ मा प्रकासित भयो । अहिले त्यो कृति मानव सभ्यताकै साहित्यिक सम्पदाका रूपमा विश्वप्रसिद्ध छ । (आ) खलिल गिब्रानले“The Prophet” लेखिसके पछि सबैभन्दा पहिले आमालाई पढेर सुनाए’रे । आमाले – ‘यो राम्रो छ । यसलाई अहिले नै हतार गरेर प्रकाशित नगर । जीवनका अनेक पाटाहरू भोग, अनुभव गर र अनुभवी तथा matured सोचको आधारमा यसलाई पटक पटक सच्याउ । जब शतप्तिसतचित्तबुझ्दो बन्यो भन्ने लाग्छ अनि मात्र प्रकाशन गर्नु भनिन्’रे । आमाको सुझाव मानेर १७ वर्ष लगाएर, अनुभवका आधारमा गिब्रानले पुनर्लेखन गरिरहे, पलिस गरिरहे र चित्त बुझ्दो भएपछिप्रकाशित भयो । जुन अहिले मानव जातिकै एक साहित्यिक सम्पदा मध्ये एक माष्टर पीसबनेकोछ । यी कृतीहरू अमूल्य छन् । यसरी आफ्ना कृतिलाई अथक धैर्यका साथ निरन्तर सुधारीरहने, खिपीरहने हेमिङवे र गिब्रानको जस्तो ‘कर्मयोगी’ले गतिलो सृजना दिए । यस्ता महान कृती दिन सकिएला नसकिएला तर यी उदाहरणले सृजनामा लाग्नेले गंभीर हुनु पर्छ भननि प्रेरित गर्छन् ।
कविता लेख्नु साहित्यिक कलाको रानी-सागरमा पौडिनु हो । हतारमा लप्पन-छप्पन गरे डुबिन्छ । धैर्यशील तथा तरिका पुर्याएर गहिराईमा पौडी खेल्नेले मोती निकाल्छ । कलात्मक सृजना हतारमा उजागर हुँदैन । हतारमा त केही टिपोट तैयार होलान् । टिपोट कविता होइन, कला होइन । कच्चा पदार्थ मात्र हो । कच्चा पदार्थलाई कविता भनेर प्रस्तुत गरे पारखी-अध्येताले देख्नासाथ त्यसको गुणवत्ता चिन्छन् । एउटा कविको ऊर्जाशील र सृजनात्मक जीवन लामो हुँदैन । अपवाद बाहेक एउटा कविले धेरैमा ५-७ वटा नितान्त नौला र प्रभावशाली कविता दिने हो । कैयौँ कविको एउटा कविता नै उनको पहिचान बनेको पनि देखिएकैछ ।
१२। प्रत्येक कविको आफ्नै फरक दृष्टिकोण (Perception[22]) हुन्छ, छुट्टै आफ्नो जीवनदर्शन हुन्छ । जसले उसलाई अरुभन्दा भिन्न बनाउँछ । कविता त्यही भिन्न दृष्टिकोण ‘स्थूल’ वा ‘सूक्ष्म’ रूपलेकसैको हृदय झुमाउँने र कसैको निम्ती मलमलले छोपेको हथौडा (Hammer in velvet) को प्रहारजस्तो सृजना बनेको हुन्छ । बेलायतका शेक्सपियरले ‘…‘भाग्य’ले गर्दा होइन बरु आफैँले गर्ने‘गल्ती’ले गर्दा मानिसले दु:ख पाउँछ…’ भन्ने आफ्नो दृष्टिकोण विकास गरे । त्यही कुरा आफ्नासृजना मार्फत प्रक्षेपण (Projection) गरे । यो दृष्टिकोण ग्रीसेली दार्शनिक एरिस्टोटलको लगभगदुई हजार वर्ष पुरानो ‘भाग्यले गर्दा मानिसले दु:ख पाउँछ’ भन्ने ‘भाग्यवादी’ दृष्टिकोणको विरुद्धशेक्सपियरले प्रतिपादित गरेको क्रान्तिकारी दृष्टिकोण थियो । दुई हजार वर्ष सम्म मानिसहरूलाई पथप्रदर्शन गरिरहेको दृष्टिकोणलाई चुनौती दिनु र बद्ल्नु नै शेक्सपियरको नयाँ देन हो । दृष्टिकोण या विचार भनेको अजम्बरी सिपाही हो । बुध्दको शरिर मरेर गएपनि उनका विचारहरू अहिले पनि अनेक मुलुकहरू जित्दै गइरहेछन् फैलिँदै गईरहेछन् । गान्धी, मण्डेला, ली क्वान यूको शरिर पनि मरेर गए तर उनका विचारले अहिले पनि समाजहरूलाई नेतृत्व गरिरहेछन् । कवि पनि एक स्रष्टा र द्रष्टा हो । द्रष्टाले नयाँ सृजना गर्दा जीवन र जगतलाई हेर्ने नयाँ आँखा (दृष्टिकोण) पनि दिएको हुन्छ । यही नयाँ दृष्टिकोण हो परिवर्तनको कारक तत्व पनि । कवि पनि पुरानो दृष्टिकोणका विरुध्द प्रतिपक्षी आँखा हो भन्ने ठान्दछु । सत्तापक्षका कवि कुरुक्षेत्रमा दुर्योधन हो भने प्रतिपक्षी कवि अर्जुन हो ।
१३। कविता र रूपान्तरण — कविता र रूपान्तरणको संबन्धका कस्तो हुन्छ? रुपान्तरणको प्रकृयामा कविताले कसरी योगदान गर्छ? मानिस ‘भौतिक (Physical body)’ र ‘मानसिक शरीर (Mental body)’ ले बनेको एक मनो-जैविक-ईकाई हो । भौतिक शरीर (Physical body)मा जडित ५ ज्ञानेन्द्रिय(Sensors) हरू (आँखा, कान, नाक, जिब्रो र छाला) मार्फत् दुनियाका हरेक जानकारीमनमा पुग्छन् । ती जानकारीहरू मानसिक शरीर(Mental body)मा पुगेपछि ती सूचना-जानकारीहरूलाई सुक्ष्म मनो-कृयाकलापले प्रसोधन (Mental process) गरेर कविता सृजना गरिन्छ ।
‘मन’का मुख्य चार आयाम[23] मध्ये चौथो आयाम चित्त (Intelligence) नै सृजानको जन्मस्थल हो । जसले ‘मानस’मा भण्डारण गरिएका सूचना-जानकारी-बिम्बहरूलाई नयाँ स्वरुपमा जोडेर नौलो सृजना गर्ने काम गर्दछ । पाठकले पनि चित्त बुझेपछि कवितालाई आफ्नै बनाएरराख्छ, बिर्सनै सक्दैन । सम्झिरहनु भनेको त्यो कविता पाठकको मार्गदर्शक बन्नु हो । अर्थात्,चित्तमा गएर बसेको कविताले पाठकलाई हिजोको भन्दा नयाँ ढंगले सोच्ने, हरेक कुरा नयाँ ढंगले हेर्ने र नयाँ ढंगले चल्ने परिवर्तनकारी बन्न केही न केही योगदान गर्छ । कविताले नै मानिसलाई पुरै परिवर्तन गर्ने होइन बरु नित्य रुपान्तर भईरहने मानिसको रूपान्तरण हुने प्रकृयलाई गतिशील बनाउँन मद्दत गर्छ । कविता र रुपान्तरणको संबन्ध भनेको यही हो ।
दुनियाको सबैभन्दा गंभीर तर पृय विषय जिन्दगी नै हो । यसलाई आकर्षक शैलीमा उतार्ने कौशल(Craftsmanship) नै कविताकर्म हो । जीवन कविताको आत्मा हो शैली यसको शरिर हो । शरिरमा आत्मा बसेपछि मात्र जिउँदो-जाग्दो हुन्छ । यसभन्दा पर, अरु सबैलाई जस्तै, मातृभूमि नेपालको माया हृदयभित्र नभत्किनेगरी ढलोट भएकोछ । मेरो देशको चिनारी सोध्नेहरूलाई किरात सभ्यताको मुन्धुमले सिकाएको प्रकृतिको पुजा, सनातनी सभ्यताले सिकाएको काम, अर्थ, धर्म र मोक्ष[24] तथा बसुधैव कुटुम्बकम[25] अनि बुध्दका चार आर्य सत्य[26] र आर्य अष्ठाङ्गी मार्ग[27]हरूको अन्तरघुलनले बनेको मुल्य र मान्यताले मेरो देशको पहिचान बनेको छ भनेर समेत कविता लेखेँ । म कविता लेख्ने एक अलौकिक कर्ममा होमिएर नै जीवनमा खुशी हुन सकेँ । कविता लेख्नु सफल वा असफल हुनलाई होइन । यो त जीवनको महान सत्य, शीव र सुन्दरताको आराधना गर्नलाई हो ।
तेसो त कविता कत्तिले नै पढ्छन् र? मेरा कविता धेरैले पढून् भन्ने आकांक्षा पनि होइन । बरु आफैँलाई रूपान्तरण गर्न खोजिरहेकाहरूले कतै कहीँ मेरो कविता पढे भने उनको चित्तको तहमा हुँदै गरेको गतिशील रूपान्तरणको प्रकृयालाई मैले पनि सलाम सहित ऐक्यवद्धता जनाएको जाहेर होस् भन्ने सम्म चाहना हो । मानिस सभ्य, सँस्कारी र क्रान्तिकारी पनि भएको प्रमाण हो कविता। यही साश्वत सत्यको पक्षधर कविहरूको फौजमा म पनि कहिल्यै रिटायर्ड नहुने एक प्रतिपक्षी कविका रुपमा सामेल छु ।
विक्रम सुब्बा, ८६/१५ शंखमूल, काठमाण्डु, नेपाल
(January 18, 010, Reviewed on September 30, 017)
[1] क) प्रागऐतिहासिक (Prehistoric) कालमा लोक कविता र लोक गीतका रुपमा कविता रचित हुन्थे र स्रुती परम्परामै पुस्ता-दर-पुस्ता हस्तान्तरण हुँदै बाँचेका थिए । सिन्दुघाटीको सभ्यता हुँदै भारतमा जन्मे-बढेका ‘वेद’ लोक कविताकै रुपमा रचिएको र स्रुती परम्परामै बाँचेको सम्पदा हो । पछि अभिलेलिखित गरिएपनि अन्दाजी वेदहरूको रचनाको समयावधी १५०० देखी ६०० BC तिर हुनु पर्छ भनिएकोछ । अर्थात, ९००-१००० वर्ष सम्मको समयावधीमा रचित लोक कविताहरू नै वेद हुन् । त्यस्तै, ख) पाश्चात्य कविताको पहिलो ग्रीसेली महाकवि होमर (८०० देखि ६७५BC) को ‘ओडेसी’ ‘ईलियड’हरूलाई पहिला कविता मानिन्छ । तथापि, महाकाव्य समेत रचना गर्ने परम्परा विकसित हुने भनेको कम्तीमा ३-४ सताव्दी अघि अघिदेखि नै कविताको लोक परम्परा रहेको हुनुपर्छ भनी अन्दाज गर्न सकिन्छ । ग) चीनमा ‘चिनीया ३५० कविता र गीतहरू’ (१० देखी ७ औँ सताव्दी BC) पहिला कविताका रुपमा देखिन्छन् । जसको कवि छैनन् । ती पनि लोक परम्पराबाट रचित कविता र गीतहरूलाई अभिलेखिकरण गरिएका हुन् । उल्लेखित कविताहरू छन्दात्मक रहेकाछन् । छन्दमा यी कविता हुनाका कारण (लेखन परम्परा नभएकोले) कविता गाएर कण्ठस्त गर्न सजिलो हुने भएकोले हो भन्ने कुरामा सबै सहमत देखिन्छन् ।
[2] Free verse: छन्दको नियम भत्काएर गध्य कविता लेख्ने अभियान १८८० तिर फ्रान्सबाट सुरु भयो । अमेरिकी कवि वाल्ट ह्विटमन (१८१९ – १८९२)लाई अमेरिकमा गध्य कविता आन्दोलनका प्रणेता मानिन्छ । २० औँ सताव्दीको सुरुवात देखि बेलायतका अंग्रेजी कविहरूले गध्य कविता लेख्ने अभियान थालेपछि बेलायती उपनिवेशहरूमा अंग्रेजी भाषाका कविता पढ्ने कविहरूहरूका वीच गध्य कविताको आन्दोलन फैलिएको देखिन्छ । यसरी गध्य कविता लेखनको आन्दोलन साम्राज्यवादले गर्दा नै फैलिएको हो भनिन्छ । नेपाली कविताको ईतिहासमा (माइकल हटका अनुसार) कवितामा छन्दवध्द लेखनलाई बहिस्कार गरेर गध्य कविता लेख्न थाल्ने पहिलो क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल (१९१८-१९७३) हुन् । प्रष्ट छ अंग्रेजी कविताको Free verse लेखन भारतमा आएर गध्य कविताको रुपमा चल्यो र भारतबाटै ‘कान्ति’ नेपाल पस्दा ‘गध्य कविता’ पनि नेपाल पस्यो ।
[3] Format: पाठकहरूको सोच सृंखला (Thinking process) अनुसार बुझ्न सजिलो होस् भनेर एक निश्चित संगतीमा बिभिन्न शब्द, तथ्यांक वा विचारहरूलाई तर्जुमित गरेर राख्ने खाका ।
[4] Rhythm: मोटामोटी रुपमा मन्द्र, मध्यम तथा तीब्र (२१) स्वर-ध्वनीहरूको संयोजबाट सृजना हुने सांगितिक धून-लय । संगीतमा भन्दा फरक, कवितामा शब्द र विचारहरूको मन्द्र, मध्यम र तिब्र भावना, विचारहरुका बिम्बहरू संयोजन गरी सृजना गरिने लय भनि बुझ्नु पर्छ ।
[5] अंग्रेजीमा Blank verse भनेको छन्दवध्द हुँदाहुँदै पनि कविताका हरफहरुको लम्बाई र मात्रा नमिल्ने हुन्छ भने Free verse भनेको कवितात्मक हरफमा लेखिने तर छन्दमा नबाँधिई गध्य जसरी लेखिने कविता हो । नेपालमा Blank verse र Free verse दुबै चलेका छन् । तथापि गध्य कविता भन्दा धेरैजसो Free verse लाई बुझ्ने गरिन्छ ।
[6] छन्द: गति, यति, तुक, मात्राका सथै गणहरू (यगण, मगण, तगण, रगण, जगण, शगण, नगण तथा सगण)का शुभ र अशुभ शब्द छनौट गरी मातृक, वार्णिक, आदि छन्दले तोके बमोजिम कविताका हरफहरू संयोजन गर्ने कविता लेखनको व्याकरण ।
[7] शब्दहरूलाई ‘रस’ र ‘लय’हरू अनुसार संगतीपूर्ण किसिमले संयोजन गरेर कविताका हरफहरू गठन गर्नु जुन पठाकले पढ्दा मिठासपूर्ण र लयात्मक लागोस् ।
[8] Sophocles (497-406 BC): ग्रीसेली नाटककार जसले अहिलेसम्मको मानव ईतिहासकै सबैभन्दा दु:खान्त नाटक King Oedipus लेखे । जुन नाटकको आधारमा Aristotle ले ‘मानिसको भाग्यले गर्दा दु:ख पाउँछ’ भन्ने पाश्चात्य नाट्य सिध्दान्त नै प्रतिपादन गरे । यही King Oedipus नाटकमा ‘छोराले आमासँग (अन्जानमै) विवाह गरेर वच्चा समेत पाएको प्रसंगको आधारमा छोरा र आमाको अचेतन मनमा यौन आकर्षण हुन्छ भन्ने Oedipus complex नामक यौन आकर्षणको नयाँ सिध्दान्त नै यौन मनोविज्ञ सिगमण्ड फ्रायड (1910) ले प्रतिपादन गरे जुन अहिले विश्वविख्यात रहेकोछ ।
[9] ओमार खैय्याम (1048-1131 BC): फारसी दार्शनिक, गणितज्ञ, खगोलबिद, ज्योतिष तथा कवि । कवितामा छोटा मीठा चार पंक्ती (Quatrains) का (मुक्तक शैलीका) कविता, रुवायतहरू, खैय्यामले नै सुरु गरेको भनिन्छ । उनका दर्शनमा ‘आफुलाई चिन्न’ खोज्ने गहिरो ‘रहस्यवादीता (Mysticism)’ र Islamic Golden Age(जसको अन्त्य मंगोल आक्रमणबाट १३ औँ सताब्दिको अन्ततिर भयो) को समयावधीका भएकोले आनन्द नै जीवनको मूल हो भन्ने ‘मोजमस्तीवदीता(Hedonism)’ उनको कवितामा निहित रहेको छ ।
[10] जलाल-अद-दीन-मुहम्मद रूमी (1207-1273): फारसी कानुनबिद, ईस्लाम विद्वान, अध्यात्म शास्त्री तथा सूफी र गजलका विश्वविख्यात कवि । जसका सूफी र गजल परम्पराहरूले ईरानी, ताजिकिस्तानी, तुर्की, ग्रिसेली, पस्तुनी, भारतीय, पाकिस्तानी, पञ्जावी, मारवाडी, बलुच, महाराष्ट्रियन, बांग्लादेशि लगायत दक्षिण एशीयाली कविता लेखन र गायन परम्परालाई उम्किनै नसक्ने गरी बसेस्सरी लपेटेको छ । जीवनको रहस्य र ईस्लामिक अध्यात्म मिस्सिएको उनको जीवन दर्सन र लेखनले गर्दा, भनिन्छ – रुमीका सूफी र गजलहरूले पहिले मानिसका हृदय जितेर एकिकरण गर्छ त्यसपछि ईस्लाम धर्म पसेर राज गर्छ । रूमीका शक्तिसालि कविताहरू ‘मस्नवी’मा संग्रित छन् । मस्नवी लगायत उनका अनुदित कविताहरूको The Essential, The Book of Love जस्ता कवितासंग्रहहरू अहिले (करीव ८०० वर्ष पछि) पनि पाश्चात्य दुनियामा कवितामा Best sellers मा परिरहेकाछन् ।
[11] खलील गिब्रान (1883-1931): लेवनानका लेखक, दार्शनिक, कवि तथा पेन्टर । ‘सारा विश्व नै मेरो गृहभूमि तथा सबै मानव मेरा आफन्त’ भन्ने चिन्तन उनको कविता (The Prophet) र पेन्टिङहरूमा प्रक्षेपण गरेकाछन् ।
[12] रविन्द्रनाथ ठाकुर (1861-1941): बंगाली सभ्यताका सबै विषय-जानिफकार (Bangali Polymath), बंगाली संगितज्ञ तथा कवि । जसले आफ्नो नामको ‘ठाकुर’लाई पछि ‘टगोर’ भनि लेखे । उनले बंगली समाजमा चलेका भक्ती-भजनहरूलाई ‘गितान्ञली’ भनेर संकलन गरे । जसको अंग्रेजी अनुवादले १९१३ को साहित्य तर्फको नोबेल पुरस्कार पनि पाए । जुन गैर-यूरोपेली साहित्यकारले पहिलो पल्ट नोबल पुरस्कार पाएको रेकर्ड पनि हो । रविन्द्रनाथ टेगोरले बंगाली लोक गीत (Ethnomusic) को आधारमा भारतीय संगीतलाई नै पुनरव्याख्या गरे भने बंगाली लोक साहित्य (Folklore) को आधारमा भारतीय साहित्यलाई समेत नयाँ ढंगले परिभाषित गरिदिए ।
[13] Pablo Neruda (1904-1973): चिलीका कवि, कुटनितिज्ञ तथा राजनीति कर्मी । अर्ध चेतनका(Surrealism) सुन्दर प्रेम कविता लेख्ने कम्निष्ट कवि । जसको ‘२० प्रेम कविता र उदासिका गीतहरू’ नामक कवितासंग्रह विश्वविख्यात छ । नेरुदालाई १९७१ मा साहित्यतर्फको नोबल पुरस्कार दिईएको थियो ।
[14] हरिवंश राय वच्चन (1907-2003): भारतीय कवि । जन्मको नाम हरिवंश राय श्रीवास्तव । उनलाई बाल्यकालमा ‘वच्चन (बालक)’ भन्ने गर्थे । उनी बेलायतको क्याम्ब्रीज विश्वविद्यालयमा पीएडी गर्न गएको बेला देखि उनले आफ्नो श्रीवास्तव त्यागेर साहित्यिक नाम हरिवंश राई ‘वच्च्चन’ राखे । उनले ओमार खैय्यामका रुवायतहरूबाट र रुमीका सूफीहरूबाट प्रभावित ‘मधुशाला’ नामक हिन्दी रुवायतहरूको रचना गरे जसलाई हिन्दी कविता साहित्यमा सबैभन्दा धेरै प्रति बिकेको पुस्ताक भनिन्छ । भारतीय सँस्कृत साहित्यका उपमा र रूपक तत्वको बेज्जोड प्रयोग उनका रुवायतहरुको विशेषता हो । भारत सरकारले १९७६ मा ‘पद्मभूषण’ले उनलाई सम्मान गरेको थियो ।
[15] Myth: ग्रीसेली शब्द Mythos बाट आएको शब्दको मौलिक अर्थ ‘कथा’ हो । पछिपछि यो शब्दले ‘पवित्र कथा’, ‘परम्परागत संकथन’, ‘तिलस्मी कथा’, ‘देवी-देउताका कथा’, आदि अर्थ समेत बोक्ने थाल्यो । कवितामा ‘मीथ’को प्रयोग भरमार भएको पाइन्छ । जस्तै: ऋगवेदमा ब्रह्माले ईश्वर, मानिस र राक्षस सृष्टि गरेर तिनलाई स्वर्ग, धर्ती र नर्कमा राखे भनेर कवितामा काल्पनिक मीथ हालेको देखिन्छ । अहिले त्यही नै सत्य हो जस्तो भएर सनातनी सभ्यता मान्नेहरूको दिमागमा जरा गाडेर बसेकाछ । तेस्तै ग्रीसेली कवि होमरले Trojan War नामक एउटा मीथ-कथालाई उपयोग गरेर महाकाव्य लेखे । अहिले त्यो नै ईतिहासको एउटा प्रमाण हो भनेझैँ पेश गरिन्छ । नेपालकै मुनामदन पनि नेवारी लोक मीथमा आधारित छ । किरातहरूको सुम्निमा पारुहाङ, वौद्धहरूको जातक कथा, भारतका पञ्चतन्त्रका कथा तथा अकवरवीरवलको कथा, ईशाईहरूमा चलेका जिजसले गरेका चमत्कारका कथा-घटनाहरू, अल्लाहको नाममा मरे स्वर्ग गईन्छ भन्ने मुसलमानहरूको सोच, जेके रोलिङले कल्पना गरेर जन्माएको ‘ह्यारी पोर्टर’को मीथ त यो युगको (बाइबलपछि) सबैभन्दा बढी बिकेको पुस्तक नै भयो ।
[16] सुत्रात्मक (One liner): जस्तै: १। समय हुँदैन घडी हुन्छ; २। नर्तकी बिना के को नाच?; ३। तिमी यहीँ बसे नर्क कसले रुँग्ला? ४। माया बैगुनी; ५। घाँटी नहेरी घुस, आदि सुत्रात्मक (One liner) अबिव्यक्ती हुन् ।
[17] बिम्बात्मक अभिव्यक्ती: जस्तै: १। उ हुरी भएर आउँनेछ, तिमी पात भएर पछ्याउँनेछौ; २। मृत्यूले बजार भाउ बुझेर गयो; ३। हामी क्यारेम बोर्डका गोटी हौँ, आदि नेपाली कवितामा प्रयुक्त बिम्बात्मक अभिव्यक्ती हुन् ।
[18] जस्तै: ‘धर्म’ भन्ने शब्द सुन्दा या पढदा ‘मन्दिर’ ‘घण्ट’ ‘त्रिशुल’ ‘पुजारी’ ‘गीता’ ‘कृष्ण’ ‘रामायण’ ‘राम’ आदिका बिम्बहरू दिमागमा हाजिर हुन्छन् । दिमागको निम्ती तिनै बिम्बहरू नै ‘धर्म’ शब्दका अर्थ हुन् । तेस्तै,Religion भन्ने शब्द सुन्दा ‘चर्च’ ‘पादरी’ ‘बाइबल’ ‘क्रस’ ‘जिजस ख्राइष्ट’का बिम्बहरू दिमागमा हाजिर हुन्छन् । दिमागको निम्ती ती बिम्बहरू नै सब्दका अर्थ हुन् । तेस्तै ‘आगो’ शब्द सुन्दा आगोको ज्वालाको तस्विर दिमागमा हाजिर हुन्छ, ‘आमा’ भन्दा ‘पेट बोकेकी महिला’, ‘दूध चुसाई रहेकी महिला’, ‘काखमा नानी राखेर खेलाई रहेकी महिना’ ‘आफ्नो औँला समाउँन दिएर वच्चालाई हिँड्न सिकाईरहेकी महिला’ आदिको बिम्बहरू दिमागमा हाजिर हुन्छन् । तिनै बिम्बहरू नै दिमागको निम्ती आमा शब्दका अर्थ भए । शब्दले अर्थ दिने होइन, शब्दले बिम्ब सृजान गर्छ र बिम्बलाई दिमागले बुझ्छ ।
[19] जैविक परिवर्तनको चक्र । जस्तै: पञ्च तत्वले बनेको एउटा कोस (cell) आमाको गर्भमा टाँस्सिएर बस्ने, बढ्दै गएर भ्रुण बन्ने, भ्रुण बढ्दै गएर बच्चा बन्ने जैविक चक्र पुरा गरेपछि मानिसको रुपमा जन्म हुन्छ । जन्मेपछि बामे सर्ने, हिँड्ने, जवान हुने, आफ्नो काम आफै गर्ने, विवाह गर्ने, वच्चा जन्माउँने, समाजको सदश्यका रुपमा अनेक जिम्मेवारी सम्हाल्ने, उमेर ढल्दै जाने, वृध्दावस्थामा पुग्ने र एक दिन फेरि मरेर पञ्च तत्वमै विलिन हुने प्रकृया मानवको जैविक जीवन चक्र हो । तेस्तै, कुनै विरुवाको, कुनै गाडी या यन्त्रको, घरको, अन्नको पनि जीवन चक्र हुन्छ ।
[20] धृतराष्ट्रिय तथा गान्धारी सिन्ड्रोम: १) श्रीमान अन्धो भएकोले हुँदा-खाँदाको आँखामा पट्टि बाँधेर अन्धी बन्नु गान्धारी सिण्ड्रोम हो । प्रतिकात्मक रुपमा गलत र सही नहेरी ‘आफ्नो मान्छे’ कै जस्तो भईदिने या पक्ष लिने प्रवृत्ति नै ‘गान्धारी सिन्ड्रोम’ हो । यो भारतीय सभ्यतामा अझ राजनीति गर्नेहरू वीच एक मानसिक रोगको रुपमा स्थापित भएकोछ । २) धृतरष्ट्रले कौरवहरूलाई मात्र “आफ्ना” र पाण्डवहरूलाई “पराई” ठानेकोले नै ‘महाभारत’ सृजना भएको हो । भारतको सन्दर्भमा नेहरुका सन्तान मात्र शासन गर्न लायक अरु नालायक ठान्ने वंशवादको मानसिक रोगलाई ‘धृतराष्ट्रिय सिण्ड्रोम’ भनेर मनोचिकित्सकीय प्रणालीमा रोग पहिचान-किटान गर्ने गरिएकोछ ।
[21] Ernest Miller Hemingway (July 21, 1899 – July 2, 1961): अमेरिकी उपन्यासकार । जसको उपन्यास The Old Man and the Sea विश्वविख्यात छ । यो उपन्यास १९३६ मा लेख्न थाले तर विचैमा उनले अर्को पुस्तक For Whom the Bell Tolls लेख्न थालेकोले The Old Man and the Sea त्यसै थन्किएर रह्यो, बिर्सेको जस्तै भयो । तर यो उपन्यासलाई गएर १९५१ फेरि लेखे । जुन १९५२ मा प्रकाशित भयो । जसले पुरस्कारहरू पाए र यही पुस्तकको आधारमा साहित्य तर्फ नोबल पुरस्कार (1954) समेत पाए । यो पुस्तकमा ‘सकारात्मक सोचका साथ निरन्तर लागिपरेर काम गर्ने बानी हरेक मानिसभित्र सँस्थागत भए मात्र सफलता पाइन्छ’ भन्ने आफ्नो सिध्दान्त प्रक्षेपण गरेका छन् ।
[22] Perception: कुनै सूचना ज्ञानेन्द्रियहरू (आँखा, कान, नाक, जिव्रो, छाला) द्वारा ग्रहण गरेपछि त्यसलाई दिमागमा संगठित किसिमले राख्ने, आफ्नो ज्ञानको आधारमा त्यसको पहिचान स्थापित गर्ने, त्यसको अर्थ लगाउँने तथा त्यसको उपयोगिता (Interpretation) निर्धारण गरेर सोही अनुसार कारबाही गर्न आफुलाई तैयार गर्ने मानसिक प्रकृया । Perception र Interpretation को संबन्धलाई बुझाउँन – भारतका महात्मा गान्धी र सुवसचन्द्र बोस दुबैजनाको बृटिशलाई भारतबाट लखेट्ने भन्ने समान Perception थियो । तर Interpretationमा पुग्दा गान्धीले ‘सत्याग्रह’ मार्फत कारबाही गर्ने भन्नेमा पुगे । सुवासचन्द्र बोस ‘हतियारबन्ध युध्द’ नै सन्चालन गर्नेमा पुगे । हरेक कविले कुनै पनि सूचनालाई समान किसिमले perceive गर्छन् तर हरेकले त्यसलाईinterpret फरक फरक किसिमले गर्ने काम आफ्नो कविता सृजनामा गरिरहेका हुन्छ । यही interpretationगर्न सघाउँने ज्ञान र शीपलाई तिक्ष्ण बनाउँन धेरै कुराको अनुभव गर्ने, पढ्ने, छलफल गर्ने र गरेरै सिक्ने(Learning by doing) हो ।
[23] मनका आयामहरू: १। वुद्धि (Intellect) जो ‘मानस’मा भएका सुचनाका भरमा अहंकारको पक्षमा तर्क मात्र गर्छ; २। अहंकार (Sense of identity) जो वुध्दिको तर्कको भरमा आफनो पहिचानलाई अरुको भन्दा विशिष्ट हो भनि स्थापित गर्न चाहान्छ ; ३। मानस (Memory) जसमा जीवन भरका सबै सूचनाहरु भण्डारण भएका हुन्छन्; र ४। चित्त (Intelligence) जुन सन्तुलित हुन्छ तथा कोहीबाट पनि प्रभावित नभइ न्यायसंगत निर्णय लिन्छ ।
[24] काम = मोजमस्तीको चाहना हुन्छ; अर्थ = चाहना पुरा गर्ने साधन स्रोत पैसा कमाउँनु पर्छ; धर्म = मानिस र समाजिक प्राणी भएकोले केही कर्तव्यहरू पालना गर्नु पर्छ; र मोक्ष = अन्तमा पञ्च तत्वले बनेको शरिरको पिंजराबाट निस्केर आत्माले मुक्ती पाउँछ’ भन्ने धारणा ।
[25] यो दुनिया सन्सारै एक परिवार हो भन्ने धारणा ।
[26] चार आर्य सत्य: १। दु:ख छ; २। दु:खका कारण छन्; ३। असिमित इच्छा-चाहनाहरूलाई कम गरेर सुन्यमा झारे दु:ख निवारण हुन्छ । त्यसको निम्ती आर्य हष्टाङ्ग मार्ग अपनाउँनु पर्छ ।
[27] आर्य अष्टाङ्गी मार्ग: क) सही दृष्टि; ख) सही आशय; ग) सही प्रयास; घ) सही वचन; ङ) सही कार्य; च) सही जीवन यापन; छ) सही विचार; ज) सही समाधी (ध्यान)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)