~साधना शर्मा~
गल्ती मेरै खोजी हुन्छ ममाथिनै अति हुँदा
लान्छन लाग्छन् म नै माथि मेरैमात्र खति हुँदा
त्यहाँ मेरै स्वरुपकी दुर्गा किन पुज्छन मान्छे
बुझेर नि बुझ्या’छैनन्, नबुझेकै बुझ्छन् मान्छे
“खराब आमा” नाम दिन्छन्, मैले अघि बढ्न खोजे
खुट्टा तान्नै खोज्छन् मैले माथि-माथि पढ्न खोजे
अनि फेरी म नै जस्ती सरस्वती पुज्छन् मान्छे
बुझेर नि बुझ्या’छैनन्, नबुझेकै बुझ्छन् मान्छे
गर्भमा म आएँ भने गर्भपतन गर्न खोज्छन्
जन्मिहाले बिस्मातले आफ्ना आँखा भर्न खोज्छन्
फेरी धनकी देवी भन्दै लक्ष्मी किन पुज्छन् मान्छे
बुझेर नि बुझ्या’छैनन्, नबुझेकै बुझ्छन् मान्छे
बुझेर नि बुझ्या’छैनन्, नबुझेकै बुझ्छन् मान्छे..
(स्रोत : रचनाकारको ब्लगबाट सभार)