कथा : ईश्वरको न्यायालय

~सविना सिन्धु~

“ओई कति बेला आइपुग्छेस् रुपमाँया आइपुगिन् ।” श्रेणितीले फोन गरी

“गेटमै आइपुगेँ ।”, मैले भनेँ अनि मोबाइल प्यान्टको पकेटमा राखेँ।

म कोठामा छिर्दा रुपमाँया आफ्नो कहानी सुनाउन थालिसकेकी थिइन् । मैले डिस्टर्ब गर्नु उचित ठानिँन । त्यसैले झोला साइड लगाएर राखी कुर्सी तानेर बसेँ।

“म निर्दोष थिएँ । अझै पनि भन्छु म निर्दोष छु । अनाहकमा उनीहरुले मलाई जेल हाले ।”, उनी भन्दै थिइँन् ।

उनले यति भन्दा मलाई कुनै करुणा जागेन । मैले उनको अनुहारमा राम्रोसंग हेरेँ । उनको चाउरी परेको निधारमा अपराधि भन्ने निशाना लागेझैं थियो । भो यी अपराधि सबै यसै भन्छन् । आखिर मैले सुनेकी रुपमाँया कर्तब्य ज्यान मुद्दामा सजाय भोगेर आएकी थिइन् । उनको उर्बर उमेर जेलमा बितेको थियो ।

“अपराध नै नगरी कसरी सजाय पाउनु भयो त ? त्यस्तो त हुनु नपर्ने”, मैले भनेँ ।

“त्यस्तै भयो । म परिबन्दमा परेँ।”, उनले भनिन् ।

“हत्या अर्कै ब्यक्तिले गरेको थियो । ऊ त सजायको भागिदार नै थियो । तर म चाहिँ ब्यर्थमा फसेँ मात्र । उनीहरुले मलाई ‘अपराधमा संलग्न भनी ठह¥याए । म निर्दोष छु भन्दा भन्दै……”, यति भनिसक्दा उनको आँखाबाट आँशु खस्यो ।

“चित्त नबुझे पुनरावेदन गर्न सक्नु हुन्थ्यो । आफू निर्दोष हुनुको प्रमाण जुटाउन सक्नु हुन्थ्यो । कानूनी प्रक्रियाहरु थिए नि !”, श्रेणितीले भनी

“खै के के हो म जान्दिन । वकिलहरुसंग सल्लाह लिएकै हो । जे गर्नु उनीहरुले गरे । केही नगरेकै पनि होइन ।”, रुपमाँया ले भनिन् ।

यी सबै वाहियात नाटक मैले सोचेँ । बिना प्रमाण त अपराधि ठहरिन्न भन्ने मेरो बुझाई थियो । तैपनि मैले उनको कुरा सुन्न छुटाइँन । यसकारण कि मलाई उनको कुरा कुनै काल्पनिक कथा जस्तो लागिरहेको थियो । जुन कथामा कथा वाचकले भूमिकाहरु सहजै फेर्न सक्छ । जुन कथा थपघट भएको पत्तो हुन्न म जस्ता श्रोतालाई ।

श्रेणिती सुन्दै थिई । उसलाई पनि रुपमाया को कथामा विश्वास लागेको थियो जस्तो लागेन ।

“म जेल परेपछि श्रीमानले अर्को बिहे गरे । उनीहरुको आफ्नै ब्यबहार बन्यो । सन्तान जन्माए । उनीहरु अहिले पनि सुखी छन् ।”

“अनि तपाइँका छोराछोरी नि ।”, मैले सोधेँ।

“छोराले आठ कक्षा पढ्दा पढ्दै पढाई छोडेछ । ऊ मायाको भोको थियो । बाबु चाहिँलाई के मतलब ? म जेल बाहिर हुन्थे त म उसलाई सही मार्गमा लगाउँथेँ । ऊ ड्रगिस्ट भयो । अनि एकदिन आत्महत्या ग¥यो । करिब एक वर्ष पछि मात्र मैले ऊ मरेको खबर पाएँ ।”, फेरी पनि उनका आँखाबाट आँशु झरे ।

“अनि छोरी नि ।”, श्रेणितीले सोधिन्

“ऊ कहाँ गई । के गरी थाहा छैन । दश कक्षामा पढ्ने भएपछि ऊ हिँडी । साथमा लुगाफाटा र बाबु चाहिँसंग झगडा गरेर पाँच हजार पैसा बोकेर हिँडेकी थिई ।”, उसको बाबु त्यसै भन्थे ।”

“म जेल बाहिर हुन्थेँ त मेरा छोराछोरी तपाईँहरु जस्तै पढे लेखेका हुन्थे । सही बाटोमा हुन्थे । कम्तिमा ब्याचलर गराउँथेँ । मैले पनि एसएलसी सम्म त पढेको छु ।”

“………तर अपसोस छोरा दुनियाँमै छैन । सर्वोस्व बितायो जेलले”

“साँच्चि मलाई विश्वास गर्नुस् म निर्दोष थिएँ । म सजायको भागिदार हैन ।”, रुपमाँया अझै बिगत सम्झेर रुँदै थिईन् ।

“यो कुरा, म मरेपछि ईश्वरको न्यायलयमा यसैगरी भन्नेछु ।”, रुपमाँया रोइन् ।

यसपटक मैले सोचेँ । यदि साँच्चै रुपमाया निर्दोष थिईन् भने उनले जेलमा बिताएका उनका उमेरहरु के फिर्ता आउँन सक्छन् ? फेरी त्यही ड्रगिस्ट छोराले आत्महत्या गर्नु अघिको समय अथवा ड्रगिस्ट हुनु भन्दा अघिको समय फिर्ता आउन सक्छ ? ….सक्दैन ।

रुपमाँया को कुरामा कहाँसम्म सत्यता थियो म जाँन्दिन् । वास्तविकता के थियो मैले बुझेको छैन । म कानूनको विज्ञ होइन । तर रुपमाँयाले आफ्ना कथा सुनाउँदा सुनाउँदै म भक्कानिएर रोएँ । आँशु थाम्न खोजेँ थामिएनन् ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.