~रमेश भट्टराई ‘सहृदयी’~
पिँढी बढारेर मेरी आमाले
घुरेनमा
मात्र कसिङ्गर फाल्नुहुन्थ्यो
हिउँदमा बारीले मुला मौलाउँथ्यो
मल बोकेका दिन
ननुहाए अपवित्र हुने कुरा थाहा छ
म गुम्छु आज
प्याच्च थुकिएको घुरेनझैं
बोरा, प्लास्टिक, जुत्ता, चप्पलको जालीमुनि
ढाकिएको बबुरा माटो
गन्जागोल, भद्रगोल वनका बोत्तलहरू
कुहिनै नसक्ने सिसाको टुक्रो बेवारिसे बन्दा
बलात्कृत देख्छु– प्रकृति ।
थोत्रा, पत्रु जुत्ता–चप्पल र कपडा पाखाभरि देख्दा
घुरेनमा फाल्दा मेरी आमाले
कुच्चाको डाँठले हानेको डाम ताजै छ
मेरा हजुरबाले चौतारीमा रोपेको वर–पिपल
आज विवाहित दम्पतिभैmँ छन्– तपिरहन्छन् ।
आँगनको भित्तोमा तुलसीले छरेको सुगन्धभित्र
आज जादुका ठेली भेट्छ विज्ञान
म घुरेन नियाल्छु,
छेउमा टमाटर–
तल्तिर काँव्रmोलाई थाङ्ग्रो चाहिया छ ।
इस्कुस घारीतिर फालेका छाताका करङ
हजुरबाले टिपेर सुइरो बनाउनुहुन्थ्यो
प्लास्टिकका झुत्रा रास देखेर
हजुरआमा पुनर्चक्र खोजेर पिरा बुन्नुहुन्थ्यो
खै आज कुन्नि कालोपत्रे प्लास्टिकले हुने भन्दा
म घुरेन र आँगनदेखि खोल्मासम्म
बाँसको लिस्नोमा प्राङ्गारिक मूल्य देख्दिन ।
शहरका घुरेनहीन घुरेनवाला कमालमा नाक थुन्दा
माक्स र कार्ल माक्र्स मिलेन म देख्छु
म घुरेनभरि आमाको जतन नियाल्छु ।
रातमा शहरियाले झ्यालबाट मिल्काउने पोका
खेतका माझमा हलोमा चप्पल अल्झियो
घुरेन र यान्त्रिकताको ताँदो बल्झियो
भो, तिम्रो गलगिज्ज सुकिलो ढोल
अब मलाई हजुरबाले रोपेको–
बेल, समी, पिपल, वर या आँपको मूल्य बुझ्न देऊ
पिण्ड लडाउँदा टपरी नै चाहिने
सोइलो, ठेडी, अनौ– काठको
जोतारो– पाटको डोरीको
हल्लुँड– छालाको
हो– करुवा र फाली फलामको
खेतका डिलमा भुटेको मकै र साँधेको गुन्द्रुक
या त चाम्रे तरकारी– आहा !
भो घुरेन नहुने बडेमानका बिल्डिङमा
न मुला सप्रन्छ, न इस्कुस, न काँव्रmो
विरक्त, विरक्त लाग्छ ।
तामाको करुवा लोहोटा र काठको कोसीको मोइ
म मकै दुई घान खान्थेँ र त
न डाइभिटिज न जन्डिस न सुगर प्रेसर
भो म घुरेन बनेर घुरेन नचिन्ने घुरेन बोल्दिन
म आमालाई अब सोध्छु–
आमा घुरेनसँग के हुन्छ ?
Ramesh Bhattarai
Lecturer
Adarsha Multiple Campus
Gajuri 1, Dhading
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )