~बिपना ढुङ्गाना~
केही भिन्न बन्दै गयो
उसको जीवनको यात्रा,
कलिला औँला दाँतले टोक्दै
हाँसिने लजालु त्यो मुस्कान देखि,
यथार्थ छल्किने
वास्तविकताको हाँसोसम्म।
केही भिन्न बन्दै गयो
उसको जीवनको यात्रा,
आफ्नो बुबाको दौराको फेर
कसिलो सँग समातेर
डराउँदै-डराउँदै पछाडी कुदेदेखि,
यो स्वार्थी समाजको अगाडि
एक्लै उभिन सक्ने क्षमतासम्म।
केही भिन्न बन्दै गयो
उसको जीवनको यात्रा,
छोटो फरिया अनि
दुई चुल्टि बाटेको कपालमा
आमाले बाँधिदिने रातो रिबनदेखि,
अफिस जाँदा उस्ले लगाउने
कालो कोटसम्म।
केही भिन्न बन्दै गयो
उसको जीवनको यात्रा,
अल्लारे ठिटालाई सिठ्ठीमार्दै
गिज्याउने ती दुई औलादेखि,
ठुलालाई आदर गर्दा जोडिने
ती दुई हातसम्म।
केही भिन्न बन्दै गयो
उसको जीवनको यात्रा,
रोजगारीको तिर्खा मेटाउन
चारिएका ती सर्यौँ गल्लीदेखि,
आफ्नै मेहनतले ठड्याएको
ती सक्षमताका उदाहरणसम्म।
जीवनको त्यो यात्रामा,
नहारेकी हैन ऊ,
नलडेकी हैन ऊ,
हजारौ भोगाई
नभोगेकी हैन ऊ।
सफलता, सजिलो कहिल्यै हुँदैन
त्यो समय पछाडि फर्किन उस्लाई
आफ्नो संस्कारले दिएन
त्यसैले ऊ हरेक रात रुन्थी,
फेरी मिरमिरेमा आँशु अङ्गाली
पुन: आफ्नो लक्ष्य बुन्थी।
बिपना ढुङ्गाना
म्याङ्गलुङ्-२, तेह्रथुम
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको ।)