~बसन्त चौधरी~
तिम्रो मायाको शीतल छहारी मुनि
शितलता पाउने आसमा बसी रहेँ
खोइ किन,
तिमी उजाड हौ वा म आफै राप
मेरो ताप कम हुन सकेन
तिम्रो हाँसोको हलुको मुस्कानमा
खुसी पाउने इच्छा व्यक्त गरेँ
खोइ किन,
तिमी उदास हौ वा म आफै दु:खी
मेरो ओठ फक्रिन सकेन
तिम्रो पाइलाको हरेक चालमा,
साथ पाउने रहर लिई हिँडि
खोइ किन,
तिमी बोझिला हौ वा म आफै गतिहीन
मेरा पैताला अघि सर्न सकेन
तिम्रो कोमल हत्केलामा हात राखी
कसम खाने स्वप्न देखेँ
खोइ किन,
तिमी कठोर हौ वा म आफै कमजोर
मेरो हात अघि बढ्न सकेन
तिम्रो न्यानो आलिंगनमा बेरिएर
भक्कानो छाडी रुने मन गरेँ
खोइ किन,
तिमी मूर्ती हौ वा म आफै ढुङ्गा
मेरो आँसु मोती बन्न सकेन
तिम्रो नजरको प्रत्येक हेराइमा
स्वर्ग नियाल्ने प्रयत्न गरेँ
खोइ किन,
तिमी जानिबुझि आँखा चिम्लिन्छौ वा मेरो दृष्टि दोष
स्वर्ग त के आफ्नो अनुहार पनि देख्न सकिन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)