~विवश पोखरेल~
समयको एउटा अप्ठ्यारो मोडमा
उभिएका बेला उसले मसँग सोधी–
‘तिमी जीवनलाई कति माया गर्छौ ?’
मैले भनें– तिमीले जति !
उसले फेरि सोधी–
‘अनि देशलाई ?’
मैले फेरि भनें– तिमीले जति !
उसले हाँस्दै भनी–
‘म त जीवनलाई जति देशलाई माया गर्दिनँ !’
‘किन ?’
मैले सोधें
उसले पुष्टि गरी–
‘हेर जीवन मसँगै छ
तर, अहिले म पराइ देशमा छु
सम्झनाका धमिला बिम्बजत्तिकै
देश टाढा छ, धेरै टाढा
मात्र भावनामा छ देश÷अनुभूतिमा छ
सिनेमाका पोष्टरमा
अर्धनग्न उभिएकी एउटी नायिकाको
कामुक शरीर र मुस्कानजस्तै
विज्ञापनमा छ
जहाँ बादलका भुवा बनेर मन पुग्छ, शरीर पुग्दैन
अनुभूति पुग्छ, स्पर्श पुग्दैन
जीवनजत्तिको प्रिय अरू केही हँुदैन
तिमी हँुदैनौ
तिमी र मबीच फुलेको प्रेम हँुदैन ।
जीवन आँसु हो, मुस्कान हो
खुसी हो, पीडा हो
देश र जीवनबीच
कुनै तुलना हुन सक्दैन
कुनै प्रतिस्पर्धा हुन सक्दैन
कुनै सम्झौता हुन सक्दैन ।’
ऊ बगी –
निरन्तर भावनाको नदी भएर अविराम बगी
शब्दका बतास भएर बगी
विचारको बादल भएर बगी
अनवरत बगिरही–
‘देश श्रद्धा हो, आस्था हो
दिवङ्गत भएकी आमाको भित्तामा टाँगिएको
तस्बिरजस्तै देश
मात्र एउटा स्मृति हो, आदर्श हो ।’
उसको अनुपस्थितिमा अहिले सोचिरहेछु
र, पढिरहेछु भोगाइसँगै
समयका दुःखान्त अध्यायहरू
उसले ठिकै भनी–
साँच्चै नै जीवनभन्दा ठूलो अर्को कुनै भोक हँुदैन
स्वार्थभन्दा ठूलो अर्को कुनै देश हँुदैन ।
०००