~दीपा राई पुन~
समयको अन्तरालमा
म कतै थामिएको क्षण
आफ्नैलाई ग्रहण लागेको बेला
नितान्त एक्लो महसुस हुँदा
तिमी झल्कियौ मेरो जीवनमा
मलाई नि उदाउनु पर्छ भन्दै
जीवनलाई रोक्नु हुन्न भन्दै
खोला झैँ बग्ने कसम खायौ
जीवन कै किनारमा
सरल मृदु भाषी उ
मलाई भन्ने गर्थ्यो
माया एक अर्कालाई बुझ्नु हो
खुसी साट्नु हो
जीवनको त के भर छ र !
आ-आफ्नै भरमा
जीवनलाई उकालो ठेल्नु हो
तिमी खुसी मात्र हौ न
म संसार जित्छु बुझेऊ !
जीवनको किनारै किनार
हामी बगिरह्यौ मायैले
अनायासै मलाई
छालहरूले बगरमा फ्याक्थ्यो
खाली खुट्टा मरूभूमिमा छाड्थ्यो
म उनकै सम्झनाले
हाँस्दै उठ्थे र हिँड्थे
हाम्रो कसम थियो
मैले खुसी भएर बाँच्ने
उ संसार जितेर बाँच्ने
त्यो निश्चल र निर्मल माया
म मेरो मुस्कानमा घोल्छु सधैँ
मलाई हाँसी रहँदा लाग्छ
उ मेरै समीप छ
उसलाई भेटेबाट
मेरो जीवनमा ग्रहण लागेको छैन ।
उसको एउटै शब्द ‘खुसी” मा
मैले जीवनको अर्थ बुझे
मायाको परिभाषा बुझेँ
उ जीवनको कुरुक्षेत्र जित्दै अगाडि छ
यही भूमिमा
म हाँस्दै खुसीको विज्ञापन गरेर बाँचेको छु
एकै भूमिमा ।
– हाल, बोस्टन, अमेरिका