कविता : फूल

~केदार श्रेष्ठ~

न घमण्डले मात्तिएर
फूलेको हो फूल
न रिसले लात्तिएर
फुलेको हो फूल
न कसैको खिस्सी उडाउन फुल्छ
न सुवास छरी लोभ्याउन फक्रिन्छ
न सुन्दरता हानी फसाउन फुल्छ
होइन अहमताले
फक्रेको होइन फूल
न कसैलाई जीवनदेखि लखेट्न फुल्छ
न कसैलाई निराशामा अल्झ्याउन फुल्छ
बरु आशा सजाउँछ
निराशाले खोक्रिएका आँखाहरुमा
बरु जीवन भर्छ
सङ्घर्षदेखि अत्तालिएका पाइलाहरुमा ।

फूल पाउलिन
एक चिम्टी माटो भए पुग्छ
चाहिँदो हावापानी भए पुग्छ
धर्ती, छाती भए पुग्छ
जहाँ, जरा स्वतन्त्र फैलाउन सकोस्
सुवास, सुन्दरता बाँड्न सकोस्
न अनकन्टार भीरपाखा भन्छ
न सन्नाटा जङ्गल
कठिनाइबाट कहिल्यै लत्रदैन
फूल
फूलभन्दा टाढा कहिल्यै भाग्दैन ।

हाँगा छोडेपनि
माटो सजाउँछ, फूल
धर्तीलाई उर्वर गहना लगाउँछ
फेरि फुल्न सिकाउँछ अरुहरुलाई
त्यसैले त फूल
न कहिल्यै झर्छ
न कहिल्यै ओइलाउँछ
कहिल्यै फिक्का हुँदैन रङ्ग
कहिल्यै मर्दैन फूल
फूल त फक्रिरहन्छ
आँखाहरुभित्र
जहाँ, आशाका रेखा छोट्टिने छैन
बरु बढ्नेछ
सङ्घर्ष अँध्यारिने छैन
बरु ज्वाजल्यमान भइरहन्छ
निरन्तर हेरिरहन्छन्
धर्ती, धर्तीका सिर्जनाहरु
देखिरहन्छन्
मान्छे, मान्छेका आकृतिहरु
फूल त बाँचिरहन्छ
मनहरुभित्र
जहाँ, थुप्रै मनहरुको सञ्जाल छन्
जहाँ, थुप्रै आशाहरु सञ्चित छन्
जिउँदा सपनाहरु सिँगारिएका हुन्छन् ।

——-
चैनपुर ७,धादिङ्ग

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.