कविता : अभियात्रा

~जीवन शर्मा~

व्यक्तिगत समृद्धिका आकाङ्क्षाभन्दा धेरै पर
आफन्तहरूका अपेक्षाभन्दा पनि अझै पर
मनभित्रको सुन्दर सपनाको संसार भेट्ने रहर बोकेको
अनवरत अविश्रान्त र आनन्दमय मेरो यात्रा
रक्तिम यात्रा ।

बचपनदेखिको एउटा सपना, उदात्त योजना
ह्दयको भित्री तलदेखि
मनको आकाशमाथिसम्म
बादल बनेर उड्दै उड्दै आउँछ
त कहिले
धैर्यताको बाँध भत्काउने गरी आउँछ
सागर बनेर उर्लंदै उर्लंदै ।

बाटोभरि सङ्गालेका समस्त वेदना
गीत गङ्गा बनेर बग्दछन्
अनि, मन चङ्गा बन्छ
ह्दय आकाशगङ्गा बन्छ
फुत्कँदै जान्छन जीवन घेराबाट
उकुसमुकुसिएका विषाक्त उत्कण्ठा
भत्किन्छन् सारा कठघराहरू
बाधा बन्धनहरू
यात्रा सहज बन्छ

सुनियन्त्रित मार्गदिशा, निर्बाध प्रवेग
अनि,
असीम लक्ष्य बोकेको
मेरो जीवनभन्दा मूल्यवान जीवनधारा
भगुवाहरूले बाटो बिराए पनि
अगुवाहरूले नै तगारो हाले पनि
बगिरहेको छ, बगिरहने छ

तिम्रा बन्दुक र क्षेप्यास्त्र दागेर
मेरा आसमानी तरङ्हरू झार्न नखोज
मेरो सङ्कल्प
पिलपिले, पिलन्धरे मक्किएको मखमल हैन
त्यो त
रङ्गिन हर्षोन्माद हो
प्रवल वायु वेग हो
आक्रान्त ज्वारभाटा हो
प्रचण्ड सौर्य तेज हो ।

निर्विकल्प सङ्कल्प बोकेको मेरो अनन्त यात्राले
भत्काउँदै जानेछ वर्तमान चराचर
उजाड्दै जानेछ धमिलो धरा
तिनका भग्नावशेषहरू पन्छाउँदै
निर्माण गर्दै जानेछ
सुनौलो स्वर्णिम संसार ।

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क २८ – June 4, 2014 – २०७१ जेष्ठ २१ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.