~सुकान्त राई नामदुंग~
जब अन्तहीन आकाशमा मरुभूमि पाउँछु
लाग्छ सयकडौं वर्षको बञ्जर धरतीलाई
नयाँ हरियो साडी र कंगन दिइरहेछु
जब कालो बादल, घृणाले होइन
जीवनको मेघदूत सम्झन्छु
फेरि आफैले वर्तमानलाई पराकाष्ठामा पुऱ्याए
झैं लाग्छ
जब बाहिर हाँसेर, भित्र रुन्छु
आफूले आफूलाई ढाँटे झैं लाग्छ
यसैले म मौन रहन्छु, चुप लाग्छु।
मेरो मौनताको सागरभित्र
के लुकेको छ
सल्किरहेको आगो, मुटुको ढुकढुकी होइन
वेगले बगिरहेको पानी जसले दिमागमा
भुँवरीको जाल बुन्छ
विचार र भावनाको द्वन्द्वमा म सधैँ
पराजित हुन्छु।
आदत लागे झैं लाग्छ
यी सबैको, रिसलाई श्वासको क्षणिकताले शान्त गर्छु
तर होइन, म फेरि पराजित हुन्छु।
काँडाले भरिएको जीवनमा
रगतले रङ्रिएका पाइलाहरू
सधैँ यो बाटोमा घिसारी
एउटा जिउँदो मानिसको परिभाषा
आफूलाई प्रदान गरी
फेरि त्यही पापी संसारमा
रुमलिन पुग्छु
आँधी – बेह्री सहेर फेरि
मेरो अस्ताचलमा सूर्य र शशि हाँसिदिन्छन्
तर फेरि यसको उपरान्त
त्यही सागरमा आफूलाई होमिदिन्छु।
(अक्षय स्मृति – सुकान्त राई (1983 – 2011) नामदुंग स्मृति ग्रन्थ,2011 – बाट साभार) – जुलाई 2011
(स्रोत : रचनाकार डट कम)