~सरोज धिताल~
कोही भन्थे
ऊ चित्रकार हो
अरु भन्थे
बुद्धकै अवतार हो ।
उही दुई आँखा हो आँफुसँग त
तिनैलाई सके सम्म च्यात्दै,
घाँटी तन्काउँदै
हातमा भएको सानो ठुटो
सिसाकलम खेलाउँदै
हेरिरहें, पर्खिरहें
ऊ आउने बाटो नियाल्दै।
ऊ आयो,
साँच्चै आयो
विस्तारै विस्तारै
भुवा जस्तो हल्का पाइला चाल्दै
अर्ध मुस्कानको जादू
त्यो कोठा भरी फ्याल्दै
टक्क अडियो ऊ सेतो पाटी अघिल्तिर
र फनक्क फर्केर बनायो गोलाकार एउटा कालो धब्बा
त्यो निक्खर सेतोमा।
अनी
चेला हुन खोजेका हामीतिर फर्केर भन्यो
“देख्यौ कालो?
देखिन्छ यो सहजै सेतो पाटीमा”
एकछिन् अडिएर फेरी
पोतेर कालो सिंगो पाटीभरी
उसले भन्यो-
“तर हेर! देखिन्न कालो धब्बा
कालै पृष्ठभूमीमा”।
खास खुस गर्न थाले
एकाध चेलाहरू एकापसमा
टाउको हल्लाउँदै कोही
“हो त नी” भन्न थाले
घुर्न थाले अरू कोही
टेबुलमा मुण्टो जोतेर ।
कालाम्मे भएको त्यो पाटीमा
सेतो धब्बा बनायो अनि उसले
र चेला हुन खोजेका
सबैलाई बोलायो-
“देख्यौ हैन सेतो?
स्पष्ट देखिन्छ यो कालोमा”!
अनी उसै गरी
पोतेर सिंगो पाटिलाई फेरी सेतोले
उहि मधुर स्वरले भन्यो-
“हेर! देखिन्न सेतो सेतोमा”।
चुपचाप चुपचाप सुनेझैं गरिरहे सब
कोही बोलेन
कोही घुरेन।
निकै बेर पछी
बिस्तारै सुनियो उसकै आवाज-
“तिमी
सुन्दरता भएर पोखिन चाहन्छौ
ब्रह्माण्डको पाटीमा?
कि सुन्दर भएर देखिन चाहन्छौ
असुन्दर संसारमा?”
शिष्यहरु
एक एक गर्दै
चुपचाप चुपचाप
कोठाबाट बाहिरिए।
कोही भन्थे
ऊ चित्रकार हो
अरू भन्थे
बुद्धकै अवतार हो
एक्लै भयो ऊ
त्यो कोठा भित्र
अपलक उभिईरह्यो अर्धमुदित नेत्र लिएर
उदासी थियो कि थिएन
कुन्नी त्यो मुहारमा
ऊ
मुस्कुराईरह्यो
आधा थियो उसको मुस्कान् तर
ऊ मुस्कुराईरह्यो ।
१० जुन ०७ सेण्ट क्याथरिन्स