नियात्रा : सुनखानीमा वुद्ध

~विक्रम सुब्बा~

१. सुनखानी पुगेँ: 

मेरी नातिनी नुमा (माइलो छोराकी छोरी  जसलाई अरुले “नाओमी” भनेर बोलाउँछन् । यो नाम जापानिज गुरुले दिएको नाम हो ।) र मैले “नूमा” (लिम्बुः राम्री) नाम राखेँ । आजसम्म मेरो (‘ईङवाबा’) परिवारकी सबैभन्दा (उमेरले) सानी । मेरी पहिली नातिनी ।) १ वर्ष पुगेपछि अमेरिकाको क्यालिफोर्निया राज्य, माडेरा काउन्टीको कोर्शगोल्ड अर्थात २२२१ फिट को उचाईमा अवस्थित ‘सुनखानी’ (अप्रिल १४, २०१५) पुगेँ । काठमाण्डू-ढाका-हङकङ-लस एन्जेलस हुँदै फ्रेस्नो अन्तर्राष्ट्रिय हवाई  अड्डामा ओर्लेर १ घण्टाको टोयोटा गाडीको ड्राईभ पछि माइलो छोरो द्रोणले उसको घर पुर्‍यायो । हरिया र जंगला डाँडाको विचमा ३.५ एकडको एरियामा उसको घर रहेछ ।

‘म बसेको ठाउँ बुवालाई मन पर्छ’, ‘बुवा यहाँ आएर बसे कविता फुर्छ’यस्तै कुराहरू भनेर माईलो छोरो मलाई अमेरिका आउँन फकाउँथ्यो । उसैले हवाईजहाजको टिकट पठाएर म ईपुगेँ । उसको कुरा ठिकै लाग्यो । अलि टाढा टाढा मात्र अरुका घरहरू । खुल्ला र कुनै शान्त रिजोर्टमा पुगे जस्तो भयो, जहाँ बुहारी ज्यास्मीनसँगै फूल जस्ती नातिनी नूमा थिई । नातिनी भेटेपछि मेरो खुशीको सिमा रहेन ।”

नेपाल र अमेरिकाको समयको अन्तरले निँद्राले मातेको र धेरै थाकेको थिएँ । नुहाउँन नपाएर जीउ चिलाएको थियो । तर पनि नातिनी देखेपछि सबै बिर्सेँ । थकाई हरायो । म साँच्चै “हजुर बा” भएँ (हजुर बा,अर्थात बुढेस काल लागेकोले छिट्टै मर्न चाहने तर नाती वा नातिनी पाए पछि अब कहिल्यै मर्न मन नगर्ने ।)  पहिलो चोटि बुहारी ज्यास्मीनलाई भेटेँ । उसले मलाई ढोगी । मैले आशिर्वाद दिएँ । नातिनीलाई छोएँ, समाएँ । अनौठो लाग्यो । मेरी आफ्नै पहिली नातिनी । आहा !  कुनैपनि ठाउँ राम्रो वा नराम्रो लाग्नु आफ्नो मनपरेको मान्छे छन् कि छैनन् भन्ने कुराले निर्धारण गर्दो रहेछ क्यारे । नत्र यो बिरानो मुलुकको नौलो ठाउँ, मेरो छोरा-बुहारी र नातिनी नभएको भए, मलाई यति धेरै रमाइलो लाग्नु पर्ने कुनै कारणै थिएन ।

मेरो ‘जीन’को सबैभन्दा पछिल्लो रुप, मेरी नातिनी, मेरो अंगालोमा थिई र म खाँट्टी बाजे भएकोथिएँ । तेसो त मेरो बोजुले (मेरो स्मरणमा भएसम्म) कन्दङवाको जीन आठराईबाट लिएर आउँनु भयो जुन पाँचथर ओदिनको ईङवाबासँग मिस्सियो । तेसपछि मेरो बा जन्मनु भयो जसले पाँचथर सारताप चारताले घरको नेम्बाङको जीनसँग आफ्नो जीनमा मिसाउँनु भयो जसबाट म (एक्लो छोरो) र मेरा ३ दिदीबहिनीले जन्म लियौँ । मैले (अरुणा) आङदेम्बे जीन मिसाएँ र छोराहरू रवी, द्रोण र वीरु जन्मे । त्यसपछि अहिले छोरो द्रोणले शेर्पा (ज्यास्मीन) बुहारीको जीनसँग मिसाएर जन्मेकी मेरी नातिनीले कति प्रतिशत मेरो जीन, कति प्रतिशत कन्डङवा जीन, कति प्रतिशत आङदेम्बे जीन र कति प्रतिशत शेर्पा जीन बोकेकी होली? डीएनएको वैज्ञानिक जाँच कतै गरिएको छैन तर पनि अनुहार र रुपरंगमा सबै थोर-बहुत कता-कतै मिस्सिएको प्रष्ट देख्छु । सन्सारले वास्ता नगरेपनि आफैले पुर्खाहरू सबै स्झन नसके पनि शरिरले आफ्ना-आफ्ना पिता-पूर्खाको रुप-रंग, ईतिहास-जीन बोकिरहेका हुन्छन् । आफ्नो शरिर पाको हुने र मर्ने क्रममा जवानीमै आफ्नो आत्मालाई आफ्ना सन्तानमा सार्दै आएकाछन् । तेसैले आत्मा मर्दैन भनेको होला ।

  नातिनी बोकेर म बरण्डामा निस्केँ । पारी पट्टि डाँडामा एउटा ६-७ तल्ले भव्य खैरो रङको घर देखेँ र छोरालाई सोधेँ –

‘त्यो भव्य घर होटल रिसोर्ट हो ?’

उसले भन्यो – ‘होइन त्यहाँ क्यासिनो थियो । हालै झमेला परेर सरकारले बन्द गरिदिएकोछ ।’

मैले ‘कति मानिस काम गर्थे?’ भनेर सोधेँ । छोराको कुराबाट थाहा भयो त्यहाँ थुप्रै मानिस काम गर्थे । त्यत्रो मानिसलाई रोजगारी दिने क्यासिनो बन्द भएकोले २००० मानिस बेरोजगार हुन पुगेछन् । क्यासिनो चलाउँने काम प्राय नेटीभ अमेरिकनहरुलाई, रोजगारी मिलोस् भनेर, दिने नीति अनुसार दिईएको रहेछ । अमेरिकी सरकाको सोचाईमा नेटीभ अमेरिकनहरु वुद्धिको काम गर्न अयोग्य छन् रे । तसर्थ रक्सी बेच्ने, जुवा खेल्ने, गीत गाउँने, आदि जस्ता कामहरू नेटीभ अमेरिकनलाई दिने गरिएको रहेछ ।  नेपाली रुपया ३-४ अरबभन्दा कमले नबन्ने भव्य घरलाई बमले उडाइदिने कुरा छ रे ।

  लफडा के परेछ? भनेर अलि गहिरिएर बुझ्दा क्यासिनोमा जुवा खेल्न आउँने (गोराहरू) र क्यासिनो चलाउँने (नेटीभ अमेरिकनहरु) को झगडा परेछ त्यतिकैमा नेटीभ अमेरिकनहरुले बन्दुक देखाएछन् । यही निहुँमा क्यासिनो सन्चालक नेटीभ अमेरिकनहरूलाई पुलिसले पक्रेर लग्यो र लाइसेन्स सीज गरिदियो । कुरा सुनेर मलाई कता कता गोराहरूले नियत पूर्वक नेटीभ अमेरिकनहरुलाई, ईर्ष्याले जलेर, हेपेर झन कमजोर पार्न र आफ्नो ‘गोरा सुप्रिमेसी’ कायम गर्न यसो गरेको जस्तो लाग्यो । छोराको विचार पनि बुझ्दा  ‘हुन सक्छ’ भन्यो ।

साँझ परिसकेको थियो । बुहारीले पकाएको सादा खाना र रेड वाइन खाएँ । क्यालिफर्नियामै उत्पादित वाइन छोरोले किनेर राखिदिएको,गज्जबको थियो । छोराले मलाई क्यालिफोर्नियाका बारेमा ब्रिफ गर्‍यो – ‘क्यालिफोर्निया अमेरिकाको सबैभन्दा धेरै कृषि उत्पादन गर्ने स्टेटहरू मध्ये एक हो । हामी धेरैजस्तो साग-सब्जी र खाध्यान्न यही स्टेटको खान्छौँ ।’

मैले सोधेँ – ‘किसानहरू पनि यहीँका हुन्?’

छोरोले भन्यो – ‘आधाजति यहीँका हुन् । आधाजति त भारतका पञ्जाबीहरू छन् ।’

मैले सोधेँ – ‘किन पञ्जाबी ल्याएका?’

छोरोले भन्यो – ‘जमीन पहिले नेटीभ अमेरिकनहरुको थियो । पछि गोराहरूले लुटेर कब्जा गरे । लाखौँ नेटीभ अमेरिकनलाई मारे । जमीन खोसे । तर, गोराहरू काम गर्न अल्छि हुँदै गएकाछन् । पञ्जाबीहरूलाई जमीन लीजमा कामउँन दिएर समुद्रको छेउमा बसिबसि खान्छन् ।’

मैले सोधेँ – कृषीमा ‘केमिकल फर्टिलाईजर’ र ‘पेस्टिसाईड’ कत्तिको हाल्छन्?’

छोराले भन्यो – ‘ओहो, तेस्को त कुरै नगरौँ । पेस्टिसाईड छर्केको बेला त १०० माइलको रफ्तारमा गाडीको

झ्याल बन्द गरेर दौड्दा पनि टाउको दुख्ने गरि गन्हाउँछ ।’

मैले सोधेँ – ‘अनि अर्ग्यानिक वा जीएमओ के लगाउँछन्?’

छोराले भन्यो – ‘कतै कतै ओर्ग्यानिक पनि लाउँछन् भन्छ । सुपर मार्केटहरूमा अर्ग्यानिक लेबल लागेको देखिन्छ र महंगो दाममा पनि किनेर खाइन्छ । तर धेरै त जीएमओ नै हो । ‘

मैले भनेँ – ‘भनेपछि त हेल्थ हाजार्ड पनि होला? ‘

छोराले भन्यो – ‘त्यसको त कुरै नगरौँ । अनेक किसिमका रोग लागेकोछ । रुखविरुवा, फलफुल, पशु-पक्षी, मानिस सबैलाई रोग लागेकोछ । औषधीको उद्योग भयंकर किसिमले जागेकोछ । यतिसम्म कि गोराहरूमा वच्चा जन्माउँन नसक्ने (ईन्फर्टीलिटी) भएकोले त विदेशबाट वच्चा एडप्ट गर्ने; डीभी प्रोग्राम मार्फत वच्चा जन्माउँन सक्ने वोदेशीहरूलाई भित्र्याउँने काम गरिरहेछ अमेरिकाले ।’

२. सुनखानीको नाम?: 

छोरो बसेको ठाउँको नाम कोर्शगोल्ड कसरी भयो? मलाई जान्न मन लाग्यो र कम्प्युरमा पसेर पढ्न खोज्दा, एक किसिमले सन्धान गर्दा, निम्न केही कुराहरू थाहा पाएँ:

तथ्य १. सन् १८४९ तिर यो ठाउँलाई ‘टेक्सस् फ्ल्याट’ भन्ने गरिएको रहेछ । कारण – टेक्ससबाट सुन उत्खनन् गर्ने मानिसहरू आएर यहाँ बस्ने गरेका रहेछन् । पछि (सन् १८७४ तिर) यही ठाउँलाई मिसेल भनिने एक व्यापारीका नामला “मिसेल” पनि भन्न थालिएछ । तर टेक्सासका सुन उत्खनन गर्नेहरूका बिरोधी मेक्सिकनहरूले पनि सुन उत्खनन गर्न क्याम्प राखेपछि यो ठाउँको नाम ‘ओरो ग्रोस्सो’ भएछ ।

तथ्य २. हालको “कोर्सगोल्ड” नाम चाहीँ सन् १९ ओँ सताब्दीमा, खनिज पदार्थ अनुसन्धाताहरूले अनुसन्धान थालेपछि, क्यालिफोर्निया ‘गोल्ड रश्स’बाट विकसित गरिएको शब्द रहेछ । कोर्सगोल्ड ग्लच पोष्ट अफिस पनि १८७८ मा खुलेको रहेछ जुन कार्यालयले नामै फेरेर सन् १८९५ गोल्डग्लच राखेको र सन् १८९९ मा त्यसैको नाम बदलेर ‘कोर्सगोल्ड’ नाम राखेको रहेछ ।

कोर्सगोल्ड, हाईवे ४१ को योसेमेटी राष्ट्रिय निकुन्ज र फ्रेस्नोको मध्यतरि पर्छ । नजिकै ७ माइलतिर ‘ओकर्ष्ट’ नामक सानो बजार, योसेमेटी ताल पार्क र ईण्डियन ताल स्टेटहरू पर्दछन् । यहाँको हावा पानी मेडिटेरेनियनझैँ धेरै गर्मी पनि नहुने र सारै जाडो पनि नहुने किसिमको रहेछ । जहाँ ६९३ मिमि सम्म वर्षा हुने रहेछ ।

सन् २०१० को जनगणना अनुसार यहाँको जनसंख्या १८४० देखिन्छ । जसमा ८७.९% गोरा, ०.६% अफ्रिकन अमेरिकन, २.७% नेटीभ अमेरिकन,१.७% एशियन, ०.3% पेसिफिक आइसलेण्डर्स, २.६% अन्य जातका मानिस रहेछन् भने ८.५% हिस्प्यानिक वा ल्याटिनहरू बसोबास गर्दा रहेछन् । यसरी जनसंख्यालाई हरेक जात अनुसार छुट्याएर हरेक गाउँ-ठाउँको प्रोफाईल राख्ने गरेको मलाई राम्रो लाग्यो ।

सँस्कृती: 

प्राथमिक विद्यालयहरूमा ‘छुक्चानसी’ भाषा यहाँ सन् २००८ देखि सिकाउँन थालिएकोछ भने सन् २०१२ देखि ‘छुक्चान्सी’ भाषा सिक्ने सुबिधा उपलब्ध गराईएकोछ । यति सामान्य गाउँको भाषालाई पनि मान्यता दिएर सिक्ने सुबिधा दिएको कुरा मलाई राम्रो लाग्यो ।

मध्य अक्टोबर देखि मध्य नोभेम्बरसम्म (ठूला र विषालु माकुरा) “तरन्तुला”हरूको संसर्ग गर्ने सिजन हुँदो रहेछ । यसबेला गाउँ-बस्ती-बजार भरि तरन्तुलाहरू निस्कन्छन् । त्यति नै बेला स्थानिय मानिसहरूले ति माकुराहरूको संरक्षण गर्ने उत्सब मनाउँछन् । संरक्षणलाई आफ्नो क्षेत्रमा आफुसँग जे छ त्यसैसँग जोडेर, उत्सबकै रुप दिएर काम गरेको पढेर मलाई गजब लाग्यो । हाम्रो तेरथुमको मिल्के डाँडादेखि र म्याङलुङ बजारसम्मै हरेक वर्ष हप्तादिनको “गुराँस संरक्षण महोत्सव तथा ढाका व्यापार मेला” आयोजना गरे कस्तो गजब हुनेथियो । जाडो महिनामा साईबेरियाका चराहरू चितवन आउँछन् र यसलाई पनि “साईबेरियन चरा उत्सब” मान्न सकिन्छ । हरेक वर्ष सुन्तला फल्ने ठाउँहरूका लागि १०-१५ दिनको “सुन्तला उत्सव” देशैभरि मनाउँन सकिन्छ होला । तेस्तै “मखमली फुल उत्सव” मनाउँन सकिन्छ । असार १५मा “रोपाइँ उत्सव”, मंसिरमा “दाईँ उत्सव”, आदि ।

यो तारान्तुला महोत्सव कोर्सगोल्डमा प्राय अक्टोबर, हलोविन अघि,सनिबारको दिनमा आयोजना गरिन्छ जहाँ तारान्तुला दौड लगायत सबैभन्दा धेरै भुत्लावाल खुट्टा भएका महिला र पुरुषहरू वीच र फर्सिको डेजर्ट प्रतियोगिता पनि गरिन्छ । हाम्रो मुलुकमा पनि फर्सि त जता ततै फल्छ । यसका अनेक परिकार बनाउँने र हरेक महोत्सवमा यसको प्रवर्धन गर्न सके फर्सि पनि आर्थिक स्रोतको एक आईटम हुने थियो । जस्तैः पम्पकिन चीज, पम्पकिन चपाती, पम्पकीन मःमः, पम्पकीन हलुवा, पम्पकीन पिज्जा, पम्पकीन ब्रेड, पम्कीन सलाद, आदि ।

यहाँका प्रख्यात मानिसहरूमा १) क्रिड ब्राट्टोन – जो कोर्सगोल्डमै हुर्किएका कलाकार र संगीतकार हुन; २) रिचर्ड कियिल – प्रख्यात कलाकार जसले स्वास्थ्यका कारण क्लोभिस जानु अघि १९८० देखि २००२ सम्म कोर्सगोल्डमै बसोबास गरे; ३) ग्रेस ली ह्विट्नी – प्रख्यात अभिनेतृ जो १९९३ देखि उनको मृत्यु नहुन्जेल, १ मे २०१५ सम्म, कोर्सगोल्डमै बसेकी थिईन । यो सूचना राख्ने काईदाबाट हामीले पनि हरेक गाउँ-ठाउँको परिचय-प्रोफाइल लेख्दा त्यस गाउँका प्रख्यात मानिसहरूको पनि छोटो परिचय दिने काम गरे गाउँको विकास-उन्नती गर्नेहरूको सम्मान हुने रहेछ जस्तो लाग्यो ।

कविता:

मैले क्यालिफोर्नियाका केही कविताहरू पनि नेटमा पढेँ । ती पढेकामध्ये कवियत्री अनिता मे द्वारा लिखित एउटा कविता अनुवाद गरेकोछु:

मनमन्थन:

  • अनिता मे (Anita May)

मेरा बितेका दिनहरू झुर थिए

था’छ मलाई राम्रै था’छ

मैले गर्दा नै तेस्तो भएको हो

कसैले भनेका ‘कुरा’हरू मैले लिएँ

त्यसबाट धारिलो हतिया बनाएँ, र मैले

आफैभित्रको मानिसलाई पटकपटक काटेँ

मैले माफ दिनै सकिन

म माफ दिनै सक्दिनथेँ

म नकारात्मक मन-मन्थनमा

बेस्सरी अल्झिएँ

के आकाशमा जुन अस्तव्यस्त थियो?

के मेरो बिगत त्यही कुरा सुन्न

पल्टेर बसिराखेको थियो?

मलाई थाहा छैन

तर अब मैले गरेका गल्तीहरूको

लेखाजोखा र चिरफार गर्नु पनि छैन

म बाँचेको यो बेला त मैले

आफु समेत सबैलाई

दया-माया र करूणाले हेर्नुपर्छ

भगवानलाई थाहाछ

एक, दुइ, तीन

अझ चार पटक सम्म

मौका पाउँन हामी योग्यछौँ ।

३. योसेमेटी राष्ट्रिय निकुञ्ज: 

म पुगेको भोलिपल्ट (अप्रिल १५, २०१५ का दिन) मेरी श्रीमती र उनको कार्यालयको तीनजना समेत ४ जनाको टीम कोलोराडो र डेनभरका विश्वविद्यालय घुमेर आइपुगे । छोराले फ्रेस्नो एयरपोर्टमा रिसिभ गरेर घर ल्यायो । ५ कोठे घर टनाटन भरियो । नातिनी समेत घरमा ६ महिलाहरू । छोरो र म अल्पमतमा दुई पुरुष । महिला धेरै भएपछि भान्सामा सघाउपघाउ गज्जब हुने । अझ दुइ जना नेवार समाजका खानाको परिकार बनाउँन सिपालु ।

रायोको साग, कालो दाल र भात खान पाउँदा नेपालमै छु जस्तो भइरह्यो । विष्णु दिदी, नर्सिङ क्याम्पसको प्रिन्सिपल, सबैभन्दा पाको भएपनि सबैभन्दा टाठो । बेलुका खाना खाएर, जेट ल्याग  तह लगाउँन छिट्टै सुत्ने सल्लाह भयो । यो जेट ल्याग तह लागेन भने दिनभरि बोर गर्छ । बिहान ८-९ बजेसम्म सुतेको त कस्तो अपठ्यारो लागेको ? भोलि पल्ट आराम गर्ने दिन । खाना खायो सुत्यो । जेट ल्याग निको पार्न पनि’सुत्ने’ राम्रो बहाना मिलेकै थियो ।

अप्रिल १७, २०१५ ‘योसेमिटी (मारिपोसा र माडेरा काउन्टीमा पर्ने) राष्ट्रिय निकुञ्ज’ घुम्न जाने दिन । जंगल र उपत्यका अनि स-साना बजारहरू र केही खोला खोल्सी हुँदै बाटो लागियो । जंगलको वनस्पती नेपालका भन्दा भिन्न किसिमका रहेछन् । यो राष्ट्रिय निकुञ्जको सबैभन्दा पर्यटक आकर्षण गर्ने जनावरमा कालो भालु, पहाडे सिंह, हरिण, लोखर्के,आदि रहेछन् । ‘लोखर्के पनि हेर्न पाइन्छ’ भनेर समेत प्रचार गरेर पर्यटक तानेको देखेर मलाई त हाँसो उठ्यो । यसरी प्रचार गरे त हाम्रो नेपालमा कीरा, फट्यांग्रा, भ्यागुता, पुतली त कति कति ? शायद हामी आफुसँग भएका वस्तुको महत्व नै जान्दैनौँ ।

  प्राकृतिक सौन्दर्यमा सानो सङलो खोला, अग्ला अल्गा झरनाहरू, ‘हाफ डोम’  नामक एउटा ठूलो बडेमानको आधा ढुंगा उभिएको र गज्जबको सा-सानो उपत्यकाहरू रहेछन् । त्यहाँ नेटीभ अमेरिकनहरूको सँस्कृतिक झल्को सहितको एउटा अह्वानी नामक भव्य होटल रहेछ । जहाँ बस्नको लागि ६ महिना (हनीमून,जन्मदिन, एनिभरसेरी मनाउँन) अग्रिम बुकिङ गरे मात्र पाईने । तर होटल मालिक चाहीँ गोरा । मैले छोरालाई सोधेँ – ‘यहाँ पनि नेटीभ अमेरिकनहरु बसो बास गर्थे होलान्? कहाँ गए ती?’

छोराले भन्यो – ‘नेटीभ अमेरिकनहरूकै त थियो नि पहिले यो सिँगै क्यालिफोर्निया । ईटाली, स्पेन, यूरोप, मेक्सिकोका गोराहरूले जबरजस्ती कब्जा गरेका हुन् ।’

मैले पछि पढेर थाहा पाएँ – क्यालिफोर्नियामा  जोगीजस्तो भएर पसेका फ्रान्सिसकान अथवा जुनिपेरो सेर्राले नेटीभ अमेरिकनहरुको यो जमिनलाई पहिले कब्जा गरेको रहेछ । कब्जा गर्ने क्रममा रोगका किटाणु समेत नेटीभ अमेरिकनहरुका बस्तीमा फैलाएर मार्ने काम गरेको रहेछ । ८६% नेटीभ अमेरिकनहरुलाई मारेर कब्जा गर्न २०० वर्ष लागेको रहेछ । धेरै पटक नेटीभ अमेरिकनहरुले जमेर विद्रोह गरेका र स्पेनिसहरूलाई आच्छु आच्छु पारेका रहेछन् । तर, धूर्त स्पेनिसहरुले जसरी पनि जितेरै छोडेकारहेछन् । स्पेनिसहरू धूर्त छन् भन्ने कुरा त ब्वाँसोजस्तै टाका-टाकी खेलेर विपक्षलाई झुक्याएर फुटबलमा जित्ने बार्सिलोनाका खेलाडीको व्यवहारबाटै अन्दाज लगाउँन सकिन्छ ।

धेरै नेटीभ अमेरिकनहरुलाई धर्म परिवर्तन गरेर ख्रिश्चियन बनाएका रहेछन् । सन् १८५२ मा त सरकारले नै नेटीभ अमेरिकनहरूलाई मार्न भनेर ११ लाख डलर वार्षिक बजेट छुट्याएर मिलिसिया दस्ता खडा गरेर नेटीभ अमेरिकनहरुको आम हत्या नै गरेको रहेछ । तेस्तै, सन् १८५७ मा नेटीभ अमेरिकनहरुलाई मार्ने-सखाप पार्ने कामको निम्ती कालिफोर्निया संसदले ४ लाख १० हजार डलर बजेट पास गरेको रहेछ । सन् १८५० को एक दिन त ४०० पोमो नेटीभ अमेरिकनहरुलाई छपछप काटेरै हत्या गरिएको रहेछ । यसरी हेर्दा ‘गोरा’हरू खतरनाक स्वार्थी, दयामाया नभएको, लुटेरा, हत्यारो, विस्तारवादी, साम्राज्यवादी, परपीडक, नरपिशाच रहेछन् भन्न सकिन्छ । जसले अहिले पनि सन्सारमा आफ्नो सुप्रिमेसी कायम राखेकोछ ।

योसेमेटी उपत्यकाको उत्पती (ईभोलुशनकसरी भयो

सेयरा-नेभाडा पर्वत सृङखला सृजना हुनु अघि यो क्षेत्र समुद्रमुनी थियो । बालुवा, माटो र सामुद्रिक वस्तुहरू मिस्सिन गई जम्मा भएर यो क्षेत्रमा चट्टान बन्यो । यही चट्टानलाई ज्वालामुखी जस्ता पृथ्वीका नियमित चालहरूले समुद्री सतहबाट बाहिर निकल्यो । यो क्रम चल्दै जाँदा नै सेयरा-नेभाडा पर्वत सृङखलाको उत्पती भयो । भुगर्भ वेत्ताहरूका अनुसार ५० मिलियन वर्ष अघि योसेमेटी उपत्यका करीब-करीब समथर जस्तै पर्वत सृङखलाहरूले बनेको जमीन थियो भने १० मिलियन वर्ष अघि आएर पर्वतहरूको सृङ्खलाहरूले उचाई लिएर चुलिँदै गएकोले गहिरा खोँच-उपत्यका बने जसमा खोलानाला बग्न थाले । यसरी नै ३ मिलियन वर्ष अघी पर्वत सृङखला उठेर गहीरा खोला-खोल्सा र चट्टानै चट्टानहरूको पर्वत सृङ्खला बन्न पुगे । १ मिलियन देखि २५०,००० वर्ष अघि हिउँले योसेमेटि क्षेत्रलाई पुर्‍यो र यहाँ हीमनदीहरू (ग्लेशियरहरू) बने । मुन्तिरको चट्टान उठ्ने र हीमनदी बगेर जाने क्रम चलिरहँदा अग्ला-अग्ला चट्टानी चुली-पर्वतहरूको सृजना हुँदै गयो जसले अहिले योसेमेटी उपत्यकालाई U आकारको बनाईदियो । करीव ३० हजार वर्ष अघि अर्को हीमपहिरो गयो जसले येमेटी उपत्यकाको आकारलाई अझ ठूलो-फराकिलो बनाईदियो । करीव १० हजार वर्ष अघि अन्तिम हीम पहिरो गयो जसले योसेमेटी ताल सृजना गर्‍यो । त्यतिबेला २ हजार फीट सम्म गहिरा खालडहरू बनेका थिए । विस्तारै बालुवा, माटो र रुखवीरुवाका हाँगा-पातहरु मिस्सिएर उपत्यका अग्लियो र समथर बन्यो जसलाई टियागो नामक हीम नदीले बगाउँन सकेन र योसेमेटी ताल अहिलेको उचाईमा कायम रह्यो । माटो, बालुवा, पानी, रुखवीरुवाका हाँगा-पातहरू मिस्सिने क्रम अहिले पनि जारी छ भने भुइँचालो वा ज्वालामुखीको कम्पन्नले गर्दा योसेमेटी उपत्यका लाखौँ वर्षपछि कस्तो हुने हो केही भन्न सकिन्न तर यसको स्वरुप फेरिँदै जाने पक्का छ ।

नोटः योसेमेटी राष्ट्रिय निकुन्ज देखेपछि हाम्रो नेपालको उत्ततिरको मेचीदेखि महाकालीसम्मको हिमाली क्षेत्रलाई सिंगै राष्ट्रिय निकुञ्ज बनाउँन पाए सन्सारको एक अनौठो र पर्यटकहरूका निम्ती बिछट्टै आकर्सक हुनेथियो भन्ने लाग्यो ।

सन् १८६३ मा ‘स्याण्ड ग्रीक म्यास्याक्येर’ नामक हत्या काण्डमा २०० नेटीभ अमेरिकनहरु मारिएका रहेछन् भने ‘वुण्डेड नी म्यास्याक्येर’ नामक १८९० को हत्या काण्डमा ३०० नेटीभ अमेरिकनहरुलाई मारिएको   रहेछ ।  यस्ता कैयौँ आदिवासि-संहारमा लाखौँ नेटीभ अमेरिकनहरुलाई खोजी खोजी मारिएको रहेछ । अन्य नामी हत्या काण्डहरूमा ‘ब्रिज गल्च हत्या काण्ड’, ‘वियोट हत्या काण्ड’, १८५३ को ४०० ‘तोलोवा  नेटीभ अमेरिकनहरूको हत्या काण्ड’ र १०० भन्दा धेरै हत्या काण्डहरूको सूचि त ईतिहासका पुस्तकमा जताततै उल्लेख भएको पाइँदोरहेछ ।

छोराले भन्यो – नेटीभ अमेरिकनहरुको जेनोसाईड गरेर यो सबै जमीन (मुलतः स्पेनिस) गोराहरूले कब्जा गरेका हुन् । अहिले पनि नेटीभ अमेरिकनहरु टाढा टाढा दुर्गम क्षेत्र र शहरमा पनि कता कतै छन् ।  तिनीहरूलाई सरकारले विशेष भत्ता दिन्छ । काम गर्दैनन् ।  डिप्रेस्ड छन् । जाँड खान्छन् । धेरैजसो नाचगान मनोरन्जन गरेर मस्तीमा बस्छन् । बर्सौँ वर्ष दमनमा परेर, भाषा नमिलेर, सँस्कृती नमिलेर, ऐतिहासिक रुपमा हत्य-हत्या-हत्यामा परेर ट्राउमाको मनोवैज्ञानिक असरले जीन नै बिग्रेर होला, बुद्धि छैन । अनुहार हेर्दा नेपालका हाम्रै शेर्पा, तामाङ, थारु, राइ-लिम्बु जस्ता लाग्छन् ।

हामी योसेमेटी उपत्यका, झर्नाहरू र हाफ डोम हेरिसकेर ग्लेसियर पोइन्ट हेर्न अघि बढ्यौँ । बाटो नेपालकै जस्तो घुमाउरो-घुम्ती तर राम्रो र कतै पनि नबिग्रेको । ठाउँ ठाउँमा (मे महिनामा समेत) हिउँ पग्लि नसकेको पनि देखियो । ग्लेसियर पोइन्ट पुगेर हेर्दा योसेमेटी उपत्यका धेरै तल देखिने र आधा डोम झन बडेमानको ठूलो न ठूलो देखिने जसको अझ मास्तिरका डाँडाहरूमा हिउँका पर्वतहरू र ठाउँ ठाउँबाट हिउँ पग्लेर स-साना खोल्सा बनेर झरनातिर झरिरहेका सुन्दर दृश्य देखिने । पर्यटकहरू हुरुक्कै ।

अमेरिकामा राष्ट्रिय निकुन्जहरूको ईतिहास

·         अमेरिकामा राष्ट्रिय निकुन्जको अवधारणा (कन्सेप्ट)  सबैभन्दा पहिले सन् १८०० तिर लेखक र चित्रकारहरूले अघि सारेका रहेछन् । यसको उद्देश्य प्रकृतीको संरक्षण र वन्य जन्तु-जनावरको अधिकारको संरक्षण रहेको रहेछ । जुन कुरालाई अमेरिकी सरकारले स्वीकार गरेर केही ठाउँहरूलाई संरक्षित क्षेत्रका रुपमा घोषणा गरेछ । त्यस मध्ये पनि सबैभन्दा पहिलो संरक्षित क्षेत्र भनेर घोषणा गरिएको क्षेत्र “येलो स्टोन राष्ट्रिय निकुन्ज (येलो स्टोन नेशनल पार्क)” रहेछ । जुन रास्ट्रपति उलिशेस एस ग्रान्टले  सहीछाप गरेर लागु गरेको १८७२ को कानुन अनुसार घोषणा गरिएको रहेछ ।

पछि सन् १९०३ मा आएर राष्ट्रपति टेडी रुज्वेल्टले राष्ट्रिय निकुन्जहरूको स्थापनाका निम्ती व्यापकता दिएछन् । उनैको पालामा फ्लोरिडाको पहिलो राष्ट्रिय वन्यजन्तु निकुन्ज “पेलिकन आइलेण्ड नेशनल वाइल्डलाईफ रिफ्युज”को स्थापना भएको रहेछ ।

राष्ट्रपति थोमस वुडरो विलशनले अगस्त २५, १९१६ मा राष्ट्रिय निकुन्ज सम्बन्धी नयाँ कानुनमा सहीछाप गरेपछि राष्ट्रिय निकुन्जलाई “आन्तरिक विभाग”ले नै रेखदेख गर्नु पर्ने व्यवस्था सुरु भएछ ।

सन् २००९ सम्म आइपुग्दा अमेरिकामा ३९१ वटा राष्ट्रिय निकुन्जहरू स्थापित र संचालित रहेको देखिन्छ । जसमध्ये ५८ निकुन्ज “वन्य जन्तु आरक्षण”का रुपमा रहेकाछन् । जहाँ करीव २० हजार कर्मचारी र २,२१,००० स्वयंसेवकहरूले मिलेर वर्षमा ६.४ मिलियन घण्टाको काम ४०७ ईकाई कार्यालय मार्फत निकुन्जमा सेवा सम्पादन गर्दारहेछन् । राष्ट्रिय निकुन्जले ओगटेको जमीन मात्र ३,३८,००० किलोमिटर रहेछ । जसमध्ये १७,००० किलोमिटर चाहीँ नीजि स्वामित्व अन्तर्गत पर्दोरहेछ । सबैभन्दा ठूलो निकुन्ज अलास्काको  Wrangell-St. Elias National Park and Preserve (५३,००० किलो मिटर) हो भने सबैभन्दा सानो निकुन्ज Thaddeus Kosciuszko National Memorial,  Pennsylvania,(८० स्क्वायर मिटर) रहेछ । जनवरी २०१६ मा राष्ट्रिय निकुन्ज स्थापना सुरु भएको १०० वर्ष पुगेको उपलक्ष्यमा “Find Your Adventure” थिम राखेर अमेरिकाभरी महोत्सव नै मनाउँने योजना बनिसकेको रहेछ । जसले करोडौँ पर्यटकलाई आकर्शित गर्नेछ ।

 यहीँ विवाह गर्ने, ईङ्गेजमेण्ट (पैसा तिरेर) गर्ने मंन्च-स्थल पनि बनाईदिएको रहेछ । जहाँ विवाह वा ईङ्गेजमेन्ट गर्दा बेउला-बेउलीको पृष्ठभूमिमा हिउँले ढाकिएका पर्वत सृङखला आउँनेगरी फोटो खिचेर सम्झनामा राख्ने गर्दा रहेछन् । यसरी पनि आन्तरिक पर्यटकीय आकर्षण बनाएको देख्दा गज्जब लाग्यो । हाम्रो नेपालमा घान्द्रुक र सिरुवारी पनि केही मात्रामा आकर्सक गाउँका रुपमा विकसित हुँदै गरेको सम्झेँ । तर नेपालमा धेरै ठाउँहरू विकास गर्न सकिन्छ जस्तो लाग्यो ।

हामी सबैले मज्जा मानेर ग्लेसियर पोइन्टबाट योसेमेटी उपत्यकालाई हेर्‍यौँ । मानिसका पाँच ज्ञानेन्द्रिय मध्ये आँखाबाट सबैभन्दा बेसी (९६%) सिकिन्छ भन्छन् । शायद, सुन्दर दृश्य हेरेर आनन्द ग्रहरण गर्न पनि आँखाले धेरै सघाउँछ । विष्णु दिदी र मेरी श्रीमती हरिको घुँडा दुखेकोले ग्लेसियर पोइन्टको सबैतिर चढ्न र हेर्न नसकेर एक ठाउँ बस्नु पर्‍यो । स-साना दोकान र सौचालय जहाँ पनि हुने भएकोले रोगी र अशक्तलाई पनि सुविधा हुने जसले गर्दा पर्यटकहरू आउँन सहज मान्ने देखियो ।  यी ठाउँहरू घुमेपछि बाटोघाटो पुर्‍याउँने हो भने हाम्रो नेपालका हिमाली, पहाडी, भित्री मधेशी र मधेश क्षेत्रमा यीभन्दा सुन्दर प्राकृतिक दृश्यहरूको अवलोकन गराएर प्रसस्त पर्यटक ल्याउँन सकिने जस्तो लाग्यो । जस्तो मलेसियाको जनसंख्या करिव ३ करोड तर मलेशियामा हरेक वर्ष आउँने पर्यटकको संख्या २ करोड ८० लाख । यस्तो भए पो पर्यटनबाट मस्तसित आर्थिक लाभ लिन सकिन्थ्यो । तर के गर्ने? नेपालजस्तो गरीब मुलुकका गरीब चिन्तन भएका नीति निर्माताले लगानी परिचालन गर्नै जान्दैनन्, सक्दैनन त्यसमाथि उनको दिमागमा रातदिन भ्रष्टाचार मात्र छ ।

नेटीभ अमेरिकनहरूको आमसंहार (जेनोसाईड): छोरोले गरेको नेटीभ अमेरिकनहरुको जेनोसाईडको कुराले भित्रैबाट मलाई पिरोलिरह्यो । मैले कम्युटरमा त्यस सम्बन्धी दस्तावेजहरू खोजेर पढ्न थालेँ । पढेका मध्ये माईक कोन्नल्लीले लेखेको छोटो लेख यहाँ राख्न चाहान्छु:

१। मेक्सिको र अमेरिकाको युद्धभन्दा अघि क्यालिफोर्नियाका नेटीभ अमेरिकनहरु माथि अमानवीय किसिमले मेक्सिकनहरूले शोषण गरेकाछन् भनेर अमेरिकनहरूले आलोचना गरे । यही नैतिक समर्थन गरेको आधारमा क्यालिफोर्निया पनि अमेरिकामा बिलय हुने प्रकृया सुरु भयो । तर क्यालिफोर्निया अमेरिकामा गाभिएपछि अमेरिकन गोराहरूले नेटीभ अमेरिकनहरुलाई झन चिताउँनै नसक्नेगरि नेटीभ अमेरिकनहरूलाई पशुजस्तै बनाएर राक्षसलेभन्दा पनि सारो शोषण-दमन-अन्याय-अत्याचार-हिंसा-हत्या-बलात्कार गरे ।

२। अगष्ट ७, १८५३, ‘युरेक हेराल्ड’ले अमेरिकी सरकारले नेटीभ अमेरिकन मान्छे मार्ने बनाएको नीतिबारे लेख्यो – “अब नेटीभ अमेरिकनका बिरुद्ध जे पनि गर्न सकिने वातावरण बनेकोछ । आशा छ सरकारले क्यालिफोर्नियाको उत्तरतिर बस्ने अन्तिम नेटीभ अमेरिकनहरुलाई समेत मारेर सखाप पार्न सकिने गरि बजेट पनि छुट्याईदिनेछ । यो (नेटीभ अमेरिकनहरुलाई सखाप पार्ने काम) गर्नु पर्ने हो कि होईन? भनेर जाँचपड्ताल अब गरिरहनु पर्ने छैन बरू नेटीभ अमेरिकनहरूलाई भटाभट मार्ने समय आईसकेकोछ । यो कामको विरुद्द कुनै एक जना मानिसले मात्र पनि सम्झौता गर्न खोजे वा शान्तिको कुरा गर्न खोजे उ पनि हामीले नष्ट गर्नु पर्ने दुश्मन    ठहरिनेछ ।”

ईण्डियन रिमुवल एक्ट (Indian Removal Act १८३०)

राष्ट्रपति एन्ड्यु ज्याकशनको पालामा Indian Removal Act नै कंग्रेसले पास गरेर राष्ट्रपतिलाई नेटीभ अमेरिकनहरूलाई उनीहरूको पुर्ख्यौली जमीनको सट्टा मिसिसिपी नदीको पश्चिमतिर जबरजस्ती सार्ने कानुनी अनुमती दियो ।

३। सन् १८५६ मा थोमस जे.  हेन्लेले, जो नेटीभ अमेरिकनहरुका मामला हेर्ने सुपरिनटेन्डेन्ट थिए, लाखौँ नेटीभ अमेरिकनहरुलाई जबरजस्ति कैद गरेर दाशका रुपमा बेचिएको अनेक प्रमाण दिएका थिए । अमेरिकी सरकारले सयौँ मिलिशिया प्रयोग गरेर क्यालिफोर्नियाका नेटीभ अमेरिकनहरुको हत्या गर्ने योजनालाई अनुमोदन गर्‍यो । मिलिशियाहरूले विचित्र किसिमले नेटीभ अमेरिकनहरुलाई राती सुति रहेका महिला, पुरुष र बालबालिकालाई आक्रमण गर्थे र एकैछिनमा मारेर सखाप पार्थे । विलियम बिब्बे नामक मिलिशिया नायकले हम्बोल्ट क्षेत्रमा नेटीभ अमेरिकनहरुलाई मारेर आफ्ना मानिसहरूलाई बसोबास गराउँन आफ्नै नेतृत्वमा मात्र २०० जनालाई काटेर मारेको स्वीकार गरेकाछन् ।

नेटीभ अमेरिकनहरुको आम संहार (जेनोसाईड)को कार्यलाई स्थानीय र संघीय सरकारले समेत मान्यता दिए । नगर पालिकाहरूले नेटीभ अमेरिकनहरुको टाउको जसले जति काट्यो त्यो गनेर सो कार्य गर्नेहरूलाई पुरस्कार दिन थाले । यसरी नेटीभ अमेरिकनहरुको आम संहार गर्ने मिलिशियाहरूले सरकारी ढुकुटीबाट पनि प्रसस्त रकम पाएका थिए । मिलिशियाहरूले धेरै पछि सम्म पनि नेटीभ अमेरिकनहरुलाई मार्ने काम गरे बापत भएको खर्च संघीय सरकारबाट अशुल गर्ने काम गरिरहे ।

४। सन् १८६१ मा जर्ज ह्यानशन ले, जो नेटीभ अमेरिकनहरुको मामला हेर्ने उत्तरी क्यालिफोर्नियमा सुपरिनटेन्डेन्ट थिए, लाखौँ नेटीभ अमेरिकनहरुलाई गोरा ग्याङहरूले जबरजस्ति अपदस्त गरेर दाशका रुपमा बेचेको कुरा प्रतिवेदनमा उल्लेख गरेका थिए । कुमीयाय पर्वतका शमलग्स नामक एक नेटीभ अमेरिकन हत्या गरिने ठाउँबाट,म्याक्सिको नजिक भएकोले, सुन नपाईने माक्सिकोतिर भागेर ज्यान जोगाई आस्रय लिन पुगेका थिए ।

नेटीभ अमेरिकनहरुको शोषण गरिरहेका मेक्सिकनहरू पनि क्यालिफोर्निमामा अमेरिकनहरूले नेटीभ अमेरिकनहरुमाथि गरेको पाषविक शोषण-दमन-अत्याचर-हत्या-हिंसाको कुरा सुनेर आतंकित नै हुने गर्दथे ।

मेक्सिकन सरकारले त यदि कुनै बन्दुकधारी अमेरिकनले सिमाना नाघेर मेक्सिकोमा पसेको पाईए कार्बाही गर्ने किसिमले सचेत समेत गराउँनु परेको थियो । दुई मुलुकको युद्ध त चर्किन पाएन तर मेक्सिकोको यो चेतावनीले शानडियागोका धेरै नेटीभ अमेरिकनहरुको सुरक्षामा योगदान पुगेको थियो । सन् १८४५ मा क्यालिफोर्नियाको नेटीभ अमेरिकनहरुको जनसंख्या १ लाख ५० हजार थियो तर १८४८ मा त्यो संख्या घटेर १० जना गोरा बराबर १ जनाको औसतमा झर्‍यो । सन् १९०० मा त नेटीभ अमेरिकनहरुको संख्या क्यालिफोर्नियामा केबल १६ हजार मात्र देखिन्छ ।

५। सन् १८५० मा पर्वतका शमलग्स नामक नेटीभ अमेरिकनहरुको विशेष किसिमले समुद्र छेउतिर संरक्षण गर्ने भनियो । कुमेयेय नामक एउटा मार्ग हाउसेर ग्रीक हुँदै ज्याकुम्बा र मरुभूमि भएर क्याप्टेन नाथानियल लिओन सम्म १८५१ मा बनाईयो पनि । सन् १८५३ मा सेना समेत रहने गरी ज्याकुम्बामा रेल्वे स्टेशन पनि बनाईयो । यो मार्गलाई १८५४ मा सेनाको मेल सेवाको निम्ती प्रयोग गर्न थाल्यो । यसलाई बाढाएर १८६० को अन्ततिर काम्पा र ज्याकुम्बा हुँदै सान डियागो सम्म बढाईयो । तर नेटीभ अमेरिकनहरू आफ्नो थातथलो छोडेपछि कैयौँ मरे, अरु समाज, सँस्कृती र धर्ममा बिलय भए ।

सन् १८६१ देखि १८६४ को युद्ध सम्ममा गोराहरूका थुप्रै जनसंख्या प्रवेश गरेको देखिन्छ । न्यू टेक्सासको नाम दिँदै थुप्रै गोराहरू पसे । तैपनि क्याम्पा-ज्याकुम्बा क्षेत्रका कुमेयेयहरूको जनसंख्या गोराहरूको भन्दा धेरै थियो । तर पछि आएर गोरा र कुमेयेयहरूका वीच अनेक झडपहरू भए जहाँ फेरि नेटीभ अमेरिकनहरु धेरै मारिए ।

तर कुमायेयहरूले पनि बहादुरीका साथ लडेर आफ्नो जातिको रक्षा गर्दै आए । तर सन् १८६० को प्लेगले नेटीभ अमेरिकनहरु धेरै मरे र त्यही बेला नेटीभ अमेरिकनहरुका अनेक उर्वर जमीनहरू र उनको क्षेत्रको पानीका मुहानहरू गोराहरूले कब्जा गरे । कैयौँ कुमेयेयीहरू गोराका हलि-गोठाला-नोकर-चाकर भएर गुजारा गर्न बाध्य भए । धेरै कुमेयेयीहरूले सान डियागोमा माछा मार्ने, ह्वेल मार्ने, घर निर्माण र स-साना घरेलु व्यापार आदि गरेर पनि आफ्नो अस्तित्व जोगाएर बस्नु पर्ने भयो ।

यसरी आदिवासिको सत्यानास गरेर बनेको अमेरिकाको ‘हिरो’ क्रिष्टोफर कोलम्बसलाई सम्झेँ । जसले सबैभन्दा पहिले नेटीभ अमेरिकनहरुका जल, जमीन, जंगल लुट्ने काम सुरु गरे र असंख्य नेटीभ अमेरिकनलाई दास समेत बनाए ।

क्रिष्टोफर कोलम्बस – Christopher Columbus (१४५० – १५०६):

मैले सबैभन्दा पहिले, स्कूले जीवनमा, क्रिष्टोफर कोलम्बसका बारेमा सुनेको थिएँ – उनले “अमेरिका पत्ता लगाए” भनेर । त्यतिखेर नै अचम्म लागेको थियो – “देश त त जहाँ छ त्यहीँ हुन्छ, कसरी पत्ता लगाएको होला?” कोलम्बस वास्तबमा (३१ अक्टोबर १४५१ मा जन्मेका) एक ईटालीयन  घुमन्ते तलासक (Explorer), नाविक (Navigator) र उपनिवेशवादी (Colonizer)  रहेछन् जसले ४ पटक एटलाण्टिक सागर आरपार गर्दै, स्पेनी उपनिवेश हिस्पानिओला आयरलेण्ड (Hispaniola Island) स्थापना गर्न, सामुद्रिक यात्रा गरेछन् । यूरोप र एशियाको तेतिखेर आवत-जावत गर्ने जमीनको बाटो धेरै कठीन र खतरनाक थियो । जताततै डकैती हुने । त्यसैले कोलम्बसले स्पेनका राजालाई ‘एशियासँगको,त्यतिबेला एशियामा मंगोल साम्राज्य थियो,  समुद्री व्यापार मार्ग पत्ता लगाएर व्यापार गर्ने’प्रस्ताब राखेछन् । उनको प्रस्ताब, यदि एशियाको बाटो पत्ता लगाउँन सफल भए कोलम्बसलाई एडमिरल पद र त्यहाँको व्यापारबाट हुने आमदामीको १०% हिस्सा दिने गरी स्पेनी राजाले आवत-जावतको लाग्ने खर्च व्यहोर्ने शर्तमा, स्वीकृत भएपछि १४९२ मा फेरि उनी एशिया जाने-आउँने समुद्री छोटो मार्ग खोज्न यात्रामा निस्के । तर कोलम्बस जापान पुग्नुको सट्टा ‘बहामस (Bahamas)’ (रैथाने आदिबासिले ‘गुआनाहान्ज’ भन्ने गरेको) पुगेछन् जसलाई उनले ‘सान साल्भाडोर’ भन्ने नयाँ नाम दिएछन् । विस्तारवादी, उपनिवेशवादीहरु जहिले पनि आफु कुनै ठाउँमा पुगे त्यहाँका ठाउँहरूको नाम फेर्छन् । उपनिवेशवादको एउटा तत्व यो पनि हो । यो बहेक उनले आफ्नो भाषा चलाउँछन्, आफ्नै धर्म कायम गर्छन्,आफ्नै साहित्य र नाटक चलाउँछन्, स्थानिय समर्थक परिवारका केटी बिहे गर्छन् र समाजमा घुसेर लुट्छन् ।

त्यतिनै बेला कोलम्बस भेनेजुएलाको क्यारेबियनको समुद्री तट र मध्य अमेरिकातिर पनि पुगेछन् जसलाई उनले ‘क्राउन अफ कासल’ भनिदिए । त्यसो त कोलम्बस भन्दा पहिले पनि ११ रौँ सताब्दीमा लेइफ एरिक्शन नामक यूरपेली यात्रीले अमेरिका पुगेर एकिकरण गरेपछि धेरै सताब्दीसम्म यूरोपले अमेरिकालाई उपनिवेश बनाएको देखिन्छ । तर’कोलम्बसले नै अमेरिकामा दाशहरूको व्यापार सन्चालन गर्ने, हिस्पानियोला नामक नेटीभ अमेरिकनहरूको आमसंहार (जेनोसाईड) गर्ने  र ईशाई धर्म फैलाउँने काम गरे’ भनेर ईतिहासकारहरू कोलम्बसलाई घोर ऐतिहासिक अपराधी नै ठान्छन् । तर स्पेन र अमरिकामा कोलम्बसले  अक्टोबर १२, १४९२ मा अमेरिका टेकेको दिनलाई बार्सिकोत्सबका रुपमा (स्पेनमा ‘फिएस्टा नेशनाल डे स्पाना डिया डे ला हिस्पानिडाड’ का रुपमा; ल्याटिन अमेरिकामा ‘डियाडे ला राजा’ का रुपमा र संयुक्त राज्य अमरिकामा ‘कोलम्बस डे’ भनेर) हरेक वर्ष अक्टोबर महिनाको दोस्रो सोमबारको दिन नियमित उत्सव मनाइँदोरहेछ । अर्थात कोलम्बसजस्तो ऐतिहासिक अपराधीलाई आफ्नो एक हिरो मान्दारहेछन् । तेसो त ईतिहासमा कहलिएका मानिसहरू, वद्ध बाहेक, प्राय युद्ध-अपराधी नै मात्र देखिन्छन् ।

तेसो त अहिलेका ईतिहासकारहरू, खास गरेर नेटीभ अमेरिकन ईतिहासकारहरू, कोलम्बसलाई’अत्याचारी डाका’का रुपमा प्रस्तुत गर्दारहेछन् ।  किनभने १) कोलम्बस आएपछि नै हिस्पानियोलाका आदिवासि ‘टियानो’ बसोबास गर्ने   स्थलका सुनको सुरक्षा र कपासको खेती गर्ने परम्परागत शैलीहरू नष्ट भएछन्; २) कोलम्बसको हुद्दा र टोली आएपछि तिनले युरोपेली बिफर रोग पनि लिएर आएछन् जसले करीब ९०% आदिबासिलाई मृत्युको मुखमा हालेछ; ३) रैथाने टियाना जातिलाई दाश बनाएर कोलम्बसले युरोपको सामन्ती प्रथा संचालन गरेछन् । कोलम्बस आइपुग्न अघि ३ लाख जति रहेको जनसंख्या ५६ बर्षमा घटेर १५४८ मा पुगेछ । हरेकपटक हिस्पानियोला पुग्दा कोलम्बसका सिपाहीहरूले आदिबासि महिलाहरुलाई बलात्कार गरेको, हत्या गरेको र दाश बनाएकोले पनि उनी अत्यचारी हुन् भन्ने प्रष्टछ ।

मैले अमेरिकामा दाश प्रथा उन्मुलन गर्न चाहने अब्राहम लिंकन, जसको हत्या गरियो, लाई पनि सम्झेँ:

३। अब्राहम लिंकन – Amraham Lincoln ( फेब्रुवरी १२१८०९ – अप्रिल १५१८६५) :

प्रजातन्त्रलाई “जनताद्वरा, जनताको निम्ती, जनताले नै गर्ने शासन हो (By the people, of the people, for the people)” भनेर परिभाषित गर्ने मानिस भनेर मैले सानैदेखि नाम सुनेको मानिस हुन् – अब्राहम लिंकन, जो अमेरिकाको सानो ठाउँ केन्टुकीमा जन्मेर १६ औँ राष्ट्रपति भएका थिए । ‘यिनले अमेरिकामा अपानईएको दाशप्रथा हटाउँने काम गरे’रे’ भन्ने सुने पछि यिनीप्रति मेरो स्रद्धा जागेको साँचो हो ।

लिंकनका बारेमा यी उल्लेखित कुरा सुनेपछि मेरो बाल मनमा – ‘खुब धनी मुलुक, शिक्षित मुलुक, सभ्य र सन्सारको शक्तीशाली मुलुक भनि ठानेको अमेरिकाको ईतिहास पनि मानिसलाई दाश बनाउँने क्रुरताको जगमा खडा रहेछ’ भनि दिक्क लागेको पनि ठीक-साँचो हो । अझ’दाशप्रथा’ हटाउँने कामको थालनी गरेकोले लिंकनको हत्या (अप्रिल १५, १८६५) नै गरिएपछि’अत्याचारीहरू, जो दाशप्रथा कायम राख्न चाहान्थे तिनैले लिंकनलाई मारे’ भनेर अमेरिकामा झन’डन’हरूले शासन गर्दा रहेछन् भनेर मेरो बाल मनले मनमनै एउटा निष्कर्श निकालेको थियो । शायद अहिले पनि अमेरिकालाई त्यस्तै ‘डन’हरूले संचालन गर्छन् क्यारे ।

भन्न त लिंकनलाई अमेरिकाका महान “हिरो”हरूमध्ये एक भन्ने गर्दछन् । उनको जीवन हेर्ने हो भने पनि एक साधारण परिवारबाट उठेर अमेरिकाको सबैभन्दा उच्च कार्यालयमा व्यवस्थापक भई उनी बस्न पुगे । अफसोच, उनको हत्याले गर्दा उनले थालेको महान, दाशप्रथा हटाउँने, काम अलपत्र पर्‍यो । तर जुन काम, दासत्व हटाउँने, उनले सुरु गरे त्यसैको भरमा पनि उनी ईतिहासमा संझन लायक भएर रहे । लिंकनको जीवनलाई पढ्दा केही घटनाहरू महत्वपूर्ण र प्रेरणादायक लाग्छन् ।

क)    लिंकन ९ वर्षको हुँदा उनको आमा (३४ वर्षकै उमेरमा) ट्रेमेटोल (Milk sickness) रोग लागेर बितिन् । जसको परिणाम स्वरुप लिंकन एकान्त प्रेमी हुन थाले । उनको बासँग कुरा मिल्दैनथ्यो । उनका बाले आमा मरेको वर्षदिन नपुग्दै सराह बुश जोन्सट्न नामक एक विधवासँग बिबाह गरे । लिंकनका बा र यी सौतेनी आमा दुबै अशिक्षित भए पनि सौतेनी आमाले बालक लिंकनलाई पढ्न-लेख्न उत्सहित गरिन् । परिणाम स्वरुप लिंकनले स्कुल पढ्न थाले ।

ख)   सन् १८३० मा लिंकनका बा बसाइँ सरेर ईलिनोइस जाने गए । २२ वर्षका अब्राहम लिंकनले ईण्डियानामै लेबरको काम गर्दै पढ्न थाले । पछि अब्राहम पनि ईलिनोइस सरे र उनले गुजाराका निम्ती कहिले स्टोर किपर त कहिले पोष्टमास्टरका रुपमा काम गरे । केही पछि आएर उनले एउटा दोकान खोले । १८३२ मा नेटीभ अमेरिकन र गोराहरू वीचको ‘ब्ल्याक हक युद्ध’ सुरु भयो तब त्यहाँ स्वयंसेवीहरूको डप्फा बन्यो जसमा लिंकन क्याप्टेन छानिए । यही बेला उनले राजनितिज्ञहरूसँग सम्बन्ध बढाउने मौका पाए ।  जसले गर्दा सन् १८३४ को चुनावमा उनी ह्वीग पार्टीको तर्फबाट सांसद समेत चुनिएका थिए । यसैबेला उनले दाश प्रथाको बारेमा राम्ररी थाहा पाए र यसको बिरोध गर्न थाले र यसैबेलातिर उनले वकिल बन्ने कुरा सोचेर विलियम ब्ल्याकस्टोनको ईङ्लेण्डका कानुनहरूमाथि टिप्पणी पढे । पछि सन् १८३७ मा उनी बारमा भर्ना भए र स्प्रिङफिल्डमा जोन टि स्टुअर्ट ल फर्ममा वकिलको काम गर्न थाले ।

ग)     स्प्रिङफिल्डमा लिंकनको एन्नी रुटलेड्ज नामक युवतीसँग रोमान्स सुरु भएको मात्र थियो एन्नीलाई टाइफाइडले लग्यो । यो घटनाले लिंकनलाई डिप्रेशनमा हालिदियो ।

घ)     सन् १८४७ देखि १८४९ सम्मको लागि ह्विग पार्टीको तर्फबाट लिंकन साँसद पनि भए । यसैबेला उनले माक्सिकन-अमेरिकन युद्धको विरुद्दमा बोले र जाचारी टेलरलाई (१८४८) राष्ट्रपतिको उम्मेद्वारका रुपमा समर्थन गरे । युद्धको विरोध गरेकोले बदनाम भए र लिंकनले दोस्रो चुनाव नलड्ने निधो गरेर स्प्रिङफिल्ड फर्केर फेरि कानुनी व्यवसाय गर्न थाले ।

ङ)     एन्नीको मृत्यू भएको करीब १ वर्षपछि लिंकनको जीवनमा मेरी ओवेन आईन्  र उनीसँग बिबाह गर्ने सम्मको कुरा हुन थालेको थियो तर लिंकन मेरी ओवेनसँग बिबाह नगर्ने निर्णयमा पुगे । बरु मेरी टड नामक अर्की महिलासँग १८४० मा उनको ईङ्गेजमेन्ट भयो तर १८४१ मा यो ईङ्गेजमेन्ट पनि टुट्यो । तर गज्जब के भने पछि एउटा समारोहमा यी दुईको भेट भयो, सम्बन्ध अघि बढ्यो र नोभेम्बर ४, १८४२ बिबाह गरे । यिनका ४ सन्तान जन्मेका मध्ये एकजना मात्र बाँचे ।

च)    सन् १८५४ मा अमेरिकाको कंग्रेसले कान्सास-नाब्रास्का कानुन पास गर्‍यो जसले दाशप्रथाका बारेमा के गर्ने भन्ने बारे हरेक प्रान्तले निर्णय गर्नु पर्ने भनियो । यही कानुनका कारण कान्सास र ईलिनोइसमा आन्दोलन चर्कियो । परिणाम स्वरुप रिपब्लिकन पार्टीको जन्म भयो । मुलुकको उथलपुथलले अब्राहम लिंकनभित्रको राजनीतिक व्यक्तित्व फेरि जाग्यो जुन दाशत्वको बिरुद्ध नैतिक आक्रोस भएर उजागर भयो । लिंकन १८५६ मा रिपब्लिकन पार्टीमा पसे । सन् १८५७ मा अमेरिकी सर्वोच्च न्यायालयले “अफ्रिकन-अमेरिकन”हरू ‘अमेरिकाका नागरिक होइनन् र अमेरिकामा तिनको वंशजको नाताको केही अधिकार छैन’ भनेर एउटा विबादास्पद निर्णय गर्‍यो । यसपछि अब्राहम लिंकन सांसद सदश्यको उम्मेद्वारका रुपमा उठे र यो अमानवीय निर्णयलाई उनले “दसत्वको प्रवर्धन” गरेको भनि चुनौती दिन थाले । सन् १८५८ को चुनावको क्याम्पेनमा दासप्रथाको उन्मुलन एक शसक्त मुद्दाका रुपमा सबै पार्टीहरूबाट उठ्यो । अफसोच, संसदको चुनाव स्टेफेन डगलसले जिते तर अब्राहम लिंकन राष्ट्रिय राजनीतिमा गज्जबले स्थापित भए । जसले गर्दा १८६० को राष्ट्रपति चुनावमा अब्राहम लिंकन उम्मेद्वार हुन पुगे जसमा उनले ३०३ एलेक्टोरल भोटमा १८० भोट सहित विजयी भए । लिंकनले आफ्ना मानिस र आफ्ना बिरोधीहरू समेतलाई लिएर बलियो क्याबिनेट बनाए । उनको सोचाई थियो – “आफ्न मानिसलाई नजिक राखेर काम गरौँ तर बिरोधीलाई झन नजिक राखेर काम गरौँ ।”

छ)    मार्च १८६१ मा दक्षिणका ७ राज्यहरू अमेरिकाबाट छुट्टिए । अप्रिल १२, १८६१ मा अमेरिकाको सबैभन्दा महंगो र घातक युद्ध सुरु हुन लागेको संकेत देखियो । लिंकनले राज्यको कोषबाट २ मिलियन डलर निकालेर कंग्रेसको सहमती बेगर नै हात हतियार किन्न भनेर बाँडे; युद्धको घोषणा नै नगरी लिंकनले ७५००० युद्ध स्वयंसेवकहरू भर्ना गराए; र, कैयौँ शंका गरिएका विद्रोहीहरूलाई वारेण्टै नकाटी जेल हाले । जसले गर्दा मुलुकमा गृहयुद्ध सुरु भयो । यो युद्धका कारण लिंकन जनता,वुद्दिजिवी, कर्मचारी र आफ्नै पार्टीका मानिस तथा मन्त्रीहरूबाट समेत नराम्रोसँग आलोचित भए । अमेरिकन सेना हार्दै थियो ७ राज्यहरुलाई एकिकरण गर्ने काम मुस्किल देखिन थालेको थियो । यसै बेला लिंकनले, गृहयुद्धको मुख्य कारण जस्तो भएर रहेको, ‘दाशहरूलाई मुक्ती’ दिएको घोषणा जनवरी १, १८६३ का दिन गरेर नयाँ रणनैतिक  चाल चले जसले धेरै विद्रोहीहरू मत्थर भएपछि अमेरिकन सेनाले युद्द जित्न थाल्यो । सन् १८६४ को युद्धमा अमेरिकन सेनाले चलाखिपूर्ण तरिकाले “युद्धको हार” टारेकोले लिंकन दोस्रो पटक राष्ट्रपति हुने संभावना बढ्यो । लिंकनलाई राष्ट्रपतिको उम्मेद्वारका रुपमा, भूपू शैनिक प्रमुख, जर्ज बी म्याक्लेलानले चुनौती दिए । तर, लिंकनले ५५% भोट ल्याएर चुनाव जिते । अप्रिल ९, १८६५ का दिन, जर्नेल रोबर्ट ई लीले (जो भर्जिनियाका कमाण्डर थिए) आत्म समर्पण गरेपछि अमेरिकन सेनाको जीत भयो । गृह युद्द सक्कियो ।

ज)    गृह युद्द पछि लिंकन (१८६३ बाटै सुरु गरिसकेको) मुलुकको पु:निर्माणको काममा जुटे । यस्तो बेला पनि संसदमा रिपब्लिकनहरूले उनको मज्जाले बिरोध गरे । राजनैतिक सहमतीको प्रयास गर्दागर्दै लिंकनलाई अप्रिल १४, १८६५ का दिन दाशप्रथाका कट्टर समर्थक प्रख्यात कलाकार जोन विलकेश बूथले वाशिंटन डिसीको फोर्ड थिएटरमा ४४ क्यालिबर पिस्टोलले टाउकोमा गोली ठोकेर भागे । लिंकनलाई नजिकैको पेटरशन हाउस नामक अस्पतालमा लगियो जहाँ उनी ९ घण्टा कोमामा रहे र अर्को दिनको बिहानै मृत्यू बरण गर्न पुगे । उनको पार्थीव शरिर ईलिनोईसको स्प्रीङफिल्डमा अन्तिम काज-कृयाको निम्ती ल्याईयो । गोली ठोक्ने बूथ भाग्न सफल भए तर दुइदिन पछि सेनाले उनलाई भर्जिनीयाको एउटा गाउँमा लुकेको ठाउँमा भेटे र घेरा हालेर गोली हानी मारिदिए । बूथका अन्य मतियारहरू मध्ये ४ जनालाई झुण्ड्याएर मारियो, एक जना जेलमै हुँदा येल्लो फिवरले मर्‌यो र अन्य ३ जनालाई राष्ट्रपती एन्ड्रयु जोनसोनले १८६९ मा आम माफि दिए ।

झ)   लिंकनले अमेरिकाको निम्ती के के योग दान गरे त? क) मुलुकलाई टुक्रिनबाट रोके; ख) गृह युद्धका बेला लिंकनले चतुर विदेश नीति अपनाएर गृह युद्धमा वैदेशिक हस्तक्षेप हुन दिएनन्; ग) आफ्नो मुक्तीका निम्ती लडाइँ गरिरहेका अमेरिकाका (काला) दाशहरूलाई मुक्त गर्ने घोषणा गरे जसले गर्दा अप्रिकन अमेरिकनहरूले पनि अमेरिकालाई आफ्नो मुलुक ठान्न थाले र विद्रोहको भावनात्मक लडाइँ लिंकनले जिते; घ) लिंकन संविधानको “तेरौँ संसोधन”को दृढ समर्थक रहे जसले अमेरिकामा दाशप्रथालाई कानुनी रुपमा अन्त्य गर्‍यो; ङ) लिंकनले होमस्टेड एक्ट, मोरिल एक्ट, नेशनल बैँकिङ एक्ट जस्ता कानुनहरू पास गराए भने अन्तरमहादेशीय रेलरोडको परिकल्पना समेतमा सबैको समर्थन जुटाए ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.