दूध चुस्ने बालक थिएँ
केवल आधा माना दूध भए पुग्थ्यो
सैसोला र थुमथुम्याइसँगै
बाबुआमाको इच्छामा बढे
र आधा माना चामल खान सक्ने भएँ
एउटै कोठामा/ एउटै खाटमा सुत्थ्यौँ
छुट्टै कोठा छुट्टै खाट माग्ने भएँ
छोटो टालोमा बेरिन्थेँ
महँगा फेसनमा फेरिन थालेँ
अज्ञानी थिएँ
ज्ञानको खातिर
विद्यालय/ महाविद्यालय पठाइएँ
विवाह गरिदिए
साथी खोजिदिए
नाति-नातिनाका लागि
आशीर्वचन थोपरिदिए
आज म
बाबु-आमासँगै
बस्न नसक्ने भएको छु
छुट्टै घर
छुट्टै भान्छामा सरेको छु
तर पनि कहिलेकाहीँ
आँगनमा खेलिरहेका छोराछोरीसँगै
मनमा कुरा खेलिरहन्छ
मेरा आमाबाबुले मलाई
ठूलो मान्छे बनाउने चाहनामा
किन आफ्नै प्रतिद्वन्द्वी बनाउन चाहे ?
हाल:- बोस्टन, अमेरिका