वैकुण्ठ ढकाल-
बाबा, मलाई दिदी कहिले बनाउनुहुन्छ ?
कार्यालयबाट घर पुग्ने बित्तिकै छोरीले यही प्रश्न गर्थिन, अलि पछि छोरी भनेर म पन्छाउँथे तर पनि छोरी प्रश्न गर्न छाड्दिनन ।
ममीलाई पनि सधैं यही प्रश्न गर्दिरहिछन । अब प्रश्न हामी दुबैलाई एक साथ हुन थाल्यो ।
बिद्यालयबाट फर्किदा सधैं हाँसीखुशी फर्कने छोरी आज डाँको छाड्दै आईन । संयोगले म पनि कार्यालयबाट सधैंभन्दा अगाबै घर पुगेको थिएँ । घर पुगेपछि छोरी अनुपमाको डाँको झन ठूलो भयो । कारण थाहा भएन, बाहिरी चोट कहिं थिएन । आमा बाबुले पनि बाहिरी चोट मात्रै देख्ने रहेछन !
छोरीको रुवाईको क्रम घटेन, आँशु बगिनै रह्यो । अनुपमाले अब भोलिदेखि स्कूल नजाने अड्डि लिईन । कारण पनि भनिनन ।
धेरै कर गरेपछि मात्रै आफूलाई परेको घटना बताउन राजी भईन –‘आज दिनभर म साथीहरुसंगै हुँदा पनि एक्लो भएँ, साथीहरुले तिम्रो भाई बहिनी खै भनेर सोधिरहे, तिमी तिम्रो भाईबहिनीसंगै खेल्न जाऊ भने मसंग खेल्न पनि मानेनन । स्कूल गएदेखि नै म एक्लो भएँ ।’
(केहि समय अघि साथी नमूनालाई पनि बुबा नभएको मान्छेसंग नखेल्ने भनेर साथीहरुले भन्दा नमूना बिस्सरी रोएको घटना पनि छोरीले सुनाईन ।)
छोरीको कुरा सुनिरहँदा म निःशब्द भएँ, आँखाहरु भरिए । मेरो नजर छोरीको मामुतिर सोझियो मेरो भन्दा उनको हालत नाजुक रहेछ । उनको आँखाबाट पहिल्यैदेखि नै भेल बगिरहेको रहेछ ।
म केहि फर्किए, छोरीको उमेर गने ९ बर्ष पूरा भएर दश बर्ष प्रबेश गर्ने संघारमा पुगीसकेकी थिईन । यही बीचमा हामीले छोरीको तीन जना बहिनीलाई धर्तीमा टेक्न दिएका थिएनौं । गर्भमा पाँचौं सन्तान आई सकेको थियो । छोरीको बहिनी वा भाई के आउँदै थियो थाहा थिएन ।
हामीसंगै अस्पताल जान्थ्यौ, तर त्यसदिन उनी मात्रै अस्पताल गईन । डाक्टर परिचित नै थियो । छोरीको सम्बाद र छोरानै चाहिने मेरो परिवार र समाजको हठले उनी तनाबमा थिईन । यी सबै बृतान्त उनले डाक्टरलाई सुनाईन ।
डाक्टरले जाँच पछि भनिन–‘तपाँईको गर्भमा दुई वटा सन्तान आएका छन्, तपाँईलाई खुशीको खबर छ । तपाँईको पुकार भगवानले सुने जस्तो छ । छोरीले छोरा पनि संगै लिएर आएकी छन ।’
घरमा खुशीको सीमा रहेन्, एकाएक सबैको ब्यबहार फेरियो । छोरीमात्रै जन्माउने बुहारी ल्याईस भनेर मलाई दिनहुँ कराईरहने मेरी आमा पनि औधी खुशी हुनुभयो । रेखदेख गर्नुपर्ने जिम्मेवारीबाट मलाई मुक्त गराईयो । सबै काम आमाले नै गर्न थाल्नु भयो । नियमित जाँचको लागि पनि सासु बुहारी नै अस्पताल जान थाल्नु भयो ।
हिजोसम्म कहिल्यै मिल्न नसकेका सासु बुहारीको उपमा पाएका मेरा आमा र श्रीमती । एकदिन आमा छोरी जस्तैमा परिणत हुनुभयो । छिमेकीले दिएको बिशेषण पनि फेरियो । म पनि दङ्ग ।
सबै प्रक्रिया सहज र स्वभाबिक रुपमै अगाडि बढिरह्यो । अस्पतालले दिएको मितिमै हामी अस्पताल पुग्यौं । जाँच सम्पन्न भयो, नियमित जाँच गर्ने डाक्टर नै थिईन । हामी निकै खुशी थियौं । सबैको प्रतिक्षाको फल आउने समय भएको थियो । आमा मिठाई किन्न भनेर अस्पताल बाहिर निस्कनु भयो ।
त्यही बेला एक डाक्टर अनुको मान्छे को हुनुहुन्छ भनेर बाहिर आईन केहि अप्रिय निर्णय सुन्नु पर्ने डरले म कामीरहेको थिएँ । त्यस्तै भयो ।
अनुको अप्रेशन गर्नु पर्ने भयो, यो कागजमा सही गरिदिनुहोला । मैले हात कमाई कमाई सही गरें । त्यहींमाथि एक ढिक्का आँशु पनि खस्यो, डाक्टरले कागजमा खसेको आँशु पुछ्दै, मलाई थुमथुम्याउँदै नआत्तिन भनिन ।
(एकछिन अघिसम्म सबै ठीक भन्ने अहिले एकाएक अबस्था बिग्रियो, अप्रेशन गर्नु पर्छ भन्दा मलाई झोक चलिरहेको थियो । अर्को मनले रीसलाई बुद्धिले काबुमा लिनु पर्छ भनिरहेको थियो । जीत बुद्धिकै भयो, म चूप भएँ । यसो त नियमित जाँच गर्ने डाक्टर बाहिर आएको पनि देखिन ।)
अनुलाई अप्रेशन थिएटरमा लगियो । हामी बाहिरियौं ।
नियमित डाक्टरले अनुलाई अप्रेशन थिएटरमा लगेर भनिन –‘मलाईको गर्भमा एउटा मात्रै शिशु छ, त्यो छोरी नै हो । तपाँईले जुन दिन आफ्नो बिबसता सुनाउनु भयो, मैले यस्तो निर्णय लिएँ । तपाँईले चाहनु भयो भने अर्को पटक पनि गर्भबति हुन सक्नुहुन्छ, तर तपाँईको अभिभाबकको अगाडि भने म तपाँई अर्को पटक गर्भबती हुन नसक्ने बताउँछु । ताकि तपाँई बारम्बार गर्भपतन गराउनु पर्ने पीडाबाट मुक्त हुनुहोस । अनुजी तपाँई मलाई जे सोच्नुहोस ।’
अप्रशन शुरु भयो, केहि घण्टामा पूरा पनि भयो । अनु र शिशुको अबस्था सामान्य रह्यो ।
नियमित जाँच गर्ने डाक्टरले मलाई र मेरो आमालाई भित्र क्याबिनमा बोलाईन । अनि बिनम्र भाषामा भनिन–‘तपाँईले चाहे जस्तो हुन सकेन, हामीले तपाँईकै दुबै सन्तानलाई बचाउन सकेनौं, दुबै शिशुलाई बचाउँदा आमा गुमाउनु पथ्र्यो । तसर्थ हामीले आमा र छोरी बचाउने निर्णय ग¥यौं र अर्को कुरा अब अनुजी अर्को पटक आमा बन्न सक्नुहुन्न । सम्झनुहोला । अहिले आमा र शिशुको अबस्था सामान्य छ आत्तिनु पर्ने कुनै कारण छैन ।’
समय बितेको पत्तै भएन, दोस्रो छोरीको पहिलो जन्मदिन मनाउन जेठी छोरीले कर गरिरहेकी थिईन । आमामा पनि एकाएक परिवर्तन पाएँ । नातिको कर गर्न छाड्नु भएको थियो । अहिले त गाउँभरी छोराछोरी बराबरीको वकालत गर्दै हुनुहुन्छ भनेर छिमेकीहरु सुनाउँछन ।
छोरीको पहिलो जन्मदिनको राति अनुले अप्रेशन थिएटरमा डाक्टरले भनेको सबै कुरा सुनाईन । जवाफ मैले मुस्कानमा दिएँ ।