कविता : पहरा

~विश्वविमोहन श्रेष्ठ~

हरे। कति कोतर्छौ
यो पहरालाई ?
जति कोतरे पनि निस्कने त
ढुङ्गा न हो, ढुङ्गा
फगत ढुङ्गा ।

त्यही ढुङ्गा
जसलाई खोपेर शिल्पीहरूले
मूर्ति बनाए र मन्दिरमा सजाए
पुजेर भक्तहरूले
देवता तुल्याए र
शिरमा चढाए
जोडेर मलामीहरूले
चिहान उठाए
जितेर वीरहरूले शिला ठड्याए
पाटी बनाए
पौवा बनाए
रोपेर वर–पीपल
चौतारी चिनाए
त्यही चौतारीमा बसेर
म अहिले हेरिरहेछु
बनाउँदा–बनाउँदा
अजङको त्यो पहरालाई
असङ्ख्य गोडाहरूले कुल्चने
धुलाम्मे सडक बनाए ।

त्यो सडक भएर अचेल
धेरै परसम्म पुग्न सकिन्छ
जहाँ उभिएको छ ठिङ्ग
अर्को पहरा
अब त्यसलाई कोतर्ने कहिले ?

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.