संस्कृति परिचय : बिस्केट जात्रा र विक्रम संवत्

~सुभाषराम~

वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्तिलाइ नेवार संस्कृतिमा एक पर्वको रुपमा मनाइन्छ । यस दिन उपत्यकाका धिनाच्व, सिच्व, र पूmच्व डांडाहरु चढ्ने र मेला भर्न जाने गरिन्छ । यहि दिन चिराइतो राखी बनाइएको खाई क्वाति (तीतो क्वाँटी) खाने चलन पनि छ । त्यस्तै मकर संक्रान्ति पनि नेवारहरु क्वाँटी, घिउ, चाकु र पालुंगो खाई महत्वका साथ मनाउ“छन् । यी दुई संक्रान्तिहरु (नेपालभाषामा खाई संल्हु र हाम्वः संल्हु) बाहेक नेवारहरु वर्षभरिका सम्पूर्ण परम्परागत चाड, पर्व, जात्रा, उत्सवहरु चन्द्रंमासको तिथि अनुसार मनाउ“छन् । नेपालमा विक्रम संवत भित्रिनु अघिदेखि नैं संक्रान्ति, पूर्णिमा, अष्टमी आदी मनाउने गरेको कुरा पाँचौं शताब्दीका लिच्छविकालीन अभिलेखहरुबाट थाहा पाइन्छ ।

मेष संक्रान्तिलाई केन्द्र बनाएर मनाइने बिस्केट जात्रा सौर्य मास पात्रो अनुसार मनाइन्छ । बिस्केट जात्रालाई विक्रम संवत्स“ग जोडेर विक्रम संवत् अनुसारको नव वर्षको उपलक्ष्यमा गरिने जात्रा भनेर पनि प्रचार गरेको पाईन्छ । बिस्केट जात्रा र विक्रम संवत्बीच के कस्तो सम्वन्ध छ ? के विक्रम संवत्को उदय स“गस“गै बिस्केट जात्राको उदय भएको हो ? अथवा विक्रम संवत् र बिस्केट जात्रा एकै ब्यक्तिले एकै समय चलाएका हुन ? यी प्रश्नहरुको उत्तर खोज्न आवश्यक देखिन्छ ।

प्रथमतः प्राचीन ऐतिहासिक घटनावलीहरु र अभिलेखहरु हेर्दा पहिले पहिले बिस्केट जात्रा सौर्यमासको पात्रो अनूसार नभई चन्द्रमासको पात्रो अनुसार मनाइने कुरा ज्ञात हुन्छ । मल्लकालको मध्यतिर पनि बिस्केटमा भक्तपुरमा लिङ्गो उठाउने र भैरवको रथ तान्ने जात्रा समेत चैत शुक्ल पूणिमाको दिन गर्ने गरिन्थ्यो । नेपाल राष्ट्रिय अभिलेखालय स्थित हस्त लिखित ग्रन्थ लगत नं १६९६, माइक्रोफिल्म नं ए ३०१को १२ को पृष्ठ संख्या २ मा ७४१ चैत शुक्ल पूर्णिमाको दिन भैरवको रथ भाँचेको र लिङ्गो ठड्याइ पूजा गरेको कुरा वर्णित छ । यो घटना सहितको घटनावली बारे बिस्तृत अध्ययन र विश्लेसन चुन्दा वज्राचार्यको मध्यकालया छुं घटनावली छगू अध्ययन पुस्तकमा दिइएको छ ।

बिस्केट जात्राको सम्वन्धमा एक प्रचलित किम्वदन्ति अनुसार लिच्छवि राजा शिवदेवको पालामा पूर्वतिरबाट किरातहरुले हमला गर्दा शेखर आचाःजु नाम गरेका एक पुरोहितले हजारौं बाघको रुप लिई तिनिहरुलाई धपाए । आफ्नो पति बाघ हुन सक्ने कुरा सुन्दा अचम्मित भएका शेखर आचाःजुकी पत्नीले खाफ्नो पति अजिंगर भएको इच्छा प्रकट गरिन् । पत्नीको ईच्छा नकार्न नसकी शेखर आचाःजुले पत्नीलाई तन्त्र मन्त्र गरी एक मुठी अक्षता दिंदै भने —म अजिंगरको रुप लिन्छु, तिमी नडराई हेरेर हेर्न पुगेपछि यहि अक्षताले हान्नु । यति भन्दै शेखर आचाःजु अजिंगर बने । अजिंगरको भयंकर रुप देखेपछि उनकी पत्नी त्यस ठाउँ छाडेर भागिन । अजिंगर बनेका शेखर आचाःजु पनि पत्नीले अक्षता हान्छिन् कि भनी उनको पछि पछि लाग्न थाले । भीमकाय अजिंगरले आफ्नो पिछा गरेको देखेर अतालिएर उक्त अक्षता मुखमा हालिन । पछि उनी पनि अजिंगर भए । दुबै पति पत्नी अजिंगर विरक्त भई आत्महत्या गरे । पछि यो कुरा शिवदेव राजाले थाहा पाई यिनिहरुको सम्मान स्वरुप यिनीहरुको सम्झनामा दुबै अजिंगरको लाश लिङ्गोमा झुण्ड्याई बिस्केट जात्रा मनाइ भनिएको छ ।

यो किंवदन्तिलाई विश्वास गर्ने नगर्ने भन्ने आफ्नो ठाउँमा छँदैछ र विश्वास नैं गरिए पनि यहाँ भनिएका शिवदेवको बारे पनि जान्न जरुरी छ । नेपालको इतिहासमा देखापर्ने तीन जना शिवदेव राजा मध्ये यहाँ भनिएका शिवदेव द्धितिय हुन भनिन्छ । यहि शिवदेवले विक्रम संवत् चलाई बिस्केट जात्रा चलाए भन्नेहरु पनि छन् । शिवदेव द्धितियको ६९० ई. देखि ७१४ ई. सम्मका शिलालेखहरु भेटिएका छन् । यस हिसाबले शिवदेव द्धितियले विक्रम संवत् चलाए भन्नु हास्यास्पद देखिन आउँछ । नेपालको ऐतिहासिक रुपरेखा पुस्तकमा लेखकले अंशुवर्मा विक्रम संवत्का प्रणेता विक्रमादित्य हुन ? भन्ने प्रश्न खडा गरेका छन् । विक्रम संवत्का प्रणेता भारतको उज्जैन शहरमा जन्मेका विक्रमादित्यलाई मानेको पाईन्छ अद्यपि यसबारे अझै बढि अध्ययन हुन बाँकि नैं छ । राजा विक्रमादित्यलाई तीन चोटि मरेर पनि पुनर्जीवित हुन सफल राजा भनिन्छ । भाषा वंशावलीमा राजा विक्रमादित्यको वर्णन पाईन्छ तर यही वंशावलीमा बिस्केट जात्राको प्रचलन जगज्योति मल्लले चलाएको कुरा उल्लेख छ । गोपालराज वंशावली अनुसार ने.स. ४१४ (वि.स. १३५१) मा युवराज्ञीनी विरमदेवीले इन्द्रकूट बनाइन तिनका छोरा श्री जयशक्ति देवले इन्द्रध्वज आरोहन गरे भनिएको छ । त्यसै बेलादेखि नैं भक्तपुरमा लिङ्गो ठड्याउने वा ध्वजोत्थान गर्ने गरिएको भनिन्छ ।

माथिका सम्पूर्ण कुराहरुबारे अनुशीलन गर्दा विक्रम संवत् र बिस्केट जात्रा एकै व्यक्तिले चलाएको होइन भन्ने थाहा हुन्छ साथै विक्रम संवत् र बिस्केट जात्राको शुरुवात पनि एकै समय होइन भन्ने पनि जानकारि हुन्छ । नेपाल संवतको तिथि अनुसार मनाइने भएकोले र बिस्केट जात्रा सम्वन्धी घटनावली र अन्य अभिलेखहरुमा मिति उल्लेख गर्दा विक्रम संवतको उल्लेख नहुनुले पनि बिस्केट जात्राको सम्वन्ध विक्रम संवत्सँग नभएको थाहा हुन्छ । पहिले लिङ्गो ठड्याउने र ढाल्ने मात्र गर्ने जात्रामा अन्य जात्राहरु पनि थपी मल्ल कालको उत्तराद्र्धतिर आइपुग्दा नौ दिन आठ रातको जात्रा भए जस्तै पछि मात्रै बिस्केट जात्रा मनाउने तिथिमा पनि फेरबदल भएको स्पष्ट छ । यसको कारक तत्व धार्मिक ग्रन्थहरुको प्रभाव भएको आभाष हुन्छ । गौतमी पुराण र मनुको बचनमा चैत मसान्तको दिन ध्वजोत्थान गर्दा दुःख विनास भई सबै शत्रु क्षय हुन्छ र वैशाख संक्रान्तिको दिन ध्वज ढाल्ने गरेमा शत्रु नाश हुने कुरा उल्लेख छ । यहि गौतमी पुराण र मनुको वचन अनुसार चैत मसान्तको दिन लिङ्गो ठड्याउने र संक्रान्तिको दिन लिङ्गो ढाल्ने गरेको देखिन्छ । अतःएव बिस्केटलाई विक्रम संवत्सँग जोड्नु प्रयास मात्र हो भन्नु युक्ति संगत देखिन आउ“छ ।

This entry was posted in संस्कार - संस्कृति परिचय and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.