एकाङ्की : पहिलो रात

~अर्जुन थापा~

पात्रहरु :
१. दुलाह
२. दुलही

समय : रातको १० बजे

स्थान : पुरानो घरको एउटा सानो कोठा

दृश्य चित्राङ्कन :

(दुईवटा झ्याल । एकमा पर्दा भएको अर्कोमा नभएको । झ्यालको छेउमा एउटा नयाँ खाट । पुरानो सिरक । ठुलो नयाँ दराज । भित्ताहरुमा किलै किला ठोकिएको । झ्यालका सिसाहरुमा झिङ्गाहरु रमाइरहेका । कोठा बाहिर ठिक्कको बार्दली । दुईटा मेच घोप्टो पारेर राखिएको छ । सफा आकाश । आकाशमा प्लेन उडेको आवाज आईरहेको छ । घरका अरु मान्छेहरु यताउती गरेको आवाज आईरहेको छ । दुलाह त्यही नयाँ खाटको छेउमा बसेर दुलहीलाई कुरी राखेको छ । बार्दलीमा उभिएर गुन गुन आवाजका साथ फोनमा कुरा गरी राखेकी छिन् दुलही । लगभग १ घण्टा लामो फोनमा कुरा पछि दुलहीको कोठामा प्रबेश हुन्छ । दुलाह मसक्क मस्केर शरिरलाई ठिक ठाउँमा ल्याउँछ ।)

दुलाह : धेरैबेर लगायौ त फोनमा कुरा गर्न ?

दुलही : (फ्यात्त मोबाइल खाटमा फ्याकेर) किन र विवाह गर्ने वित्तिकै साथीहरुसंग कुरा पनि गर्न हुन्न भन्ने छ र ?

दुलाह : (फकाउन खोज्दै) मेरो प्रश्नको गलत अर्थ नलगाउन । मैले त कुराको शुरुवात मात्र पो गरेको ।

दुलही : (अँध्यारो अनुहार पारेर) ताइ न तुईको प्रश्न गरेर के शुरुवात गरेको त ?

दुलाह : (दुलहीको आँखामा हेर्दै प्रश्न गर्छ) मलाई माफ गर । आज हाम्रो पहिलो रात अर्थात सुहागरात । आजको रातलाई कसरी विशेष बनाउने त ?

दुलही : विवाहको मतलब यो हाइनकी, मेरो सबै अधिकार अर्थात बोल्ने, खाने, हिँड्ने आदि सबै तिमीले भनेअनुसार होस् ।

दुलाह : तिमी अझै त्यहि सानो कुरामा नै अल्झि राखेकी छौ । छाड यो कुरा यस्तो गल्ति दोहोरिने छैन । अब त खुशी हौ । आजको रातलाई विशेष बनाएमा जीवनभर हामी खुशी हुनेछौ । त्यसैले …….।

(दुलहीको मोबाइलमा छिन छिनमा म्यासेजको घन्टी बजि नै राखेको हुन्छ । ऐना अगाडी उभिएर अनुहारको मेकअपलाई कटनमा क्लिजिङ्गले भिजाएर सफा गर्न थाली राखेकी हुन्छिन् । दुलाह खाटमै बसेर उनलाई हेर्दै कसरी खुशी बनाउ भनेर सोच्दै हुन्छ ।)

दुलाह : आमा बुबाको सम्झना आईराखेको होला तिमीलाई । अब हामी श्रीमान श्रीमती मात्र नभएर असल साथी पनि बन्नु पर्छ । तिमीले मसंग तिम्रो मनको हरेक कुरा भन्न सक्छौ ।

दुलही : (पुलुक्क दुलाहको आँखामा आँखा जुधाउँदै) अहिल्यै मलाई मेरो घरमा पुर्‍याएर आइदेउन । सक्छौ पुर्‍याउन ?

दुलाह : ल, आफ्नै घरमा त छौ नि तिमी । त्यो त माइती भयो नि आज देखिबाट ।

दुलही : यो तिम्रो घर हो । मैले मेरो घर भनेर भन्ने बेला आउछ कि आउँदैन त्यो समयले बताउने छ ।

दुलाह : मेरो नजिक आएर बस न आजको दिन यो रातको लागि धेरै प्रतिक्षा गरेको छु । त्यसमा तिमी जस्तो श्रीमती पाउँदा कति खुशी भएको छु म भन्ने तिमीले कल्पना पनि गर्न
सक्दैनौ ।

दुलही : (लामो हाँसो पछि) यति चाँडै आकाशमा उड्न नखोज । तिमीले सोचेको भन्दा फरक पनि हुन सक्छु म ।

दुलाह : आज सम्म मेरो छनौट फरक भएको छैन । मेरो हरेक काम ढिला हुन्छ, तर राम्रो हुन्छ र मेरो श्रीमती मेरो लागि सदैव राम्रो हुनेछिन् भनेर विश्वस्त छु । भगवानले नै हाम्रो जोडी बनाएका हुन् ।

दुलही : (मोबाइलको म्यासेज पढ्दै) खास भन्ने हो भने यो विवाह भन्ने शब्द नै मन पर्दैन । पहिला सिन्दुर पोते र चुरा लगाउन चाहि मन लाग्थ्यो । तर अब त्यो पनि मन मरेर गयो । मलाई कुरा घुमाएर गर्न आउदैन । यो विवाह गर्न नै मन थिएन । तर ……….. ।

दुलाह : (दुलहीको हात विस्तारै समाउँदै उनको उनको गाला नजिक पुग्छ) मेरो हुनु लेखेको रहेछ तिमीलाई । जे हुन्छ, राम्रोको लागि हुन्छ ।

दुलही : (रिसाउँदै दुलाहको हातलाई झड्काड्दै) तिमीलाई मेरा शर्तहरु त राम्ररी थाहा होला होइन ? मैले घरिघरि याद दिलाई रहनु नपरोस नी फेरी ।

दुलाह : (केही शतर्क हुँदै) केहि भुलेको छैन मैले । हामी मिठा कुरा त गर्न सक्छौ नि । तिम्रा बारेमा केही बताउ र मेरो बारेमा म बताउँछु । जसरी पनि हामीले यो रातलाई विशेष बनाए भईहाल्यो नि । जसले गर्दा आजको रातको सदैव सम्झना रही रहोस ।

(मध्ये रात । बाहिर चकमन्न छ । कोठामा दुई जना एउटै खाटमा छन् । उनीहरुको सुहागरात भएता पनि त्यहा विशेष केही भई राखेको हुँदैन । जुन कुरा लेख्नलाई लाज मान्नु परोस । दुलही एक छेउमा मोबाइल चलाएर नै बसि राखेको हुन्छे भने दुलाह केही विशेष भई दियोस भन्ने प्रतिक्षामा छ । खाटको छेउको सानो टेबलमा एक ग्लास दुध त्यसै छ ।)

दुलाह : (दुधको ग्लासलाई उठाउँदै) चिसो भईसके छ । ल पिउ दुध । आज दुध पिउनु पर्छ रे । अझ बेसार हालेर पिउँदा तागत आउँछ रे भनेर भनेको सुनेको छु ।

दुलही : (मोबाइल खेलाउँदै ) मलाई ल्याङ्गल्याङ्ग कुरा गरेको राम्रो लाग्दैन । उसै त टाउको दुखि रहेको बेला झन थप्ने काम नगर ।

दुलाह : टाउकोमा ओलिभको तेल लगाएर मालिस गर्दिउँ त ? एकै छिनमा हल्का हुन्छ ।

दुलही : आफ्नो टाउकोमा आफै तेल लगाउन नसक्ने छु र म । चेपारो घसेको मलाई मन पर्दैन । सुते हुन्छ रात धेरै भईसक्यो ।

दुलाह : (अलिक सिरियस भएर) किन यस्तो रुखो कुरा गरिराखेकी छौ तिमी ? हिजो सम्म त कति मिठो कुरा गर्ने तिमी एक्कासी भयो के तिमीलाई ?

दुलही : मान्छे नै यस्तै छु म । जे जस्तो भएतापनि स्विकार्छु भनेको होइन र तिमीले ? २–३ घण्टामा नै रुखो लाग्न थाल्यो म ?

(एकपल्ट फेरी शान्त हुन्छ कोठा । दुवैजना आआफ्नै तालमा बसिराखेका हुन्छन् । ग्लासको दुध जतिको त्यती नै छ । खाटको ठिक अगाडी पट्टी रहेको बत्ती बली नै रहेको छ । उनको मोबाइलमा म्यासेजको घण्टी बज्ने क्रम जारी नै छ । केही क्षणपछि दुलाह फेरी दुलही तर्फ झुक्दै भन्छ ।)

दुलाह : तिमी यस विवाहबाट खुशी त छौ नि ?

दुलही : (झ्यालमा भुनभुन गरी रहेको झिङ्गालाई हेर्दै) खुशी हुनु नहुनुको कुनै अर्थ रह्यो र अब ? जे नहुनु थियो, त्यो भई नै सक्यो । बेकारमा दिमाग चाट्ने काम नगर ।

दुलाह : (दुलहीको औंलालाई फेरी पनि आफ्नो हातले बिस्तारै समाउन खोज्दै) हाम्रो पहिलो रात । आजको रातबाट तिमी मेरो र म तिम्रो हुने रात । एक छुट्टै संसार हामी दुई मिलेर बनाउने रात । एकअर्काको अंगालोमा बाँधिएर हराउने रात । माया प्रितीका कुरा गर्ने रात । र ………. ।

दुलही : (झोक्किदै) कस्तो साइको पाराको मान्छे तिमी ! एकपल्ट भनेपछि बुझ्दैनौ कि क्या हो ?

दुलही : (मोबाइल बन्द गर्दै) ल म सुते । तिम्रो साइको कुरा सुनेर निन्द्रा बिगार्नु छैन मलाई ।

(कोठामा अन्धकार छाउँछ । दुलाह ट्वाल्ल परेर हेरिरहेको छ । ओड्नेले शरीर पुरै ढाकेर कोल्टे परेर दुलही निदाउन कोशिस गर्दै छे । लामखुट्टेको ट्याँट्याँ गरेको आवाजले दुलाह उठेर अँध्यारोमा लामखुट्टेको धुप खोज्दै गर्दा, ग्लासको दुध भुईमा घोप्टिन्छ । त्यत्तिकैमा कोठामा बत्ती बल्छ ।)

दुलाह : सरी, डिस्टर्व गरे । हेर न, दुध नै पोखियो ।

दुलही : जीवनमा के के पोख्खि सक्यो । जाबो एक ग्लास दुध मै अड्की रहेका छौ तिमी । छोडिदेउ त्यो पछि सफा गर्लाउ । तिमीसंग एउटा प्रस्ताव राख्न चाहन्छु म ।

दुलाह : (खुशी हुँदै) भन न के प्रस्ताव ? तिमीले भनेको हरेक कुरा मान्छु नि म ।

दुलही : पछि हट्यौ भने ? तर मलाई फरक पर्दैन । मैले जे निर्णय लिन्छु, त्यो पुरा गरेरै छाड्छु म ।

दुलाह : प्लिज, भन त के कुरा हो ।

दुलही : तिमी मसंग कहिल्यै खुशी हुन सक्दैनौ र म तिमीसंग । घर, परिवार, आफन्त र समाजका लागि यो विवाह गर्देको मात्र हुँ । यी सामाजिक मोह मायाबाट म धेरै टाढा हुन चाहन्छु । मान्छे मान्छे बीचको सम्बन्ध नै नाटक लाग्न थालीसकेको छ । तिमीलाई मेरो कुरा सुनी रहँदा अचम्म लागेको होला । एक प्रकारले तिम्रो दोषि पनि भएको छु कारण यो कुरा पहिल्यै बताउनु पर्ने थियो मैले । अझै केही विग्री नसकेको कारण तिमीलाई भनेको हुँ । तिमी मज्जाले अर्को तिम्रो छनौटअनुसार विवाह गर्न सक्छौ । तर मलाई यस बन्धनबाट मुक्त गरिदेउ । एक सन्यासी जीवन बिताउने निर्णय लिईसकेको छु मैले ।

(बत्ती निभाएर पल्टिन्छिन् फेरी उनी । अबको अन्धकारसंग दुलाहलाई डर लाग्न थाल्छ । त्यस्तो डर जो सदा उसको छाँया बनेर रहिरहने छ ।)

(पर्दा बन्द हुन्छ ।)

समाप्त !

अर्जुन थापा
धुम्बाराही, काठमाण्डौ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.