~हरिप्रसाद भण्डारी~
“कठिन यात्रा !” धेरैले यसै भन्थे ।
एउटा अनिवार्य यात्रा, शिखरमा पुग्नका लागि हिँडिरहेका थिए यात्रीहरू । थाक्ने पछि पर्थे र हिँड्नेहरू हिँडिरहन्थे, निरन्तर ।
कहिले भीरको बाटो, कहिले जङ्गलको बास । यात्रा कहाँ हुन्छ र सुगम ! चितुवा र ब्वाँसाको झम्टाइ, तीखा ढुङ्गा र काँडाको घोचाइ । भोकप्यासका कुरा त सामान्य हुन्छन् यात्रामा । बाटो सजिलो थिएन, आस्था बलियो थियो । आस्था र विश्वासका भ¥याङ चढ्दै, आशा र भरोसाका जङ्घार तर्दै अघि बढ्दै थिए यात्रीहरू ।
एउटा ज्योति धिपधिप बलिरहेको थियो, पारि क्षितिजमा ।
‘आऊ ।’ हाँसेर बोलाउँथ्यो ।
‘आऊ ।’ अलि ओरसम्म लिन आउँथ्यो ।
र, कहिल्यै नथाक्न र सधैँ विजयी हुन हौसला दिन्थ्यो ।
ऊसँग चहराइरहेका घाउमा लगाउने मलहम थियो । रोगीको रोग निको पार्ने ओखती थियो । र, मूल कुरो त मान्छे मान्छे भएर बाँच्न के चाहिन्छ, त्यो वस्तु थियो ।
पहिले त्यहाँ पुगेकाहरूले सुखले जीवन बिताएका थिए । उनीहरू पनि ओर डिलमा आएर छिटो छिटो हिँड्न हुटिङ गर्थे ।
“त्यो बाटो गाह्रो छ, नजाऊ । कठिन यात्रा, प्राण जान सक्छ । जीउ गल्न सक्छ । र भएको जेथा पनि गुम्न सक्छ ।” एकथरी भाँड्न खोज्थे ।
“हिँड्नुपर्छ, हिँड्नुपर्छ, साहस बोकी हिँड्नुपर्छ । एक स्वर, एक लय र एकै लस्कर भएर अघि बढ्नुपर्छ । थाक्नु मृत्यु हो, ज्यँुदै मर्न नखोजौँ, हिडौँ जीवनयात्रामा कत्ति हार नखाई ।” अघि जानेहरूले हौसला दिन्थे ।
“चिसो भएर सुनिनुभन्दा आगो भएर बल्नु ठीक, बाँचेर सधैँ मर्नुभन्दा एकैचोटि मर्नु ठीक । हामी मरे पनि अर्को पुस्ता जन्मन्छ र हामी हिँडेको बाटो पहिल्याएर अघि बढ्छ ।” बाटामा यस्तै कुरा हुन्थे ।
+ + + + +
यात्राका क्रममा, बाटाका बीचमा, एउटा आकृति थियो, डरलाग्दो आकृति ! काँचै खाउँलाजस्तो गरी बाटो छेकिरहेको थियो । भोका ब्वाँसाहरू उसका वरिपरि नाचिरहेका हुन्थे दाह्रा देखाएर । छुच्चा गिद्धहरू आकाशमा उडिरहेका हुन्थे नङ्ग्रा उजाएर । र, हिंस्रक चितुवाहरू बाटो छेकिरहेका हुन्थे, काँचै खाउँलाजस्तो गरेर । ती दुष्टहरूले कैयौँ निर्दोष यात्रुलाई जिउँदै मारे, टुक्रा पारे र आफ्नो आहारा बनाए ।
“भागौँ, मर्नुहुन्न ।” एकाथरी डराउँथे ।
“नडराई अघि बढौँ, पछि नहटाँै ।” अर्काथरी साहस भर्थे ।
रात गाढा हुँदै गइरहेको थियो । आकृति झन्झन् डरलाग्दो देखियो ।
“भूत–प्रेत हुन सक्छ ।” एकथरी डराए ।
“भूत होइन देवता हो ।” अर्काथरीले आदर गरे ।
“यस्ता भूत–प्रेत खतरा हुन्छन् । तर्साउँछन् र ज्युँदै निल्न सक्छन् । हाम्रा बाबाले भन्नुभएको यस्तासँग निहुँ खोज्नुहुँदैन ।” कोही यसो भन्थे ।
यसैगरी विभिन्नथरी कुरा छचल्किँदै थिए बाटाभरि ।
त्यसले धेरै समयसम्म अघि बढ्न दिएन । बाटोमा अवरोध खडा ग¥यो । यात्रुमा भ्रम छ¥यो । तर पनि यात्रा रोकिएन । सबै यात्रु सजग भए । हातेमालो गर्दैगर्दै अगाडि बढ्दै गए ।
यात्रुको लहर उर्लँदै गयो ।
“पछि हट्ने होइन, अघि बढ्नुपर्छ ।” सबैका मुखबाट सामूहिक आवाज आयो ।
लौरा टेक्ने लौरा टेक्दै, भारी बोक्ने भारी बोक्दै, हलो जोत्ने हलो बोक्दै अनि चर्का चर्का नारा बोल्दै, ठूलाठूला राँका पोल्दै र अवरोधका पर्खाल तोड्दै यात्रीहरू अघि बढ्दै रहे ।
यात्रीहरू कत्ति नडराई नजिकै आएको देखेपछि आकृति अत्तालियो र बाटो छोडिदियो । यात्रीहरू झन् खुसी भए र आफ्नो लक्ष्यलाई पछ्याउँदै अगाडि बढिरहे ।
पारि क्षितिजमा आशाको दीप उज्यालो छर्दै यात्रुहरूलाई बोलाइरहेको थियो ।
–२०६३/०२/०१, काठमाडौं ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)