~निलिमा पुन~
म तिम्रो कोखमा हुर्कँदै गर्दा
घलेकीले छोपी छोपी लुकायौ आमा
दश महिना आफ्नै शरीरभित्र
माया गरी गरी बचायौ आमा
म त बयान गर्नै सक्दिनँ
तिम्रो मायाको उचाइ छुनै सकिनँ
म जन्मँदा प नि कत्ति प्रसव पीडा खेप्यौ
होस आउँदा मेरै मायाले तड्पियौ आमा
आफ्नो जिउको बेहाल छाडी
मलाई न्यानो काखमा च्याप्यौ आमा
कतै हाता घुस्छ कि भनेर
तेल तताएर लगााइदियौ आमा
दश धारा दूध चुसाएर
आफ्नो पीडा बिर्सियौ आमा
तालु छिटो पुरियोस् भनेर
ज्वानो चपाएर लगाइदियौ आमा
अगेनाको आगोमा सेकी सेकी
हातखुट्टा बलियो बनाइदियौ आमा
म त बयान गर्दै सक्दिनँ
तिम्रो समर्पणको उचाइ छुनै सकिनँ
एक छिन टाढा नगएर
मेरै मायामा रातदिन बितायौ आमा
तिम्रो मन, तिम्रो ध्यान मैमाथि खन्याएर
मेरै साथमा भुल्यौ आमा
चिसो लाग्छ कि भनेर
कपडा फेरी फेरी सुतायौ आमा
आफूले पानी पिएर भए पनि
मलाई दूध पिलायौ आमा
म त बयान गर्नै सक्दिनँ
तिम्रो गुणको उचाइ छुनै सकिनँ
बाबा, तिम्रो साथमा नहुँदा पनि
मेरो साथमा वर्षौँ गुजार्यौ आमा
तिमी एक सरो कपडामा हिँडे पनि
मलाई धेरै कपडाले बेर्यौ आमा
तिमी खाली खुट्टा हिँडे पनि
मलाई मोजा लगाइदियौ आमा
तिमीभित्रभित्र रोए पनि
मलाई हाँसी हाँसी हुर्कायौ आमा
म त बयान गर्दै सक्दिनँ
तिम्रो त्यागको उचाइ छुनै सकिनँ
मलाई हेर्दा हेर्दै आफैलाई बिर्सियौ
मेरा लागि दुःख गर्दा गर्दै तिम्रो जवानी ढल्यो आमा
कहिलेकाहीँ म बिरामी पर्दा
मनभरि पिर कति बोक्यौ आमा
घरमा सबैले वचन लाउँदा
लुकी लुकी कति रोयौ आमा
भोक लाग्दा मही र उसिनेको कर्कलोले पेट भरेको
बिरामी परेर बिस्तरामा हुँदा
खुर्सानीको झोल खाएको कुरा गथ्र्यौ आमा
तिमीले कष्ट भोगेर पनि
मलाई खुशी राख्थ्यौ आमा
तिमी भोको बसेर भए पनि
मलाई ख्वाएर ठूलो बनायौ आमा
म त बयान गर्नै सक्दिनँ
तिम्रो ममताको उचाइ छुनै सकिनँ
अब त मैले पनि तिमीलाई पछ्याउँदै आ’को छु
तिमीले निभाएको भूमिका मैले निभाउन ला’को छु
तिमी त डाँडामाथि पुगिसक्यौ
म त अलि तलै छु आमा
तिमीलाई भेट्न जति दौडे पनि
म त जीवनको उकाली चढ्दै छु
ममाथि फर्केर हेर्दैछु
तिमी डाँडा काट्नै थाल्यौ आमा
तिमीपछि नफर्केर जाँदैछ्यौ
मपछिपछि धाएकै छु आमा
तिमी विस्तारै विस्तारै हिँड्न थाल्यौ
म छिटो छिटो भेट्ने कोशिस गर्दैछु आमा
तर तिमी अस्ताउन लागेको घाम
म त मध्यान्हको चर्को घाम आमा
मन धमिलो बनाई बनाई
तिम्रो बाटो पछ्याइराखेकै छु आमा
म त बयान गर्दै सक्दिनँ
तिम्रो मायाको उचाइ छुनै सकिनँ ।
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क १६ – Mar. 11, 2015 – २०७१ फागुन २७ गते, बुधबार )