~चन्द्र मेघि गुरुङ्ग~
मलाई उज्यालो देखि डर लाग्छ आजकल
जब झलमल्ल उज्यालो हुन्छ
देखिन्छ स्पष्ट सबै
लुक्दैन उज्यालो भित्र
वरिपरिका नमिठो थिचिमिचो
गन्हाएका भ्रष्टाचार
पतित राजनीति
लुटतन्त्र
खान नपाएका ख्याउटे अनुहारहरू
धेर खाएर बोसिंएका लुच्चाहरू
जनतालाई ढाँट्ने ढाँटहरू
बलात्कार गर्ने पतितहरू
मालिक सम्झिने सेवकहरू
समाजसेवा गर्ने चोरहरू
व्यापार गर्ने ठगहरू
बेकामे प्रमाणपत्र बेच्ने दलालहरू
बिरामी जाँच्ने राक्षसहरू
व्याज खाने साहुहरू
देखिन्छ उज्यालो भित्र
जताततै अँध्यारै अँध्यारो मात्र
उज्यालो भित्र अँध्यारो
छद्म भेषी उज्यालो संसार
त्यसैले मलाई उज्यालो देखि डर लाग्छ आजकल
उज्यालो नहुँदाको अँध्यारो भित्र
शून्यताको मिठास हुन्छ
देखिन्न आँखा अगाडि आफै लुटिएको
लाग्दैन आफैलाई आफू जिल्लिएको
हुँदैन बरु अन्धकारमा ठोक्किने सम्भावनाहरू
देखिन्न वरिपरि मुटु चहर्याउने घटनाहरू
ठग्न कोही आउँदैन अँध्यारो भित्र
अँध्यारो संसारमा सबै समान लाग्छ
न धनी देखिन्छ न गरिब नै
वास्तविक समाजवादअँध्यारो भित्र भेट्छु
एउटा निस्वार्थी अँध्यारो संसार
अँध्यारो भित्र छद्म भेष छैन
जे छ अँध्यारो मात्र छ
अँध्यारो भित्र उज्यालो छैन
मलाई यही एक रूपको संसार मन पर्छ
मलाई आजकल उज्यालो होइन
यही असली अँध्यारो संसार मन पर्छ
एउटा आनन्दमयी अँध्यारो संसार
समानताको अँध्यारो संसार
मलाई आजकल उज्यालो देखि धेरै डर लाग्छ ।
चन्द्र मेघि गुरुङ्ग
विदेशी भूमिबाट ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )