कथा : नलेखिएका कथाहरु

~बसन्त श्रेष्ठ ‘क्षितिज’~

तप्प !

मेरो दाहिने हत्केलाको छेउमा खसेका थियो ।

‘दुई थोपा आसुँ’

रङ्गबिहिन आसुँ,आकारबिहिन आसुँ र लक्ष्यबिहिन आसुँ । लाग्यो,एक किस्सा बोकेर आएको छ आसुँसँगै । सुस्तरी देब्रे हातको औंलाहरुले आसुँ सम्हालेर मेटिदिए । लुकाइ दिए ।

लुक्न नसकेको आसुँ मात्र थिएन,उस्को आँखा जहाँबाट आसुँको थोपा झरेको थियो । आँखाहरुले केही बोल्न खोजे पनि ओठ मौन थियो ।

मौन छन् शब्दहरु,मौन छ यो रात । म उसको नजिक छु । उनी र मेरो दुरी मुस्किलले एक बित्ताको होला जहाँ उनी प्रति असिम चाहले म थिए ।

एक किसिमको सन्नाटाले डेरा जमाएको थियो । दुई बोतल तुरे पछि टुबर्ग बियरले मलाइ आफ्नो परिचय भुलाएको थियो । मेरो क्षमता एक बोतल हो तर दुई बोतल रित्याइ दिए । मान्छेले सक्ने भए आफ्नो व्यथा रित्याउथे होला । रोदन रित्याउथे होला या बोतलमा आँसु साट्थे होला । बोतल रित्याए पश्चात् आँसुले पुन:बोतल भर्थे होला ।

कोरा कल्पनामा बाचिएको कुरा र वास्तविकतामा जति अन्तर थियो त्यो सायद वर्तमान हाम्रो दुरी पनि ।

घडी हेरे । रातको एघार बजेको थियो । ठ्याक्कै एक घन्टा अगाडि हामी निस्किएका थियौ ।

“म घर जान्छु ।” नौ बज्दा मैले अनुरोध गरे ।

“भरखरै नौ बज्दैछ ?” आग्रह गरिन् या समयको जानकारी दिइन् । मैले हेक्का राखिन ।

एक बोतल बियरको अन्तिम चुस्की लिए पछिको आग्रह थियो मेरो ।

“थपु ?”

“हुन्न,मेरो क्षमता यही हो ।” मैले साचो कुरो बताए ।

“अब एक बोतल ? अन्तिम ।” मेरो हात समाएर आग्रह गरिन् ।

आग्रह र हात छुवाइले नयाँ अर्थ दियो । हुन त यो पैतिस बर्षको उमेरमा कुनै नारीले हात नसमाते छैन भनेर म भन्दिन तर आजको स्पर्श फरक थियो । बिल्कुलै फरक थियो ।

“हुन्न । म घर जान सक्दिन । आमाले मार्नु हुन्छ ?”

“आमाले !”

“हो । आमाले”

“अनि बुढीले नि ?”

“बुढी ? म तरङ्गित भए । “घरमा बुढी हुन त विवाह गर्नु पर्‍यो नि ?” मैले छर्लङ्ग पारे ।

“हो र ? तपाईंको उमेर?”

“पैतिसौ बसन्त टेके ।”

थोरै मुस्कुराइन र भनिन “एक बोतल थपु है,लास्ट क्या ?”

“म घर जान सकिन भने ?”

“म लान्छु ?” मेरो औंलाहरु छुदै उनी बोलिन् ।

कता कता औंलाहरु हुँदै सम्पूर्ण शरीरमा अनौठो तरङ्ग उत्पन्न भयो तर …….

___

तर त्यहा बस्ने मुड् थिएन । पटक्कै थिएन ।

नहुनुको कारण जे पनि हुन सक्थ्यो । मेरो बिबाह नहुनुको कारण पनि हजारौं थिए । जसले मलाइ मन परायो तिनी मलाइ मन परेन । जसलाइ मैले मन पराए,उसले अर्कै रोजे । दुबैको मन मिल्यो तर बिबाह हुन सकेन । कारण यो समाज थियो । जहाँ हाम्रो प्रेमको टुसा नपलाउदै आँखा लाग्यो

वास्तवमा यही नलेखिएको कथा थियो ।

लेखनलाई प्रेम गर्थी उनी । सधै नोटबुक र कलम साथमा हुन्थ्यो । प्रथम भेटमा पनि साथमा सानो नोटबुक र कलम बोकेकी थिइ । सोचे,कोसेली बोक्ने चलन रहेन छ । चित्त बुझाए । यस्तै हो सोचे ।

“के सोच्नु भएको ?” एक्कासी व्युझिए

‘तिमी मेरो भन्ने भ्रममा यतिका बर्ष जिए । यही भ्रममा मर्न पाउ ।’ मनमनै भाकल गरे ।

बियर थपियो । प्वाट आवाज आयो । नयाँ बियरको बिर्को तिनीले नै खोलिन् । पहिले पहिले वेटरले खोलिदिन्थे  । ओपनरले,अहिले सजिलो बनाइ दिएको छ ।

“लिनुस्,स्न्यास् केही भनु ?”

“पिनट सादेको ।”

उसले वेटर बोलाइन् । कोल्डडिङ्गको साथमा पिनट अर्डर थपिन

“लैजाने,पक्का हो कि नाइ”मैले पुन: प्रश्न तेर्साए ।

“किन हजुरलाई बिश्वास लाग्दैन ?”

“लाग्छ” भनिदिए तर मन भने मानेको थिएन ।

आखिर हाम्रो भेट भएकै कति दिन भो र ? पहिलो पल्ट गजलकार अमृतजी गजल साँझमा जहाँ आँखा मात्र बोले मुख बोलेन । दोस्रो पल्ट Musical Healing with Surya Healing सेन्टरमा सुफी संगीत सुने पछि परिचयात्मक कार्यक्रम भएकोले नामसम्म थाहा भो

‘रश्मिला’

म ‘विशेष’यत्ति हो हामीले खर्चिएको शब्दहरु । फर्किदा छेउमा रहेको कफी शपमा कफी पिउने प्रस्ताव राखिन । मैले नाइ भन्न सकिन ।

टेवलको बिपरित धुव्रमा बसेर कफि पिइयो ।

जानेबेला मैले सोधे

“घरमा को को हुनुहुन्छ ?”

“म मात्र म । छोरो होस्टेलमा बस्छ ।”

‘श्रीमान नि ?’ मैले मनको प्रश्न मनमै दवाए । प्रश्नलाई रहस्यमै बिलिन हुन दिए ।

हामी छुट्टियौ त्यस दिन । त्यसको पन्द्रदिन पछिको रश्मिलासँग आज तेस्रो भेट हो ठमेलको ताज गीत गजल रेष्टुरेन्ट एन्ड बारमा भएको थियो ।

“गीत अफर गरुँ ?”

मैले हुन्छ भनेर तीन धार्नीको टाउको हल्लाए ।

स्लिप मागिन । केही लेखिन । वेटरले स्टेजसम्म पुर्याइन

मैले झण्डै ढेर बोतल बियर सक्काइ सकेको थिए ।

‘विशेषजीको लागि रश्मिलाको तर्फबाट प्रेममय भेट’

‘अजिव दास्ता हे कहाँ सुरु कहाँ …..’

बिस्तारै मेरो हात समाइन । दुरी थोरै उनीले घटाइन,थोरै मैले । हामी नजिक थियौ । एकदम नजिक । हावाले पनि सायद बाटो मोडेको हुनुपर्छ त्यतिबेला ।

त्यतिबेला भरखरै मैले डिग्री पढ्न आर आर कलेज ज्वाइन गरेको थिए । उमेरले २२ भेटेको थियो । महाराजगन्जको बसाइ र प्रर्दशनी मार्गसम्मको यात्राको सारथी कान्तिपुर यातायात थियो ।

बिहानी शत्रमा रत्नपार्क ओर्लियो,आकासेपूल चढी श्रेष्ठ टेलरिङ्ग अगाडिको गल्ली छिरेर आर आर कलेज पुग्थे ।

त्यहीँ बाटो छिचोल्नुको कारण चाहिँ पिके कलेज  थियो भन्दा फरक नपर्ला ।

त्यहीँ मेरी नायिका भेटिएकी थिइ । नाम………………. 

नाम अहिले नै किन राखु ? मात्र,म परी भन्छु ।

हुन्न ?

आखिर नाम,जात र धर्ममा के राखेको हुन्छ र ? यो मेरो व्यक्तिगत मान्यता थियो तर जीवनपर्यन्त मैले यही सामाजिक मान्यताको पर्खाल नाघ्न सकिन । मैले जातभात र धर्मको सिमाना छिचोल्न सकिन ।

सक्दै सकिन ।

किन हो,प्रेम र परिवारमा मेरो लागि परिवार पहिलो छनौट भयो ।

 “छोरा! मेरो लागि बिशेष छ । यसको नाम विशेस राख्छु ।” आमाले बा सँग अलिक ठुलो स्वरले मागेको यत्ती हो नत्र भने ती आमाले सधै त्यागकै परिधिभित्र आफुलाइ बाधिन् । चुह्लोको सेरोफेरोमा हाम्रो भोक मेटाइन् भने ८ बाइ १२ को कोठामा एउटा पुरुषको भोग शान्त पारिन् ।जो मेरा बाबा थिए ।

कट्टर बाहुन ।

सबेरै नुहाइ धुवाइ पश्चात् श्लोक पाठ हुन्थ्यो । घरै थर्किन्थ्यो

“बिशेस ! बिहान भयो उठ ! बाबू” आमाको यो नियमित रुटिन थियो । नारी शब्दमा के हुन्छ कुन्नि म जुरुक्क उठ्थे । कुनै दिन आमाको आग्रह बिना उठ्नु पर्दा भने दिनभर खल्लो महसुस गर्थे ।

खल्लो त मेरो पहिलो प्रेम टुक्रिदा भएको थिए । मेरो पहिलो र अन्तिम प्रेम एक असफल दस्तावेज भयो ।हामी दुबैले समाजसंग बिद्रोह गर्न पनि सकेनौ । बागबजारको गल्लीबाट शुरु भएको प्रेम दोबाटोमा सकियो ।

बियर पनि सकियो । दुई बोतल धेरै पछि सक्काएको थिए । करिव पाँच बर्ष पछि यत्ती धेरै पिएको थिए ।

“तपाईंलाई अफ्ट्यारो त हुन्न ?” मैले यस्तै प्रश्न तीन पटक गरेको थिए ।

“के यो रश्मिलाको बिश्वास छैन ?” यस पटक भने उनी साच्चै रिसाइन् ।

“सरी”मैले दुबै कान समाते ।

मन्द मुस्कुराइन् । मेरो हात समातिन् र भनिन्

“इट्स ओके”

प्रेममा जब सरी शब्द जोडिन्छ, त्यहाँ झन् प्यार बढ्छ ।

“अब जाने होइन ?” उनले भनिन ।

“हुन्छ” मैले लालमोहर लगाए ।

दस बज्न दस मिनेट बाकी थियौ ।

वेटरलाई हातले इसारा गरिन् । हत्केलामा औंलाले लेखे झै गरिन् ।

इसारा बुझेर बिल आइपुग्यो । पर्स खोलिन् ।

“प्लिज,बिल म तिर्छु” मैले भने

“किन नि ?”

“किन भने सधैं बिल केटा मान्छेले तिर्छ रश्मी” मैले पुरुष हुनुको घमण्ड पेश गरे ।

यस पटक भने उनी मौन रहिन । रश्मिलालाई रश्मी बनाइदिएको थिए,शायद यही कारण हुन सक्छ ।

“किन तिमी पुरुषहरु त्यो गर्नु हुन्छ,यो गर्नु हुन्न । यो मेरो काम,त्यो तिम्रो काम भन्छौ । के हाम्रो इच्छा हुन्न ? के हामीले बिल तिर्दा तिम्रो उचाइ घट्छ ? तिमी पुरुषहरु आफुलाई के ठान्छौ ?” भन्लिन् भन्ने सोचेको थिए तर उनी भर्र्याङ्ग ओर्लिदासम्म चुपचाप थीइन् ।

हामी ठमेल चोकमा आइपुग्यो ।

लाग्यो,भरखर ठमेललाई जवानी चढ्दैछ । कतै दोहरी,कतै डिस्को कतै गीत गजलका बोर्डले हरेक जस्तो घरको कुनै तल्ला ढाकिएको थियो । पिज्जा र बर्गरका स-साना पसलहरुमा भीड देखिन्थ्यो ।

‘कलंकी जाने हो ?”

“भित्र जानु पर्छ ?”

“होइन,चोकमै एल आर आइ स्कुल जाने बाटोमै ।”

“चार सय”

“हुन्छ”

रश्मिला र ट्याक्सी ड्राइभरको बीचको मौखित सम्झौता यही थियो । पछील्लो सिटमा हामी बस्यौ । बिस्तारै बियरको प्रभाव कम हुँदै थियो ।

मेरो छातीमा उनले टाउको राखिन् ।

पुरानो प्रेम एकाएक दोहोरिन थाल्यौ । ममा दोहोरो कुराले मन खेल्दै थियो ।  अतीत र वर्तमान ।

त्यसैमा ट्याक्सीमा शेखर अस्तित्वको

‘अतीतका मधुर कहानी,तिमीले बिर्यौ मलाई थाहा छ

सँगै सहेको त्यो घाम पानी,तिमीले बिर्यौ मलाई थाहा छ’ बज्यो  ।

त्यो समय र माहोल अनि गीतको शब्दले अनौठो तरङ्ग उत्पन्न गरायो ।

यता भित्र एउटा नलेखिएको कथा थियो । आफ्नै कथा लेख्नु साह्रै गाह्रो हुदो रहेछ । आफ्नै चोटलाई अक्षरहरुले कोतार्दा झन झन् अतीतको घाउ बल्झिन्थ्यो ।

कथा कहाँबाट शुरु गरुँ ? शब्दविहिन छु । शुन्य ! छु । शुन्यताबाटै शुरु गर्छु ।

हामी गन्तव्यमा पुग्यौ । ट्याक्सी भाडा उनले तिरिन् । यस पटक म मौन बसे ।

“आउनुस्”

म ओर्लिए । बियरको नशा अब मृत प्राय: भैसकेको थियो । थोरै उकालो बाटोमा उनी अघि अघि लागिन् म पछि पछि लागे ।

मुस्किलले सय मिटरको दुरीमा हामी रोकियौ । घर्ल्याक्क, गेट खोलिन् ।

साढे दुई तल्लाको घर,थोरै अगाडि पार्किङ्ग क्षेत्र । सानो बगैँचा । केही गमलाहरु । एउटा स्कुटर ना.१२.प …… लेखिएको । गुलावी कलरको मेहेन्द्र कम्पनीको ।

गेटको दुबै बत्ती बलेकै थियो । हामी तल्लो तलाको बैठक कोठामा पुग्यौ ।

“बस्नुस् । बायाँ तर्फ बाथरुम छ फ्रेस हुनुस् ।”

यो बियरले दिएको परिणाम म बिसाउन चाहन्थे । यस्तै हो बियर पिए पछि छिन छिनमा ट्वाइलेट जानू पर्ने तर म जेनतेन अडिएको थिए ।

 यत्ती सोचेर सरासर बाथरुम छिरे र हल्का भए ।

ढ्क ढ्क

मैले बाथरुमको चुकुल खोले ।

रश्मिला उभिएकी थिइ । हातमा स्याम्पु,टावेल र केही कपडा लिएर ।

“फ्रेस हुनुहोस् । म केही खानेकुरा तयार गर्छु ।’मेरो हातमा राखिन र भान्छातिर लागिन् ।

म मुढा झै उभिएको थिए । आँखा चिम्ले ।

खोले ।

 म त्यही थिए । रश्मिलाको वासस्थानमा । अनुमानित ५-६ आनामा बनेको कम्पाउड सहितको घरमा । मात्र दुई प्राणी ।

उनी र म

 छिपिदो रात । थानकोटको एरिया, भरखरै ठूलो भुकम्पले काठमाडौंलाई हल्लाएर हो कि या मालवहाक गाडीहरुले गर्दा हो कम्पन आए जस्तो हुन्थ्यो । त्यतिकै कम्पन यो बसाइँले पनि ल्याउदै थियो ।

म आधा रहर र आधा करले यहाँ थिए । यो सत्यता हो । घटनाक्रमसंगै सम्झौता गरि बढ्नुको बिकल्प थिएन । शरीरको कपडाहरु क्रमश:फुकाल्दै गए । म पुर्ण रुपमा नाङ्गिए जस्तो जन्मिदा थिए ।

शरीर हेरे । अनुहार हेरे । छातीमा आएको रौहरु हेरे ।गर्दनबाट शुरु भएको रौको सिलसिला झण्डै खुट्टासम्म पुगेको थियो ।

“छ्या ! यो बाहुनको छोराको जताततै रौ हुने ।” मेरी परीले सर्टको माथिल्लो बटम खोल्दै भनिन् ।

“मर्दको निसानी रे !” मैले छाती फुलाउदै जवाफ दिए ।

‘ऐया!’ मेरो छातीको रौ तानिन् क्यारे म चिच्याए ।

“सरी,देखियो मर्दानी । भोलि पर्सि मैले छोडे भने कसरी सहन्छौ ?” उनले सजिलै भनिन् ।

तर मलाई गाह्रो भयो । बीस मनको ढुंगाले मुटुमै थिचे जस्तो ।

“सरी बाबा सरी अब यस्तो कुरा गर्दिन” मेरो अनुहार पढिन् क्यारे । म मौन थिए ।

 “विशेस,अब त अनुहारमा मुस्कानलाई आउन दिनुस् ?”

मैले मुस्काउने कोसिस गरे । उनी झन् नजिक सरिन् ।

म झस्किए ।

“ओ……”रश्मिलाको आवाज थियो ।

म अतीत सम्झेर नाङ्गै बसेछु । कस्तो हुस्सु । कम्तीमा ढोका चुकुल त लाउनु पर्थ्यो ।

मेरो जन्मिएको अवस्था आज उनले देखिन्।

“स…सरी” म आतिए ।

दुबै हातले मुख छोप्दै उनी कुदिन् । म लाजले भुतुक्कै भए । पानी पानी भए ।

पानीमा धेरै बेर सारा शरीर भिजाइ राखे ।

त्यो झरीमा हामी दुबै भिजेका थियौ । पानीका कणहरुले उनको वयलाई भिजाउदै थियो । सेतो कुर्तामा निलो आकाशे रङ्गको सलले मेरी परी झन् खुल्दै थीइन् । मनभरी भित्र एक किसिमको सुन्दर सपना खेल्दै थियो ।

फूल्नुको अर्थ सुवास हो फूलहरु बोले । म चुपचाप थिए । भाव शून्य । आँखाहरु नौलो सपना बुन्न तम्तयार देखिन्थे । अलिक चहक बढेको हो कि ? नत्र त्यो प्रकृतिलाई देखेर किन मोहित हुन्थे । ती दृश्यहरु त मसङ्ग खेले कुदे र कति त हुर्किए पनि ।

हामी त्यसदिन नुवाकोट र काठमाडौंको सिमानामा थियौ ।

मुड्खु

घर फर्किने क्रममा झरीले हाम्रो स्वागत गरेको थियो । तिनी जसलाई म परी भन्थे । मनको चरी भन्थे ।

“चरी एकदिन फुरर उड्यो भने के गर्छौ ?”

म भन्थे’तिम्रो स्वतन्त्रतामा म खुशी हुन्थे”

मेरो त्यागले मेरो अगालोमा आउथिन् । माया गर्थिन् । छातीमा बिस्तारै मुड्की बनाएर हान्थी र भन्थी

“बिशेस,म तिमीलाई छोडेर कही जान्न ।”

‘तर समाज,यो जात र धर्म ?’ म मनमनै सोच्थे र आतिन्थे । एक किसिमको डरले मनभरी डेरा जमाउथ्यो ।

ओहो ! पानी जमेर खुट्टा डुबे पछी याद भयो । शरीर पुछे । ल्याइदिएको कपडा लगाए र केही क्षण अगाडिको कुरा सम्झिदै लजाउदै निस्किए ।

“सबै सफा गर्नु भयो कि क्या हो ?”आलो घाऊमा नुनचुक छर्किदै बोलिन् । म शिर झुकाएर उभिएको थिए । कुनै अपराधी झै ।

“आउनुस् ! खाना पस्किन्छु ।”

“खाना ?”

“किन, भोकै सुत्ने बिचार  छ हजुरको ?”

अझै मेरो शिर झुकेकै थियो ।

भो भो लजाउन पर्दैन । । ढोका ढकढकाउन पर्थ्यो,गल्ती मेरो पनि थियो ।

डाइनिङ्ग टेवलमा खाना पस्किएको थियो । थोरै खाए ।

“तपाईंको किन निरसाको मात्र गजल,मुक्तक र स्ट्राट्स लेख्नु हुन्छ ?”

“कहाँ ?” म अचम्मित थिए । प्रश्न गरे ।

“फेसबुकमा ।”

“तपाईं मेरो साथी हुनुहुन्छ ?”

“छैन,तर नाम सर्च गरेर पढेको थिए ।”

‘म पीडाको कहानी किन लेख्छु किनभने अक्षरहरुको बाहनामा मेरी परीलाई स्पर्श गर्न सक्छु ।’ कारण यही थियो ।

“त्यस्तो केही होइन ?” मैले ढाटिदिए तर मनलाई ढाट्न सकिन । पट्क्कै सकिन ।

उनले मलाई हेरिन्,मेरो आँखा हेरिन् र मौन बसिन् ।

“सुत्ने होइन ?”

म नाजवाफ भए ।

म बिस्तारै लिभिङ्ग रुममा छिरे । बिस्तारै रात छिपिदै थियो ।

“खाट्मै बस्नुस् न”

खाटमा सरे । केही बोलिन । कोठाभरी नजर दौडाए ।

गाढा कलेजी रङ्गले पोतिएको कोठामा,बीचमा सुर्य अस्ताउदै गरेको तस्वीर फ्रेममा थियो भने अन्दाजी नौ दस बर्ष देखिने केटो आफ्नी आमासंग बसेको फोटो थियो । ती आमा रश्मिला थिइ ।

बक्स पलङ्ग ।

सिरानमा माथि केही टेवल फ्रेमहरुमा इलाम,मनकामना र कालिन्चोकसम्मको दृश्य भेटिन्थ्यो छायाछविमा रश्मिलासंगै ।

“केटी खुव घुम्दी रहिछे” मनले सोचे । अनि मनमै राखे र मौन बसे ।

हाम्रो प्रेम मौन थिएन ।

   शुरुवात नै चिच्चाहटबाट भएको थियो ।

एक्लै मुस्काए ।

                        त्यस दिन,बिहानी पहिलो प्रहरमा रत्नपार्कमा ओर्लिए । कान्तिपुर यातायातबाट झरे पछि बागबजारको गल्ली हुँदै आर आर कलेज जाँदै थिए ।

माघको बेला । समयले बिहानको छ बजाए पनि अझै अँध्यारो सकिएको थिएन । गल्लीबाट अगाडि बढ्दा मेरो अगाडि अर्को छाया थियो । सुनसान वातावरण र गल्लीको अँध्यारोमा देखिएको छायाले थोरै डर- थोरै उत्सुकता बढायो ।

पातलो ज्यानमा कुर्ता र सलवाल प्रष्ट देखिन्थ्यो ।

                       लगभग दस पन्द्र कदम म पछाडि थिए,उनी अगाडि । लाग्थ्यो,पाइला लम्काउ तर के सोच्लि ? फेरि गल्ली र बाकी रहेको अँध्यारोको अवशेषहरु । गल्लीमा केमिकलको गन्धहरु बिहानी सिरेटोसंग ठोकिँदै हाम्रो नाकमा आएर बस्थ्यो । छापाखानाहरुको सङ्गम स्थल बागबजार ।

मैले थोरै रफ्तार बढाए । हाम्रो दुरी छोट्टाए । लगभग समानन्तर दुरी थियो । गल्ली पनि सकिनै लागेको थियो ।

‘ह्याउ’

एक्कासी वातावरण खल्बलियो । खैरो भुसिया कुकुरले लत्रीएको सलमा के देखे कुन्नी ?

“ओ ! माइ ग..” उनी म तर्फ फर्किन्। मेरो पछाडी लुकिन् । मेरो हात समाइन् ।

मुस्किलले एक सेकेन्डमा यो घटना घटेको थियो । सोच्नै भ्याइन ।

डर त मलाइ पनि लागेको थियो तर देखाइन ।

“भाग” भन्दै खुट्टा उचाल्दै जुत्ता देखाए । कुकुर बिपरित दिशा तर्फ बढ्यो ।

“धन्यवाद !”

हात छुट्टाइन् र भनिन् ।

सानो फ्रेमको चस्मिस र गाजलु आँखा,कलेजी कुर्ता सलवालमा सेतो साल र हातमा दुई किताब बोकेकी थीइ । बिहानको उज्यालोले बिस्तारै उनको मुहार देखायो । आँखामा मैले हेरे । उनी नजर झुकाउदै बसिन्

“जाने होइन ?” म बोले ।

चुपचाप हामी बढ्यौ । बिस्तारै कोलाहल बढ्दै थियो । टुकुचा नजिक,तरकारी किन्ने र बेच्नेहरुको लेनदेनको आवाज प्रष्ट सुनिदै थियो । हामी आर आर कलेज नजिक आइपुगेका थियौ । गल्ली सकिएर मूल बाटो भेटियो ।

थोरै हिडेर रेड क्रसको रक्त संचार अफिसको दाहिने मोड्यौ र कलेज छिर्यौ । संयोग कुरा हामी एउटै कलेजका रहेछौ ।

“तपाईंको नाम ?”

“बिशेस ।”

“फेरि,धन्यवाद ।” थोरै मुस्कुराइन् र उनी आँखाबाट ओझेल भईन् ।

                     धन्यवाद त मैले त्यही भुस्सिया कुकुरलाई दिए । त्यो भेट सपना जस्तै थियो । आँखा चिम्ले । खोले । कलेजको बोर्ड थियो । मुस्काए । कक्षा कोठातिर लम्किए र पढाई शुरु गरे ।

शुरुमा त हाम्रो बाबाको सपना मलाइ बिदेश पढ्न पठाउने थियो तर त्यसदिन सपनाको अन्त्य भयो ।

मेरो आँखामा आँसु थियो ।

“मनभित्र पोखरी रै’छ,कति रोएको विशेस” सबै भन्दै थियो ।

“के गर्छस् बाबू ? यो संसारकै रित हो । तेरी आमाको मुख हेरेर पनि त रुनु हुन्न ।”

म झन् भक्कानिएर रोए । आमालाई सम्झेर रोए । आँखाभित्र आँसु राखेर आमाले सेतो कपडा लाउदाको दृश्य परिकल्पना गरे । दिल थामिनसक्नु गरि दुख्यो ।

“छोरा यसपालीको तीजमा तैले ल्याएको रातो साडी लाउछु र खुव नाच्छु बुझिस् ।”

म मुस्कुराएको थिए ।

                      आज रोएको छु । लाग्छ बाबाकै चितामा जलु । कुन आँखा लिएर घर जाउ । कुन मुटु लिएर आगन टेकु । कुन हातले दैलो खोलु ।

झन् आँखा साउन भदौ बन्यो । मुटु फुट्न मात्र बाकी रहयो ।

                       रातो साडीमा कलेजीको कलरको व्वाउजको साथमा जब बाबाले ल्याइदिनु भएको शुद्ध पश्मिनाको पच्छौरा लगाएर निस्कनु हुन्थ्यो सारा गाउँ उहाँलाई एकटकले हेर्थ्यो ।

‘बाहुनीलाई भगवानले फुर्सतमै बनाएको हो ।’ म फुच्छे हुँदा ठुला मान्छेहरु कानाखुसी गर्थे । म भगवानको मुर्ती देख्यो कि निहुरिन्थे ।

सबैले भन्थे । “पुरेतको छोराले बाउको बिडो धान्ने भो” तर म आमालाई बिछ्टै राम्री बनाएकोमा भगवानलाई धन्यवाद दिन शिर निहुराउथे ।

त्यही आमा अब बेरङ्ग हुदैछिन् । त्यही आमा जो लाली लगाउथिन् । कपाल सजाउथिन् । पाउडर लगाउथिन् आजबाट खाली खाली हिड्ने छिन् ।

छातीभर बोझको भार लिएर म आर्यघाटमा उभिएको थिए । सबैभन्दा छुट्टै ।

एक्लो ।

एक्लो भएकै कारण म आमाको बिशेस थिए । खास थिए मुटुमा थिए । तर त्यही आमाको सिउदो पुछिएको हेर्न विवस थिए ।

कल्पे

डाको छोडेर रोए ।

“छोरा मान्छे यसरी रुनु हुन्न ।”

किन ? छोरा मान्छेको मन हुन्न । पीडा हुन्न कि आँसु हुन्न । मेरो त बाबा खसेको छ । आमा बिधुवा भएकी छिन् । कस्तो बिडम्बना ! म मेरो बेदना लुकाउन सक्दिन । मन फुकाएर रुन सक्दिन ।

“ल ! विशेस लासलाई दागबत्ती दिनु आउ ।”

ओहो ! लास

छाती भरिएर आयो । म उभिएको धर्ती भासिएको थियो । मनै हल्लाउने शक्तिशाली भुकम्प गएको थियो । सुनामी हुलेर आँखाबाट अविरल छाल आसुमा अनुवादित भएर बगिरहे ।

बगिरहे !

हिजो मात्र बाउ छोराले डाइनिङ्गमा बसेर खाना खाएका थियौ ।

“छोरा,अब मेरो पडित्याइको काम सम्हाल्नु पर्छ । टाढा टाढाको जजमानकोमा म जान सक्दिन “

म फन्किएर हिडे को थिए । बेलुकी घर फर्किए को थिए ।

“बिशेस ! खाना खान आउ ।’

“खान्न !”

“रिस न गर”

किन किन आमा देख्यौ सारा रिस मरेर आउथ्यो ।

तर मेरो बाबा मरेर अब फर्किन्न । हिजोसम्मको रुद्रप्रसाद खनाल आज लास भएको थियो । पशुपति आर्यघाटको चीतामा लम्पसार परेर सुतेको थियो ।

                           सुत्ने समयमा म अफ्ठ्यारो महसुस गर्दै थिए । तेस्रो भेटमा म अलि परिचित र अलि अपरिचित थिए । आठ बजेबाट बाह्र बजेसम्म उसले तीन पटक हात समाएकि थिइ । दुई पटक ताज गजलमा एक पटक ट्याक्सीमा ।

“कपडा फेर्छु है ।”

“हस्” भुइँमा हेर्दै भने ।

वाथरुम छिरिन् । डिम लाइट बालिन् । म्युजिक अन गरिन्

‘नजाने क्या हुवा …’ लताको सुरिलो स्वर स्पिकरको माध्यम हुँदै दिल छोएर बग्यो ।?

पातलो सेतो नाइट गाउनमा उनी निस्किइन । मैले आँखा नझिम्काइ हेरे ।

हेरिरहे ।

कपडामा यतिको राम्रो देखेको जस्तो लागेन थिएन । तर त्यो पातलो र सेतो रेसमी कपडामा उनी खुलेकी थिइन् ।

म भित्र बिस्तारै पुरुषमा बद्लिदै थिए ।

र नलेखिएका कथाहरु खुल्दै गए….

बसन्त कुमार श्रेष्ठ ‘क्षितिज’
मिति:०६८-०४-१०

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.