~चम्फा गौतम~
समय चलिरहेछ, चलिरहेछ,
तर कसरी चलिरहेछ, थाहै भएन ।
जिन्दगीको होडबाजीमा अघि बढ्दाबढ्दै,
कहिले उमेर बितिसकेछ, थाहै भएन ।
काँधमाथि चढ्दै खेल्ने सन्तानहरू,
कहिले आफ्नो काँधसम्म पुग्ने भएछन् थाहै भएन।
भाडा तिरेर बस्ने कोठादेखि सुरु भएको जीवन,
कहिले आफ्नै घर भएछ ,थाहै भएन।
कुनै बेला थियो जिम्मेवारी बा आमाको,
कसरी भइएछ सन्तानको लागि जिम्मेवारी हामी, थाहै भएन।
कुनै समय थियो दिनमै मस्त निन्द्रा लाग्थ्यो भने,
कहिलेदेखि रातमा पनि निन्द्रा नलाग्ने भएछ, थाहै भएन।
जुन बेला कालो घना कपाल थियो गर्व गरिन्थ्यो,
तर कहिले देखि सेतै फुलेछ ,थाहै भएन।
जागिरको लागि हिँडिन्थ्यो भौँतारिनै सडक सडकमा,
जlगिरबाट अवकाश हुने समय आएछ, थाहै भएन।
सन्तानको लागि कमाउने र पढाउनेतिर दिन रात लागिएछ,
तर सन्तान कहिले देखि हामी बाट टाढा भएछन्, थाहै भएन।
मिलेर बसेको परिवार थियो शिर उच्च रहन्थ्यो,
कसरी सबैको साथ छुट्यो, थाहै भएन।
अब सोचिरहेको थिएँ आफ्नो लागि पनि केही गरूँ,
तर शरीरले साथ दिन छाडिसकेछ, थाहै भएन।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )