~बसन्त चौधरी~
तिमी कतै छौ
म कतै छु
जिन्दगीको वेदना
मुटु भित्रै छ
यसलाई के नाम दिऊँ म ?
यो नाम र आकार भन्दा पर छ
माया र मुटुको वर छ
तिमी दृश्यमा छैनौ
म यहाँ हरघडी
आँसुमा डुबेको मेरो आँखाले
तिमीलाई हाँसिरहेको देख्छु
तिम्रो मेरो बिचको
शुन्यताले,
चिसो सास फेरिरहेको देख्छु
मैले हर सास,
हर ढुकढुकीमा
तिमीलाई साँचेको छु
मैले तिम्रो बिछोडलाई
मृत्यु जस्तै बाँचेको छु
प्रेममा बलिदान हुन्छ
त्याग हुन्छ,
सधैँ मिठो धुन हुन्न
कहिलेकाहीँ,
व्यथाको राग हुन्छ
प्रेममा एक अर्काबाट
समर्पणको माग हुन्छ
तिम्रो मायामा
कति लिएँ, कति दिएँ
हिसाब गर्ने ठाउँ छैन
जति निराश भए पनि
अबसाद गर्ने ठाउँ छैन
यो तिम्रो माया,
मेरा लागि रूखको त्यो छहारी हो
जसलाई न काट्न सक्छु
न कसैसित बाँड्न सक्छु
यति भएर पनि
माया फक्रिएन भने
छायाँ शीतल भएन भने
हामी बिचको दुरी,
मनमा छोटीएन भने
म ठान्ने छु
तिम्रो हैन मेरै मायामा
खोट रहेछ
जसलाई आजसम्म खुसी ठानेँ
त्यो त,
यो हृदय माथि परेको
चोट रहेछ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)