~रेशम बी.सी.~
ए स्वयम्भू
एउटा नाङ्गो वालक
सडकको किनारै किनार हिँडिरहेको
तिमीले देख्यौ कि ?
काठमाडौँका ती
गगनचुम्बी महलहरूले
उसलाई देखेनन्
न देख्यो सिंहदरवारले
न देख्यो वालुवाटारले
अनि, शितल निवासले
किनकि उनका आँखा
दिल्ली दरवारको
रमझम हेर्न पुग्छन्
त्यसैले उनीहरू देख्दैनन्
तिमीले देख्यौ कि ?
बागमती, विष्णुमतिको
गण्डकीभित्र लाज देखाउँदै
भोको पेट भने भात खोज्दैछ
उसलाई सुकिला मुकिला
महलका गेटहरूले
लखेट्छन्, पिट्छन्
ऊ डराउँछ, अनि रूँदै कराउँछ
आ……. आ…..
कसले सुन्ने उसको वेदना
कससले देख्ने उसको भोको पेट
ए स्वयंभू
तिमीले देख्यौ कि ?
गण्डकीसँग मितेरी लाउँदै
प्लाष्टिक र बोतलसँगै दिन साट्छ
तर पनि क्षितिजपारीको विहानी हेर्न
ऊ डौडिरहेछ
पाउँछ पाउँदैन, भेटाउँछ भेटाउँदैन
देख्छ, देख्दैन उसले
ए स्वयंभू
उसलाई सुनौलो विहानी
तिमीले देखाइदिन्छौ कि ?
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अंक ५ – Dec. 18, 2013 – २०७० पौष ३ गते, बुधबार)