~गोविन्दप्रसाद आचार्य~
आतङ्कवाद भन्दै साना निसाना बन्छन्
शान्ति मलम जपेर तेजाप छिर्किदिन्छन्
वस्तीहरू दुःखाई मस्ति चुसिरहेका
साना मुलुकमाथि बमका गोला झरेका
बेइमानीका विमान खुशी खोसेर उड्छन्
साना मुलुक रगतका खोला बगाई दिन्छन्
संसार निल्नलाई आतङ्कवाद आयो ।
मान्छे भोजन बनाए, बमले भुटेर खायो ।
आतङ्कका हरामी आकाशमा उडेका
साना मुलुकलाई बमले भुटिरहेका
तेरा घमण्डलाई घाइते बनाइदिन्छन्
तेरो दमन सहेर मान्छे कहाँ झुक्न्छिन् ।
निर्दोष वस्तीमाथि बमका गोला झरेका
हेर्दै उराठ लाग्ने मान्छेहरू मरेका
बमले नहान भन्ने जुलुस काँ हरायो ।
बस्ती नभुट भन्ेन आवाज काँ हरायो
सुन्दा चरक्क छाती मुटु फुटेर आउँछ
आतङ्कको निशाना भोलि म बन्नुपर्छ
आतङ्कका अगुवा आकाशमा उडेका
छिनमै हजार बस्ती चिहानमा परेका
त्यो रक्त हेर्न गाह्रो, आफै मरे समान
साना मुलुक ताती काला विमान हान
मुर्दा बने अदालत बोल्दैन न्याय के हो ?
बस्ती सखाप पार्ने आतङ्कवाद यो हो
विरोधको बिहानी साँच्चै नडाकी हुन्न
आतङ्कका विमान साँच्चै नहानी हुन्न ।
आतङ्कवाद भन्दै धर्ती भिज्यो रगतले
जीवन खरानी बन्दा, सहन्छ र रगतले
संसारको रगतमा आतङ्क पौडिएको
आनन्द यो गगनमा आतङ्कले उडेको
मानव मनै नभाका मुर्दाहरू नबोल
मानव अधिकारको ठेक्कालिने नबोल
सुनसानमा नसुन्ने ढ्याङग्रो, गजो बजाउ
धामी र बोक्सी आफै आतङ्कमा रमाउ
लाखौँ करोडौँ मर्ने मूल्य नखोजी हुन्न
आतङ्कवादीलाई माफी कदापी हुन्न
तेरो दशा उदायो उठ्दैछ बेग आँधी
मक्किन्छ, ढल्छ हेर विश्व आतङ्कवादी
आतङ्क मास्नलाई संसार तान्नुपर्छ
बन्दुकहरू उठेर विमान ताक्नुपर्छ
बेइमानीका कुरामा विश्वास गर्न हुन्न
साना मुलुक बोल साम्राज्यवाद हुन्न ।
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ५ – Dec. 17, 2014 – २०७१ पौष २ गते, बुधबार)