~महानन्द ढकाल~
कोही भन्सारमा कोही सरकारमा देखिए
विचरा बबुराहरु सधैं बगरमा देखिए ।
यी जिन्दगीहरू बगिरहेका छन् उसैगरि
आऊ बचाऊ जिजिविषाहरू जँघारमा देखिए ।
प्रगति निकै भएको रहेछ मेरो बस्तीमा
बाआमा गाउँ ,छोराछोरी बजारमा देखिए ।
सुन फलाउन खोरिया फाँड्दै थिए किसानहरू
मोतीका दानाहरू निधार निधारमा देखिए ।
लेखेरै रङ्गिन बन्यो जब यो जिन्दगी
दुश्मन थिए आफन्तहरू प्यारमा देखिए ।
महानन्द ढकाल
कोहलपुर -१२, बाँके ।