~सुवास राई~
ओखलढुङ्गाको डाँडाहरू इलामै जस्तो
साउने भेलमा सुनकोशी अजिङ्गर जस्तो
पहाडमा ढुगांको ओखल ढुगांको लोहोरो
यहाँ भिर पाखा जताततै खोला र पहिरो
काव्यकुञ्ज ओखलढुङ्गा कविको जन्मभूमि
टार , बेँसी , वन , बाल्यकालको क्रिडाभूमि
बटुवालाई पानी मीठो पोकली झर्नाको
स्वादिलो रै छ मकैको पिठो ओखल ढुगांको
ढाक्रे र नाम्लेको उकाली र ओरालीमा त“ाती
गाउँले स्वाभिमानलाई नलुकाउने उनको खुल्ला छाती
असारको पसिनाले माटो भिज्छ नङ्ग्राले जोत्छ
ओठले होइन आँखाएको नानीले कथा व्यथा बोल्छ
भरियालाई बन्द विरोध केही थाहा छैन
ढुङ्गा कुदने डकर्मीको आÏनै ढुङ्गे घर छैन
रातो सेतो कमेरो माटोले रगीएको पहाडे घर
शालिमको छाना मकै भर्ने माना शीतल दिने वर
माना खाएर मुरी फलाउने हो यो अमृत असार
दिनभरि कोदाली खन्यो मानो खाई भुईँमा लम्पसार
चरिया पहाडको मकै बारी भित्र आमा रोप्छिन् कोदो
केटा केटी खेल्छन् आँगनमा दिन भरि हिलो
वारीपारी सानो सानो गाऊँ वेशीमा किसानको रोपाई छ
ओखलढुङ्गाको सम्झनाले फेरी मनको ढोका ढकढक्याउछ
हेर त माझी दाइले तार्नै लाग्यो सुनकोशीमा ढुङ्गा
नानीको आमा झैँ प्यारो कर्मभूम ओखलढुङ्गा
रमाइलो डाँडाको दृश्यहरू भू–स्वर्ग जस्तो
पहाडकी रानी ओखलढुङ्गा नकुँदिएको सुन जस्तो
ओखलढुगांको डाँडाहरू इलामै जस्तो
– २०६४
(स्रोत : रचनाकारको ब्लगबाट सभार)