~विष्णुबहादुर सिंह~
सरकारको ढुकुटीलाई हामी रित्तो पार्छौं
महँगी बढाई आफ्नो भुँडी हामी मुसार्छौं
कुशासन र भ्रष्टाचारको नमूना प्रदर्शन गरी
हामी जे–जे गर्छौं सबै जनताका लागि गर्छौ ।
*****
कुरी बसेँ तिमीलाई तिमी आउँछौ भनी
क्यालेण्डरका पनाहरू दिन दिनै गनी
निष्ठुरीको कुरै बेग्लै अब म के भनूँ ?
बाँकी यौटै काम रह्यो नाच्नु फनफनी ।
***
दिन रात नभनेर तिम्रै पछि लागेको छु
समयको प्रवाहमा तिम्लाई आफ्नै ठानेको छु
अव तिम्रो मुस्कान पनि ज्यादै महँगो भयो क्यार
सपनामा त्यै मुस्कानको एउटा अंश मागेको छु ।
***
भूगोल बेचेर इतिहास बनाउनेहरूसँग
ठूलाठूला नेताहरू परेकाछन् दंग
छेपाराले फेरेजस्तै हाम्रा नेताहरू पनि
प्रत्येक दिन प्रत्येक छिन फेर्छन् आफ्नो रंग ।