पत्र साहित्य : मेरो पहिलो प्रेमपत्र

~सुगिता खनाल~

मेरो सपनालाई आफ्नो सम्झी पूरा गरिदिने,
चाहे जे बितोस मनमा, सधैँ हाँसेर मिठो कुरा गरिदिने,
हरेक पिर आफैँ सही संसारका सारा खुसीले हामीलाई भरिदिने,
मन्दिर गै कहाँ खोज्नु भगवान, हजुरकै शरणमा सारा ईश्वर भेटिने।

मेरो प्यारो बाबा,

हजुरप्रतिको मेरो भावना हजुरसँग व्यक्त गर्ने आँट आजसम्म कहिल्यैे पनि मैले गर्न सकिन। त्यसैले आज सोच्दै छु, आफ्ना सबै भावनालाई म यी कापीका पानामा कोरिदिन्छु र हजुरको लागि पहिलो पटक केही लेख्न यो कलम चलाउँदैछु। सायद शब्दहरु कम परिदेलान् वा वाक्यहरु अधुरै बसिदेलान् तर मेरो भावना बस् हजुरको मनसम्म पुगिदियोस्।

जन्मने बित्तिकै सायद मैले आफ्नो आँखा पनि उघारेकी थिइन होला, तर जब हजुरको पहिलो स्पर्श मैले पाएँ नि, हो त्यही दिनदेखि नै आफूलाई संसारकै सबैभन्दा भाग्यमानी ठान्छु म। भगवानलाई जति धन्यवाद दिए पनि कम हुन्छ होला सायद, हजुरको काखमा मलाई पठाइदिनुभएकोमा।

बाबा, कति दुख दिन्थे होला नि मैले सानोमा हजुरलाई? मैले कति रात ओछयानमा सुसु गरेर अनि चिच्याउँदै रोएर हजुरलाई निदाउन नै दिइन होला है? अनि हजुर पनि त्यस्तै, मसँग कहिल्यै नरिसाउने। जे भने पनि मानिहाल्ने। मेरो एउटा मुस्कानको लागि कहिले हात्ती, अनि कहिले घोडा बनिदिने, बाहिर गएर घर फर्किँदा एउटा मात्रै भए पनि ‘ल्याक्टोफन’ चकलेट बोकेर आउने। आमाले मैले चकचक गर्दा गाली गरेर म रोएर बसेको छु भने पनि अनेक जोकहरु भनी मलाई हँसाइदिने। अनि मेरा सारा इच्छाहरु मैले भन्नुभन्दा पहिले नै पूरा गरिदिने।

अँ साच्ची, हजुरले मह, घ्यु र अदुवाको पेस्ट मलाई खुवाएर मेरो खोकी छुमन्तर पारिदिने अनि आफूु नसुती नसुती रातभरी पानीपट्टी लगाई मेरो १०४ डिग्रीको ज्वरो ह्वात्तै घटाइदिने, हजुर कुनै डाक्टरभन्दा कहाँ कम हुनुहुन्थ्यो र मेरो लागि?
छोरी भएर जन्मँदा पनि मलाई छोरालाई भन्दा बढी माया र स्वतन्त्रता दिनुभयो। हजुरका कति सपनाहरु अधुरै पनि भए होलान्, तर मेरा हरेक सपनाहरु पुरा गरिदिने हजुर नै त हो नि। त्यसैले म मन्दिर र गुम्बामा गई पत्थरको मुर्तिलाई पुजा गर्नुभन्दा हजुरलाई मनमनै पुज्न ठिक ठान्दछु।

बाबा, मलाई थाहा छ- हजुरले आफ्ना भावनाहरु हामीसमक्ष शब्दले बोलेर कहिले पनि ब्यक्त गर्नुहुन्न, किनकि सबै हजुरका भावना हजुरको व्यबहारले नै बोलिदिन्छन, शब्दले भन्दा पनि बढी प्रस्ट। तर आज एउटा कुराको जवाफ दिनुस् न बाबा, कहाँबाट आउँछ त्यति धेरै हिम्मत?आफ्ना सारा सपना बन्धकी राखेर हाम्रा निम्ति हरेक खुसि किनिदिने हिम्मत? मनमा हजारौँ पीरहरु लुकाएर सधै मुस्कुराइरहने हिम्मत? यो स्वार्थी संसारसँग जुध्दै, भिडहरुमा दौडँदै, आफूु दिनरात खिइएर हामीलाई प्रत्येक दिन अझै बलियो बनाइदिने हिम्मत? आफ्ना हरेक चोटहरु सहेर हाम्रा घाउमा मल्हम लगाइदिने हिम्मत?

छोरी भएर जन्मँदा पनि मलाई छोरालाई भन्दा बढी माया र स्वतन्त्रता दिनुभयो। हजुरका कति सपनाहरु अधुरै पनि भए होलान्, तर मेरा हरेक सपनाहरु पुरा गरिदिने हजुर नै त हो नि। त्यसैले म मन्दिर र गुम्बामा गई पत्थरको मुर्तिलाई पुजा गर्नुभन्दा हजुरलाई मनमनै पुज्न ठिक ठान्दछु।

हजुर त सधैँ त्यस्तै, आफ्नो लागि सधैँ लोभ गर्ने अनि हाम्रा लागि चाहिँ जहिले फुर्मायस। आफ्नो लागि ५ रुपैयाँखर्च गर्नुपर्‍यो भने पनि १० पटक सोच्ने अनि हाम्रा लागि चाहिँ ५ लाख नै खर्च गर्नुपर्दा पनि १ पटक नसोच्ने। मलाई थाहा छ, हजुरले आफ्नो अफिसको क्यान्टिनमा खाजा खाँदा प्राय: रोटी तरकारी नै मगाउनु हुन्छ, मिठो अनि हेल्दी मात्र भएर हैन, सस्तो पनि भएर। तर हाम्रो फेबरेट परिकारहरु किनेर ल्याइदिन हजुरसँग कहिल्यै पनि पैसाको कमी भएन।

हजुरको ४ बर्षे फाटेको जुत्ता बीरेन्द्रचोकमा गएर ५० रुपैयाँ तिर्दा जहिल्यै नयाँ बन्ने तर हाम्रो जुत्ता ६ महिनामै थोरै च्यातिहाल्यो भने पनि हजुरलाई पुरानो लाग्ने। हरेक दसैँमा हामी सबैको जिउमा नयाँ लुगा देख्दा हजुर मक्ख पर्दै आफ्नो त्यही पुरानो सर्ट र पाइन्टमा इस्त्री लगाएर नयाँझैँ पारिदिनुहुन्थ्यो। दिनभरि अफिसबाट खाजा खाने पनि फुर्सद नभई थाकेर घरमा आउदा साँझ कुकरमा अरु दिनभन्दा अलि कम खाना देखियो भने हजुरको भोक पहिल्यै मरिसक्छ है? मलाई अचम्म त यो कुरामा लाग्छ- हजुरको चस्माको पावर बढेको बढ्यै छ तर हामीलाई मन परेको कुरा टाढैबाट पनि कसरी देखिहाल्नुहुन्छ भनेर।

भनिसकेँ नि, बोलेर आफ्ना पिर त कहिल्यै पनि मलाई बताउनुहुन्न भनेर। तर, बाबा मेरो उच्च शिक्षाको बारेमा सोच्दासोच्दै हजुरको पीएचडी गर्ने सपना केही समय उता धकेलियो है? मलाई पैसा पठाउँदा पठाउँदा आफ्ना कति इच्छाहरु मनमै राख्नुपर्‍यो होला है? मलाई १० हजार रुपैयाँमात्र चाहिँदा पनि जहिले मेरो खातामा १५ हजार रुपैयाँ नै किन हाल्दिनुभयो? मलाई मेरो कलेज र स्कुलका पिकनिक र टुरहरुमा जाँदा हजुरसँग पैसा नै नभए पनि किन मलाई नजाऊ छोरी भनेर भन्न सक्नुभएन? हाम्रो मुख थोरै मात्र अँध्यारो भए पनि हामीलाई सबै सोध्न भ्याउनुहुन्छ तर किन हजुरको मुहार आज मलिन छ बाबा भनि सोध्दा चुपचाप मुस्कुराई बस्नुहुन्छ?

बाबा, मलाई थाहा छ- यी सब हजुरले हाम्रो खुसीको लागि गर्नुभयो। आफ्ना रहरहरु पन्छाएर हाम्रा सपनाहरु पूरा गर्नुभयो। हामीलाई आफूले फूल जसरी नै पाल्नुभयो तर कोमल, अहँ बन्न दिनुभएन। दुनियाँको अगाडि सधै बलियो र ऊर्जाशील बन्न सिकाउनुभयो। दुनियाँले छोरीलाई धेरै पढाउनुहुन्न भनेर भनिरहँदा पनि मेरो हातमा कलम थमाइदिनुभयो। म आकाशमा उड्न सकूँ, त्यसका लागि मलाई स्वतन्त्रताको पखेटा हालिदिनुभयो। मेरो खुसीका निम्ति हरथोक गरी आफू सन्तुष्ट बन्नु भयो।

प्यारो बाबा, मैले मेरो जिन्दगीमा राजकुमार त पाउँला तर मेरो जीबनको राजा सधैँ हजुर नै भइराख्नुहुनेछ। थाहा छ हजुरलाई, हजुरको कपाल आजकल फुलेर सेतै बनिसकेको छ, अनि गाला पूरै चाउरी परिसकेको छ तर आज पनि संसारकै ह्यान्डसम मान्छे मलाई हजुर नै लाग्छ। सानोमा हजुरको औँला समातेर हिँडे म, अब बुढेसकालमा हजुरको लट्ठी बन्न चाहन्छु। हजुरको छोरी भएर जन्म लिएँ बाबा, तर हजुरको छोरा भएर मर्न चाहन्छु म, र भगवानसँग एउटै मात्र प्रार्थना छ मेरो कि

जति नै मौसम र समय किन नाबितोस्, मलाई मेरै बाबा जस्तै बनाइदिनू,
जति नै सूर्य जलोस् या युग कटोस्, मलाई हर जनममा बाबाकै छोरी बनाइदिनू।

ह्यापी भ्यालेन्टाइन डे मेरो पहिलो प्रेम, मेरो प्यारो बाबा!!!

सुगिता खनाल
बागबजार, काठमाडौँ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in पत्र साहित्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.