कविता : तिमीले मलाई कहिल्यै चिन्न सकेनौ

~रमा शर्मा ढकाल~

म त सधैँ तिम्रा बिचारपथमा भौतारिइरहें ,
म त तिम्रा गीतका प्रतिध्वनि सँगै गुञ्जिइरहे,
सभ्यताको सास फेर्ने आसमा
म त तिम्रा खातिर धेरै लडेँ
पटक–पटक लड्दै उठ्दै र भिड्दै
आज सम्म पनि लर्खराँउदै पछ्याइरहेछु तिमीलाई नै
तर अफसोच !
तिमीले मलाई कहिल्यै चिन्न सकेनौ
कोसिस गरेको भए सायद चिनिसक्थ्यौ पहिल्यै मलाई
तर दूर दराजको नजरले नियालेर होला ।
म त सहीलाई सही देख्ने मान्छे,
म त गलतलाई गलत लेख्ने मान्छे ,
मलाई राजनैतिक घेराबन्दीमा थुनेर छाम्ने प्रयास नगर
आँखा खुम्च्याएर अनि मन दोब्र्याएर हेर्ने प्रयास पनि नगर
किनकि ,
म पराधीन अस्तित्व स्विकार्न कदापि चाहन्न ,
म कुनै वाद, झण्डा वा साँगुरो सोचभित्र कैद हुनै सक्दिन ,
त्यसैले त होला ,
तिमीले मलाई कहिल्यै चिन्न सकेनौ

बिर्सन पनि कसरी सक्छौ र ?
वर्ग सङ्घर्षको विद्रोहमा सँगै एकाकार भएका थियौँ कुनै समय ,
उत्पीडनको मसाल च्यापेर क्रान्तिकारी बिगुल फुकेका थियाँै कुनै समय,
बिर्सियौ पनि होला किनकि तिमी त शारीरिक श्रृङ्गार अनि
ऐस आराममा भुलिएका छौ रे भन्ने सुनेको छु ।
तर ,
म त आज पनि दोबाटोमा बसेर
अन्यायका काला कर्तुतहरू छापिरहेको छु ,
पुँजीपतिहरूको धर्म,कानुन र हैकम विरोधी हतियार च्यापिरहेको छु ,
त्यसैले त आज सम्म पनि तिमीले मलाई चिन्नै सकेनौ ।

यदि मैले शक्तिको भक्ति गाउने कुचेष्टा गरेको भए ,
कसले पो बिर्सन सक्थ्यो होला र ?
तर
आत्मदाह गरेर प्रतिष्ठा बचाउने प्रयत्न गरिन मैले,
म र्त अवैध गर्भिणी’ नारीको असन्तोष बोकी विद्रोह गरिरहेको छु ,
सामन्तवादको चक्रव्यूहलाई तोड्दै,
निम्नवर्गको पहिचान र सह–अस्तित्व खोजिरहेको छु ,
त्यसैले त ,
यो अडबाङ्गे समाजले त पक्कै चिन्दैन मलाई ,
तर अफसोच !
तिमीले पनि मलाई कहिल्यै चिन्न सकेनौ

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.