~चन्द्र मेघि गुरुङ्ग~
नेपाल आमा तिम्रो काखमा
एउटा भीषण युद्धको खाँचो छ अहिले
यस्तो युद्ध हुनुपर्छ नेपाल आमा
जसले तिमीलाई बलात्कार गर्ने
बलात्कारीको सफाय हुनुपर्छ
देश लुट्ने लुटेरा फसिनुपर्छ
देश बेच्ने दलाल मासिनुपर्छ
तर यस्तो युद्ध होस अब
सिनो खाने गिद्ध अब आकसमा नउडोस
सङ्लो पानी बग्ने हाम्रा नदीमा रगत नमिसियोस
नेपाल आमा युद्ध जरुरी छ
जुन युद्धले अब फेरि तिम्रो सन्तान खाडी नखेदियोस
तिम्रा सन्तान तिम्रै काखमा खेल्न पाउन्
आफ्नो गाउँबाट खेदिएर परदेश लाग्न नपरुन्
स्कुलका आँगनमा बारुदको गन्ध नचलोस
बिहान निस्केको छोरा बेलुका फर्कियोस्
रित्तो काख लिएर आमा रुन नपरोस
जवान चेलीले सिउँदो पुछ्न नपरोस
सम्झाझै स्याल कराउने दिन नदोहोरियोस
युद्ध जरुरी छ युवाहरू !
किन तिमी चुप बस्छौ अझै
ढिलो भइसकेन र ?
अब युद्ध हुनुपर्छ खेतका गरामा
गाई गोठमा
मेसिन औजारमा
पुलपुलेसामा
हाम्रा नदीमा
पहाड र कन्दरामा
युवाहरू !
अब त्यो युद्ध लड्नु छ
शान्ति युद्ध
जागरुकताको युद्ध
समृद्धि र सम्पनताको युद्ध
निर्माणको युद्ध
निर्यातको युद्ध
एकता र सद्भावको युद्ध
युवाहरू !
छोड अब बन्दुक बोक्ने कुरा
बारुद पोल्ने कुरा
आफ्नै भाइ जलाउने कुरा
आऊ अब युद्ध गरौँ
देश बनाउने युद्ध
आमा हँसाउने युद्ध
एउटा शान्ति युद्ध ।
चन्द्र मेघि गुरुङ्ग
विदेशी भूमिबाट ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )