कविता : नेपाल कैले आउने हो ?

~दिल थापा~

मुग्लानी भएको पनि धेरै वर्ष भैएछ् क्या हो।
बाध्यताको ताइफुले जीवनका सपनाहरूलाई
बेजोडले उडाउन खोज्दानी
आशाको मधुसमा राखेर बचाएको पनि धेरै वर्ष भइएछ क्या हो ।
यो परदेशको भूमिमा सेती नदीझैँ
भित्रभित्रै हराएको पनि धेरै वर्ष भइएछ क्या हो ।
सानो छँदा धूलो माटोमा घर बनाई खेल्दा
त्यो तेरो घर
यो मेरो घर
भन्दै खेलेको सम्झिए छ क्या हो ।
मेरो भाइले
बेला बेलामा बोल्न मन लागेर फोन गर्दानी सोध्ने गर्छ ।
नेपाल कैले आउने हो ?

पासपोर्ट बनाउन जाँदा काठमाडौँमा भेटेको
भेडाच्याँङ्ग्रासंग हिमाली विश्वविद्यालयमा
खुला शिक्षा पढेका भोटे भाइ
लोक आयोगको म्याराथनमा
भाग लिइरहने जनईधारी भाइ
नश्लराजधानीले आफ्‌नो नागरिक नसम्झने मधेसी भाइ।
ब्रिटिस आर्मी र इन्डियन आर्मी हुने मनोभुतले
बिहान चार बजेबाटै गाउँका गोरेटोहरूलाई उठाउने मगर भाइ
हाम्रो पासपोर्ट जन्मेको मिति एउटै हो है।
हामी हिजोआज परदेश छौँ ।
आफ्नो देशबाट धेरै टाढा ।
अनि अलग अलग ।
यी सबै भाइहरूसँग मेरो भातृत्वको साइनो छ।
त्यसैले म बेला बेलामा
भाइहरूलाई फेसबुकबाट सम्झने गर्छु ।
मदिराका चुस्कीसँगै
भाइहरूले सोधी हाल्छन् ।
नेपाल कैले जाने हो ?

सहरमा कलेज पढ्दा ।
किताबका शब्दभन्दा पनि
विद्यार्थी सङ्गठनका सङख्या गन्ने हामी ।
प्रशासनको विरोधमा आफैँ पढ्ने कलेजको
झ्यालका सिसामा ढुङ्गा हान्ने हामी ।
कयौँ रात त राजनीतिको कुरा गरेरै बिताथ्यौ हामी।
सकिन लाको ग्याँसको सिलिन्डर हेर्दै ।
कुहिएको काउली तरकारीको सुगन्ध लिँदै ।
समयले मलाई परदेश हुट्टाएको छ।
मेरो साथी नेपालतिरै छ ।
कैले मार्क्सवादको शब्द गन्न खोज्छ ।
कैले पुँजीवादको शब्द गन्न खोज्छ ।
ठूलो भैँसीको बथानमा अलमलिएको बाख्राजस्तै ।
वादको धुलोमा अलमलिएको छ।
तर पनि मेरो साथीले
हरेक वर्ष
मेरो जन्म दिनमा सम्झन्छ।
जन्म दिनको शुभकामनासँगै
वर्षको एक दिन सोधी रहन्छ।
नेपाल कैले आउने हो ?

प्रियसी सपनाको भन्दा पनि यादको ठूलो हुँदो रहेछ भारी।
प्रियसी मायाको भन्दा पनि प्रर्खाइको ठूलो हुँदो रहेछ भारी ।
यो दुई हरफको वाक्यांशमा
मैले हाम्रो माया पोखाउन खोजको होइन ।
रक्सी पारेर फालेको माटहरुजस्तै ।
न त आँसुसँगै बगाएको छु।
न त वैशंका यौवन बेच्ने मन्दिरमा चढाएको छु।
आफ्नो जीवनबुटी सम्झी मुटुमा राखेको छु।
त्यसैले मेरो आयुहरू लम्बिएजस्तो लाग्छ।
म सात समुन्द्र टाढा भए पनि
तिम्रो बोलीको हावा मसम्म आएजस्तो लाग्छ ।
हर प्रहर ।
तिमीले पनि त पठाउँछौ ।
उल्लिखित शब्दलाई सङ्गीत भरेर ।
गीतमै सोधी रहन्छौँ
नेपाल कैले आउने हो भनेर ?

दिल थापा मगर
दमौली तनहुँ
हाल जापान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.