~बिपना ढुङ्गाना~
गुम्सियो यथार्थ,
टुटाईदिए विश्वास,
रहेनन् कोही आफ्ना,
त्यसैले तोडिदिए सम्बन्ध
जब प्रश्न मेरो संस्कारमा उठाइयो
अनि परिवारभित्रै मलाई
बदनाम ठहर्याईयो।
प्रतिकार गर्न नसक्नु
मेरो कमजोरी बन्यो
निर्जीव म पनि थिइन पक्कै
तर समय यति कठोर बनिदियो
कि त्यो क्षणिक मौनताले
आज मेरो आत्मसम्मान खोसिदियो।
एक पाइला अगाडी, बढाउन चाहेँ
तर थरथर मेरा खुट्टा काँपिदिन्थे,
सत्य के थियो,बताउन चाहेँ
तर ओठ केवल बर्बराइदिन्थे,
पिडा लुकाउन,लेख्न चाहेँ
तर कता कता शब्द नै हराइदिन्थे
बसमा केही थिएन,त्यसैले रुन चाहेँ
तर आँशुपनि आँखामै अडिदिन्थे।
रगतको नाताले खुसी दिँदैन
भन्ने मेरो भ्रमलाई
त्यो दिन मेरा आफन्तले
यथार्थ बनाइदिए।
त्यो क्षण म कमजोर भए होला
तर लाचार कहिल्यै थिइन
त्यस कारण,
पुन मेरो अगाडि हाँसेर
बोल्ने चेष्टा नगर्नु
दम ठूलो आवाजमा मात्र हुँदैन
यो सत्यता समय छँदै
सबैले स्वीकार गर्नु।
बिपना ढुङ्गाना
म्याङ्गलुङ्-२, तेह्रथुम
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको ।)