कथा : हत्या

~अभय श्रेष्ठ~

ध्वजाले सुशोभित स्वर्णरथमा बसेर टाढाटाढासम्म फैलिएको पर्वत शृंखलाको सुन्दरता नियाल्दै राम अघि बढिरहेका थिए । अचम्मको आन्तरिक आनन्दले उनको अनुहार फुलेको गुलाबजस्तै उज्यालो थियो । शीतल हावाको झोकाले उनको आत्मालाई बारम्बार स्पर्श गरेर जान्थ्यो । क्या आनन्ददायक हावा थियो त्यो < रामले भने, ‘सेनापति, हामी नारदमुनिले संकेत गरेको भूमितिर त आइपुगेनौ, ख्याल गरे है ?’ सेनापतिले चारैतिर आँखा डुलायो । उसका आँखा सुन्दर प्राकृतिक दृश्यले चञ्चल भइरहेका थिए । ‘महाराज, यी पर्वत र शान्त वनको सौन्दर्य स्वर्गको भन्दा कम छँदै छैन । यहाँ त महापापीलाई पनि तपस्या गरुँगरुँ लाग्दो हो  ’

प्राकृतिक सुन्दरताले सबै जना मोहित थिए । कति बेरसम्म त घोडा दौडेको र रथको पांग्रा गुडेको बाहेक केही सुनिएन । पर्वतको काखमा फैलिएका स–साना सुन्दर आश्रमतिर देखाउँदै राजपुरोहित वशिष्ठसित रामले भने, ‘गुरुजी, ती सुन्दर लहरा र फूलहरुले ढाकिएका आश्रम कसका होलान् हँ <’
‘पक्कै कुनै महान् ऋषिको आश्रम हुनुपर्छ महाराज ।’

‘सारथि, रथ रोक । कति शान्त संसार छ यो , ऋषि आश्रममा हामी आएको समाचार पु¥याइदेऊ । हामी यहाँका तपस्वीको दर्शन गरेरमात्र जानेछौँ ।’

राजाको आगमनको खबर पाएर वृद्ध ऋषिहरुको एक टोली स्वागतका लागि आइपुग्यो । राम रथबाट ओर्लिए । गुरु वशिष्ठ र सेना अधिकारीबीच उभिएर उनले तपस्वीहरुलाई प्रणाम गरे र विनम्र स्वरमा भने, ‘ऋषिगण, तपाईँहरुको आश्रमको शोभा अनुपम छ । म आश्रमबासी र यस आश्रमका स्थापकको दर्शन गर्न चाहन्छु ।’

केही क्षणमै प्रदीप्त अनुहारका एक ऋषि आइपुगे र रामलाई आशीर्वाद दिए । रामले उनको चरण स्पर्श गरे ।
‘महर्षी, म दसरथका छोरा तथा अयोध्याका राजा राम हुँ । आश्रमको शोभा देखेर मुग्ध भएँ र आफूलाई रोक्न नसकी यहाँको दर्शनका लागि आएँ । कृपया आशीर्वाद पाऊँ र यहाँको वंशबारे जानकारी पाऊँ ।’
‘म यस आश्रमको संस्थापक हुँ । नाम शम्बुक । म शूद्र हुँ’, आशीर्वाद दिइसकेपछि शान्त स्वरमा ऋषिले भने ।

अकास्मात् बिजुली चम्केजस्तो वा चट्याङ परेजस्तो रामका आँखा झस्किए । रिसले निधारमा मुजा पर्न थाल्यो । शूद्र भन्ने सुन्नासाथ रामको ब्लड प्रेसर एक्कासि हाई भयो । धन्न त्यस बेला प्रेसर नाप्ने चलन थिएन । हुँदो हो त एक सय २० बाई एक सय ७० पुगेको हुनसक्थ्यो ।

आगो बलेजस्तै रामका आँखा कुपित भए । म्यानमा रहेको तरबार थुतेर उनले कसिलो मुठीले समाते । ‘शूद्र, अधम, तेरो रगतले तिर्खा मेट्न कैयन् दिनदेखि तेरो खोजीमा हिँडिरहेको छु । बल्ल फेला परिस् । आज तेरो हत्या गरेपछि बल्ल मेरो मनमा दन्केको ज्वाला शान्त होला । शूद्र भएर तैँले ब्राह्मण बन्ने धृष्टता गरिस् । यो मर्यादाहीनता अक्षम्य अपराध हो । त्यसको सजाय तँलाई नदिई भएको छैन’, हातको तरबार जोडले हावामा चलाउँदै रामले भने ।

ऋषि केही क्षण अवाक् भए । यति कडा सजायको घोषणा हुँदा पनि उनको मुहारमा डरको कुनै रंग थिएन । मुहार प्रदीप्त र आँखामा निडरताको अनौठो रंग थियो । तरबार घुमाइरहेका रामसामु निर्भिक भएर उनले भने, ‘कस्तो अपराधको कुरा गरेको हो महाराज राम <’

रीसले आँखाबाट चिब्रा र मुखबाट फिँज निस्किरहेको रामलाई पत्तै भएन । स्वरमा एक प्रकारको कम्पन भइरहेको थियो । खराउमा कसिएर आँैला दुःखिरहेको थियो । ‘शूद्र, तैँले निर्धारित धर्मलाई खल्बल्याउने दुस्साहस गरिस् । तैँले हाम्रो पुर्खाले मान्दै आएको महान् परम्पराको उल्लंघन गरिस् । दलितको धर्म के हो ? ब्राह्मण, क्षत्री, वैँश्यको सेवा गर्नु । तैँले वेद पढेर र तपस्या गरेर जघन्य अपराध गरिस् । तेरो यही कुकर्मका कारण एक ब्राह्मणको छोराको अकाल मृत्यु भयो । तँ हत्यारा होस् । त्यसको एउटै सजाय मृत्युदण्ड हो ।’
ŸŸŸ
मरेको छोरो हातमा लिई यज्ञस्थल आएको ब्राह्मणको चित्र रामको दिमागमा फनफनी घुमिरहेको थियो । त्यसले मृत छोरा भुइँमा राखेर भनेको थियो, ‘राम, तिमीलाई अब राजा पनि मान्दिन किनभने तिमी मेरो छोराको हत्यारा हौ ।’ जसको नामै सुन्दा संसार डरले कम्पित हुन्थ्यो, उसैमाथि यस्तो आरोप लगाएको देख्दा ऋषिमुनिहरु आश्चर्यले जिब्रो टोक्न थाले ।

ब्राह्मणले चोर औँला ठड्याउँदै भनेको थियो, ‘बाबु जिउँदो हुँदा आजसम्म कुनै पनि छोराको मृत्यु भएको छैन । तिम्रो देशमा पाप र दुराचार कुण्डमा झ्याउजस्तै बढिरहेको छ । म ईश्वरलाई साक्षी राखेर भन्छु, मन, वचन र कर्मले जानी वा नजानी मैले त्यस्तो कुनै पाप गरेको छैन जसको सजाय पुत्रशोक होस् । यस्तो अनौठो दुर्घटना अधर्मी, महापापी र सर्वथा अकर्मण्य राजाको राज्यमा मात्र हुन्छ । यस कारण यो मृत्यु मृत्यु होइन हत्या हो जसका मूल कारण तिमी हौ । ए हत्यारा राम, मेरो छोराको हत्याको बदला अब तिमीसँग कसरी लिऊँ ? तिम्रो सर्वनाश होस् ।’

लगत्तै नारद ऋषिको संयोजकत्वमा आठ ब्राह्मण रहेको छानबिन आयोग गठन गरियो । छानबिनपछि आयोगका संयोजक नारदले भने, ‘राम, धर्मशास्त्रको अध्ययन, जप, तप गरेर मोक्ष प्राप्त गर्ने सुविधा ब्रह्मण, क्षत्रीलाई मात्र छ । सत्ययुगमा यस्तो घटना कहिल्यै भएन । तिम्रो राज्यमा एउटा महापातकी शूद्र आफ्नो धर्म त्याग गरी मोक्ष प्राप्त गर्न तप गरिरहेको सूचना प्राप्त भएको छ । त्यसकै कारण यस्तो दुर्घटना भएको हो । त्यसलाई खोजेर तुरुन्तै यमपुरीको यात्रा गराइदेऊ, नत्र फेरि पनि यस्तो घटना हुन सक्छ ।’

सबेरै ब्राह्मणले रामको दिमाग खाएको थियो । नारदको कुरा सुनेपछि मन चंगा भयो । उनी कृतकृत भए । शस्त्रास्त्रले सुसज्जित सेनापतिलाई उनले आदेश दिए, ‘चतुरंगिणी सेना तयार गर । हिमवत् खण्डमा मर्यादा पुरुषोत्तमका रुपमा मेरो कत्रो सम्मान छ < मर्यादा पुरुषोत्तमको राज्यमा एउटा तुच्छ शूद्रलाई यो हक कसले दियो हँ ? मलाई यस्तो अधर्मीको घाँटी छिनाल्नु छ । सेनालाई भनिदेऊ, सूर्योदयअगावै अधम शूद्रको खोजीमा हामी हिँड्नुपर्छ ।’
ŸŸŸ
‘महाराज राम, अलिकति आफ्नै मनको दर्पणमा चिहाएर हेर’, बादलको गर्जनजस्तै शम्बुकको गम्भीर आवाजले राम झसंग भए, ‘राजा भएको दम्भ र अज्ञानको अन्धकारलाई केही क्षण भए पनि त्यागेर हेर । आफ्नै अनुहार कति भ्रष्ट भइसकेछ भन्ने बल्ल थाहा पाउनेछौ । शूद्र भएर जन्मनुमा मेरो के दोष थियो ? क्षत्री भएर जन्मनुमा तिम्रो के महानता छ ? शूद्रले तपस्या गर्दैमा ब्राह्मण बालकको मृत्यु कसरी हुन्छ ? यो कस्तो अन्धविश्वास हो ? बालकको मृत्यु कसरी भयो भन्ने त उसको शरीरमा के रोग लागेको थियो जाँचेर पो पत्ता लगाउन सकिन्छ । आज बल्ल थाहा भयो, आफ्नो नैतिक कुकर्मको दोष तिमी अरुमाथि लगाउँदारहेछौ । अनि राजदण्डको आडमा तपस्वीको हत्या गर्न खोज्दारहेछौ <’

वशिष्ठ वाणीविहीन भएर रामकै छेउमा उभिइरहेका थिए । उनी रामले शम्बुकलाई तत्काल सजाय दिएको हेर्न लालायित थिए । वशिष्ठलाई लक्षित गर्दै शम्बुकले भने, ‘तिम्रो दरबारमा पालिएका तथाकथित ऋषिहरुले तिमीलाई के सुझाव देलान् जो धर्म पोलेर पापको गाँजाखेती गरिरहेछन् । यिनले उल्काएको भरमा राम यति विवेकहीन होलान् भन्ने मैले सपना पनि चिताएको थिइनँ ।’

शब्दवाणले वशिष्ठ रीसले लामो सास फेर्न थाले । प्रतिवाद गर्न उनीसँग तर्क थिएन ।

‘राम, बाली र सुग्रीबलाई मल्लयुद्धमा व्यस्त राखेर षड्यन्त्रपूर्वक तिमीले बालीको हत्या गरेका होइनौ ? दुई पक्ष लडिरहँदा तेस्रो पक्ष सात रुखको छेको लागेर एउटा पक्षलाई वाण हानी हत्या गर्नु कहाँको नैतिकता र बहादुरी हो ? क्षत्री भएर त्यसै बेला तिमीले क्षत्रीय धर्म पोलेर कुकर्मको बीउ रोपेका थियौ । त्यस बेला कुनै ब्राह्मणपुत्र मरेन । एउटाको कुकर्मको फल ब्राह्मणपुत्रले भोग्नुपर्ने भए त्यस बेला पनि त मर्नुपर्ने थियो < आज समाजको सडेको चलनको सुश्रुषा र पशुभन्दा तल्लो स्तरको जीवन भोगिरहेको दलित उत्थानको चेष्टालाई अपराध घोषित गरेर तिमी मेरो हत्या गर्न चाहन्छौ होइन ? स्याल कराउनु र कुखुरा हराउनु एकै चोटि भएको मौका छोप्न चाहने यी पुरोहितवादीको लहैलहैमा तपस्वीको हत्या गर्न खोज्ने तिमीलाई धिक्कार छ राम <’

सुनेर राम, वशिष्ठ लगायतको रीसको पारो चढ्यो । तर उनीहरुसँग जवाफमा कुनै शब्द थिएन । वशिष्ठ चोट पाएको सर्पजस्तै फुंकार छाड्दै चर्केर बोले, ‘निच, शूद्र, पापी, भाइकी स्वास्नी छोरी समान हुन्छिन् । बालीले भाइ सुग्रीबकी पत्नीलाई आफ्नी बनाएको थियो । त्यसैको सजाय स्वरूप भगवान् श्रीरामले सजाय दिनुभएको हो ।’

वशिष्ठलाई हेरेर शम्बुक एक पल्ट व्यंग्यपूर्वक हाँसे । आँखामा आँखा जुधाउँदै उनले सोधे, ‘दाजुकी पत्नीचाहिँ आमासमान हुन्छिन् कि हुन्नन् वशिष्ठ महोदय <’

‘अवश्य हुन्छिन् । यस्तो बुद्धि तँलाई कहाँबाट आयो अधम <’

रामतिर हेर्दै शम्बुकले भने, ‘परचक्रीद्वारा दाजुको हत्या गराएर सुग्रीबले भाउजूलाई पत्नी बनाउँदा तिम्रा यी ‘भगवान्’को मर्यादा कहाँ गायब भएको थियो वशिष्ठ ? उनको वाण त्यस बेला किन विवेकशून्य भएको थियो <’

वातावरण केही क्षण मौन भयो । राम र वशिष्ठ रन्थनिनुसम्म रन्थनिए । शम्बुकले फेरि भने, ‘सत्य के हो भने महाबली बालीसँग युद्ध गर्ने आँट तिमीमा थिएन । हुँदो हो त यस्तो कायरतापूर्ण काम कसैले गर्नै सक्दैन । महाराज राम, हेर, तिमीले कस्तरी पापलाई पुण्य र पुण्यलाई पाप बनाइदिएका रहेछौ । तर त्यस्तो गर्दा पनि किन कुनै ब्राह्मणपुत्रको मृत्यु भएन <’

‘मुख सम्हाल् शुद्र, मुख सम्हाल, नत्र…’, थरर्र काम्दै रामले भने ।

‘आफ्नो अपराध स्वीकार्न ठूलो साहस र धैर्य चाहिन्छ महाराज जुन तिमीसँग छैन । महाझूठले तिमी सत्य छोप्न सक्दैनौ । सदैव तिमीले आफ्नो पापलाई रगतले पखाल्ने काममात्र ग¥यौ । तिम्रा लागि धर्म, अधर्म, मर्यादा ढुंगाको शिला मात्र हो जसलाई तिमी राजदण्डको हथौडाले मनलागी आकृतिमा ढालिरहेका छौ । जनताको हवाला दिँदै गर्भवती सीतालाई त्यागिदियौ । त्यही हो क्षत्रीय धर्म ? त्यही हो मर्यादा <’

रामले बिस्तारै आँखा उठाए । ठाडै खाउँलाझैँ गरी उनले भने, ‘म आफ्ना सबै काम बुद्धिको कसौटीमा घोटेरमात्र निश्चय गर्छु । भावनाभन्दा कत्र्तव्य सधैँ उँचो हुन्छ शुद्रे <’

शम्बुकका आँखामा व्यंग्यको लाली चढ्यो । दृढ निश्चयी आँखाले रामलाई हेर्दै उनले भने, ‘संसारमा सबैलाई ढाँट्न सकिन्छ, आफैँलाई ढाँट्न सकिन्न । कम्तीमा आफैँप्रति त इमानदार हौ राम < सत्य के हो भने तिमी हरेक काम हठ र निजी स्वार्थबाट प्रेरित भएर गर्छौ । एक क्रोधान्ध मुर्खको अविवेकपूर्ण शब्दलाई ढाल बनाएर तिमीले गर्भवती सीतालाई बाघ, भालुको शरणमा छाडिदियौ । खासमा तिमीलाई सीताको पवित्रतामाथि सधैँ शंका थियो । धोबीको भनाइ त निहुँमात्र थियो । दुनियाँका आँखामा छारो हाल्न तिमीले खुबै जानेका छौ राम < जनभावनाप्रति त्यत्रो सम्मान भए बनवास जाने बेला भरत र सारा जनताको आग्रहलाई किन लत्याइदियौ ? त्यस बेला त तिमीले बाबुको आज्ञालाई सर्वोच्च मानेर जनताको इच्छालाई कोरा भावना भनेका थियौ < कहाँ चर्न गएको थियो त्यस बेला तिम्रो जनभावनाको कदर गर्ने बानी <’
‘त्यो धोबीको आक्षेप थिएन निच । त्यो मेरो निजी निश्चयविरुद्ध प्रजाको मनमा उठेको अशान्तिको संकेत थियो ।’

‘त्यो प्रजाको मनको अशान्ति थिएन महाराज,’ गम्भीर हुँदै शम्बुकले भने, ‘त्यो तिम्रो संकुचित र अँध्यारो मनको भ्रम थियो । रावणको दरबारमा रहेकी कारण सीतालाई ग्रहण गर्न तिमीले अस्वीकारेका थियौ । सारा जनतासामु सीताको अपमान गर्दै भनेका होइनौ, ‘मैले एक तुच्छ नारीलाई पाउन नभई रावणको सेखी झार्न यो युद्ध गरेको थिएँ ।’ त्यस बेला तिमीविरुद्ध संगठित आवाज उठ्यो । सबैले एक स्वरमा सीता पवित्र छिन् भने । आफन्तको मन राखिदिनमात्र तिमीले सीतालाई स्वीका¥यौ । तर, संशय तिम्रो मनमा बाँसको तामाजस्तै हल्किरहेको थियो । त्यसले तिम्रो विवेकको प्रकाशलाई छोपिदियो । तिमी बहानाको खोजीमा थियौ । मौका मिल्नासाथ जनचाहनाको निहुँमा गर्भवती पत्नीलाई बाघ, भालुको दयामा छाडिदियौ । तिमीले पतिधर्म पोल्दा ब्राह्मणपुत्रको अल्पायुमा मृत्यु भएन । आज जुगदेखि मान्छेको दर्जा नपाएका दलितको जीवन आलोकित पार्ने प्रयासलाई तिमी ब्राह्मणपुत्रको अल्पायु मृत्युको कारण मानरिहेछौ । राम तिमी किन यति धेरै हठी र अन्धविश्वासी छौ हँ <’

‘चुप लाग् शुद्र । अयोध्याका राजा रामसँग मुख लाग्ने हिम्मत आजसम्म कसैले गर्न सकेको थिएन, तँ अधम शूद्र भएर जे मुखमा आयो त्यही बोल्ने ?’ घाइते बाघजस्तै राम गर्जिए । आँखामा आगो बलेजस्तो भयो । बिजुली चम्केजस्ता टल्कँदो तरबार म्यानबाट निकालेर उनले सरर्र हावामा चलाए ।

शम्बुक अत्यन्त निडर भएर रामसामु उभिए । रामको तरबारको चुच्चोले उनको छातीलाई बारम्बार छोइरहेको थियो । ‘राम, तिमी दरबारको सुख भोगिरहेका छौ तर तिम्रा छोराहरु अनाथ बालकजस्तै कसैको दयामा पालिएका छन् । सन्तानप्रति तिम्रो धर्म यही हो ? क्षत्री भएर अलिकति पनि तिमीले क्षत्रीय धर्म पालना गरेनौ । गृहस्थ भएर गृहस्थ धर्म पोलेर खरानी बनाइदियौ । यति गर्दा पनि कुनै ब्राह्मणपुत्रको मृत्यु भएन, तर आज… ।’

‘ए…शूद्र ……’ रामका आँखामा क्रोध छचल्किरहेको थियो । प्रतिशोधको भावनाले आँखा राता भएर चल्मलाइरहेका थिए । एक शूद्रले सपनामा पनि नचिताएको शब्दवाण र तर्क गरेको उनलाई सहिनसक्नु भएको थियो ।

‘मलाई तर्साउने कोसिस नगर राम । मृत्युको भय मलाई अलिकति पनि छैन । चाहेँ भने म तिमीसँग भिड्न पनि सक्छु, तर यस्तो बलमा मलाई विश्वास छैन । म सत्याग्रही हुँ, केबल सत्याग्रह गर्छु । दलित, उत्पीडितको मुक्तिको मेरो हतियार यही हो । संघर्ष र स्वतन्त्रताको लघु जीवन दासता र अपमानले भरिएको दीर्घ जीवनभन्दा लाखौँ गुणा सुखी हुन्छ । तिम्रो खड्ग प्रहारबाट मेरो मृत्यु भएछ भने पनि जित मेरै हुनेछ किनभने मेरो सत्याग्रहलाई टक्कर दिन तिमीसँग कुनै नैतिक शक्ति छैन । मसँग सत्य छ, तिमीसँग अधर्म, पाखण्ड र राजदण्डबाहेक केही छैन । लौ प्रहार गर ममाथि तिम्रो अभिमानी खड्ग । तिम्रो खड्गले भेदिएरै पनि म तिमीलाई पराजित गरिरहेको हुनेछु ।’

सहिनसक्नु रीसले रामले कति जोडले खड्ग प्रहार गरे भने त्यो शम्बुकको छाती भेदन गरेर पिठ्युँबाट निस्कियो । क्रूरतापूर्वक उनले तरबार थुते र लुलो भएर ढल्न लागेको शम्बुकको गर्धनमा प्रहार गरे ।
त्यसपछिको दृश्य वर्णन आवश्यक छैन । अत्यधिक खुसीले बट्टाइँजस्तै नाच्दै वशिष्ठले भने, महाबली रामकी जय । रामका सेनाले त्यसमा सही थापे ।

आश्रमबासीका आँखा भने शून्यशून्य थिए । गुरु शम्बुकको हत्यासँगै सायद तिनका आँखाबाट जिउँदै स्वर्ग जाने सपनाको पनि हत्या भएको थियो ।

यो कथांश रामायणको उत्तरकाण्डबाट साभार गरिएको हो । मूल कथा बाल्मीकिकै भए पनि भाषा र प्रस्तुतिका कारण यो मेरै कथा हो । उत्तरआधुनिक साहित्यको युगमा यस्तो चल्छ भन्ने तपाईँलाई पनि थाहा छ । कथा त्यहाँबाट सुरु हुन्छ जब राम शिवालिक तराईमा कुनै ऋषि आश्रममा यात्रा गरिरहेका हुन्छन् ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.