~हीराछवि श्रीशा~
हजुर मेरी बैनिमाथि, एसिड प्रहार भो
पाँच वर्षे छोरीमाथि बलात्कार भो
कानुन अचेल अन्धोको साथ बहिरो पनि भा’छ
लौ न मलाई न्याय दिलाउँ अत्याचार भो
ए लेखक, ए विद्वान कता लुक्यौ तिमी
कलमभन्दा यहाँ बलियो तरबार भो
लुटिन्छन सबका चेली यस्तै चुप्प रहे
मलाई पर्दा यहा दर्शक संसार भो
दिदीबैनी होलान् सबका उठाऔँ सबले आवाज
सुरक्षित हुन्छन भन्ने के आधार भो ?
दोषीहरू खुल्लम खुल्ला, हिडेका छन यहाँ
पीडितको जीवन यहाँ कारगार भो
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क १८ – March 25, 2015 – २०७१ चैत्र ११ गते, बुधबार)