~शशिधर भण्डारी~
नीलो आकासमुनि उभिएको
एक्काइसौँ सताब्दीको मान्छे
अन्धविश्वासको जगमा खडा भएको
रुढ कर्मकाण्डका अगाडि गोरु जस्तै नारिन्नँ
एक्काइसौँ सताब्दीको त्यो मान्छे
अन्ध परम्पराको फाइल फुल्याउने, कारिन्दा होइन
ऊ जीवनमुखी चिन्तक हो, त्यसैले
मृत्युपछिको जीवनमा अनित्य देख्दछ
नीलो आकासमुनि उभिएको
एक्काइसौँ सताब्दीको मान्छे
दास प्रथाको जञ्जीर देखेको छ
सती प्रथाको खरानी हेरेको छ
मध्ययुगिन काला रातको इतिहास पढेको छ
कालो रातमा बोल्ने राँकोको प्रकाश बुझेको छ
त्यसैले ऊ यो युगको अँध्यारो चिर्न
चिराग बनेर दन्केको छ
नीलो आकाशमुनि उभिएको
एक्काइसौँ सताब्दीको मान्छे
मानव जातिको इतिहास पढ्छ
दर्शन पढ्छ, जीवनको लय हेर्छ
तर्क गर्छ, परिणाम हेर्छ
त्यसपछि, वर्तमानमा घोत्लन्छ
अन्धविश्वासको फलामे पर्दामा
सच्चाइको घनले ठोक्छ
नीलो आकासमुनि उभिएको
एक्काइसौँ सताब्दीको मान्छे
मध्य रातमा क्षितिज, रातो भएको देख्न चाहन्छ
मध्य रातमै सूर्य उदाएको हेर्न चाहन्छ
दुःखद मृत्युमा प्रताडनाका झुटा कथा होइन
नयाँ सिर्जनाका पूmलहरू रोप्न चाहन्छ
त्यसैले ऊ नयाँ मान्छे भएर उभिएको छ
विद्रोह र सिर्जनाको राँको बनेर दन्केको छ
–२०७१÷४÷९ कुहिरेपानी, दाङ
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क १८ – March 25, 2015 – २०७१ चैत्र ११ गते, बुधबार)