~शेखर ‘अस्तित्व’~
मनपरी शब्द घुसाउँदैमा गजल हुँदैन,
“क़ाफ़िया” मात्र मिलाउँदैमा गजल हुँदैन।
“शे’र” मा “प्राण” हुनुपर्छ, मन छुनुपर्छ,
शब्दको भीड़ लगाउँदैमा गजल हुँदैन।
“ऊला” र “सानी” दुवै मिसरा सम हुनुपर्छ,
तानेर घाँटी सुकाउँदैमा गजल हुँदैन।
ग़ज़लका मूलभूत तत्व जान्दै नजानी,
त्यत्तिकै कलम खियाउँदैमा गजल हुँदैन।
जुनकिरी जस्तै आफैं जल्नुपर्छ रातभरी,
“दियो”का खुट्टा समाउँदैमा गजल हुँदैन।
झल्किनैपर्छ “इबारत”मा”इशारत” र “अदा”,
कसैले छाप्दै-छपाउँदैमा गजल हुँदैन।
ग़ज़लका “देउता”हो! यो कुरा नभूल है!!
“भक्तहरूले”नै रुचाउँदैमा गजल हुँदैन।
उठेर गल्ती सुधार्नेहरूको खाँचो छ,
सुतेर ताली बजाउँदैमा गजल हुँदैन।
व्यर्थै “मक्ता”मा जबर्दस्ती “तख़ल्लुस” कोची,
आफ्नो “अस्तित्व” जनाउँदैमा गजल हुँदैन।
बुटवल–६