कविता: द्‌याम्बुली त ओढल्याँहा पो गएछ !

~दिल थापा~

मंसिरे रोगी शीतको मिठो स्पर्शसँगै
लेकबाट झरेका दयारिहरु
दाइँ हाल्न श्रीगणेश गर्छन् ।
खलाको समीपमा रहेको कुन्नीयोलाई फोडेर ।
जाँडको तरुनी छोक्‍र्रालाई सम्झँदै
रक्सीको पेन्सन पत्तालाई सम्झँदै
कुहिरो लागेको फाँटतिर बसेर ।
घामले कुहिरोलाई चिर्ने आसमा ।

महर्षि वेद व्यास ऋषिले तपस्या गरेको भूमिको माथितिरबाट मगरको लाडी बग्छ।
सेती र मादीको सङ्गममा
स्नान गरेको वेद व्यास ऋषिको गिदीलाई स्पर्श गर्नलाई
च्वाँचेको बोसोको साबुनले
शरीर चोखो बनाई रहेकी
मगर्नी युवतीको सेतो तिघ्रालाई बेवास्ता गर्दै ।
हिन्दुस्तानको समुन्दमा मिसिन l

च्वाँचेको बोसोको साबुनले होला ।
दमौलीघाटको बगरहरू
डाँडाखुदीबाट तलतिर आँखाहरू चराउँदा
अजिवको चम्किलो देख्छु ।
दमौली फाँटको औलोले पाकेको दरै बाजेको चिल्ला छाला जस्तै
दमौलीको बगरबाट उता उता आँखा चराउँदा देखिन्छ
छाब्दी बराहा थान।

बैदीको मगर दाइले
दमौली आउँदा
मास्दी घाटमा अर्नी खान्छ।
च्वाँचेको बोसोको तेलले
मसाज गरेको बटुक
अलिकति चोखे फालेर
गोलभेँडाको अचारमा चोपेर
छाब्दी बराहा पूजा गर्न आउँदा ।
उसलाई पर्खँदै होला कोइदीमघाटमा
तरुनी आँखाहरू
सेती नदीको बगाइसँगै
वर्षौँको चोपिलो सम्झना बोकेर l

माघ फागुनतिरबाट
मानुहुम र खुदीतिर कौराको श्रीगणेश हुन्छ ।
गाउँका रोदीघरहरुमा
त्यो बेला व्यास ऋषिलाई ध्यानमग्न हुन गाह्रो हुँदो हो।
मानुहुममा पोलेको च्वाँचेको गन्धले ।
चार वेद अठार पुराण लेख्न मन नलाग्दो हो।
खुदीमा बज्ने खैजडीको
सेतीले लिई आउने सङ्गीतहरूले ।

हिजो मेरो बाउ बाजेले चिनेको भूमि ।
आमाको हातहरूले मलिलो बनाएको भूमि ।
पुर्खाहरूको पैतालाले डोबिएको भूमि ।
मगरातको गर्भिलो गन्ध आउने भूमि l
द्‌याम्बुली त ओढल्याँहा पो गएछ !
कौराहाको खाल उठ्न नपाउँदै
रातारात व्यासभूमि पो भएछ !

दिल थापा मगर
दमौली तनहुँ
हाल जापान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.