कविता : एउटा बटारिएको अनुहार

~अशोक पौडेल ~

यमराज जि आज्ञा गर्नुहुन्छ
भन्नुहोस चित्रगुप्त जि,
उ त्यो
पालो परेको,
एउटा
बटारिएको अनुहार
कस्को हो?
को हो?

उत्तर:

एउटा
बटारिएको अनुहार
समाजवाद उन्मुख देशको
टिचिङ अस्पतालको
रसीद भर्ने लामो लाइनमा
नक्कली क्रान्तिको
सक्कली पुजीपति,
कम्यु …हैन हैन … कमाउनिस्ट कमरेडको
लुकाएको भकारीको
फार्मेसी पसलको
300% कमिसनको
एउटा सानो चुस्ना हो
ठुला, मोटा किर्नाको
एउटा सानो चुस्ना हो

एउटा
बटारिएको अनुहार
सुकिला मुकिलाको
चिल्लो गाडीको
जेके टायरले उडाएको
धुवाँ-धुलोले जमेको
स्वास्निको
फोक्सो निकोपार्न
बेचेको मृगौलाको
90% पैसा टिचिङ अस्पतालको
रसिद भुक्तान गरेपछी
भट्टी छिर्ने भुस्ना हो
सर्बहारा बिचरा, फोहोरी झुप्रोको थुप्रोको
भट्टी छिर्ने भुस्ना हो

एउटा
बटारिएको अनुहार
छोरो दमैको
भानिज कामिको
साथी क्षेत्रीको
ज्वाइ बाहुनको
लकेट रामको
यशुको, बाईबल रटेको
नास्तिक मोरो
टिचिङ अस्पतालको
ऋणले थिचियेको
ठेलामा साहुको
होलसेल सामानको
ईन्द्रचोक देखि सोर्व्हखुट्टे ठेलेको
खिस्स हासेर, पसिना पुछेर
दाम सय माग्छ, परिश्रमको
भिख दया माग्छ, ईनामको
कालो चिया माग्छ,भोकको
यो पक्कै लेकाली गधा हो
समाबेसी समाजको
लेकाली गधा हो

एउटा
बटारिएको अनुहार
कन्जुमरिजमले नछोएको
गाँस, बाँस र कपासको
सुक्ष्म पिरलोको ठूलो युद्द्को
लाहुरे हो खांडीको,
उ प्रत्यक्ष दर्शी हो
उ जस्तै
अर्को बटारिएको अनुहारको
पच्चीस तल्लाबाट कफिनमा लडेको
मन्त्रीका गाडी सङ साट्टिएको
उस्को साथीको
रेमिटेन्सले घिस्सृएको
आर्थिक क्रान्तिको
छलाङ मारेको देश्को
उ, तेल हो,
उ, उध्योग हो,
एक्काइसौं शताब्दीको
शाशकहरुको दास हो
बचेको अर्को मृगौला मरेको
निकम्मा ज्युदो लास हो
टिचिङ अस्पतालको
नयाँ प्रयोगशाला हो
लेकाली गधा हो
भट्टी छिर्ने भुस्ना हो
एउटा सानो चुस्ना हो।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.