~शिव पन्त~
मलाई माफ गर
मेरी प्रिय नातिनी ,
मैले यो ४ बीस र आठ वर्ष
आफ्नो उमेरको पसल थापेँ ।
र पनि खास गर्न सकिन
बस तिम्री फुपुहरू जन्माउदा जन्माउदै
आदिसरो कपाल फुल्यो
अपुतालीको नाममा भाग नछुट्याउदा
थुप्रै चोटी अझ भनौँ थुप्रै दिन
अनसन बसेँ
दुई बीस र दश साल नाघे पछी
नवौँ पटक
जव दाउराको भारी बोकेर फर्कैदा फर्कदै
कृष्ण भिरमाथीको खप्टे ढुङ्गामा
तिमीलाई जन्माउने
तिम्रो बुबालाई जन्माएँ
यै संस्कारको आँखाले देखेको सुटुक्क स्वर्ग पुगेँ
यस पछी पनि थुप्रै चोटी आफुलाई मारेर
तिम्रो बालाई हुर्काएँ ।
अनि तिम्री आमाले मर्दा मर्दै
मेरो जीम्मा लगाएकी तिमीलाई
हुर्काउदा हुर्काउदैमा
मैले मेरो उमेरको पसल रित्याँए ।
मलाई थाहा छैन यो सबै भोगाई
दुस्ख थियो की थिएन ,
तर यत्ति थाहा छ
यी भोगाईले मलाई बहुत दुखेको थियो
मैले सकेसम्म तिम्रो दुःखका
केही छिटा छेक्ने कोसिस गरेँ
अब तिमीले यो बाबुसत्ताको लिङ्गो उखेल्नु र
आफ्ना छोरा र छोरीको फाटेको पहिलो भोटो
उत्तिकै उचाईमा फहर्राउनु ।
आखीर म पनि हजुरबा जस्तै
तिम्रो यौटा पुर्खा हुँ मेरी प्रिय नातिनी !
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )