कविता : ठुलो प्रजातन्त्र

~आविष्कार कला~

म तिमी भन्छु
बरु त भनौला
अहिले चाहिँ तपाईँ भन्नै
सक्दै सक्दैन
ए संसारको प्रजातान्त्रिक मुलुक
तिम्रो प्रजातन्त्र हेर त
कस्तो छ ?
के ? तिम्रो पक्षको मताधिकार मात्रै
प्रजातन्त्र हो
जनपक्षीय मताधिकार प्रजातन्त्र भित्र पर्दैन ।

तिम्रो ठूलो प्रजातन्त्रको
इतिहास हेर त
कतै मानवीयता पाउँछौ ?
जसले भियतनामि छाती माथि
सङ्गिन रोप्यो
छातीमा परेड खेल्यो
भियतनामि शरीर
विषाक्त बनायो
अनि टुक्रायो एउटै भूमिलाई
तिम्रो प्रजातन्त्र यही हो
आफ्नो नाकमुनिको क्युबामा
आधा शतक लामो नाकाबन्दी
त्यो पनि ठूलो प्रजातन्त्रको अभ्यास हो
तिम्रो इतिहास भन्दा लामो इतिहास भएको
कोरियामा बम र बारुदको वर्षा मात्रै होइन
एउटै शरीर दुई टुक्रा बनायो
त्यो पनि प्रजातन्त्रको अभ्यास हो
अहिले भेनेजुएलामा
तिम्रो कठपुतलीको अभ्यास
जनताको मत र आवाज विरुद्धको
तिम्रो हुङ्कार
के यो पनि प्रजातन्त्र हो
जनताको ढुकढुकी
दुई तिहाइको अभिमत
तिम्रो प्रजातन्त्रले देख्दैन
जनताको लाखौँ लाखको जुलुसमा
विदेशी एजेन्टका दस हजारौँको
जुलुस देख्छ तिम्रो प्रजातन्त्र ।

इराकमा ,लिवियामा बमवारि
अफगानि धर्ती रुवाउने
तिम्रो प्रजातन्त्र कति जाति
सुडानको ढाडमा हानि
दुई टुक्रा तिम्रै प्रजातन्त्रले बनायो
ईथियोपिया वाट ईरिष्ट्रिया
कसको प्रजातन्त्रले बनायो ।

अर्को ठूलो प्रजातन्त्र
तिमीले हेर त
छिमेकीहरू माथि तिम्रो व्यवहार
१९४७ पूर्व विर्टिसको भन्दा कति फरक छ
उ घोषित साम्राज्यवाद
तिमी अघोषित विस्तारवाद
सिक्किम माथि तिम्रो क्रूर हमला
कास्मिरको छाती माथि परेड
भुटान माथि कुदृष्टि
नेपालमाथि बक्र दृष्टि
छिमेकी माथि गरिने सबै खाले ज्यादती
यही हो तिम्रो प्रजातन्त्र ।

ए संसारका ठुलो प्रजातन्त्रहरू हो
तिम्रो प्रजातन्त्रको परिभाषा
आफ्नै भूगोलमा मात्रै लागु गर
अन्यत्र तिम्रो परिभाषाको प्रजातन्त्र
टिक्न सक्दैन
किनकि तिम्रो प्रजातन्त्रको पीध
सिन्कोको टुप्पो जति छ
एक छिनमा नअडी आफै ढल्छ ।

आफूले चाहे जे गर्न पनि हुने अधिकार
अरूले चाहे बिराउन नहुने कर्तव्य यो कहाँको न्याय हो
रिमालले यो प्रश्न वर्षौँ अघि सोधेका हुन
ए प्रजातन्त्र वादी हो ।

भियतनाम एकीकरण
क्युबाको विकास
कोरियाको संवृद्धि
यी सब तिम्रो प्रजातन्त्रका विपरीत छन्
अब हेर त
भेनेजुएलि जनताको एकता र साहस
मादुरोको जनलहर
मादुरोको विश्वव्यापी समर्थन
यो पनि तिम्रो प्रजातन्त्रको विपरीत हुन्छ ।

अब तिम्रो प्रजातन्त्रको पाठ
तिम्रो भूगोल भन्दा बाहिर
प्रयोग गर्न आवश्यक छैन
तिम्रो अमानवीय प्रजातन्त्रको
हिसाब गरेर
क्षतिपूर्ति ती पीडित भूगोलका
जनमा , हावामा ,माटोमा ,पानीमा
दिलाउन
हामी त हाम्रो भूगोल भित्र
संसार अटाउने
प्रजातन्त्रको अभ्यास गर्दछौ
कामदार वर्गको
किसानको
मजदुरको
गरिब अनि दुखीको
न्याय समानता अनि मुक्तिको

– मल्लरानी ३, प्यूठान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.