~महेन्द्र महक~
झ्याल
हरेक बिहान झ्यालको चेप–चेपबाट उज्यालो तपाइँको ओछ्यान वरिपरि फुत्रुक फुत्रुक खस्छ । र, तपाइँ जिउँ तन्काउँदै ब्यूँझनुहुन्छ, आफूलाई आश्वस्त गर्नुहुन्छ कि तपाइँ जिउँदै हुनुहुन्छ– कि दुनियाँ हिजो जस्तै आज पनि चलिरहेकै छ । हो, त्यही घामको किरण र हावाको झोक्कालाई समूल समेट्न हामी घरमा झ्याल राख्छौंं । जिन्दगीलाई जीवनको आश्वासन दिइरहन मान्छेले आफ्नो घरमा झ्याल राख्न सिक्यो ।
यस्तै एउटा झ्याल म बसेको कोठामा पनि थियो । झ्याल उनीहरु बसेको घरमा पनि थियो ।
दृश्य
झ्यालबाट दृश्यहरु देखिन्छन् । झ्याल खोलेर हेर्दा छिमेकमा आमाले आफ्नो बच्चालाई मनतातो पानीमा नुहाइदिदै गरेको देखिन्छ । छिल्लिदै हिँडेका केटाहरुले लुते कुकुरलाई हिर्काउँदा कुकुर कुइँकुइँ कराउँदै सानो गल्लीभित्र छिरेको पनि देखिन्छ । पर… कतैबाट हुर्रिदै आएको बाइक र बाइकमा सवार ठिटोलाई बेवास्ता गर्दै मोबाइलमा एकतमास बात मार्दैै हिँडिरहेकी तपाइँको साथीको बहिनी/छोरी देखिन्छे वा फोहर बटुल्न घर घर डुली हिँड्ने ठेलावाला सुनिन्छ– ‘टुटा फुटा पिलासटिक, कागत, फलामका टुकरा ।’
१२/१५ वर्षअघि झ्याल अलि फरक थिए । उज्यालो किरण र उन्मत्त हावा झ्याल ढोका बन्द गरी बस्नुपर्ने कफ्र्युका आदेश बोकी ल्याउँथे र जीवन उसै गरी चलिरहको मधुरो आश्वासन दिएर जान्थे ।
त्यो प्रतिकूल समयमा पनि मेरो झ्याल खुल्लै रहन्थ्यो दिउँसभरि । किनकि, मेरो झ्यालबाट त्यो झ्यालमा बसेर गीत गाइरहने उनलाई देख्न सक्थें । एकोहोरो भएर किताब हेरिरहेको बेला ऐना देखाइदिने उनलाई देख्न सक्थें । र, मलाई अत्तालिएको देखेर खुशी हुँदै हाँसेको उन्मत्त हाँसो सुन्न सक्थें । हामी बस्ने ती घरका झ्यालहरु खुल्लै रहन्थे किनकि हामी सजिलै बिना शब्द जिस्कन सक्थ्यौं, आत्मविभोर हुन सक्थ्यौं ।
अभिव्यक्ति : फक्रदो प्रेमको
उनीहरु चार जना थिइन्, पक्की घरको त्यो पल्लो झ्यालमा । म एक्लै थिएँ, कच्ची घरको वल्लो झ्यालमा । दूरी यति थियो कि उनीहरुको अनु्हारसम्म देखिने । सामिप्यता यति थियो कि उनीहरु कोठामा अलि ठूलो आवाजमा बोले मैले सुन्ने । म झ्याल खोलेर मात्र पढ्न बस्थें, (भएको एउटा मात्रै झ्याल बन्द गरिदिए त कोठा गुम्सिएको जस्तो हुन्थ्यो ।) पढ्ने बेलामा गीत सुन्दै लेखपढ गर्नुपर्ने मेरो अजीबको लत थियो । हिन्दी नेपाली गीतका थुप्रै क्यासेट थिए कोठामा । ऊ पनि झ्यालमा आएर घाम ताप्दै बस्थी र बेला–बेला गीतका बोलहरु सुरिलो आवाजमा गुनगुनाउँथी । उसको सुरिलो आवाज सुनेपछि मैले क्यासेट बन्द गरिदिन्थें । बिहानीको सुकोमल घामको पहेंलो किरण उनीहरुको झ्यालमा पथ्र्यो । तर, मेरो कोठा भने उल्टो पथ्र्यो । र, जिस्कन मन लागेको दिन त्यो घामको किरण ऐना देखाएर मेरो अनुहारमा पारिदिन्थी– ‘झ्यालमा बसेर हामीलाई हेर्ने ।’
जिस्क्याएको हो या धम्क्याएको, बुझ्न सकिनँ मैले कहिल्यै पनि ।
साँझ साँझ घामले बिदा लिनुअघि उनीहरु बाहिर निस्किन्थिन् र सिसौंघारीको चौरमा बसेर गीत गाउँथिन्, हाँस्थिन् र रमाउँथिन् । भ्mयालमा बसेर मैले उनीहरुलाई हेरिरहेकै हुन्थें ।
ती मध्ये एउटी उफ्रिन्थी, जुडो कराटेका पोज देखाउँथी र हावामा किक हान्थी ।
एक दिन रहर लाग्यो, उनीहरुमध्ये झ्यालमा बसेर गीत गाउनेलाई चिन्न मन लाग्यो । उनीहरु बसिरहेको सिसौंघारीमा पसें । उसका जुडोका पोज देखेर नै डराएँ र अलि वरै उभिरहेंं । त्यहाँ भएकी सबैमा सुन्दर भने ऊ नै थिई । कति ठिक भन्दा रहेछन् बुढाहरु, ‘राम्रो फूल त भीरमै फुल्छ बाबै ।’ मैले उसको नाम मनमनै माधुरी राखिदिएँ । सिनेमाकी गोरी हिरोइन माधुरी ।
त्यतिबेला हिउँदे बिदाको समय थियो, कलेज बन्द थियो । त्यसैले त्यो रमाइलो हेर्ने फूर्सद थियो ।
मैले एक साँझ एउटा कविता लेखें उसको नाममा–
आऊ– मेरो हात समाऊ प्रिय
तिमी र म सँगै हिँड्नु छ
र पुग्नु छ,
ऊ…. त्यो पारी देखिने क्षितिजसम्म
र बसाउनु छ मायाले भरिएको एक बस्ती
जहाँ तिमी र म हुनेछौं
र, सँगै हुनेछन् हाम्रा प्रेमिल सपनाहरु
सपना देख्ने उमेरमा लेखेको त्यो कविता कहिल्यै छापिएन ।
सुरिलो एक साँझ
लोडसेडिङको समय । अँध्यारो गहिरिदै गएपछि वा ठिक्क खाना पकाउने बेला या खाना खाने बेला बत्ती जानु पुरानो रोग हो, त्यो रोगको निदान अझैं पनि भइसकेको छैन यो देशमा । तर, मेरो लागि भने यो समय सबैभन्दा आनन्ददायी थियो । किनकि, बत्ती गएपछि ऊ झ्यालमा बसेर गीत गाउँथी र म उसका गीत सुन्दै खाना पकाउँथें ।
त्यसदिन साथी कोठामा आएको थियो । समीर । गीत गाइरहनुपर्ने साथी । उसका किशोरवयका दिनहरु दोहोरी गाएर नै बितेका थिए । ऊ अलि अबेर मात्रै आएको थियो कोठामा । अँध्यारो–अँध्यारो हुन लागेको बेलामा ।
‘सधैंभरि पानी र पँधेरो
एक्लो ज्यान संसारै अँध्यारो ।’
परको त्यो झ्यालबाट आवाज गुञ्जियो ।
खाना पकाउँदै गर्दा गीत गाएको सुमधुर आवाजले उसलाई तान्यो ।
साथी रमाइलो मुडमा थियो । त्यो मौकालाई त्यसै जान दिएन । र, जवाफ तुरुन्तै दियो ।
‘सम्साँझै विरही कस्तो
गीत सुन्दा उडी जाउँ है जस्तो ।’
लोडसेडिङको अँध्यारो साँझ गीतको मधुरतामा लठ्ठिन थाल्यो । म बस्ने घरका सबै सदस्य कान चनाखा गरी सुनिरहेका थिए भने ऊ बस्ने घरका मान्छे पनि दोहोरीको मजा लिइरहेका थिए । न मादल थियो । न दोहरीको खाल थियो । गीत गाउनेहरुले एक–अर्कालाई देखेका थिएनन् ।
अब यसले के भन्छ ? सुन्नेहरु झन चनाखो भएर सुन्दै थिए ।
अचानक बत्ती आयो । दोहोरी रोकियो । र, झ्यालहरु बन्द भए ।
‘दोहोरी त गजबै गाउनुहुँदो रहेछ ।’ पानी भर्न बाहिर आएको बेला घरबेटी दिदीले भनिन् । मैले म होइन भनें, ‘साथी आएको छ । म होइन ।’
‘ए, हो र ।’ उनले सायद पत्याइनन् ।
त्यो साँझ मीठो वार्तालापमा बित्यो । विदेश जानुअघि भेट्न आएको साथीले आफ्ना सपना सुनायो अनि भावी योजना बतायो ।
स्कुल पढ्दा कसलाई कसरी कस्तो प्रेम पत्र लेख्यो, सबै बतायो र राती अबेरसम्म हँसायो ।
बिहान ऊ पहिलो गाडी भेट्ने गरी निस्कियो । अँध्यारो नै थियो ऊ जाँदा । पुस महिना । बिहानको पाँच बजे त मजस्ता अल्छीहरुले ओछ्यान छोडेकै हुँदैनन् । त्यसदिन पनि छोडिनँ, सुतिरहें । उसले बिदा माग्यो र हिँड्यो ।
दिउँसो सिसौघारीमा घुम्न निस्केको थिएँ । उनीहरु उसैगरी चौरमा बसी रमाइरहेकी थिइन् । र, माधुरी उसैगरी जुडोका पोज दिँदै थिई, उफ्रिदै थिई । मलाई देखेर माधुरी मुस्कुराई । संसार जितेजस्तो लाग्यो । मनभरी गुँरास फुल्यो । तर नजिक जाने आँट आएन । माधुरीका साथीहरु भने मलाई हेर्दै खासखुस कुरा गर्दै हाँस्न थाले ।
त्यससाँझ माधुरीको यादमा एउटा गजल लेखें–
तिमी मुस्कुरायौ यो दिल जलायौ
त्यो नजरको प्यालाले भन के पिलायौ ?
जादू ग¥यौ तिमीले यस्तो मलाई
कि तिमीलाई भुल्नै नसक्ने बनायौ ।
बेहोस छु मदहोस छु तिम्रो यादमा
मधुर मधुर यो मायामा के मिलायौ ?
गजलको लहर थियो त्यो । बेपरवाह नियम नमिलेका गजल लेख्ने । गजलमा अरु कुरा नमिले पनि मेरो अव्यक्त प्रेम व्यक्त भएको थियो । माधुरी हुनुको आभास थियो गजलमा । तर, यो गजल कहिलै प्रकाशित भएन । बरु बानी थियो– लेख्यो फाल्यो वा सिरानीमुनि कतै लुकायो अनि डेरा सर्ने बेला हरायो । यो गजल पनि हराएको थियो । भेटियो पुरानो पुस्तकभित्र । र, सँगै भेटिए झ्यालबाटै साटिएका केही अव्यक्त प्रेमिल भावनाहरु पनि ।
०००
नीलो छाया
यो बीच दश वर्षको समय बितेछ ।
देशमा जनआन्दोलन भयो । राजाको युग सकियो । गणतन्त्रको उदय भयो । संंविधानसभाको चुनाव भयो ।
म प्रवास पसें । तीन/चार वर्ष बसेर फर्किएँ । सडकमा गणतन्त्रका नारा लगाउँदा म पनि थिएँ । उफ्रिदै चिच्याउँदै नारा लगाएको थिएँ, सोच्थें समय बदलिने छ ।
समयले मलाई बदल्यो र खाडी पु¥यायो ।
राजनीतिप्रति चासो मर्दै गयो । शहरतिर बसाइ सरेंं । घर परिवार र आम्दानी खोज्न थालेंं ।
गएको महिना साथीको बुबा बित्नुभयो । साथीको बुबाको तेह्रौं दिनको तिथिमा गएको थिएँ । आगन्तुकलाई चिया खुवाउने हरियो साडी लगाएकी सुन्दरीलाई देखेर झस्किएँ । कतै देखेजस्तो लाग्यो ।
ऊ मुस्कुराई ।
म पनि मुस्काइदिएँ । तर यस्तो लाग्यो, कुनै समयमा त्यो मुस्कानको म दिवाना नै थिएँ सायद । त्यो मुस्कानको नीलो छाया मेरो मनको गहिराईमा थियो सायद । म भ¥याङ उक्लिएर छतमा पुगें । छतमा एक दुई जना केटाकेटी थिए । मलाई देखेर उनीहरु तल झरे । साथीको बुबा बितेकोमा मलाई दुःख लागेको थियो । त्यो भन्दा बढी दुःख आफ्नै मनको गहिराइमा लुकेको सम्झनाको नीलो छायालाई भेट्न नसकेकोमा थियो ।
हरियो साडी लगाएकी उनी माथि उक्लिइन्, छतको एक किनारमा थुपारिएका केही टपरी लिनका लागि रहेछ ।
‘हाम्रो भेट यो भन्दा पहिला कतै भएको थियो ?’ मैले मनको खुल्दुली मेट्न चाहें ।
उनी मुस्काइन् ।
उफ । त्यो मुस्कान ।
‘सायद । ….. सम्झिने प्रयास गर्नुहोस न ।’ फेरि त्यही मुस्कान ।
कुनै विद्युतीय तरंगजस्तो मेरो जिब्रोमा नाम आयो, ‘तपाइँ माधुरी हो ?’
‘को माधुरी ? अहँ, मेरो नाम त श्रद्धा हो ।’
‘तपाइँ ऊ …. त्यहाँ पारी बस्नुहुन्थेन र कलेज पढ्दा ?’
मैले ‘झ्याल भएका ती यादगार घरहरु भएतिर ईशारा गरें ।’
‘थ्याङ्क गड’ केही त याद रहेछ । रातैभरि दोहरी गाउने अनि मान्छे चाहिँ बिर्सिहाल्ने ? अनि यो माधुरी चाहिँ को नि ?’
एक पटक त मन भयो, भनिदिउँ, ‘माधुरी मेरी स्वप्न सुन्दरी हो । र त्यो सुन्दरी तिमी हौ जसलाई म अब चाहेर पनि प्राप्त गर्न सक्दिनँ । अनि त्यो दोहरी गाउने म होइन । मलाई त गाउनु कुन चरीको नाम हो, थाहै छैन ।’ तर जिब्रो चलेन ।
‘थिइन् एक जना ।’ मैले यत्ति मात्र भनें ।
हामी मौन रह्यौं एकछिन ।
‘तपाइँ गीत त साहै मीठो गाउनुहुन्छ नि ।’
उनी मौन रहिन् । सायद, मेरो प्रश्नमा गम्दै थिइन् । अनि भनिन्, ‘गीत त तपाइँले गाउनुहुन्छ । मोहनी लाउने गरी ।’
ऐना
संयोग । स्पष्टीकरण दिनुपर्ने शब्द- सत्य हो, तिमीले सोचे जस्तो होइन, यस्तो भएको हो । तर म स्पष्टीकरण दिन चाहन्नँ । तपाइँलाई पत्याउने र नपत्याउने दुवै अधिकार छ । बलजफ्ती केही छैन ।
माधुरी अर्थात श्रद्धासँग भेट भएको तेस्रो दिन म राजधानी जाँदै थिएँ– रात्रीबसबाट । माधुरी र मेरो सीट सँगसँगै परेछ । हामी फेरि भेट भयौं ।
ऊ उसै गरी मुस्कुराउँदै आई । तर यस पटक दिल जलेन । म मुस्कुराइदिएँ । हामी सँगसँगै यात्रा गर्दै थियौं ।
‘एउटा नानु छ– छोरी । उतै काठमाडौंतिरै छु म । सात/आठ वर्ष नै भइसक्यो ।’
ऊ निर्धक्क बोलिरहेकी थिई । निडर । आत्मविश्वासी । उस्तै मुस्कान ।
‘अनि सरले के गर्नुहुन्छ नि ?’ मैले उसको श्रीमान्को बारेमा जान्न चाहें ।
‘खै अहिले के गर्दै छ । चार वर्ष पहिले डिभोर्स गरेदेखिन् भेट भएको छैन ।’
म आश्चर्यमा परें । कति सजिलै उसले आफूले पारपाचूके गरेको कुरा बताई ।
‘जीवन हो । सधैं अघि बढिरहन्छ ।’ उसको विवाह र पारपाचूके थाहा पाएर मैले यो बाहेक अन्य कुरा भन्न सकिनँ ।
‘हैन… मान्छे बेइमान परेछ कि । अति भएर नै छोड्नु प¥यो । हैन भने त स्वास्नीमान्छेलाई एक्लै बाँच्न कहाँ पो सजिलो छ हौ ।’ उसले धारा प्रवाह बताई ।
‘कराते त तपाइँ खूब खेल्नुहुन्थ्यो नि त्यतिबेला ।’ म विगततिर फर्किएँ, माधुरीलाई सम्झिन ।
‘स्कुल पढ्दा सिकेको थिएँ अलि–अलि । त्यो बेला आर्मीमा जाने कस्तो रहर थियो । पछि के–के मिलेन मिलेन ।’ उसले भनी ।
बसको आवाजमा मिसिएको पुराना गीतको समधुर आवाजमा मलाई निद्रा लागेछ । मौन मौन भएको बेला हामी दुवै निदायौ होला सायद । उसो त हामी उहिल्यैदेखि मौन थियौं ।
आँखामा चर्कै उज्यालो परेको अनुभूतिले मलाई ब्युँझायो । माधुरी….होइन श्रद्धा मेकअप मिलाइरहेकी थिई, सानो ऐना हेर्दै । त्यसमा परेको घामको किरण मेरो आँखामा परेको रहेछ ।
‘फेरि पनि ऐना देखाइदिएँ नि ।’ उस्तै मुस्कान । फेरि बुझिनँ त्यो ऐना देखाइदिनुको रहस्य ।
म पनि मुस्कुराई दिएँ । मोबाइल बज्यो । साथीको रहेछ । ‘तँलाई भेट्न मन हो ।’
‘म त धेरै अगाडि आइसकें । अब भेट हुँदैन । ……….’ फोन डिस्कनेक्ट भयो । श्रद्धाले उसै गरी ऐना हेर्दै मेकअप मिलाउँदै थिई, मेरो मनमा भने माधुरीको याद ताजा हुँदै गएको थियो । त्यो झ्याल, त्यो ऐना र ती गीत–गजल पनि । अनि, त्यो मधुर–मधुर एक साँझ पनि ।
(स्रोत : जनउभार डट कम)