~सविना सिन्धु~
भर्याङ्ग ओर्लँदै गर्दा ऊ चिप्लिई र डङ्गग्रङ्ग पछारिई । भर्याङ्गको अन्तिम खुड्किलोमा ठोकिएर पाखुरामा चोट लाग्यो । घुँडामा निल डाम बस्यो । नराम्ररी दुख्यो जीउ । यो घाउ भन्दा कडा थियो मनको घाउ । आखिर बुझ्नै गाह्रो जिन्दगीका उतारचढाव । उसले धेरै वर्ष सोची । प्रत्येक पल तड्पिएर बस्नु भन्दा हाँसी खुशीले जिन्दगी बिताउनु बेस । अरुको लागि बाँचिदिने हो र ! आफ्नो लागि पो बाँच्ने हो ।
जिन्दगीका विकल्पहरु थिए । उसले धेरै सोच विचार गरेर अन्तिम निर्णयमा पुगेकी थिई । भर्याङ्गको अन्तिम खुड्किलोबाट अब माथि उक्लिनु पर्छ । पहिलाउनु पर्छ नयाँ गन्तब्य । बाँच्नु छ नयाँ जिन्दगी । सुरुवात गर्नु छ एउटा छुट्टै संसार । आरोजसंगको सम्बन्ध अब डिभोर्सको स्थिति सम्म पुगिसकेको थियो । एक दशक जेनतेन सम्बन्ध धानियो । अथवा, जबरजस्ती धानी उसले ।
आरोजले महिनामा चार हजार पठाउँछ । काठमाडौंको महङ्गिमा पाँच जनाको परिवार तीन–चार हजारमा पालिन्छ ? कस्तो सोचाई ! दिउँसभरी हाड घोटेर काम गरी कमाएको पैसा उसकी बहिनीको डिमाण्ड पुरा गर्न । उसैकी आमाको औषधि उपचार गर्न । उसको भाइको पकेट मनीको लागि । छोरीको स्कुल फी को लागि । उसले पठाएको पैसाले त फ्ल्याटको भाडा तिर्न पनि पुग्दैन । आफ्नो लागि त कुरै छोडौं । बल्ल बल्ल केही पैसा जोगाएर जग्गा किनेको, त्यो पनि देवरको नाममा । उनैका लागि किनिदिएको रे आरोजले । आफ्नो लागि त केही पनि छैन ।
देवर नन्द भन्छन्, “दाइ विदेशमा बसेर पैसा कमाउँछ भाउजु पैसा कुम्ल्याउँछिन् ।”
बिहे भएपछिका एक दशक अमिताले यसै गरी बिताई । असन्तुष्टिमय जिन्दगी बाँची । सासु आमैको स्याहार सुसारमा । देवर–नन्दलाई खुशी राख्न । अमिता बेला बेलामा फत्फताउँथी । कसले बुझी दिन्थ्यो र उसका पीडा । आरोज टुरिष्ट झैं बनेर तीन चार वर्षमा बल्ल बल्ल डेराको घरमा झुल्किन्थ्यो ।
सारा घरका काम भ्याएर पार्लर जान्थी । ब्युटिसियन बनेकी थिई ।
“यस्तो लाउने खाने उमेरमा पनि तँ कति जोतिएकी । घरको काम सबै भ्याउँछेस् । आफ्नै कमाईले घर धानेकी छस् । बुढालाई पैसा पठाईदिनु भन्नु नि ।”
– “आफ्नै परिवार त हो, नजोतिएर पनि के गर्नु ।”, ऊ फिस्स हाँस्थी । साथीहरु माझबाट यस्तै यस्तै प्रश्न आउँथे । ऊ प्रश्न अनुसारका जवाफ फर्काउँथी । वास्तै नगर्ने लोग्ने प्रति कम्ति गुनासो थिएन । तर बुझ्नेले कहिले बुझिदिएन । उसका परिवारले झन् के बुझ्थे ।
पार्लरका साथीहरु मुखामुख गर्थे । सेवाग्राही उनीहरुका कुरा सुनेर छक्क पर्थे । यस्ता कुराहरु पीडा लुकाउने बाहाना मात्र थिए । मन कत्ति भरिएको थियो.. कत्ति ।
(केही दिन पछि ।)
“अमिता भागी ।”
– “कहाँ भागी ?”
“भागी नि झिल्केसँग । बुढोलाई छोडेर ।”
“बरै ! कति सोझो थियो लोग्ने चै । महिनै पिच्छे पैसा पठाउँथ्यो रे ।
– पैसा कुम्ल्याएर भागिछे है ।
“त्यही त। ”
“हैन रोगी सासु स्याहारेकी थिई । काम गरेर देवर नन्द पालेकी थिई । छोरीलाई राम्रै बोर्डिङ्गमा पढाएकी थिई ।”…..“आएपिच्छे झगडा गथ्र्यो रे बुढो चै । कुटा–कुट हुन्थ्यो रे । को बस्छ र त्यसरी कुटपीट गर्न मान्छेसँग ? म भएपनि हिँडिदिन्थेँ।”, अर्कीले अर्कै तर्क राखी ।” बाँकी महिलाले हो मा हो मिलाए ।
मानिसहरुलाई गफ गर्ने बाहाना मिलेको थियो । अमिताको विषयमा विभिन्न तर्क विर्तक हुन थालेका थिए । कसैले अमिताले ठिक गरी भने । कसैले छोरीको विषयमा चिन्ता ब्यक्त गरे । कसैले छोरीको बिचल्ली पारेर हिँडी भने । कसैले, ‘काम नलाग्ने आईमाई रहिछ’, समेत भने ।
एक्कासी पानी पर्न थाल्यो । अमिताको मन छट्पटाई रहेको थियो । एक मनले भन्यो, ‘तैंले गल्ति गरिस् अमिता ।’ अर्को मनले भन्यो, ‘के को गल्ती । जिन्दगी एक पटक आउँछ । खुशीमै जिन्दगी बिताउनु पर्छ । इच्छ्याएको जिन्दगी बाँच्नु पर्छ । कति तड्पिएर बस्नु । कति अर्काका लागि बाँच्नु ! ’
उसँगै थियो सन्दिप । अमिताले रोजेको नयाँ बेहुला । घरमा सन्दिपका बाबु आमा थिए । उनीहरु बुहारी भित्राउन आतुर थिए । अमिताका सबै कुरा उनीहरुलाई के थाहा र ?
(निकै दिन पछि …।)
सन्दिप, अमिता, आरोज, आरोजका आमा, दिदी र बहिनी पुलिस थानामा थिए ।
“यस्तो लाउँ–लाउँ, खाउँ–खाउँ उमेरकी श्रीमती छोडेर हिँड्ने हो त !”–प्रहरी कर्मचारी १
“कहाँ गएको थिएँ र ? विदेश नै त हो । पैसा पठाएकै थिएँ । ”– आरोज ।
“पैसा पठाएको रे । महिनाको तीन–चार हजार । फ्ल्याटको भाडा तिर्न पनि पुग्दैन। यिनका आमा, भाइ, बहिनी कसरी पालेँ हुँला । यिनकी रोगी आमाको औषधि उपचार कसरी गरेँ हुँला ?” अमिताले कालो नीलो अनुहार बनाई । सन्दिपले थपथपायो । आरोजकी आमा ट्वाल्ल परिन् । बहिनी चाहिँ केही बोल्न सकिनन् ।
आरोजले अमितातिर लक्ष्ति गर्दै भन्यो, “अर्को लोग्ने चाहिएको रछ अनि पो….”
“तिमी पनि कम थियौ र । श्रीमती भन्दै …अर्की केटीसँग टाउको जोडेर खिचेको फोटो फेसबुकमा हाल्थ्यौ । विदेशमा मस्ति थियो । मैले केही कुरा भनेँ भने कुरै सुन्दैनथ्यौ । आखिर मेरो पनि त जिन्दगी हो ।”
“घर आए पिच्छे कसले लान्छ र तँ जस्तालाई भन्थ्यौ । निहुँ झिकेर झगडा गर्न थाल्थ्यौ । कुट्थ्यौ पिट्थ्यौ । कति यातना सहेँ ।”, अमिताले भनी ।
“आफ्नो गल्ति पनि देख्नु पर्यो नि भाइ । त्यस्तो नि गर्छन् ।”, पहिलो प्रहरी कर्मचारीले आरोज तिर हेर्यो ।
“के काम गर्नुहुन्छ बहिनी ?”, दोश्रो प्रहरी कर्मचारीले अमितालाई सोध्यो ।
“पार्लर छ । साथीहरुसँग मिलेर खोलेको । माइतीले गरी खा…भनेर लगानी गरिदिएका ।”…एकछिन रोकिई अनि फेरी भनी, “मेकअप सम्बन्धि कामहरु पनि गर्छु । म्युजिक भिडियोमा पनि खेलेकी (अभिनय) छु । कस्मेटिक सामानहरु पनि विक्री गर्छु ।”, उसले भनी ।
“मैले पठाएको पैसा जति हिसाब गरेर ले ।”, आरोज कड्कियो ।
– “तिमीले पठाएको पैसा तिम्रै आफ्नालाई खर्च गर्न पुग्दैनथ्यो । हिसाब किताबको कुरा गर्ने हो भने ….तिमीले मलाई तिर्नु पर्ने हुन्छ ।”, अमिताले रिस देखाइन । बरु नम्र स्वरले बोली । “बरु डिभोर्सको प्रकृया अघि बढाउँ ।”, अमिताले फेरी भनी ।
आरोज लुरुक्क प¥यो । आरोजका आमा र बहिनी किंकर्तव्य विमुख थिए । “डिभोर्स चाहिँ नगरे हुन्थ्यो”, आरोजकी बहिनीले आफ्नो राय ब्यक्त गरी । सन्दिपले अमितालाई एकोहोरो हेरिरह्यो ।
“आफ्नी बुहारी अर्काले लगेको कसरी हेर्नु ? नातिनीले स्कुलबाट फर्केपछि आमा खोजि भने के भन्नु ?”, आरोजकी आमाले भनिन् । “छोरी पनि हामीसंगै लगौंला । उनकी छोरी मेरी पनि छोरी”, सन्दिपले स्पष्ट कुरा ग¥यो ।
केही बेर पछि अमिता अघि लागी । सन्दिप उसैको पछि–पछि लाग्यो ।
त्यसपछि के भयो । कथाकारलाई पनि थाहा छैन । राम्रो भयो वा नराम्रो त्यो पनि थाहा छैन । कसैको जिन्दगीको फिल्म सुरु हुँदै थियो । समाज भनौंदा दर्शकहरु चिच्च्याए ‘काष्टिङ्ग नै झुर !”
समाज पुरुषकै दृष्टिकोणबाट हेर्छ । तर कमैलाई थाहा हुन्छ वैदेशिक रोजगारीमा गएका श्रीमानहरुका के कस्ता कमजोरीहरु हुन्छन् । डिभोर्सका पछाडी कारणहरु के के हुन सक्छन् ।
उनीहरु पाँच छ वर्षमा टुरिष्ट झै बनेर झुल्किन्छन् र आफ्नो गन्तब्य तताउँछन् । समझदार श्रीमान श्रीमती छन् भन् यो सम्बन्ध अझ प्रगाढ बन्दछ । सम्बन्धमा फाटो आउन पाउँदैन । तर समझदारी भत्किनासाथ यो सम्बन्ध डिभोर्समा गए टुङ्गिन्छ । श्रीमतीका इच्छा, चाहाना र आवश्यकताको उनीहरुलाई रत्ति भर पनि ख्याल हुँदैन ।
श्रीमतीलाई उनीहरुकै इशारामा चलाउन ल्याइएको मेसिन ठान्छन् । मानवीय मूल्य समेत बुझ्दैनन् । सम्बन्ध टुट्नुमा श्रीमतीहरु मात्र जिम्मेवार हुन्छन् र ! जब अपेक्षाहरु टुट्छन् । जीवन साथी भनौँदोले समेत बुझिँदिँदैन । आफ्नो घर आफ्नो हुँदैन । आत्म सम्मान हुँदैन । जीवनसाथी जीवनसाथी रहँदैन । आड र भरोसा भत्किन्छ । श्रीमतीका आवश्यकता बुझ्दैनन् । तब यस्तै हो ।–
“अमिता भागी ?”
– “कहाँ भागी”
“भागी नि झिल्केसँग । बुढोलाई छोडेर ।…….”