समीक्षा : झूमा, संगीत र मुन्धुम

~विक्रम सुब्बा~

पृष्ठभूमिः

आधारभूत रुपमा नेपाली गीत-संगीत भनेको रैथाने लोक संगीत[1] (एथ्नोम्यूजिक) नै हो । नेपाली परम्परामा ‘आधुनिक’ वा ‘सुगम संगीत’ थिएन । यो त नेपालमा हिजो अस्ति रेडियो, टेलिभिजन आएपछि हिन्दी फिल्मी संगीतको प्रभावले जन्माएको हो । हो, मन्दिरहरूमा ‘भजन’ (भारतको सा, रे, ग, म, प, ध, नी, सा मा आधारित) गायन थियो जुन हार्मोनियम र तबलामा धेरै अघिदेखी गाईन्थ्यो । गुम्बाहरूमा वौद्ध ‘भजन’ गायन (चीनको शाङ, चे, गोङ, फान, लिऊ, वू, यी, शाङ मा आधारित) संगीत र वाद्यवादन पनि प्रचलनमा परापूर्व कालदेखि थियो ।

राणा शासन विरोधी आन्दोलनका बेला बिराटनगरमा ‘प्रजातन्त्र नेपाल रेडियो (१९५०)’ खुल्यो, पछि काठमाण्डु सर्‍यो भने उता भारतको खार्साङमा अल ईन्डिया रेडियो (१९६२) खुल्यो । दार्जिलिङ र काठमाण्डौका मन्दिरहरूका (हिन्दी, सँस्कृत) ‘भजन गायक’हरूले लोकलय मिसाएर ‘संगीत भरेर’ लोक-आधुनिक गीत गाउँन थाले । रेडियो नेपालमा सिधै बजाउँने र गाउँने गर्थे । रेकर्ड हुन्नथ्यो । बिस्तारै संगीतको नयाँ बजार खुल्यो । बिस्तारै “लोक-आधुनिक”, “आधुनिक”, “सुगमसंगीत” आउँन थाले । केहीले बाजा-गाजाको व्यापारै थाले । केही मानिसले गीत-संगीको रोजगारी पाउँन थाले ।

सन् ६० को दशकमा हिप्पीहरू गँजा र शान्ति खोज्दै आउँदा अंग्रेजी (पाश्चात्य) गीत (डो, रे, मी, फा, सो, ला, टी, डो मा आधारित)  संगीत पनि नेपालमा ल्याए । गाँजा तान्दै झोँछेका रेष्टुरेण्टहरूमा गिटार, ड्रमसेट, क्लारोनेट बजाउँदै साँझमा “डान्स पार्टी”हरू पर्यटकहरूका निम्ती विशेष आकर्षण बन्न थाले । संगीतले मानिस तान्ने र रेष्टुरेन्टको खानेकुराको बेच-बिखब बढाउँने प्रचलन सुरु भयो । नेपाली युवाले पनि गिटार र अंग्रेजी गीत बजाउँन-गाउँन सिके । विदेशी गीतमा झुमेर नाचे र गोरे ठिटीका ब्वाइफ्रेण्ड बने । कपाल पालेर विदेशी गीत गाउँने ब्याण्ड खोल्दै गए । भारत र पाश्चात्य संगीतमा आधारित गीत-संगीतको ‘ट्रेण्ड’ बाढीझैँ पसेर नेपाली लोक संगीतलाई पुरै छायामा पार्‍यो । साम्राज्यवाद र विस्तारवाद भनेको आर्थिक, शैनिक र राजनैतिक कुरा मात्र होइन रहेछ । यसले रैथाने सँस्कृती पनि ध्वस्त पार्दो रहेछ भन्ने कुरा काठमाण्डु लगायत शहरहरूमा देखियो ।

धर्मराज थापा, कुमार बस्नेत, हीरादेवी वाइबाले लोकगीतलाई ईम्प्रुभाईज (तेतिखेर बिगारेको भनिएको) गरेर गाउँन थालेपछि पनि खाँट्टी “एथ्नो म्युजिक” अपहेलित नै रह्यो । रामसरण दर्नालले नेपालको लोक गीत-संगीत र बाजाहरूमा धेरै अध्ययन गरे । ‘नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान’ले कर्णाली लोक सँस्कृतीको अध्ययन (सत्य मोहन जोशीको नेतृत्वमा) गरायो । त्रिभुवन विश्वविद्यालयले लोक साहित्यको रुपमा लोकगीत  पढाउँन र अनुसन्धान गर्न-गराउँन थाल्यो । हिन्दी सिनेमाको सिको गरेर नेपाली सिनेमामा पनि गीत र नाच राख्न थालियो । रेडियो, टलिभिन र महोत्सवहरूले गर्दा नेपाली गीत-संगीतको बजार अझ ठूलो भयो । केही मानिसको गुजारा गीत-संगीतबाटै चल्न थाल्यो । कर्ण शाक्यले पहिलो पटक भिजिट नेपाल  (१९८९) कार्यक्रम सन्चालन गरेपछि नेपालमा व्यापार मेला र महोत्सवहरूको बाढी चल्दै गयो । धेरै मानिस महोत्सवमा तान्ने र व्यापार बढाउँने औजारका रुपमा सांगितिक कार्यक्रम नभइनहुने भयो । ख्याति प्राप्त गायक-गायिकाहरूको नाम पहिले नै प्रचार गरेर मेलामा मानिस बोलाउँन थालियो । अनेक किसिमका नृत्य कलाकारसँगै लोक दोहोरीहरू पनि महोत्सवका अभिन्न अंग बने । लोक दोहोरीको माँग जताततै बढ्यो । गाउँ गाउँबाट खोजेर नयाँ नयाँ लोक गीत आपुर्ति गर्न भ्याएनन् ।  कोठैमा लोक-दोहोरी उत्पादन गर्ने कारखाना खुले ।

झूमा लिम्बुको आगमनः

भारतीय र पाश्चात्य गीत-संगीतको आक्रामक पेलान र कोठे ‘लोक गीत’ उत्पादन फ्याक्ट्रीहरूले मच्चाईरहेको भाईब्रेण्ट बजारमा झूमा लिम्बु पनि धरान हुँदै आईन् – ताप्लेजुङबाट । मीठो स्वरको पुँजी मात्र झुमासँग थियो । रेडियोबाट ‘नारायण गोपाल’, ‘अरुणा लामा’ र ‘लता मंगेस्कर’का नेपाली र हिन्दी फिल्मी गीत सुनेर गाउँने ‘टेकनिक’ ईमिटेशन गरेर सिक्नु बाहेक संगीत सिकाउँने गुरु झूमाको कोही थिएन ढुंगेसाँघुमा । यी तीन महान गायकहरू  र लिम्बु गीत-संगीत परम्परालाई गुरू थापेर गीत गाउँदै, स्कुलमा पढाईभन्दा ज्यादा केटाहरूसँग फुटबल खेल्दै, कान्छी छोरी भएकोले बाबुको सुरक्षित काखमा बसेर दाइ-दिदीलाई गोद्दै, ओल्लो-पल्लो गाउँकासँग “ग्याङ फाईट” खेल्दै कान्छीको बाल्यकाल बित्यो ।

दिदीले धरानमा बोलाएर जबसरजस्ती पढ्न जोड नगरेको भए एसएलसी पनि दिन्नथेँ होला ।मसँग झूमाले भनेको यही हो ।

म – अनि?

झूमा – एसएलसीको तैयारीका बेला पनि आफ्नो त ध्यानै गीतमा मात्र । एउटा राईले संगीत सिकाउँछ रे भनेर सिक्न थालेको, गुरु चाहीँ अलिकती सिकाई राखेर चिया खान जाने । हामी विद्यार्थीहरू ग्याङ फाइटमा तबला र भएभरका बाजाहरूले हानाहान गर्ने । एत्राको संगीत सिक्नु धरानमा?

म – अनि?

झूमा – गाउँने मान्छे छान्न काठमाण्डुबाट आएका छन्’रे भन्ने सुनियो । भाग लिन गएँ । नयाँ अनुभव भयो ।

म – अनि?

झूमा – एसएलसी पछि, अनेक गरेर एक्लो बेखर्ची केटी काठमाण्डु छिरियो । महासागरमा केही दिन त हराईयो । तर गुरु खोजेर संगीत सिक्न यहाँपनि थालियो । चित्त बुझ्दो गुरु नै पाइन जस्तो लाग्न थाल्यो । कसो कसो गरेर पहिलो एलबम निकालेर दंग परियो । एलबमको बिमोचनमा एकजना बूढाले मन्तब्य बोले । उनका कुरा गजप र गहिरा लागे । को रैछ यो बूढो? ‘निकै राम्रा कुरा भन्यो’ भन्ठानेँ, नाम सोधिन ।

म – अनि? ।

झूमा – राजावादीले राजदरबारमा गीत गाउँनको निम्ती महिनाको १५ हजार तलब प्रस्ताब ल्याए । म त दंग परेँ । हतार हतार नवीन (सुब्बा) दाईलाई सुनाएँ । दाइले त, “तँलाई दालभात खान पुगेन? आइज मेरोमा, म खुवाउँछु । तर खवर्दार पस्लास् दरबारमा !” भनेर झसंग्गै हुने गरि झाँटे । दाइले यसो भनेपछि ‘दरबारमा गाउँन’ जाने कुरै भएन । दाईले अभिभावक भएर सम्हालेकोमा धन्यवाद दिएँ !

म – अनि?

झूमा – नवीन दाइले भनेर, पवित्रा सुब्बाले संगीत सिक्न कतै लगे । पुग्दा त त्यही विमोचनको बूढो रहेछ । नाम अम्बर गुरुङ भनेर बल्ल यहाँ सुनेँ ।

म – अनि?

झूमा – “गुरुङले संगीत सिकाउँने भए । भोलि आउ ! पर्सि आउ !! भन्थे । अलि अलि सिकाउँथे । कहिले ‘आज मुड छैन’ भन्थे । ‘म जस्तै मूडी रहेछ यो बूढो पनि’जस्तो लाग्थ्यो । धाएर जान्थेँ । कहिले गफ मात्र गरेर फर्काउँथे । ५-६ महिना पछि त दिक्क लागेर एक्लै एकान्तमा रोएँ । मनमनै भनेँ – सिकउँछु संगीत भन्छ, झुलाउँछ मात्रै । छोडिदिउँ जस्तो पनि हुन्थ्यो । तर किन किन उनीबाट मात्र म सिक्न सक्छु जस्तो लाग्थ्यो । एक पटक जाँदा मुस्किलले एउटा सानो सुत्र बाताउँने र छोडिदिने । यसरी किन दुःख दिएको होला? भनेर बेस्सरी रिस उठ्थ्यो । उनका अरु चेला पनि भेट हुन थाले । गीत-संगीतमा लागेकाहरू चिनियो । पछि थाहा पाएँ – संगीतमा कमिटेड छ कि छैन भनेर जाँच्न पो झुलाएको अरे । गुरुहरूले यसरी जाँच गर्दा रहेछन् । अर्थात, गीत-संगीत भनेको गंभीर कमिटमेन्ट नभएकोले गर्ने ठट्टाको विषय होईन रहेछ’ भन्ने कुरा बुझेँ । तेसपछि जीङगल गाउँन पनि छोडेँ । संगीत पढ्नै भनेर काठमाण्डौ विश्वविद्यालयको संगीत स्कुल पनि भर्ना भईयो । के के गण्डागोल भएर हाँपियो ।

म – गुरुको अर्थ थाहा छ?

झूमा – थाहा छैन ।

म – गुरू भनेको देख्दा अलि डर लाग्ने, भेट्न नगई नसकिने आकर्षक शक्ती भएको, आफ्ना हरेक प्रश्नको जवाफ दिने, एक पैसा नमाँगी विद्या लगायत बाँच्न-मर्न समेत सिकाउँने मानिस हो । पढाएर सर्टिफिकेट दिने मानिस त तिमीले पैसा तिरेको रसिद-भर्पाई बाँड्न बसेको मात्र हो । गुरू होईन ।

झूमा – ?????? 

म – सरी, मैले कडा कुरा गरेँ?

झूमा – होईन । गुरुको परिभाषा सारै घत पर्‍-यो ।

म – कसरी? झूमा – एकपटक तेरथुम बजार पुगियो । तन्देरीहरूले घेरि हाले । रातभरी धान नाचियो । स्वर त गजपले भाषियो । अर्कोदिन साँस्कृतिक कार्यक्रममा गाउँनु पर्ने थियो । म नर्भस भएँ । के गर्ने? भनेर अम्बर सरलाई फोन गरेर सोधेँ । उहाँले एउटा औषधी बताईदिनु भयो । त्यो खाएर दिनभरि सुत्नु ‘ठीक हुन्छ’ भन्नु भयो । तेसै गरेँ । सन्चो भएन भन्ने बहाना बनाएर दिनभरि सुतेँ । साँच्चै ठीक भयो र मलाई लाग्यो गुरु भनेको यसरी अप्ठ्यारोमा पनि बाटो देखाउँने हुनुपर्नेरहेछ ।

म – अम्बर गुरुङबाट के के सिकेजस्तो लाग्छ?

झूमा – सिकेका कुरा १) संगीतले मनोरन्जन त दिन्छ नै तर “आत्मरन्जन पनि दिने गीत-संगीत” मात्र सदाबहार हुन्छ । यो सिकेर म कमर्शियल गीत-संगीततिर पस्नबाट रोकिएँ; २) संगीत भनेको हल्काफुल्का काम होईन, यसले मानिसका मनको घाउहरूमा मल्हम लगाएर निको पार्न सक्नु पर्छ । नत्र संगीत पनि बेकारको “हल्ला” मात्र हुन्छ; ३) हरेक दिन ‘संगीत साधना’ गर्न नसके संगीतको तपस्या-मैदानबाट पत्तैबिना कसैले आफुलाई आउट गरिसक्छ; ४) नेपालको अत्यन्तै सम्पन्नशाली गीत-संगीत भनेको लोकसंगीत हो । यसलाई हाम्रो सम्पदाका रुपमा सम्हाल्नु पर्छ यो हाम्रो अमुल्य “पुँजी” हो; ५) गायक वा संगीतकार हुनु सजिलो छ तर आईलाग्ने दुःखमा पनि टिक्न सक्नेले मात्र केही गर्न सक्छ । नत्र बाढी आएर हराएर गएजस्तो हुन्छ; ६) गायक र संगीतकारमा हुनु पर्ने गुण नैतिकता पनि हो । किनभने चरित्रहिन गायकको गीतले मानिसको हृदय जित्दैन; ७) गीत-संगीतले टीममा मिलेर काम गर्न सकिउँछ । किनभने एउटा गीत बन्न गीतकार, संगीतकार, वाद्यवादकहरू, रेकर्डिष्ट, एरेन्जर, गायक लगायत फरकफरक स्वभावका मनिससँग मिलेर काम गरिन्छ; ८) गीत-संगीतमा लागेपछि (आर्थिक रुपले) दुःखी भईन्छ होला तर मनमा अपार “खुशी” हुन्छ । आदि ।

 – अनि अरु?

झूमा – थुप्रै छन् । पछि मेरो किताबमा सबै कुरा लेख्छु ।   

भेटघाटमा झूमासँग यस्तै कुरा हुन्थे । एकपटक धेरै दिनपछि झूमा भेट्न आइन् र भनिन् –अम्बर सरको कम्पोजिशनका गीतहरू रेकर्डिङ गर्ने भनेको गाउँदा ‘लिम्बु टोन आयो’ भन्नु भयो । के गर्ने होला?”

म – आईपीए (International Phonetic Association)को चार्ट अनुसार नेपाली भाषाका स्वर तथा व्यन्जन ध्वनीहरूको उच्चारण कुन कुन अबयब कसरी चलाएर उत्पादन हुन्छ भन्ने बारे म सघाउँन सक्छु ।

झूमा – त्यो भनेको के हो?

म – कुनै पनि भाषामा निहित स्वर र व्यजन ध्वनीहरू फोक्सोबाट आएको हावालाई हाम्रो ओँठसम्मका कुन कुन अबयहहरूले के कसरी ‘नरोकी तर साँघुरो भएर’ वा ‘रोकेर फुत्त छोडेर’ वा ‘घर्षण गराएर’ वा “सास बाहिर फुकि-फालेर वा हावा भित्रै निलेर” उच्चारण-उत्पादन गर्छन् भन्ने कुराको विज्ञान हो । सन्सारभरिका भाषा वैज्ञानिकहरूले तैयार गरेको तालिका ।

झूमा – लु, यो त जान्नै पर्ने भयो ।

त्यसपछि रेकर्ड गर्न लागिएका हरेक गीतका ध्वनीहरूको ठीक उच्चारण गर्ने बारे २ महिना काम गर्‍यौँ । संगम स्टुडियोमा अम्बर गुरुङ दाई र म पनि सिसाको झ्याल बाहिर बासेर रेकर्डिङ गर्ने काममा संलग्न हुन्थ्यौँ । रेकर्डिङ सकिएपछि यलमाया केन्द्र, पाटनमा, अम्बर संगीत एलबम (अध्यक्षः कमलमणी दिक्षीत) बिमोचन कार्यक्रम आयोजना भयो । झूमाले एलबमबाट २ गीत गाईन् । मैले संचालकको काम गरेँ ।

पत्रकार वक्ता पिटर जे कार्थकले भनेका थिए – अम्बर दाजु संगीतै पढेका संगीतकार र गायक भएकोले हामी दार्जिलिङमा तेसै डोमिनेटेड हुन्थ्यौँ । त्यसमाथि उहाँ ‘दादा’ टाइपको मानिस् । उहाँ बोलेपछि हामी थर्कमान । अम्बर दाजुले नै दार्जिलिङमा आधुनिक नेपाली गीत-संगीतको आन्दोल ल्याएको हो । उहाँले सिकाएका मानिसहरु अहिले वरिष्ठ संगीतकार भएकाछन् ।  दाजुको गीतको लय परैबाट छुट्टि हाल्छ । अम्बर दाजुले भारतको २ र नेपालको २ गरेर ४ वटा राष्ट्रिय गान गाउँनुभयो । जस्मा नेपालको पछिल्लो राष्ट्रगानको संगीतै अर्नुभो । यसको संगीत चीनमा भएको ओलम्पीकमा बजेका राष्ट्रगानको धूनमा टप १० मा समेत छानियो । अम्बर गुरुङ जत्तिको ठूलो संगीतकार नेपाली समाजमा अहिले सम्म जन्मेको छैन । यस्ता महान संगीतकारको चेली झूमाले दाजुकै संगीतमा गीतहरू गाउँन पाउँनु सौभाग्यको कुरा हो । आदि ।

बक्ताका रुपमा प्रोफेसर अभि सुवेदी, वरिष्ट गीतकार रत्न सम्शेर थापा, वरिष्ठ गीतकार तथा जनकवि दुर्गालाल “खोबिलो” समेतले अम्बर गुरुङको योगदानको चर्चा गर्दै अम्मर संगीतको उत्तराधिकारी हुन थालेकोमा झूमालाई बधाई पनि दिए । कार्यक्रमको अन्तमा कमलमणी दिक्षीतलेम अम्बर गुरुङको लोभलाग्दो उचाईकासामु नतमस्तक स्यालुट गर्छु । आज जगदम्बा पुरस्कारले मैले सम्मानित गर्न पाएका दुर्गालाल, रत्न सम्शेर र अम्बर गुरुङ मेरै यो यलमाला केन्द्रमा तीनजना उपस्थिति हुँदा र झूमाजस्ती गायिकाको मधुर स्वर गुन्जायमान हुँदा यो केन्द्रको धर्ती पनि पवित्र बनेकोछ ’भनेर सभा विसर्जन गरे ।

अन्तमा तिखेदेवलका सुनिता वनेम लगायत हाम्रा भदैनीहरूले याङबेनसँग पकाएको पोर्कको सितन र तिनपाने सङलो सगुन-पान गराएर मैझारु गरिएको कार्यक्रम बरिष्ठ गायक दीप श्रेष्ठले औधी मनपरेको कुरा गरेका थिए ।

“खासाम” :  एक दिन झुमाले भनिन् – म ४-५ वर्षदेखि लिम्बु गीत-संगीतमा काम गरिरहेछु । रेकर्डिङ पनि भईरहेकोछ । यसबारे अलि छलफल गर्नु पर्‍यो ।

म – किन गरेको यस्तो काम?

झूमा – म जतिको संगीतमै लागेको र भाषा पनि बुझ्नेले नगरे, कसले मात्र दस्तावेजीकरण गरिदेला ? कसैले नगरे नेपालको यो हाम्रो सम्पदा नै नासिएर वा मरेर जाला भनेर गरेको ।

हामी बस्यौँ । संगीत त मेरो विषय भएन । सबै गीतका शब्द, वाक्य र थीमहरू सुनेँ । सबै सुनिसकेपछि हाक्पाराभित्रको मन्धुम अलि कमजोर देखियो । रेकर्डिङ भईसक्यो । के गर्ने अब? भनेर झूमाले भनिन् । छलफलबाटै – ‘फेरि एकपटक ईलाम, पाँचथर र ताप्लेजुङ हाक्पारामा गाईने मुन्धुमलाई रि-भेलिडेट गर्ने र रि-राइटिङ तथा रि-रेकर्डिङ गर्ने’ निर्णय भयो । फिल्डमा खोज्नु-बुझ्नु पर्ने चेकलिष्ट तैयार भयो । टेपरिकर्डर बोकेर झूमा हामीले स्याम्पल गाउँ-ठाउँतिर फिल्डको काम गर्न हिँडिन् । फिल्डको काममा कवि प्रकाश थाम्सुहाङले पनि सघाए । फिल्डमा आईपरेका ईस्सुहरू फोनमै कहिले अबेलासम्म हामी चलफल गर्थ्यौँ । ताप्लेजुङको भारतीय पेन्सन अफिसको कार्यालयमा झुमा बसेको बेला हाम्रो गज्जबको लामो छलफल हुँदा हामी बेस्सरी सन्तुष्ट र दंग परेका थियौँ ।

झुमा फिल्डबाट आईन् । फेरि हाक्पारामा गाईने मुन्धुम थपथाप लेखन कार्य गरेर पूर्णता दिने र पुनः रेकर्डिङ गर्ने काम भयो । यसको अंग्रेजी अनुवादको काममा कवि तथा अंग्रेजीका शिक्षक मनप्रसाद सुब्बा (बिजनबारी, दार्जिलिङ), समालोचक तथा अंग्रेजीका प्रा. गोबिन्द भट्टराई (त्रिविवि, किर्तिपूर) र  वकिल तथा अंग्रेजीका प्रा. मोतीकला सुब्बा देवान (त्रिविवि, नेपाल ल क्याम्पस)ले सघाए भने सिरिजंगा लिपीमा ट्रान्स्क्राईब गर्ने काम कवि स्वप्नील सस्मृतीले गरेर सघाए ।

“खासाम” एलबममाथी ‘छलफल कार्यक्रम’ पनि आयोजना भयो । प्रा. अभि सुवेदी र मैले छलफल कार्यक्रम (यलमाया केन्द्रको हलमा) सन्चालन गर्‍यौँ ।  यी दुई एलबमको काम र लामो समयदेखि झूमासँगको मेरो नजिकको उठबसले होला झूमाका बारेमा ‘प्रोफाइल लेख्न’ लेखिदिन नागरिक दैनिकका अमृत भादगाउँनेलेबाट अनुरोध आयो र मात्र यो लेख तैयार भयो । नत्र लेख लेख्न सोचेकै थिईन । अब झूमाको योगदान र गर्न बाँकी रहेको कुरा बारे थुरै भन्छु ।

झूमाको योगदानः सबैले संगीत सिक्छन्, संघर्ष गर्छन्, गाउँछन्, चिनिन्छन्, एलबम निकाल्छन्, कमाउँछन्, बिहे गर्छन्, घर बनाउँछन् । परन्तुमा केही ‘नयाँ काम’ गर्नेको ईतिहासमा नाम लेखिन्छ । ‘बिजिनेश एयाज युजुवल’ मात्र गर्नेलाई ईतिहासले गन्ती गर्दैन । झूमाको मुल्यांकन गर्ने बेला त भईसकेको छैन, अझै सकृय रुपमा काम गरिरहेकी छिन् । आउँदा दिनमा धेरै योगदान गर्न पनि सक्छिन् या “खासाम” नै उनको सबैभन्दा महत्वपूर्ण योगदान हुन पनि सक्छ । तथापी, आजको मिती सम्ममा झूमाले नेपाली संगीतमा के “नयाँ काम” गरिन त? भनेर छलफल गर्न सकिन्छ । निश्चित समयावधीको किल्ला ठोकेर कसैबारे समालोचना वा मुल्यांकन गर्ने स्थापित प्रज्ञिक विधी पनि चलेकै विधी हो ।

तथ्यांक: झूमाका अहिलेसम्मको सांगितिक पौरखका रुपमा तीन एलबम (१। ए साइँला, २। अमर संगीत र ३। खासाम) तथ्यांकका रुपमा छन् । पहिलो एलबम त संगीत भनेको के हो भन्ने केही थाहै नपाई “रहर”मा निकालेको हो भनेर झूमाले आफै भनेकोले यसमा नयाँ कुरा खोज्ने र योगदान खुट्याउँनेतिर म लागिन । तेसो त, ‘जीवनको पहिलो एलबम’ले सांगीतमै केही गर्ने हौसला बढाएको र संभावित गायिकाको रुपमा समेत झूमलाई चिनिने गरी उभ्याएको हुनुपर्छ भन्ने प्रमाणको रुपमा सगरमाथा रेडियो कार्यक्रम प्रस्तोता दीपकराज पाण्डे (हाल अष्ट्रेलिया)ले मसँग झूमाबारे गरेको चर्चाबाट पनि मैले अन्दाज लगाएको हो । गीत-संगीतको समाजमा पहिलो एलबमले झूमालाई चिनाएको हुनु पर्छ । कर्मयोगीहरूलाई यस किसिमका उर्जाले नै थप उचाईतिर बढ्दै जान सघाउँने कुरा निर्विवादछ ।

“अम्बर संगीत” एलबममा अम्बर गुरुङले रचेका (एउटा गीत रत्न शम्सेरको रचना) र अम्बर गुरुङले नै संगीत भरेका गीतहरू रहेकाछन् । एउटा गीत “ज्याज” संगीत-तालमा गाईएकोछ भने अरु भारतीय शास्त्रीय संगीतमा नेपाली लोक लय र अम्बर संगीत फ्युजन गरिएकाछन् । वाद्यवादनमा पनि भारतीय तथा पाश्चात्य र थोरै नेपाली बाजा प्रयोग भएकाछन् । मानवीय संवेदना, देश प्रेमका भावना र मायाजालका आवेगहरू गीतका विषयवस्तु बनेकाछन् । तर, यसमा “ठूला गीतकारहरूले रचेका र ठूलै संगीतकारले संगीत भरेका, संगीतको राम्रो ज्ञान हासिल गरेर प्राविधिक दृष्टिले उचित तरिका अपनाएर गुरुको निर्देशनमा झूमाले गाएकिछिन् भन्ने मात्र भयो । नयाँपन भन्दापनि गुरु-चेलीको आपसी आदर-स्नेहको प्रतीक बनेकोछ यो एलबम । गायनमा परिस्कार पक्कै आएकोछ । यो एलबमको काम सम्पन्न गरेपछि झूमाभित्र ‘म्युजिकल बब्बल’ थपिएको र कन्फिडेन्स बढेको त छ । तर सबैतरि बिछट्टै “नयाँ कुरा” खोज्ने कुरा पनि भएन ।

झूमाको तेस्रो एलबम “खासाम” (लिम्बुः सभ्यता) मात्र यस्तो एलबम हो जुन नेपालमा कसैले नगरेको र ‘एथ्नो म्युजिक’ भन्न सकिने पहिलो “मानक” एलबम तथा नेपालको अमुर्त साँस्कृतिक सम्पदाका रुपमा यूनेस्कोले आर्काईभ गरेर राख्नै पर्ने साँस्कृतिक अभिलेख बनेकोछ ।

“मुन्धुम संगीत”: अध्ययन अनुसन्धान गर्दा नयाँ कुरा पत्तो लाग्ने र तिनलाई सैद्धान्तिकिकरण गरेर नयाँ सिद्धान्त प्रतिपादन हुने, केही नयाँ कुराहरु उजागर हुने हुन्छ । झूमाले “खासाम”को काम गर्ने शिलसिलामा नै “मुन्धुम संगीत” भन्ने नयाँ शब्द पनि क्वाईन गरिन् । “मुन्धुम संगीत” एउटा छुट्टै संगीत हो भनेर झूमालेभन्दा पहिले ‘क्लेम गर्ने’ आँट कसैले गरेका थिएनन् । लिम्बु समाजको साँस्कृतिक नीधीको रुपमा रहेको गीत, संगीत र गायन कलाको विछट्टै-छुट्टै आफ्नैपन छ यसलाई “मुन्धुम संगीत” भन्नु पर्छ भन्ने कुरा झूमाले “खासाम”को अनुसन्धानको सिलसिलामा स्थापना गरेको नयाँ ‘हाईपोथेशिस’ थियो । यसैलाई ‘सब्स्टानशियेट’ गर्न “खासाम”का गीतहरू तथ्यांकका रुपमा दस्तावेजीकरण गरेर प्रस्तुत गरेकिछिन् । मेरो तर्फबाट भन्ने हो भने झूमाको ‘क्लेम’लाई प्रमाणित गर्न पुग्नेगरी तथ्यांकका रुपमा गीतहरू दस्तावेजीकरण भएकाछन् । जसको आधारमा लिम्बु गीत-संगीत परम्परालाई “मुन्धुम संगीत” भन्न मिल्छ भनेर मेरो एक भोट दिनेगरि म ‘कन्भिन्स्ड’ छु ।

कुनै पनि अध्ययन-अनुसन्धानमा र सृजनामा थप नयाँ सृजनाको वीउ छर्ने ‘सृजनात्मक शक्ती’ पनि हुन्छ । झूमाको यो नयाँ ‘हाईपोथेशिस’ अनुसार लिम्बु गीत-संगीतलाई “मुन्धुम संगीत” भनेझैँ  गुरुङको गीत-संगीतलाई “घाटु संगीत”, मगरको गीत-संगीतलाई “सोरठी संगीत” “मारुनी संगीत” “चुड्का संगीत” “झाम्रे संगीत”, तामाङहरूको गीत-संगीतलाई “सेलो संगीत”, “डम्फु संगीत” आदि जस्ता अनेक नेपाली माटोको सुगन्ध भरिएका साँस्कृतिकगत संगीतका ‘जेनेयर’हरूको पहिचान र विकास गरेर नेपालकै विशिष्ट सम्पदाका रुपमा आर्काईभ गरिनु पर्छ । संगीत स्कुलहरूका पाठ्यक्रमहरूमा राखेर पढाईनु पर्छ भन्ने बहसमा सृजनात्मक उर्जा थप्नेछ भन्नेमा म ढुक्क छु ।

हाक्पाराः “मुन्धुम संगीत”का अनेक रुप आजसम्मै लिम्बु समाजमा जिवित रहेका परम्परागत अदृश्य साँस्कृतिक सम्पदा हुन् । “खासाम”मा समाबिष्ट पहिलो “हाक्पारा”ले सिँगै ब्रह्मान्ड, यो धर्ती-दुनिया-जगत तथा बनस्पती र प्राणीको सृष्टीजस्ता गंभीर “मुन्धुम”लाई बिशिष्ट किसिमको शैलीमा लय हालेर कहन्छ । “हाक्पारा”लाई “मन्धुम संगीत”को “परम्परागत शास्त्र” पनि भनिन्छ । हाक्पारा गायनमा पारंगत भएको गायकले जस्तोसुकै गीत गाउँन सक्ने महारथ हासिल गर्छ भनि दावा गरिन्छ ।

“खासाम”माथीको छलफल कार्यक्रमका दिन नेपालका वरिष्ठ सँस्कृतीविद सत्यमोहन जोशीले यही “हाक्पारा” गायनमा आधारित भएर “मुन्धुम संगीत” सम्पूर्ण कोस्मोस(खगोल), धर्ती र दुनियाको सृष्टीको गीत रहेछ । लिम्बु समाजको हाक्पारा यति शसक्त छ भनेर यही एलबम सुनेर थाहा पाईयो भनेर यस्तो संगीतको गंभिरतालाई गाएकोमा झूमालाई बधाई पनि दिनु भयो र नेपालको यो अदृश्य साँस्कृतिक सम्पदालाई यूनेस्को  र नेपाल सरकारले तुरन्तै आर्काईभ गर्नु पर्ने विचार पनि राख्नु भयो ।

जोशीका यी कुरामा सहमत हुँदै तात्कालिन नेपाल प्रज्ञाप्रतिष्ठानका कूलपति तथा वरिष्ठ कवि र याकथुङ मुन्धुमविद वैरागी काइँलाले “लिम्बुहरूको मुन्धुम परम्परा सामजिक संविधान र नियम कानुन वा कष्टोमरी ल हो । नेपालको संबिधान र कानुनबिना पनि लिम्बुहरू बाँच्न सक्छन् होला तर मुन्धुमका नियम बिधान बिना लिम्बु समाज चल्न सक्दैन । मुन्धुमले नै लिम्बु समाजलाई बाह्रै महिना के कसरी समाज सन्चालन र व्यवस्थापन गर्नु पर्छ भनेर निर्देशित गर्दछ । के कस्तो मुल्य मान्यतामा आधारित अनुशासनमा बस्नु पर्छ, बोल्नु पर्छ, व्यवहार गर्नु पर्छ भनि सिकाउँछ ।“ भन्ने बिचार राख्दै मुन्धुमजस्तो गंभीर विषयलाई स्वरमा लिपिवद्ध गरी अभिलेखिकरण गरेकोमा झूमालाई स्याबासी दिए ।

सोघा नाप्मा मुन्धुमः “सोघा ना;प्मा मुन्धुम” पनि अकाल मृत्यूका कारण अतृप्त बनेको आत्माको कुशल व्यवस्थानको विधीविधान गरेर मनोवैज्ञानिक समस्याको मैझारु गर्ने मन्त्रजस्तो “मुन्धुम” गाइएकोछ ।

सि?मेरिङ मुन्दुमः “सि?मेरिङ मुन्धुम”ले आफ्नो बच्चाको मृत्यले गर्दा शोक संतप्त तथा विछिप्तमानसिक अवस्थाको व्यवस्थापन गर्ने मनोवैज्ञानिक चरणगत विधी प्रस्तुत गरेकोछ ।

ख्यालीः “ख्याली”मा युवा युवतीहरू (हाट बजार मेला-उत्सबतिर) भेटघाट हुँदा उच्च सिष्टाचारताका साथ ‘कवितात्मक वार्तालाप’ गरेर सभ्य किसिमले चिनजान गर्ने, साइनो केलाउँने र साइनो लागे सोही अनुसार संबोधन-ढोग-भेट गर्ने । साइनो नलागे कुल-कुटुम्बले गर्ने मुल्य र मान्यताका आधारमा ‘धान नाच्न” प्रस्ताब गर्ने गरिन्छ । यो एक किसिमले प्रथाजनित कानुनका रुपमा रहेको समाज व्यवस्थापन विधी हो जसले लिम्बु सँस्कृतीका रुपमा सँस्थागत भएर समजा सन्चालनमा मद्दत गरिरहेको हुन्छ ।

पालामहरूः “खासाम”मा समेटिएका “पालाम(हरू)” लिम्बु गीत-संगीतका फरकफरक भौगोलिकवैशिष्ट्यताका (फेदाप्पे, चारखोले र तम्मरखोले) नमुना हुन् । यिनमा आ-आफ्नो रस्ती-बस्तीमान-परम्परा-ईज्जत र मानवीय माया पृती तथा अधिकारका गाथा गाइएकाछन् । आफु जन्मेको जमीन या थात्थलोको माया र मानव बीचको माया पृतीहरूलाई गीतका रुपमा गाउँदा नै कुनै पनि मानिसमा देशभक्तीको भावना हुर्कने हुन्छ । पालामहरूले आफ्नो जमीनको झरना-छहरा, सुख-दुःख, जीवन-जगत, ईष्ट-मीत्रहरुका गाथा गाउँन र त्यसमा गौरब गर्न सिकाउँछन् । यिनै जीवनका अत्यन्तै गंभीर तर मुटुका धडकनमा बसेका विषयवस्तुहरू समेट्ने “पालाम” लिम्बु समाजको र प्रकारान्तरले सिंगो नेपालकै सम्पदाका रुपमा “खासाम”  मा दस्ताबेजिकृत भएकाछन् जसलाई”मुन्धुम संगीत”कै अंश मानिएकोछ । झूमाले ठाउँ ठाउँमा सांगितिक कार्यक्रममा “मुन्धुम संगीत” सब्द प्रयोग गरिरहेकिछिन् र यसले विस्तारै सबै विद्वत वर्ग, अध्येता, सन्चार कर्मीहरूका जिब्रोमा जरा हाल्न थालेकोछ ।

“खासाम”मा छलफलका दिन नेपालका वरिष्ठ साँस्कृतीविद प्रा. तुलशी दीवसले नेपाली ‘लोक वार्ता(फोकलोर)’को क्षेत्रमा “मुन्धुम संगीत” मार्फत लिम्बु समाजको जीवन दर्शन “खासाम”मा अभिलेखित गर्ने सुन्दर कार्य झूमाले नै पहिलो पटक गरेको विचार राखेका थिए । यही दिन,काठमाण्डु विश्वविद्यालयका ‘एथ्नोम्युजिकोलोजी’का प्राचार्य डा. लोचन रिजालले ‘एथ्नो म्यूजिक’हरू कसरी अभिलेखिकरण गर्न सकिन्छ भन्ने कुराको एक नमुनाका रुपमा “खासाम” तैयार भएकोमा खुशी व्यक्त गरे । ललित कला क्याम्पसकी प्राचार्य संगीता प्रधान राणाले आफ्ना विद्यार्थीहरूलाई ‘लोक संगीत’लाई कसरी अभिलेख गर्नु पर्छ भन्ने कुराको जानकारी दिने उदाहरणका रुपमा “खासाम” तैयार भएको रहेछ । म मेरा हरेक विद्यार्थीलाई यसलाई सन्दर्भ सामग्रीका रुपमा सुन्न र पढ्न प्रेरित गर्नेछु । यो कामले मेरो संगीतको प्राज्ञिक प्रशिक्षणमा समेत योगदान गरेकोमा झूमालाई धन्यवाद र बधाई दिन चाहान्छु भनेर सन्तोष व्यक्त गरिन् ।

यही सिलसिलामा प्रोफेसर अभी सुबेदीले ‘नेपालका रैथाने सभ्यता भनेका किराती, सनातनी र वौद्धसभ्यता हुन् । “खासाम” किरात सभ्यता मध्ये लिम्बु समजाको साँगितिक पक्षको एक आधिकारिक दस्ताबेजका रुपमा तैयार भएको छ । यो हरेक गीत-संगीतमा लाग्ने गायक र अध्येताहरूले सुन्नै पर्ने र पढ्नै पर्ने सन्दर्भ सामग्री बनेको छ भनेर आफ्नो विचार व्यक्त गर्दै अरु जातजातिको पनि यसरी नै साँस्कृतिक अभिलेखहरू तैयार गरेर नेपालको साँस्कृतिक सम्पदाको भण्डार भर्नु पर्छ भनेर बोलेका थिए ।

थाँती कुरा: “मुन्धुम संगीत”का सबै अवयवहरूको अध्ययन गरेर छुट्टै ‘मुन्धुम संगीत व्याकरण’ लेख्ने काम गर्नु पर्छ भन्ने ‘नयाँ बहस’ झूमाले विद्वत वर्गसामु अघि सारिन् । यसका निम्ती शायद,भारतीय, चिनीया र जापानिज गायनका आधारभूत व्याकरणहरूको समेत तुलनात्मक अध्ययन गरेर नयाँ सृजान गर्ने वा मिल्छ भने तिनैका धेरै कुरा लिएर “मुन्धुम संगीत व्याकरण” लेख्ने काम आउँदो दिनमा गर्नु पर्नै देखियो । यो र यससंग सम्बन्धित अनेकौँ र विस्तृत पक्षहरुकोगंभीर छलफल तथा अध्ययन-अनुसन्धान गरेर निर्क्यौलमा पुग्न सकिन्छ । “मुन्धुम संगीत”लाई वैज्ञानिक किसिमले परिभाषित तथा स्थापित गर्ने काम झूमा लगायत विदेशी र नेपालका संगीतविशेषज्ञ तथा अध्येता, विशेष गरेर किरात तथा लिम्बु समुदायका संगीत सन्धाताहरूको दायित्वको रुपमा रहेको कुरा मजस्तो एक संगीतको स्रोताले पनि महसुस गरेकोछु । यो काम सम्पन्न गर्नसके विश्व संगीत भण्डारमा “मुन्धुम संगीत” पनि मानवजातिको एक साँस्कृतिक पुँजीका रुपमा नेपालको तर्फबाट थपिएर सुरक्षित बस्नसके सन्सारभरका संगीत अध्येता र विद्यार्थीका निम्ती पाठ्य सामग्री हुने र नेपाली पहिचानको एक तत्व बनेर सबै नेपालीलाई गौरब महसुस गराउँनेछ भन्ने कुरामा म विश्वस्तछु ।

सन्दर्भ सामग्री

१। काइँला, बैरागी (सं.), २०५७, लिम्बू-नेपाली-अङ्ग्रेजी शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी, कठमाण्डौ, नेपाल ।

२। चेम्जोङ, ईमानसिं, २००३, किरात मुन्दुम (किरातको वेद), किरात याकथुङ चुम्लुङ केन्द्रीय कार्यालय, महालक्ष्मीथान, ललितपुरनेपाल ।

३। …………………………, History and Culture of Kirat People, Kirat Yakthung Chumlung, Central Office, Mahalaxmisthan, Lalitpur, Nepal

४। माबुहाङ, अर्जुनबाबु, २०६९, हरिश्चन्द्र माबुहाङ र भीम माबुहाङ

५। Subba, Chaitannya, 1995, The Culture & Religion of Limbus, K. B. Subba, Hattigaunda, Kathmandu, Nepal.

६। सुब्बा, चैतन्य, 2068, किरात दर्शन प्राचीन ज्ञानको आधुनिक चर्चा, दर्शनावली (सं. विष्णु प्रभात), नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादी कामाण्डौ, नेपाल ।

७। http://en.wikipedia.org/wiki/Main_Page, Music

८। http://allindiaradio.gov.in/default.aspx

९। http://jhumalimbu.com/

१०। https://www.youtube.com/watch?v=whs70kWXk6E

११। http://chumlung.org.np/

१२। http://www.chumlungcanada.org/

१३। https://www.youtube.com/watch?v=c0hHkPbCEbI

[1] भन्नाले – पूर्व नेपालको लिम्बु-राई, मेचे-धिमाल, जिरेल-तामाङ र मध्य नेपालको नेवार, पश्चिम नेपालको गुरुङ-मगर, तराईको थारु, मैथिली, भोजपुरी, अवधी र कर्णाली क्षेत्रको खस लोक गीत-संगीतलाई बुझ्नु पर्दछ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.