~मोहन बन्जाडे~
सभ्यता समाप्त पार्न
संस्कृति ध्वस्त पार्न
पूर्वजको सेखी झार्न
सन्ततिलाई दास बनाएर
बलिन्द्रधारा रुवाउन
पराइले थोपरेका आहालमा चुर्लुम्म डुबेर
आफैलाई बहालमा लगाएर
सिक्सिकाउदै कन्याउदै
तिमी निर्बिघ्न बस्तीहरुमा गएर
मनमा लुतो सार्दै छौ
विश्वासमा लुतो सार्दैछौ –
लोभको लुतो
लालचको लुतो
कुण्ठाको लुतो
घृणाको लुतो
क्रमस: उकुच पल्टदै छ लुतो
उकुसमुकुस पार्दै तन मन
आवरणहरुले छोपेर
कहिले मानवाधिकारको
कहिले सेवाको
कहिले सहिष्णुताको
कहिले जातको
जे भन्दा आफ्नो सर पर्छ
त्यही भनेर
भित्र भित्रै कन्याउने भन्दै
जसलाई उचाल्न सकिन्छ उचालेर
जसलाई फुटाउन सकिन्छ फुटाएर
कसैप्रति द्वेष फैलाउन लगाएर
तिमी कन्याउने बहानामा
कुहाउन खोज्दैछौ
तिमी फलाउने नाममा
गलाउन खोज्दैछौ
यता अब लुतो सार्नेहरुलाई
लक्षित गरेर
मानिसहरु
साउने सक्रान्तिसंगै
तिम्रो लुतो पन्छाउन
पंक्तिवद्ध हुदैछन्
जोरजाम गरेर आफै
एकता, समन्वय र सद्भाव
तिम्रो छलछाम विरुद्ध
डाँडा कटाउन तिमीले सिर्जेको बेथिति
आगोसंग पनि जिस्किदै छन्
र त तिनीहरु
हात हातमा
अगुल्टो लिएर निस्कदै छन्|