~निलिमा पुन~
हुर्केका सन्तान परदेशी भए
पराइले देशमा आगो सल्काए
खुशीमै सारा सन्तान जन्माएँ
आपतमा आज एक्लै भएँ
कोही अरबमा मारिएका छन
कोही मलेसियामा बलात्कृत छन्
कोही अमेरिकामै हराएका छन
कोही बम्बैमा बेचिएका छन्
कोही समुद्रमा जोखिम मोल्दैछन्
के सुख भयो र आज मलाई
सन्तानको रहर मात्रै भो
एक्लै एक्लै हेपिँदा यहाँ
साथ दिने को पो रह्यो ?
देश बनाउँछु भन्नेहरू आफै बने
संसार सजाउँछु भन्नेहरू आफै सजिए
रक्षक बन्छु भन्नेहरू भक्षक भए
के सन्तोष भयो र आज मलाई घ्
सन्तानको रहर मात्रै भो
मेरो छाती टुक्रा टुक्रा पार्दा
खबरदारी गर्ने को पो भयो ?
संसारभरि सन्तान छन भनेर
गर्व गर्न पाएको खै ?
देश समृद्ध भयो भनेर
गौरव गर्न पाएको खै ?
चेलीहरू सुरक्षित छन् भनेर
ढुक्क बस्न पाएको खै ?
सबैले सुख पाए भनेर
सँगै रमाउन पाएको खै ?
के शान्ति मिल्यो र आज मलाई
सन्तानको रहर मात्रै भो
मेरो अस्मिता लुटिँदा
सुरक्षा दिने को पो भयो ?
एउटै प्रश्न छ, तिमीलाई
मेरो सुरक्षा गर्न,
मेरो अस्मिता जोगाउन,
मलाई लुछ्ने बैरी भगाउन,
तिमी कहिले फर्किन्छौ ?
भन, तिमी कहिले फर्किन्छौ ?
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ३८ – Aug. 26, 2015 – २०७२ भाद्र ९ गते)