कथा : निदाइरहिछन् माई

~प्रगति राई~Pragati Rai

आदिकथा

सृष्टि तथा मानव सृष्टिको बिन्दु कुन हो, हामी कसैले पनि भन्न सक्दैनौं । विज्ञानले पनि अनुमान र केही सम्भावित तथ्यलाई आधार मानेर यस्तो थियो भनी बताइदिन्छ । प्रश्नको जवाफ नभेट्टाएपछि ईश्वर निर्माण गर्छौं र त्यसैमा आफ्नो सारा अस्तित्व झुन्ड्याइदिन्छौं । हाम्रो कौतूहलको सार नखोज्दासम्म त्यो ईश्वरत्व बाँचिरहन्छ । यसरी नै सत्य नभेटाइएका रहस्यहरूलाई ईश्वरमा झुन्ड्याएर जीवन सरल बनाउन खोज्छौं । हाम्रो सजिलोका लागि बनाइएका आहानहरू र जीवनसँग केही मिल्दाजुल्दा तथ्यहरूलाई जीवन बनाई हेर्न अभ्यस्त छौं ।

हरेक जीवन बालापन, यौवन र वृद्धावस्थाबाट गुज्रिएर सकिन्छ । तर, समाजमा प्रायः यौवनावस्थाको मात्रै व्याख्या गरिन्छ किनभने त्यो जीवनको सक्रिय समय हो । त्यसैले होला कल्पनाको गर्भमा पनि यौवनावस्थाकै तस्बिर हुन्छ ।

जस्तै-एकादेशमा एउटा रूख थियो, त्यहाँ बेस्सरी फलहरू लागेका थिए । एकादेशमा एउटा बगैंचा थियो, त्यहाँ बेस्सरी फूलहरू फुलेका थिए । एकादेशमा एउटी सुन्दरी थिइन्, तिनी मस्त तरुनी र अत्यन्तै राम्री थिइन् आदि इत्यादि । फूल फुलेको बगैंचामा उम्रिँदै गरेका फूलका बोटहरू वा तरुनी बन्दै गरेकी सानी फुच्ची केटीको तस्बिर हाम्रो कल्पनाको पर्दामा धमिलोमात्रै बनिबस्छ ।

मूल कथा

यो कथा पनि त्यस्तै एक युवतीबाट सुरु हुन्छ ।
ती तरुनी थिइन् । हिमालको हिउँ खाएरमात्र तिर्खा मेट्थिन् । अग्ला रूखका मात्र फल खाएर पेट भर्थिन् । सबैभन्दा ठूलो गुफा उनको आरामगृह हुन्थ्यो ।

एक दिन आराम गरिरहेको समयमा वरिपरि जनावरहरू लडाइँ गर्न लागे । चराचुरुंगीहरू लडाइँ गर्न लागे । उनी क्रोधले उठिन् । सधैं प्रयोग गर्ने गरेको रूखको लाठो हातमा लिएर बाहिर निस्किन ठूला जनावरले साना जनावरलाई लखेटिरहेका थिए । तिनले ठूलालाई लखेटेर सानालाई बचाइन् अर्थात् हार्नेको पक्ष लिइन् । जित्नेहरू युवतीको प्रहारबाट भागाभाग भए र हार्नेहरू उनको वरिपरि झुम्मिए । त्यहाँ एउटा समाज निर्माण भयो ।

उनी फेरि आराम गर्न गुफातिर लागिन् । उनको समाजले झुम्मिएर पछ्याउन लागे । ती पनि गुफासम्मै पुगे । उनी लामो निद्रा निदाइन् । उनको समाज युवती मरिन् भन्ठानेर चिच्याउन लाग्यो । उनलाई भर्खर निर्मित समाजको आत्मा देखेको अनुभूति भयो । तिनी ‘मा’ भन्दै चिच्याएर ब्यूँझिन् । उनी ब्यूँझिएको देखेर उनको समाज अचाक्ली खुसी भएर उनलाई सुम्सुम्याउन लाग्यो । चराले आफ्नो प्वाँखले स्पर्श गरे । जनावरले गर्दनका रौँले स्पर्श गरे । उनका विभिन्न अंगमा जिब्रोले स्पर्श गरे । भित्रभित्रै सिरिङसिरिङ खालको अनौठो कम्पन सुरु भयो । शरीरमा काँडा उम्रिएर रगत झन्झन् तातियो । सास झन्डैझन्डै रोकियो ।

युवती छक्क परिन् । आफूप्रति समाजको प्रेम देखेर उनी भावविह्वल भइन् । साथै उनीहरूको प्रेमिल स्पर्शले अनौठो अनुभूति दिलायो । उनलाई अब कहिल्यै नलागेको प्यास कहिल्यै नलागेको छटपटीले सतायो । यसको निदान केले होला भनी अर्काे यथार्थ खोज्न लागिन् । अर्को विम्ब खोज्न लागिन् । अत्तालिएर तिनले छेउको सगरमाथा पनि देखिनन् जहाँ सधैं उनी शीतल हावामा सुस्ताउँथिन् । उनी सगरमाथा खोज्न हिँडिन् तर छेवैमा रहेछ ।

त्यसैमा ठोक्किएर लडेपछि बल्ल थाहा पाइन् । अनि पो लजाइन् । लाजले उनी त्यसै उत्तानो परिरहिन् । जनावरहरूले युवती भुइँमा लडेको देखेर फेरि प्रेमले मुसार्न थाले । चाट्न थाले । तिनले कोल्टो फेरिफेरि जीउ थापिन् । आफूभित्र उम्लिएको तातो वाफ नपोखिन्जेल तिनी भुइँमै लडिरहिन् । उनी असिनपसिन् भइन् । र केही क्षणमा शीतल भयो ।

थामिरहेको आकाश उता पल्तिर बिसाएझैं जोड हलुका भयो । उनी भुस्सै निदाइन् । जनावरहरू फेरि चिच्याउन लागे, मा माईईई भन्दै । साना बच्चाबच्चीहरूले मा माई भन्न नजानेर आ आईई गर्दै आमालाई सघाउन लागे । युवतीलाई एक किसिमले झर्को लाग्यो र उठिन् । उनले जनावरहरूलाई मन पर्ने डालाहरू लाछिन्, चराचुरुंगीलाई आफूले खान राखेको फलफूल खान दिइन् । उनीहरू खानामा भुल्न थालेपछि फेरि सुटुक्क गुफाभित्र पसेर निदाइन् ।

आँखा चिम्ममात्र के गरेकी के थिइन्, रात सक्किएर बिहान भएछ । उठेर जीउ तन्काइन् । उनको जीउ सधैंभन्दा सफा थियो किनभने उघिल्लो दिन जनावरहरूले दोहोर्‌याई–तेहर्‌याई चाटेका थिए । उनी गुफाभित्रबाट बाहिर निस्किन् । म पनि उठ्न सक्छु कि झैं लागेर डिलबाट उफ्रिन् तर लडिन् । तिनी उफ्रिएको देखेर उग्राउँदै बसिरहेका जनावर तर्सिएर उठे । त्यो देखेर उनी हाँसिन् । उनको हाँसोले चराहरू डाला छाडेर उडे । फेरि जनावरहरूलाई डाला भाँचेर दिइन् ।

चराहरूलाई खाने कुरा दिइन् । सबै वरिपरि झुम्मिए ।
यसरी नै दिनचर्या बित्न थाले । जहाँतहीँ डुलिरहने युवतीको अब दलबलसहितको परिवार बन्यो । उनीहरू जंगल पहाड चौरको विचरण जत्थाका साथ डुल्न लागे ।

रहँदाबस्दा जनावरहरूका ससाना बच्चाहरू भए । पाठीहरू पनि रमाएको युवतीले देखिन् । चराका बचेरा भए । भालेपोथी उसै माया गरेको देख्न थालिन् । वनमा अस्ति भरखर फुलेका फूलहरूमा कोसा लागेर भुइँमा झरी बिरुवा उम्रिएको पनि विचारिन् । अब युवतीलाई पनि उसैगरी भाले बच्चा भएको आफूलाई हेर्न चाहिन् ।

युवतीले चराहरूसँग आफ्नो भाले बच्चा नभएको गुनासो पोखिन् । जनावरहरूसँग गुहार मागिन् । फूलहरूसँग सोधिन् । फूलहरूले भने, ‘तिमी पनि राताम्मे नै फुल्छौ तर तिम्रो भाले छैन । त्यसैले तिम्रो फूल फूलमात्र रहन्छ । कोसा लाग्दैन । तिमीजस्तो अर्को यौवन उम्रँदैन ।’

युवतीले उत्सुकताका साथ सोधिन्, ‘खै त तिम्रो भाले ? ‘ उनले भनिन्, ‘मेरो भाले त भमराले खोजेर ल्याइदिन्छ ।’ युवती भमराकहाँ पुगेर भनिन्, ‘मलाई पनि फूललाई जस्तै भाले खोजेर ल्याइदेऊ ।’

भमरालाई पर्‌र्या फसाद । अजम्बरीलाई अजम्बरी नै भाले चाहिन्छ । सुनगाभालाई सुनगाभा नै भाले चाहिन्छ । हे माई, यो युवतीलाई युवतीजस्तो भाले कहाँ भेटिएला ? भमराले धेरै बेर सोचेर भन्यो, ‘म प्रयास गर्छु ।’
‘प्रयास होइन, पक्का गर्नु पर्‌यो’, युवतीले जिद्दि गरिन् । भमराले अझै आश्वस्त पार्न सकेन । भन्यो, ‘प्रयास गरेर हेर्छु ।’
युवतीले फेरि सोधिन्, ‘भाले ल्याइदिँदा फूलले तिमीलाई के दिन्छ ? ‘

‘रस’, भमराले भन्यो ।
युवतीले भनिन्, ‘मसँग त रस छैन ।’
भमराले पनि युवतीलाई अप्ठ्यारो पार्ने सोचले भन्यो, ‘तिमीले पनि रस दिनैपर्छ है ।’
‘प्रयास गर्छु’, युवतिीले भनिन् ।

दिन बिते । महिना बिते । बिते साल पनि । न भमराले युवतीको भाले भेट्यो न त रस नै उमारिन् युवतीले ।
युवतीजस्तै दुईवटा गोडाले हिँड्ने भाले खोज्न भमराले सारा भमरालाई उर्दी जारी गर्‌यो । जसै भमराको संसारै उर्लेर भाले खोज्न हिँड्यो, दुईवटा गोडाले मात्रै हिँड्ने दुई थोक भेट्टायो । एक चरा तर चुचो मिलेन । घरिघरि बाँदर पनि दुईवटा गोडाले हिँड्दो रहेछ तर पुच्छर मिलेन । भमराहरूले समाचार ल्याए अलिअलि मिलेको तर ठ्याक्कैचाहिँ नमिलेको भनेर ।

यता युवतीलाई घरि भाले पाउने खुसीले काउकुती लाग्थ्यो त घरि भमरालाई दिने रस बनाउन नसकेकोमा पिरले मन भतभती पोल्थ्यो । सुन्दर भाले ल्याइदिए पनि रस दिन नसकेर फर्काई लग्यो भने ? छटपटीले युवती बुरुकबुरुक उफ्रिन्थिन् ।
राति फूल निदाएको बेलामा रस चुस्न जान्छु भनेर सोचिन् । रात पर्खिबसिन् ।

रात त पर्‌यो तर राति फूलहरू चम्चमाएर नाचेर पो रात काट्दा रहेछन् । मध्य दिनमा निदाउलान् कि भनेर कुरिन् । मध्य दिन भयो, फूलहरू झकाए तर हावाले पहरा दिँदो रहेछ । ज्या भएन, चोरेर कसको पो जीवन चलेको छ र ? तिनले आफैं रस बनाउने निधो गरिन् । रस त भएन रक्सी चैं पो भएछ । पहिले आफूले चाखिन् । रक्सीले मात्तिएर निदाइन् । त्यसै बखत भाले खोजिदिन नसकेकोमा लाजले भुतुक्क भएर भमरा युवतीकहाँ पुगेको थियो ।

युवती निदाएकाले गुफाबाहिरै कुरेर बस्यो । ठीक त्यही बेला भमराको भेट चरासँग भयो, भलाकुसारी भयो । युवतीलाई भाले खोजिदिन लागिपरे पनि असफल भएको दुःख उसले चरालाई सुनायो । यो सुनेर चराले भमरालाई सहयोग गर्ने भयो । चराले चरा जातका सबै पन्छीलाई गुहार्‌यो । चराहरू देशदेशान्तर उडेर युवतीलाई भाले खोज्न लागे ।

रात बिते । दिन बिते । महिना बिते । चराका भालेहरू लागिरहे । पोथीहरू टाढा जान भ्याएनन् । बच्चा कोरल्नु पर्‌यो नि त ।

युवती ब्यूँझिइन् । भमराले खाने रस खाँदा निदाइने रहेछ । त्यस कारण रस सुरक्षित राखिन् । तिनी फेरि रक्ताम्मे फुलिन् । चारपाँच दिनसम्म निरन्तर फुलिरहिन् तर पनि भाले खोज्ने भमरा फर्किएन ।

आफ्नी मा अर्थात् माईको त्यो हाल देखेर चरा पोथीलाई दया लाग्यो । उनले आफ्ना भालेहरू भमरालाई सहयोग गर्न महिना दिनदेखि लागिरहेको बताइन् ।

युवती खुसीले गद्गद् भइन् ।
‘चराहरूलाई सबैभन्दा मन पर्ने के हो ? ‘ पोथी चरालाई सोधिन् ।
पोथी चराले भनिन्, ‘अहिलेसम्मकै खानेकुराहरू धेरै भए चराहरू खुसी हुनेथिए ।’

युवतीले जंगल फाँडेर धेरै गेडागुडी छरिन् । पोथी चराले भमरालाई पनि फूलकै रस सबैभन्दा धेरै मन पर्ने भएकाले फूलको रस नै दिनु उचित बताइन् । युवती फूलसँग रस माग्न गइन् । रस लिएबापत फूलको बोटलाई मन पर्ने मल दिने वाचा गरिन् । मल लिन जनावरलाई मन पर्ने घाँस दिने वाचा गरिन् । आफ्नो मल दिँदा पनि फूल खुसी नै हुन्थ्यो तर धेरै दुर्गन्ध आउने भएकाले दिन उचित ठानिनन् । यसरी बोटबिरुवा अर्थात् जनावरहरूसँग युवतीको लेनदेनको व्यवहार सुरु भयो ।

नभन्दै महिना दिनपछि चराको एक हूल खुसीले दाहिने देब्रे वेग मार्दै आइपुगेर युवतीजस्तै दुई गोडाले हिँड्नसक्ने, भुत्ला नभएको थुतुनो पनि छोटो भएको प्राणी फेला परेको समाचार ल्याए । युवती खुसीले पागल भइन् । अब मेरो पनि चराकै जस्तो भाले हुने भो, बँदेलको जस्तै वीर हुने भो, बाख्रीको जस्तै बोको हुने भो, गाईको जस्तै गोरु हुने भो, खुसीले उनी बर्बराइरहिन् ।

यत्तिकैमा पोथी चराले ठुँगेर सम्झाइन्, ‘खोइ त भमराहरूलाई चराहरूलाई छुतिम्मा (भेटका दिइने खानेकुरा÷सगुन) गरेको ? ‘

युवतीले अनि पो सम्झिन् र तयार गरिराखेको खानेकुरा भण्डारबाट झिकेर दिइन् । पोथी चराले पनि बाँड्न सघाइन् ।
चरा भमराहरूले भोजन गरिसकेपछि फेरि अर्को सल्लाह भयो, ‘माईको भालेलाई कसरी ल्याउने ? ‘

सबैभन्दा छिटो दौड्ने घोडा म जान्छु भनी अघि सर्‌यो । नभन्दै अरू तीनचार घोडा साथ लिएर मुख्य घोडा सगरमाथाको फेदी पार गरेर एक दिन एक रात दौडिएपछि युवतीको भाले भए ठाउँ पुग्यो । घोडाहरूले छेकेर बोक्न खोज्दा भालेले दुईतीन घोडालाई बन्दी बनायो । दुईवटा घोडा भागेर युवती भए ठाउँ आइपुगे । त्यसपछि युवतीले बँदेललाई दुईचार साथी साथ लगाएर पठाइन् । बँदेलहरू पनि नाइँ मार्‌यो भन्दै भागेर आइपुगे । पर्‌यो फसाद ।

युवतीको समाजमा शोकमाथि शोक थपिन गयो । भाले रिझाउन नसकेकोमा युवती निराशाले शिथिल बन्दै गइन् । दिन बित्यो । रात बित्यो । महिना बित्यो । घाम मधुरो लागेजस्तै भयो । जून लागे पनि अँधेरोजस्तै भयो । युवती झोक्राएर बस्न थालिन् । आफ्नो माई झोक्राएर बसेको देखेर फेरि पोथी चराले नै उपाय निकालिन् । युवतीले बनाएको रस युवतीको भालेलाई दिने । ऊ जसै निदाउँछ ।

अनि बोकेर ल्याउने । यो प्रस्तावलाई युवतीले पनि हुन्छ भनिन् । अब घोडा, चरा र बँदेलहरू रस (रक्सी) बोकेर गए । त्यो भालेको छेउमा राखिदिए । तिर्खाएको भालेले तनतनी पियो । भाले बेहोश भएपछि घोडाहरूले बोकेर कुदाए । हप्ता दिन कुदाएपछि माई भए ठाउँ ल्याइपुर्‌याए । भाले पनि होशमा आयो । होशमा आउनासाथ युवती ठिंग उभिएको देखेर भाले फेरि बेहोश भयो । युवतीले पानी छ्यापेर ब्यूँझाइन् । ब्यूँझनासाथ उसले हतारहतार आफ्नो हतियार खोज्यो ।

हतियार त चराले बोकिदिएको थियो । परै थियो । बँदेल, घोडाहरू, गाईगोरु, चराहरू र युवतीले भालेलाई घेरेर राखेका थिए । भाग्छ भनेर छेकेको होइन । युवतीको भाले हेर्न सबै झुम्मिएका थिए । युवतीको भालेको त टाउकोमा लामो न लामो कपाल थियो । पिठ्यूँ कटेको, आँखीभौं बाक्लो, मैदानजस्तो छाती, गह्रैगह्रा परेको कस्सिएको पेट थियो । ऊ केराको बोटजत्तिकै अग्लो थियो । शरीरमा भने त्यति बाक्लो रौं थिएन तर कटहरको बोक्राजस्तो चिम परेको थियो ।

हतियार नभेटेपछि भालेले जथाभावी मुक्का हान्न थाल्यो । गोरु र घोडाहरू ढले । युवतीले भालेलाई रोकिन् । उसले युवतीलाई पनि मुक्का हान्यो । युवती ढलिन् । उठेर भालेलाई हानि नपुर्‌याई छेकिरहिन् । माईले आफ्नो पक्ष लिएको देखेर गोरु र घोडाहरू उत्साहित भएर भालेमाथि जाइलागे तर युवतीले रोकिन् । लडाइँ हुनबाट जोगाएकोमा चरा, गाई, घोडीहरू खुसी भए । गोरु र घोडाहरू भने रिसाए । अन्ततः गाई र घोडीहरूको कुरा सुनेर ती पनि चुप भए ।

मध्य दिनमा निदाउलान् कि भनेर कुरिन् । मध्य दिन भयो, फूलहरू झकाए तर हावाले पहरा दिँदो रहेछ । ज्या भएन । चोरेर कसको पो जीवन चलेको छ र ? तिनले आफैं रस बनाउने निधो गरिन् । रस त भएन, रक्सी चैं पो भएछ । पहिले आफूले चाखिन् । रक्सीले मात्तिएर निदाइन् ।

भाले बिस्तारै बिस्तारै युवतीसँग रत्तिँदै गयो । उसले जनावरहरूमाथि आक्रमण गर्न छोड्यो । जनावरहरू पनि खुसी भए । माईलाई जस्तै भालेलाई पनि निरन्तर चाटिरहे । भालेको चिम हराएर छाला चिल्लो भयो । गैंडालाई पनि सकसक लागेर युवतीले रोक्दारोक्दै पनि भालेको तालुमा चाटिदियो । भाले तल्लु भयो । यो देखेर युवती रिसाइन् ।

रहँदै बस्दै जाँदा युवतीले चराहरूसँग, जनावहरूसँग बोल्ने भाषा आफ्नो भालेलाई पनि सिकाइन् । ससाना चरा र जनावरहरूले युवतीलाई आई भनेर बोलाउँथे । ठूलाहरूले माई भनेर बोलाउँथे । भालेले के भनेर बोलाउने ? ऊ रनभुल्लमा पर्‌यो । अन्ततः उसले दुवै शब्द जोडेर आइमाई भनी बोलाउन थाल्यो । भालेले भाषा सिकेकोमा युवती फुरुक्क परिन् ।

केही समयपछि युवतीले पनि चरा, फूल, जनावरहरूले जस्तै बच्चा बनाउने, आफूहरूको पनि ठूलो हूल बनाउने इच्छा राखिन् । उनीहरू जनावरकहाँ बच्चा बनाउने तरिका सिक्न गए । जनावरहरूले खुबै मेहनतले सिकाए । तर, युवती र भालेले हुबहु सिक्न सकेनन् । त्यसैले उनीहरू चराहरूसँग सिक्न गए । त्यहाँ पनि दुरुस्त सिक्न सकेनन् । फूलहरूकहाँ सिक्न गए । त्यहाँ त झन् खेताला चाहिँदो रहेछ, त्यसैले सिकेनन् । अन्ततः झन्डैझन्डै उस्तैउस्तै गरेर आफ्नै शैली बनाए ।

युवती फेरि उसैगरी रक्ताम्य फुलिन् । फूलहरूको निर्देशनमा युवती भालेपोथीले सहबास गरे । जनावरहरूको निर्देशनमा बच्चा हुर्काए । जनावरको बच्चालाई हेरेर भालेले दूध खान सिकेछ । युवतीले दूध बच्चालाई मात्र दिन सिकेकोले भालेलाई दूधको साटो आफूले बनाएको रस (रक्सी) चुसुकचुसुक खान दिइन् ।

एवं रीतले जीवन चल्दै गयो । बच्चाहरू जन्मन थाले । अब उनीहरूका लागि भालेपोथी खोज्न टाढा जान परेन । कहिले भाले कहिले पोथी जन्मेकाले सजिलै भयो । युवती र भाले दुवैको स्वेच्छामा भाले ढुंगा भयो, युवती पहाड भइन् र अनन्तकालका लागि तिनले वि श्राम लिए ।

अन्त्य कथा

युग फेरियो । मानिसकै जमात धेरै भएपछि चरा र जनावरहरूसँग सम्बन्ध गाँसिरहने आवश्यकता मानिसलाई परेन । भालेहरू धेरै भएपछि लडाइँ झगडा हुन थाल्यो । पोथीहरू बच्चा जन्माउन, हुर्काउन लागेकाले बाहिरको परिस्थिति बुझेर सम्हाल्न सकेनन् । पोथीहरू अर्थात् आइमाईको भागमा पृथ्वी ढाक्ने जिम्मा पर्‌यो । घरबाहिर भाले अर्थात् पुरुषहरूले पृथ्वीलाई खोरिया बनाए ।

दोस्रो युगमा आइमाईले जनावर र चराचुरुंगीको भाषा बुझेनन् । त्यसैले उनीहरूले सिकाएको ज्ञान पनि बुझेनन् । यसैले आइमाईहरूले बच्चा पाउनुबाहेक अरू थोक सिक्न सकेनन् । रहँदाबस्दा आइमाईले आफ्नी माताको विरासतलाई पूरै बिर्सिदिए र आफूलाई अरूको सम्पत्ति हुनुमा नै भाग्य ठान्न थाले । यिनले सिकेको मध्ये मालिकको पूजा गर्न र रुन पनि हो ।

पुरुषले आफ्नो देहावसानपछि आफ्ना सम्पत्तिहरू जलाउने नियम राखे । पुरुषका सम्पत्ति अन्नपानी, नगद, चलअचल सम्पत्ति जलाइएन तर ती कामै नलाग्ने आइमाईहरू लस्करै जलाउन थालियो । तर, आइमाईहरूले यसको विरुद्ध उनीहरूले केवल रुनमात्र जाने । न इतिहास लेख्न जाने न त कुनै अभिलेख राख्न ।

भनिन्छ, त्यो ढुंगा भएको आदिपुरुष सबै पुरुषहरूको आत्मामा निदाइरहेछ । र, सबै महिलाको आत्मामा निदाइरहिछन् ती आदिआइमाई । समय उनीहरू जाग्ने बिहान पर्खिरहेछ ।

शनिवार, असोज १५, २०७३

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.